सामाजिक संकट र बौद्ध दर्शनको सान्दर्भिकता

मेचीकाली संवाददाता

२८ माघ २०८२, मंगलवार
17 shares

अस्मिता थापा

आजको युग विज्ञान र प्रविधिको तीव्र विकासको युग हो । प्रविधिले संसारलाई एकातर्फ नजिक ल्याएको छ भने अर्कोतर्फ मानिसलाई मानसिक एक्लोपन र तनाव तर्फ धकेलेको छ । इन्टरनेट र डिजिटल माध्यमको दुरुपयोगका कारण आत्महत्या, साइबर अपराध, हिंसा र यौन अपराधका घटनाहरू बढिरहेका छन् । यसले समाजमा असुरक्षा र भयको वातावरण सिर्जना गरेको देखिन्छ । यस्तो अवस्थामा सामाजिक विकृतिको मूल कारण र समाधानबारे गहिरो चिन्तन आवश्यक देखिन्छ ।

यही सन्दर्भमा पूर्वीय चिन्तन परम्पराभित्र विकसित बौद्ध दर्शन आज पनि उत्तिकै सान्दर्भिक देखिन्छ । बौद्ध दर्शन केवल धार्मिक आस्था मात्र नभई मानव जीवन र समाजलाई नैतिक, शान्त र सन्तुलित बनाउने व्यावहारिक दर्शन हो । यसले व्यक्तिलाई अपराधबाट रोक्ने मात्र होइन, आफ्नै मनभित्र रहेको लोभ, इष्र्या र अहंकारलाई चिन्ने चेतना पनि प्रदान गर्छ ।

समकालीन सामाजिक विकृतिको स्वरूप
आजको समाजमा देखिने धेरैजसो विकृतिको मूलमा म र मेरो भन्ने अहंकेन्द्रित सोच रहेको पाइन्छ । भौतिक सुख–सुविधाप्रतिको अत्यधिक आसक्तिले भ्रष्टाचार, हिंसा, साइबर अपराध, लागुऔषधको लत तथा यौन अपराधजस्ता गम्भीर सामाजिक समस्याहरू जन्माइरहेको छ । यी विकृतिहरू कुनै एक देश वा समाजमा सीमित नभई विश्वव्यापी रूपमा फैलँदै गएका छन् ।
विश्वव्यापी भ्रष्टाचार सूचकांक २०२३ अनुसार नेपाल १०८ औँ स्थानमा पर्नु देशभित्र भ्रष्टाचार गहिरिँदै गएको संकेत हो । त्यसैगरी, आत्महत्यासम्बन्धी तथ्याङ्कले पनि चिन्ताजनक अवस्था देखाउँछ । पछिल्ला वर्षहरूमा आत्महत्याका घटनाहरू उल्लेखनीय रूपमा बढ्नुले समाजमा गहिरो मानसिक संकट विद्यमान रहेको पुष्टि गर्छ । यसबाहेक साइबर अपराध, जबर्जस्तीकरणी र लागुऔषध दुव्र्यसनका घटनाहरू पनि दिनानुदिन बढिरहेका छन्, जसले मानवीय मूल्य–मान्यताको क्षय भइरहेको स्पष्ट देखाउँछ ।

बौद्ध दर्शनले २६०० वर्षअघि नै यस्ता अवस्थालाई ‘दुःख’ को रूपमा विश्लेषण गरेको थियो । आज प्रविधिले मानिसलाई संसारसँग जोडेको छ तर परिवार, समाज र आफ्नै आत्मसँग टाढा बनाएको छ । यही अलगाव नै धेरै मानसिक र सामाजिक समस्याको आधार बनेको देखिन्छ ।

अहिलेको युग प्रतिस्पर्धा र भौतिकवादको युग हो । यहाँ मानिस भौतिकवादभन्दा केही देख्दैन । आफूलाई वा आफ्नो परिवारलाई पनि देख्दैन । जसले गर्दा व्यक्तिमा डिप्रेसनलगायत अन्य अपराध गर्ने भावना पैदा गर्छ । अहिलेको भौतिकवादलाई २६०० वर्ष अगाडि बुद्धले तृष्णाको रूपमा व्याख्या गरेका थिए । तृष्णाले आफूलाई पनि सक्छ र अरूलाई पनि सकाउँछ भन्नेझैँ अहिले विश्व त्यतैतिर जाँदै छ । जस्तैः युक्रेन र रुसबीचको युद्धले दुवै देशको क्षति गरिरहेको छ । अब यी देशहरूले शान्ति स्थापना गर्नको लागि बौद्ध दर्शनको प्रयोग गर्नुपर्छ ।

सामाजिक विकृतिका भित्री कारणहरूः बौद्ध दृष्टिकोण
समाजमा देखिने बाहिरी कारणहरू विभिन्न देखिए पनि समाजमा यस्ता विकृतिहरूको निर्माण मानसिक स्थितिबाट नै हुन्छ । संसारको सबैभन्दा सफल व्यक्तिको सुरुवात बिन्दु उसको मन हो भने संसारको सबैभन्दा दुःखी व्यक्तिको सुरुवात बिन्दु पनि उसको मन नै हो । त्यसैले व्यक्ति कस्तो बन्ने भन्ने कुरा उसको मनको विचार कस्तो छ भन्ने कुरामा निर्भर हुन्छ ।
बुद्धका अनुसार सामाजिक विचलनका मुख्य कारण व्यक्तिमा निहीत तृविष लोभ, द्वेष, मोह हुन् । लोभ भनेको भौतिक वस्तुमाथि हुने अत्यधिक आसक्ति हो । आज नेपाललगायत विश्वमा भ्रष्टाचार मौलाउनुको मुख्य कारण लोभ नै हो । लोभले नै व्यक्तिले आफ्नो सुख सयलको लागि भ्रष्टाचार गर्छन् । द्वेष भनेको व्यक्तिले अर्को व्यक्तिसँग शत्रुता राखेर उसलाई हिंसा गर्नु, उसको हत्या गर्नु हो ।

तेस्रो तत्व मोह भनेको व्यक्तिहरूले आफू सधैँभरि संसारमा रहने जस्तो गरी घमण्ड,‘म यो हुँ, त्यो हुँ, मैले यति पैसा कमाएको छु’भन्नु हो । बुद्धका अनुसार तृविषले व्यक्तिमा दुःखको सिर्जना गर्छ । यीबाहेक तृष्णाले सामाजिक विचलन निर्माण गर्छन् । नेपालमा जबरजस्तीकरणीको संख्या बढ्नु पनि पुरुषको महिलाको शरीरप्रतिको घिनलाग्दो तृष्णा हो । जसले कैयौँ नारीको जिन्दगी बर्बाद भएको छ ।

सुधारको बाटोः व्यवहारमा बौद्ध दर्शन
मानिसको जीवन सुख र दुःखको मिश्रण हो । ‘सुखमा नमात्तिनु र दुःखमा नआत्तिनु’ भनेझैँ हामीले दुःख भयो भनेर सधैँ त्यही दुःखलाई मात्र हेर्नु हुँदैन र सुख भयो भने मसँग सुख छ, सधैँ हुनेछ भन्ने भावना आफूमाथि हाबी हुन दिनु हुँदैन । अझै अहिलेको विलासिताको आधुनिक युगमा त यो कुरामा धेरै ध्यान दिनुपर्छ र मध्यम मार्ग अपनाएर आफ्नो जीवन चलाउनुपर्छ । जसले व्यक्तिलाई सत्य चिन्न मद्दत गर्छ ।

बुद्धका अनुसार हामीले जीवनमा रहेका दुःख निवारण गर्न पञ्चशीलको र अष्टाङ्गिक मार्गको पालना गर्नुपर्छ । अहिलेको विश्वमा बढेको हत्या, हिंसा, बलात्कार, लागुऔषधको लतको अचुक औषधी नै पञ्चशील र अष्टाङ्गिक मार्ग हो । पञ्चशीलमा हिंसा नगर्नु, चोरी नगर्नु, झुटो नबोल्नु, लागुऔषध सेवन नगर्नु, गलत आचरण नगर्नुपर्दछन् । यी पञ्चशीलको प्रयोग प्रत्येक व्यक्तिले गर्ने हो भने समाज आफैँ परिवर्तन हुन्छ र अपराध घट्छ ।

त्यसैगरी अर्को दुःख न्यूनीकरणको उपाय अष्टाङ्गिक मार्गको पालना हो । बुद्धले भनेका अष्टाङ्गिक मार्ग सम्यक प्रयास, सम्यक दृष्टि, सम्यक संकल्प, सम्यक वचन, सम्यक कर्मान्त, सम्यक आजीविका, सम्यक स्मृति, सम्यक समाधिको पालना विश्वभरका प्रत्येक व्यक्तिले गर्ने हो भने अहिले विश्वमा भइरहेका युद्ध, कलह, भ्रष्टाचार, हत्या, हिंसा, बलात्कार, साइबर अपराधलगायत सम्पूर्ण अपराध न्यूनीकरण गर्न सकिन्छ ।

निष्कर्ष ः समकालीन सामाजिक विकृतिहरू आकस्मिक रूपमा उत्पन्न भएका होइनन्; ती दीर्घकालीन मानसिक, नैतिक र सामाजिक असन्तुलनका परिणाम हुन् । बौद्ध दर्शनले यस्ता समस्याको मूल कारण पहिचान गर्नुका साथै समाधानको स्पष्ट मार्ग पनि प्रस्तुत गर्छ । शान्तिका अग्रदूत गौतम बुद्धको जन्मभूमि नेपालमा बौद्ध दर्शनलाई व्यवहारिक रूपमा लागू गर्नु अझै आवश्यक देखिन्छ ।

विद्यालय तहदेखि नै बुद्धका उपदेश, पञ्चशील र अष्टाङ्गिक मार्गलाई पाठ्यक्रममा समावेश गर्नु दीर्घकालीन सामाजिक रूपान्तरणको आधार बन्न सक्छ । त्यसैगरी कानुनी संरचनामा पनि करुणा, अहिंसा र नैतिक उत्तरदायित्वजस्ता बौद्ध मूल्यहरूलाई आत्मसात् गर्न सके समाजमा सुशासन, जवाफदेहिता र सामाजिक न्याय सुदृढ हुने अपेक्षा गर्न सकिन्छ । यस अर्थमा, समकालीन सामाजिक विकृतिको उपचारका लागि बौद्ध दर्शन आज पनि उत्तिकै प्रासङ्गिक र आवश्यक छ । (लेखक लुम्बिनी बौद्ध विश्वविद्यालय स्कुल अफ ल बि.ए.एल.एल.बी प्रथम वर्षमा अध्ययनरत विद्यार्थी हुन् ।)