

अमृत गिरी
सैनामैना । बोलबम धाममा जर्लापण गर्न जलाशयमा पुगेका सैनामैनालगायतका विभिन्न क्षेत्रका बोलबम यात्रीहरु । सैनामैनामा रहेको यसक्षेत्रको पवित्र बोलबम धाममा साउने मेला अर्थात् जलार्पण कार्यक्रम चलिरहेको छ ।
सोही क्रममा शनिबार सैनामैनाका सबै वडाबाट बोलबम यात्रीहरु कालीरह र लामीरहको जलनशयमा पुगेर जल लिइ विधिपूर्वक संकल्प गरेर बोलबम धाममा रहेको शिव ज्योर्तिलिंगमा जलार्पण गरेका छन् । सैनामैनाको दुर्गा मन्दिर र शैलपूर्ती मन्दिरका विशेष पूजाआराधाना गरि रथयात्रासहितको टोली जलाशय रहेको स्थान लामीरह र कालीरहमा पुगेर विधिपूर्वक जल संकलन गरिएको थियो ।
झाँकी, भजन किर्तन र ¥यालीसहित पैदल यात्रा गरेर कालीरह–लामीरहको पवित्र जल लिइ धाममा पुगेर जलार्पण गर्ने कार्यक्रममा हजारौंको सहभागिता रहेको धामका अध्यक्ष चित्रबहादुर कार्कीले बताए । धामले यसवर्षको बोलबम यात्राका लागि ठाउँ र तालिका तय गरेर सार्वजनिक गरिसकेको छ भने सेवा दल गठन गरेर जिम्मेवारी समेत प्रदान गरिसकेको र सबैतिरबाट समन्वय र सहकार्य भइरहेको अध्यक्ष कार्कीको भनाइ छ । बोलबम धामलाई धार्मिक आस्थाको एउटा केन्द्रमात्र होइन, नेपालको धार्मिक पर्यटन प्रवद्र्धनको एक आकर्षक गन्तव्य बन्दै गएको छ ।
सैनामैना–१ मा रहेको यो धामलाई गुरुयोजना बनाएर गुरुकुल पाठशाला, धार्मिक गतिविधिका संरचनाका साथै नेपाली मौलिक संस्कृति झल्कने कलाकौशलका मन्दिरहरु बनाउने, ध्यान केन्द्र बनाउनेलगायतका आकर्षक योजनामा काम भइरहेका छन् । यहाँ हरेक वर्ष लाखौं भक्तजन जल चढाउन र बोलबम यात्रा गर्न आउने गर्छन् ।
स्थानीय धार्मिक अगुवा र आध्यात्मिक गुरुहरूले यस धामलाई ‘नेपालको दोस्रो पशुपतिनाथ’ मान्ने गर्दछन् । स्वयम्भू उत्पत्तिमान महादेवको रूपमा चिनिने यस स्थलमा अब मूल मन्दिरको भव्य निर्माण भइसकेको छ भने अन्य पूरक संरचनाहरू निर्माणाधीन छन् ।
जल सम्पदाको संरक्षण र महत्व
बोलबम यात्राको धार्मिक एवं सांस्कृतिक पक्ष झनै गहिरो छ । ‘बोलबम’ भन्ने शब्द स्वयंमा पानी र सृष्टिको महत्वको प्रतीक हो । सम्पूर्ण चराचर जगत् पानीमा आश्रित रहेको र शिवलिंग सृष्टिको प्रतीक भएको धार्मिक मान्यता छ । श्रावण महिनामा महिलाले लगाउने चुरा र मेहेन्दी तथा भक्तहरूले शिवलिंगमा जल अर्पण गर्नु सृष्टि र ऊर्जा सन्तुलनको प्रतीक मानिन्छ । यो यात्राले कामवासनाको नियन्त्रण, आत्मिक शुद्धि र धार्मिक अनुशासनको अभ्यास गराउने जनविश्वास रहिआएको छ ।
पौराणिक कथन अनुसार, भगवान शिवले समुद्र मन्थनमा उत्पन्न कालकुट विष पिएर सृष्टिको रक्षा गरेपछि उनको कण्ठ निलो भयो । त्यो विषको ताप कम गर्न देवी–देवताले उनलाई निरन्तर जलार्पण गरे, जसको निरन्तरता आजको बोलबम यात्रामा देखिन्छ ।
फोटो फिचर
तस्वीरः अमृत गिरी/मेचीकाली











