नेपालको विकासोन्मुख राष्ट्रमा स्तरोन्नति

मेचीकाली संवाददाता

२२ श्रावण २०८२, बुधबार
166 shares

डी.आर.घिमिरे

नेपाल ‘अतिकम विकसित राष्ट्र’ को सूचीबाट हटेर विकासोन्मुख राष्ट्रको रुपमा उभिने भएको समाचार हालैका दिनमा सार्वजनिक भएको पछि यसका पक्ष र विपक्षमा वहस र छलफल हुन थालेका छन् । यो प्रगतिपछि अन्तर्राष्ट्रिय वित्तिय संस्थाहरुले वैंकको ब्याजदर बढाउने भएकोले सरकारलाई दोष दिनेको संख्या पनि देखिएको छ । अर्थात् उनीहरुले के आधारमा यो सिंढी चढ्यो भनेर प्रश्नपनि उठाएका छन् । यसवारे वहस गर्नु अघि यसका सैद्धान्तिक पक्षको जानकारी हुन जरुरी छ ।

संयुक्त राष्ट्रसंघले प्रत्येक देशको विकास अवस्था मूल्याङ्कन गरेर तीनवटा मापदण्डका आधारमा यस्तो निर्णय लिने गर्छ । नेपालले सन् २०२१ मा यी तीनमध्ये दुई मापदण्ड पूरा गर्दै २०२६ सम्ममा एलडीसी (अतिकम विकसित राष्ट्र) बाट बिस्तारै विकासोन्मुख राष्ट्र बन्ने सिफारिस पाएको हो । नेपाल सन् १९७१ मा संयुक्त राष्ट्रसंघले निर्धारण गरेको ‘अतिकम विकसित राष्ट्र’ को सूचीमा परेको थियो । त्यस यता २०१५ को समयसिमा भएपनि सो समयमा नेपालले आवश्यक अंक प्राप्त गर्न सकेन । सन् २०२१ मा संयुक्त राष्ट्रसंघको सीडीपी (कम्युनिटी फर डिभलपमेन्ट पोलिसी) ले नेपालले आवश्यक रूपान्तरणका आधारभूत मापदण्डहरू पूरा गरेको भन्दै २०२६ भित्र एलडीसीबाट उक्लन सिफारिस गरेको छ ।

के हुन् ती मापदण्ड ?
पहिलो आम्दानीको मापदण्ड न्यूनतम आवश्यकता १ हजार २ शय २२ डलर हुनुपर्नेमा हाल १ हजार ४ शय ४७ डलर पुगेको छ । दोस्रो मानव सम्पदा सूचकांक (जसभित्र शिक्षा, स्वास्थ्य, बाल मृत्युदर, पोषण आदि समेटिन्छ) मा ६६ अंकको थ्रेसहोल्ड पार गरेर ७५ पुग्यो । तेस्रो आर्थिक जोखिम सूचकांक ३२ भन्दा कम हुनु पर्ने भएपनि संयुक्त राष्ट्रसंघले नेपाललाई जोखिममुक्त भनेर सिफारिस गरेको छ । यसको कारण नेपालको जोखिम सूचकांक (EVI) स्कोर ४० भन्दामाथिहुनु हो ।

यसरी हेर्दा नेपालले मानव सम्पदा सूचकांकर प्रतिव्यक्ति आयमा राम्रो सुधार गरेकाले विशेष परिस्थितिका कारण छुट दिँदै रूपान्तरणका लागि संयुक्त राष्ट्रसंघले सिफारिस गरेको छ । यसको अर्थ उसले नेपाललाई निगाहले छुट दिएको हैन । छुट दिनुका पनि विशिष्ट कारण छन् । ती हुन्–पहिलो नेपाल भूपरिवेष्ठित (landlocked) र जलवायु जोखिमयुक्त मुलुक हो । दोस्रो नेपालमा भूकम्प, बाढी, पहिरो जस्ता प्राकृतिक प्रकोपको जोखिम उच्च छ । खासगरी सामाजिक सूचकहरू शिक्षा, स्वास्थ्य,बाल मृत्युदर, पोषण रशासन सुधारका कारण यस प्रकारको सिफारिस भएको हो ।

अब के हुन्छ ?
अब हाम्रा चुनौति थपिएको छन् र अवसर पनि सिर्जना हुन सक्ने छन् । अतिकम विकसितको ट्याग हटेपछि कतिपय विशेष सुविधाहरु भन्सार छुट, सहुलियत ऋण आदि गुम्न सक्छ । जसका कारण जलवायु परिवर्तन, बेरोजगारी र आन्तरिक असमानता बढ्न सक्ने सम्भावना हुन सक्छ । तर, अवसर थपिन सक्छन् । जस्तो कि विदेशी लगानी बढाउनका लागि विश्वासिलो आधार वन्न सक्छ । हाम्रो क्षमताविस्तार गर्दा बजार पहुँच बढाएर सक्षम प्रतिस्पर्धी बन्न सकिन्छ र स्थानीय विकासमा नवीन दृष्टिकोण दिन सकिन्छ ।

निरासा धेरै कुरामा आउँछन् र आइरहेका छन् तर यही निरासाकै बिचमा नेपालले एउटा खुड्किलो पार गरेको छ । नेपालले अब सस्तो श्रम बेच्ने देशको रुपमा हैन, ‘उत्पादन, नवप्रवर्तन र समावेशी विकास’ का लागि ढोका खोल्नुपर्छ । कृषिमा आधारित अर्थतन्त्र भनिए पनि हाम्रो अर्थतन्त्र दलालमुखी छ । उत्पादनमुखी छैन । पहाड–तराई–हिमाल जस्तो भौगोलिक विविधता विकासोन्मुख देशकालागि गरिबी न्यूनीकरण गर्ने अचुक अस्त्र हुनुपर्ने हो । तर विडम्वना दीर्घकालीन चुनौती बनेर आएको छ । विगत केही दशकदेखि गरिबी घटाउने विभिन्न कार्यक्रम, नीति, योजना र अनेकन संस्थागत पहलहरू गरिए पनि अपेक्षाकृत परिणाम आउन सकेको छैन ।

रेमिटान्सले हाम्रो अर्थतन्त्र धानिदिएको यथार्थ हो । तर नीति निर्मातामा नागरिकलाई धनी बनाउने गरी जुन तहमा मेहनत हुनुपर्ने हो त्यो हुन सकेको छैन । बाहिरबाट आउने पैसालाई सुरक्षित लगानी गरेर आम्दानी बढाउन सकिने सम्भावना नभएको हैन । शेयर बजारकै कुरा गर्दा जुन अनुपातमा बजारबाट उठ्ने गरेको छ, त्यो कमजोर छैन । जलस्रोतमा लगानी खोज्न विदेशी हैन, नेपालकै स्रोत जुटाउने पहल गर्न सकिएको छैन । दुईचार शय मेगावाटको परियोजनामा नेपालीबाटै सानो इकाइमा रकम जम्मा गरेर किन आयोजना बनाइँदैन ?

सार्वजनिक सम्पत्तिको हकदार कर्पोरेट हाउसहरु बनाइएको छ । जबकि समुदायको हिस्सा पटक्कै देख्न पाइँदैन । राज्यले दिने सहुलियत साना किसान केन्द्रीत किन हुँदैनन् ? पर्यटनको विकास भनेर जल, जमिन र वनमा ठूला लगानीकर्तालाई आकर्षण गर्न बजेट, नीति र कानुनीआधार बनाउन सकिने तर गरिब किसानलाई ती सबै आधार तयार गर्न हामी किन तयार हुँदैनौं ? उनीहरुका लागि छूट वा सुविधा किन दिइँदैन ? यहाँनिर हामी चुकेका छौं ।

गरिबी न्यूनीकरण नारामा सीमित
यस अर्थमा गरिबी न्यूनीकरणमा पर्याप्त ध्यान दिन आवश्यक छ । यसका लागि रोजगारी सृजना पहिलो प्राथमिकता हुनु पर्ने हो तर, आजका पढेलेखेका युवासमेत रोजगारी खोज्नमै व्यस्त देखिन्छन् । सृजना आफँैमा सामान्य विषय हुँदै हैन तथापि दृढ इच्छाशक्ति हुने हो भने असम्भव भन्ने हुँदैन ।

यसका लागि राज्यउदार हुनैपर्छ । राजनीतिमा उदारवाद तर व्यवहारमा अनुदारवादी चरित्रका कारण ‘उत्पादन र नवप्रवर्तन’ ले प्राथमिकता पाउन सकेको छैन । एउटा व्यावसायिक फर्म दर्ता गर्दा हुने झन्झटका कारण निरासा हुने अवस्था बढेको छ । कर्मचारीमा सामान्य काम गर्दा पनि घुस खोज्ने प्रवृत्ति यथावत् छ । राजनीतिक नेतृत्वमा आफ्नो र अर्काको देख्ने दृष्टिदोष छ । यसलाई जरैदेखि उन्मुलन गर्नैपर्छ । यद्यपि यतिले मात्र हुने हैन । आजसम्म गरिबीको नाममा भएका लगानीले किन प्रतिफल दिन सकेनन् भनेर पनि खोजिनुपर्छ ।

मेरो विचारमा निम्न केही कारणले गर्दा बालुवामा पानीहाले जस्तो भएको छ ।
पहिलो– गरिबी निवारणका नाममा माथिबाट तल योजना पठाउने काम गरियो जसले गर्दा ती कार्यक्रमप्रति अपनत्व ग्रहण नै भएन ।

दोस्रो सरकारको उच्च प्राथमिकतामा परेका योजनाहरु एकद्वार प्रणालीमा हुनुपर्नेमा हुन सकेनन् । जसले गर्दा दोहोरोपना, स्रोतको अपव्यय र आसेपासेहरुनै ज्यादा लाभान्वित भए ।

तेस्रो– गरिबी निवारणका योजना र कार्यक्रमहरुमा गरिब र सिमान्तकृत वर्गको पहुँच हुन सकेन । सरकारका अंगहरुमध्ये पनि विभिन्न मन्त्रालय, विभाग र परियोजनाहरूमा छरिए ।

चौथो– कृषिलाई सरकारले प्राथमिकता दिनै सकेन । यसको कारण किसानको पहुँच नहुनु हो । अहिले ठूला किसानले हात हाल्न थालेपछि सरकारले पनि सुविधा दिन थालेको छ । तर सुविधा दिनु अगाडि हुनुपर्ने गृहकार्य पटक्कै हुन सकिरहेको छैन ।

पाँचौँ– युवाजन शक्तिलाइ कृषिमा आकर्षण गर्न सकिएन । खाद्यान्नका नाममा जति रकम विदेश गएको छ, त्यो रकमबाट युवालाई ब्रिगेट बनाएर आर्मी तरिकाको उत्पादनगर्ने हो भने सुधार हुन सक्थ्यो । यस्ता नविन कामप्रति स्थानीय तह र प्रदेशले पनि चासो दिइरहेका छैनन् ।

छैठौं– कतिपय नवीन कार्यक्रम आइहाले पनि राजनीतिक नेतृत्व फेरबदल भयो भने कार्यक्रमनै खारेज गर्ने प्रवृत्ति बढ्यो ।

सातौं– संघ, प्रदेश र स्थानीय तहबिच समन्वयको अभाव । एउटाले गर्ने कामप्रति अर्कोले अपनत्वन लिने कारणले पनि सापेक्षित विकास हुन सकिरहेको छैन ।

दिगो विकास लक्ष्य अन्तर्गत संयुक्त राष्ट्रसंघले सन् २०१५ मापारित गरेका १७ दिगो विकास लक्ष्यमध्ये पहिलो लक्ष्य नै गरिबी अन्त्य हो । सन् २०३० सम्म चरम गरिबी हटाउने, सामाजिक सुरक्षा बलियो बनाउने, सबल वित्तीय पहुँच सुनिश्चित गर्ने लक्ष्य नेपालले लिएको छ । तर सो लक्ष्य प्राप्तिका लागि गरिनुपर्ने स्रोत परिचालन, संस्थागत सुधार र नेतृत्वको प्रतिबद्धता कमजोर छ ।

यही बिचमा छिमेकी चीनले चार दशकको अवधिमा करिब ८० करोड मानिसलाई गरिबीबाट मुक्त गरेको छ । उसले कम्तीमा पनि खाना र कपडाको न्यूनतम व्यवस्था, शिक्षा, स्वास्थ्य र आवासको ग्यारेन्टी, ग्रामीण क्षेत्रलाई बजारसँग जोड्ने र लक्षित परिवारमाथि दीर्घकालीन योजनाको केन्द्रीकरण गरेर लक्ष्य पूरा गरेको छ । हामीकहाँ यसरी स्पष्ट दृष्टिका साथ निष्पक्ष रुपमा कामनै हुन सक्ने वातावरण बन्न सकेन । यो नै विडम्वना भयो ।