शिवरात्री: भाङ खाने नभई समता र त्यागको शिक्षा दिने पर्व !

मेचीकाली संवाददाता

२ फाल्गुन २०८२, शनिबार
6 shares

घनश्याम कोइराला

आज शिवरात्री पर्व हो । यो पर्व शिवको नाममा गरिने सबैभन्दा ठुलो उत्सव हो । रात अन्धकारको प्रतीक हो । तर, अन्धकारको प्रतीक रातलाई महापर्वका रूपमा मनाउने शैव र सनातनीहरू बडो विचित्रका लाग्दछन् । यसको गूढार्थ ठम्याउन नसक्दा र शब्दको सामान्य अर्थ लगाउँदा विषयको सारतत्वमा पुग्न सकिँदैन ।

धार्मिक पर्वहरूबारे मानिसहरूमा अनेकौँ भ्रान्ति व्याप्त छ । यसको उदाहरणका रूपमा शिवरात्री पर्वलाई लिन सकिन्छ । शिवरात्री र शिवका नाममा गाँजा, भाङ, धतुरो खाने कुराको वकालत गर्दछन् । गाँजा, भाङ, धतुरो खानु लागूपदार्थ दुव्र्यसन हो । कुनै पनि देवी देवताका नाममा, पर्व परम्पराका नाममा नराम्रो काम गर्नु, नकारात्मक पक्षको अवलम्बन गर्नु अन्धविश्वासलाई प्रश्रय दिनु हो । त्यसैले कुनै पनि बहानामा केही अपनाउनुपूर्व त्यसको अन्तर्वस्तुबारे राम्ररी थाहा पाउन आवश्यक हुन्छ । पङ्क्तिकारको स्पष्ट मान्यता छ,‘जानेर गरे विज्ञान, नजानेर गरे अन्धविश्वास !’

शिवका भक्त–शैवहरू शिवलाई उच्च चेतना, परमचैतन्य मान्दछन् । यतिबाट मात्र पनि बुझ्न सकिन्छ, शिव बिहोसीका देवता होइनन् । प्राकृतिक पदार्थको रूपमा गाँजा, भाङ, धतुरोका गुणहरू हितकारी छन् । ‘नास्तिमूलमनौषधम् अर्थात् औषधी नहुने कुनै जरो हुँदैन’ भन्ने भनाइबाट ती पदार्थहरूको गुणको अनुमान गर्न सकिन्छ । सर्वविदितै छ कि, सनातनी र शैवहरूका लागि शिवरात्री निकै ठुलो पर्व हो, त्यसैले यसलाई महापर्व पनि भन्ने गरिएको छ ।

शिवलाई गँजेडी, भँगेडी भन्ने र गाँजा, भाङ खाने बहाना बनाउनेहरूले शिवलाई नीलकण्ठका रूपमा चिनेका छन् कि छैनन् ? शिवको कण्ठ किन नीलो भयो ? धर्मशास्त्रअनुसार कुनै समय समुद्र मन्थन भएको थियो । मन्थनका क्रममा अमृत निस्क्यो र कालकूट विष पनि निस्क्यो । त्यही अमृत र विष कसले प्राप्त गर्ने भन्ने विषयमा ठुलै युद्ध भयो । त्यस युद्धलाई देवासुर युद्ध वा देवासु सङ्ग्राम भनियो ।यसबाट एकै ठाउँमा पनि दुई विपरीत तत्वको उपस्थिति रहेको र रहने शिक्षा प्राप्त छ ।
यस युद्धमा जितेका ‘देवताहरू’ले अमृत प्राप्त गरेर पान गरे–पिए । कालकूट विषको व्यवस्थापन गर्न कठिनाइ उत्पन्न भयो । भगवान् शिवले त्यसको जिम्मा लिनुप¥यो । अत्यन्त घातक त्यो कालकूट विष पिएर त्यसलाई कण्ठमा राखेको हुनाले शिवको कण्ठ नीलो भयो भन्ने वर्णन पढ्न पाइन्छ । विषको डाहा शान्त पार्न र विषको क्षमता मार्न अनेकौँ औषधीय पदार्थहरू–लागू पदार्थहरू खाने क्रममा शिवले गाँजा, भाङ, धतुरो आदि पदार्थहरू खाएको बुझ्न सकिन्छ ।

कथाको सन्देश के देखिन्छ भने शिव प्राणीहरूका लागि हितकर नहुने सबै प्रकारका विषादि, प्रदूषण, लागूपदार्थ आफूमा समाहित गरी लोकलाई स्वस्थकर पदार्थ तथा वातावरण दिने महान कल्याणकारी थिए । यसैले उनी शिव अर्थात् कल्याणकारी भएका हुन् । यसको अनर्थ गरेर राज्यले निषेध गरेको गाँजा, भाङ, धतुरो आदि लागूऔषध प्रयोग गर्नु र धर्मसँग जोड्नु सरासर बेइमानी हो, अन्धविश्वास फैलाउने दुश्चेष्टा हो । यसबाट लिन सकिने अर्को शिक्षा के हो भने हरेक अगुवा व्यक्तिले अरुको हितका लागि आपूmले त्याग गर्न सक्नुपर्दछ । कथामा यस्ता अन्य विषय पनि शिक्षाप्रद छन् ।

सामूहिक लोककल्याणकारी कामको क्रममा आइपर्ने जस्तोसुकै कठिनाइ वहन गर्ने महानता भगवान् शिवमा थियो । यी सबै बुझ्न बाँकी रहेका ‘विद्वान्’ हरू निरपेक्ष रूपमा शिवसँग जोडेर गाँजा, भाङ, धतुरो खाने कुरा बुझ्दछन् । हो, यो हो अन्धविश्वास ।
कतिपय मानिसहरू विचित्रका छन् । नराम्रो गर्नुप¥यो भने वा निन्दा गर्नुप¥यो भने धर्मशास्त्रका विषयलाई उदाहरणका रूपमा टपक्क टिप्दछन् । त्यसको अर्को पाटो समर्थन वा प्रशंसा गर्नुप¥यो भने ती विषयलाई काल्पनिक, अन्धविश्वास, अप्रमाणित भनेर दोहोलो काढ्न उद्यत हुन्छन् । भगवान् शिवका सन्दर्भमा पनि यस्तै देखिन्छ । शिवरात्रीमा शिवजीको प्रसाद भनेर गाँजा, भाङ आदि लागूपदार्थ खानु यसको एउटा उदाहरण हो । त्यहीँ अर्काथरि लागूपदार्थ खाने विषयलाई धर्मसँग जोड्छन् र धर्ममा विकृति देख्न पुग्छन् र धर्मलाई नै गलत ठह¥याउने र ठोकुवा गर्दछन् । वास्तवमा यी दुवै कुरा सही होइनन् ।

कुनै धर्म मान्नु वा नमान्नु, कुनै देवी वा देवता मान्नु वा नमान्नु मानिसको आफ्नो मान्यता हो, यसमा सबै मानिस स्वतन्त्र छन् । जब सनातनका देवीदेवताको प्रसङ्ग आउँछ, कतिपय मानिसहरू पूरै अनुहार खुम्च्याएर भन्न थाल्छन्, ‘यो कथाकुथुङ्ग्री हो, यसमा सत्यता छैन, यसको कुनै तथ्य छैन, त्यसैले विज्ञानसम्मत छैन, मानिँदैन ।’ जब कुनै कुरा आफ्नो स्वार्थमा हुन्छ, आपूmलाई मनपरेको विषय आउँछ, अनि भन्न थाल्छन्, ‘देवीदेउता पनि यसै गर्थे, रामले सीताको अग्निपरीक्षा लिएर अन्याय गरे, वनमा छोडेर अत्याचार गरे, कृष्णले धेरै गोपिनीहरूसँग बिहे गरे, गणेशले बाबुआमाको वरिपरि घुमेर सोझा कुमारलाई छक्याए, शिवले भाङ, धतुरो खाए । देवीले प्राणीको बलि लिइन्, हामीले गर्न किन नहुने ?’

हाम्रा सनातन परम्पराका पर्वहरू कुनै न कुनै देवीदेवतासँग सम्बन्धित छन् । दसैँ, तिहार, कृष्णजन्माष्टमी, तीज, रक्षाबन्धन आदि सबै पर्व देवीदेवताको पूजासँग जोडिएकै छन् । शिवरात्री–महशिवरात्री शिव–रुद्र–महादेवसँग सम्बन्धित पर्व हो । तर, कहाँकहाँ धर्म, देवीदेवता, पूजाका अन्तर्वस्तु वा सन्देशमा नपुगी सतहमा रमाउने र केही कमजोरीहरूलाई टपक्क टिपेर विरोध गर्ने प्रवृत्ति छ, यो फास्टफुड प्रवृत्ति हो । मान्नेहरू कट्टर र नमान्नेहरू अराजक छन् । धर्मसंस्कृतिको विषय कट्टरता र अराजकताको विषय हुनुहुँदैन । यसमा देखिएका विकृति विसङ्गति रुखमा उम्रेका ऐजेरू र पानीमा लागेका लेउ जस्तै हो । विकारलाई समग्रता ठान्दा अन्यत्र पनि यस्तै देखिन्छ ।

रुद्र वैदिक देवता हुन् । शिवको अर्को नाम रुद्र हो । यिनलाई शिव, शङ्कर, पशुपति पनि भनिन्छ । शिव शब्दको अर्थ कल्याण हो, सुख, समृद्धि र शान्ति पनि हो । शङ्कर शब्दको अर्थ यसरी खुलाइएको पाइन्छः शंकरोति इति शङ्करः भनिएको छ । ‘शं’ अर्थात् कल्याण वा सुख, ‘करोति’ गर्छ जसले अर्थात् कल्याण गर्ने वा सुख दिनेलाई शङ्कर भनिएको हो । यद्यपि, शिवका धेरै नामहरू छन्, शिवसहस्रनाम भनिएबाट शिवका हजार नाम छन् भन्ने बुझिन्छ ।

हिन्दु धर्मलाई विभेदकारी भएको आक्षेप लाग्ने गरेको छ । वर्ण परम्परावादी भनेर पनि हिन्दुहरू आक्षेपित छन् । तर, हिन्दुहरूका देवका पनि देव, महादेव कसका छोरा थिए ? उनी कुन वंशका हुन् ? उनी कुन जातिसमुदायका हुन् ? चारै वेद, अट्ठारै पुराण तथा उपनिषद् पढेर पनि शिवको वंशज, जाति, वर्ण आदिबारे थाहा पाइँदैन । शिवका विषयमा नबुझेकाहरू जातिविभेदका पक्ष वा विपक्षमा हुन सक्दछन् । त्यसैले हिन्दु परम्पराका केही असल तथा शासकहरूद्वारा विकृत रूपमा अथ्याइएका केही विषय घोकेर हिन्दु धर्मको छेउटुप्पो थाहा पाउन सम्भव छैन । यसका विषयमा लाञ्छना लगाउनु भनेको नेत्रहीनले हात्ती छामेजस्तो मात्र हो ।

हिन्दु सनातनी र शैवहरू यस दिन बेलको फल, पात, रुद्राक्ष आदि शिवलाई समर्पण गर्ने–चढाउने गर्दछन् । यस महापर्व शिवरात्रिमा भाङ, धतुरो, गाँजा आदि लागू पदार्थ शिवलाई समर्पण गरिन्छ । शिवलाई शङ्कर, रुद्र, महादेव, पशुपति भनेर मान्ने गरिन्छ ।
अरु सबै कुरा छोडे पनि मुक्तिको चिन्तन पशुपति शब्दबाट, कल्याणको चिन्तन शिव र शंकर शब्दबाट लिन सकिन्छ । शिवबाट गाँजा, भाङ, धतुरो, नग्नता मात्र लिने हो भने त्यस्तो विचार बोक्नेहरूलाई त के नै भन्न सकिन्छ र ? जसरी सहिद दिवस मनाउनु भनेको सहिद हुने प्रण होइन, त्यसरी नै शिवको पूजा गर्नु भनेको गाँजा, भाङ, धतुरो र नग्नताको खेलोमेलो बढाउनु होइन । यस्ता नग्नता र लागू पदार्थको प्रयोग शिव नै नचिनेकाहरूबाट भएको छैन र ?

संसारले जतिजति भौतिक प्रगति गरेको छ, यो मानवजीवनको सहजता र सुविधाको लागि साह्रै महत्वपूर्ण छ, आविष्कार र आविष्कारकहरू महान् छन्, तर यी सब विषयको भोगको लालसाले मानिसलाई कस्तो बनाएको छ ? कति लुछाचुँडीमा संलग्न गराएको छ ? यसको प्राप्तिको लागि मानिसले आपूmलाई कसरी अघि बढाएको छ ? यही पाशले बाँधेर मानिसलाई मानवीयताभन्दा तलतल झार्दैछ । जीवनका मानवीय पक्ष इमान, जमान, सद्भाव, समभाव आदिबाट मानिस गिर्दो छ ।
नयाँ विकास भएका विज्ञान प्रविधिको सदुपयोगसँगै अज्ञात कालदेखि चलिआएका सनातनका असल परम्पराहरूबाट सकारात्मक शिक्षा लिँदै अघि बढ्न सकेमा हामी सबैको कल्याण हुनेछ । यस्ता अर्थमा लिन सके शिव, शङ्कर, पशुपतिनाथको महिमा हामी सबैका लागि हितकर नै हुनेछ ।

भगवान् शिवले गाँजा, भाङ, धतुरो सेवन गरेको मात्र देख्नेहरूले, नग्नता देख्नेहरूले प्रकृतिका विषाक्त पदार्थहरू आफैँमा व्यवस्थापन गरेको, जाति, समुदाय, धनसञ्चय, विलासी जीवन त्याग गरेको, मसानघाटमा रमाएर लोककल्याणमा समर्पित रहेको कहिले देख्ने होलान् ? शिवरात्रि पर्वले शिवको जीवन शैलीबाट शिक्षा लिने प्रेरणा दिओस् । महाशिवरात्रि पर्वको शुभकामना छ ।