प्रतित्य समुत्पादको सिद्धान्तः बौद्ध दर्शनको मेरुदण्ड

मेचीकाली संवाददाता

२४ श्रावण २०८२, शुक्रबार
149 shares

कमल सिलवाल

पृष्ठभूमिः बौद्ध दर्शन, ईसापूर्व ६२३ मा नेपालको लुम्बिनीमा जन्मनुभएका महामानव गौतम बुद्धले बुद्धत्व प्राप्त गरेपश्चात प्रदान गर्नुभएका देशनाहरुबाट आरम्भ भएको दर्शन हो । बौद्ध दर्शन वा बौद्ध धर्म जे भने पनि यसमा समेटिएका शिक्षाहरु आजभन्दा २५६९ वर्ष अघिका बुद्धका उपदेश र शिक्षाहरुका रुपमा आजको परिवेशमा पनि उत्तिकै उपयुक्त र सान्दर्भिक भेटिन्छन् । अझ अहिलेको समयमा त बुद्धका शिक्षाहरुको महत्व र आवश्यकता बढ्दै गएको पाइन्छ । बौद्ध दर्शन कुनै समुदाय वा सम्प्रदाय विशेषको नभई यो त समस्त मानवजातिको लागि पथप्रदर्शक दर्शन हो भन्दा अत्युक्ति नहोला । जातिवाद र विभिन्न धार्मिक सम्प्रदायहरुमा बाँडिएको अहिलेको विश्वमा मानवताको पाठ सिकाउने बौद्ध दर्शनलाई केवल धर्मका रुपमा बुझ्न खोज्नु भनेको दर्शनको गहिराइ नबुझ्नु नै हो । साना साना कुराहरुमा अल्मलिएर र अल्झिएर जीवनको वास्तविक गन्तव्य विर्सिएको मानव समाजको वर्तमान अवस्थामा बुद्ध दर्शनले जीवनको अन्तिम लक्ष्यसम्म पुग्ने स्पष्ट र व्यवहारिक मार्गचित्र प्रदान गर्दछ ।

दार्शनिक चिन्तनका रुपमा भगवान् बुद्धले धेरै नै विषयवस्तु प्रस्तुत गर्नु भए पनि उहाँद्वारा प्रस्तुत सबैभन्दा मौलिक, गहन र गुढ सिद्धान्त भनेको प्रतित्य समुत्पादको सिद्धान्त हो । यो सिद्धान्तलाई बुद्धको सबैभन्दा महत्वपूर्ण अन्तर्दृष्टि मानिन्छ । उपदेशका क्रममा फुत्त निस्किएको कुनै उपदेश नभई गहन ध्यानको अवसरमा प्राप्त यो ज्ञान बौद्ध दर्शनको मरुदण्ड हो । यो सिद्धान्त समस्त अस्तित्वको मुल प्रकृति, दुःखको समुत्पति र त्यसबाट मुक्तिको एकमात्र सम्भावित मार्गको वैज्ञानिक व्याख्या प्रस्तुत गर्दछ । यो सिद्धान्तले “किन” र “कसरी” को प्रश्नहरुको शृंखलाबद्ध जाललाई सुल्झाउँदै, संसारको कार्य–कारण सम्बन्धी तन्त्रलाई स्पष्ट ढंगले उद्घाटन गर्दछ । त्यसैले यसलाई कार्यकारण सिद्धान्त पनि भन्ने गरिन्छ । प्रतित्य समुत्पादको सिद्धान्त केवल दार्शनिक विचार मात्र होइन, बुद्धको अनुभव जन्य सत्य हो जसले जीवनको सम्पूर्ण यथार्थलाई समेट्छ ।

सिद्धान्तको मूल स्वरुपः
“इमस्मि सति इदं होति; इमस्स उप्पाद इदं उप्पज्जति । इमस्मिं असति इदं नहोति; इमस्स निरोध इदं निरुज्झति” अर्थात् यसो भएको अवस्थामा यो हुन्छ यसको उत्पत्ति भएको अवस्थामा यसको उत्पत्ति हुन्छ । यसो नभएको अवस्थामा यो हुँदैन यसको निरोध भएको अवस्थामा उसको निरोध हुन्छ । स्पष्ट शब्दमा भन्नुपर्दा कुनै पनि घटना, वस्तु वा अवस्था स्वतन्त्र रुपले स्वस्फुर्त रुपमा अकारण उत्पन्न हँुदैनन् । प्रत्येक कुरालाई अस्तित्व र विशेषताको लागि धेरै कारणहरु र अवस्थाहरुमा निर्भर हुनु पर्दछ । ती कारण र अवस्थाहरु पनि आफैंमा पूर्ण हुँदैनन्, तिनीहरु पनि अरु कुनै कारणमा आश्रित हुन्छन् । यसरी समस्त अस्तित्व एउटा विशाल, गतिशील र परस्पर सम्बद्ध कारणात्मक जालमा बाँधिएको हुन्छ । यही नै प्रतित्य समुत्पादको मूल दर्शन हो । प्रतित्य समुत्पादको अर्थ कारणको अपेक्षा राखेर वा कारण माथि निर्भर रहेर कार्यको उत्पत्ति हुनु भन्ने हुन्छ । (बुद्धवादका तीन आयाम, पृष्ठ १४) त्यसैले यो सिद्धान्तलाई कार्यकारणवाद पनि भनिन्छ ।

बुद्धको समयमा समाजमा ईश्वरीय कृपा र अलौकिक रहस्यको गहिरो धारणा बनेको थियो । संसारमा जे छ सबै ईश्वरीय कृपा हो र ईश्वरको इच्छा विरुद्ध केही हुन सक्दैन भन्ने धारणाका विचमा बुद्धको प्रतित्य समुत्पादको सिद्धान्तले तरङ्ग मात्र होइन, चिन्तनका क्षेत्रमा क्रान्तिकारी युगको नै आरम्भ गरेको थियो । यो सिद्धान्तले मुलतः तीन सत्यलाई जोड दिएको पाइन्छ ः
अनित्य (अनिच्च)ः सबै बस्तु वा अवस्था एक अर्कामा निर्भर भएर उत्पन्न भएका छन्, त्यसैले कुनै पनि वस्तु स्थायी छैनन् । सबै अनित्य छन्, परिवर्तनशील छन् ।
दुःख (दुक्ख)ः संसार नै अनित्य छ परिवर्तनशील छ त्यसैले सबै कुरा नियन्त्रणभन्दा बाहिर छन् । नियन्त्रणभन्दा बाहिर भएको वस्तु वा अवस्था प्रतिको आसक्तिले दुःख श्रृजना गर्छ ।
अनात्म (अनत्ता)ः संसारमा कुनै पनि स्वतन्त्र, अविनाशी र स्थायी “आत्मा” वा “स्व” भन्ने कुरा छैन । स्वयम् व्यक्ति पनि निरन्तर परिवर्तनशील मानसिक र शारीरिक तत्वहरुको गठजोड मात्र हो ।

प्रतित्य समुत्पादः दुःख उत्पति र निरोधको चक्रः
प्रतित्य समुत्पादलाई स्पष्ट पार्न प्रतित्य समुत्पादका बाह्र अङ्ग छन् । यी अङ्गहरु कार्यकारण शृंखलामा घडीजस्तै घुमिरहन्छन् । पहिलोको कारणले दोस्रो उत्पन्न हुन्छ भने दोस्रोका कारणले तेस्रो । यसैगरी यो शृंखला चलिरहन्छ । यो शृंखलालाई कतै धर्मचक्र त कतै भवचक्र भनिन्छ । त्यस्तै कतै यसलाई संसार चक्रका रुपमा चिनिन्छ त कतै जन्ममरण चक्रका रुपमा पनि चिनिन्छ । प्रतित्य समुत्पादका बाह्र अङ्गहरुलाई बाह्र निदान पनि भनिन्छ । ती चक्रहरुलाई यसरी बुझ्न सकिन्छः

१. अविद्या (अज्ञान)ः अविद्या प्रतित्य समुत्पादको पहिलो अङ्ग हो । अविद्याको अर्थ अज्ञान भन्ने हुन्छ । भगवान् बुद्धका अनुसार प्रकृतिलाई यथार्थ रुपमा नबुझ्नु वा गलत बुझ्नु नै दुःखको मूल कारण हो । अविद्याको नाश केवल विद्याबाट मात्र सम्भव छ । अविद्याका कारण मानिस लोभ मोहको वशमा क्लेशयुक्त भएको छ । अविद्याले अवस्था वा वस्तुलाई त्यसको वास्तविक रुपमा देख्न दिँदैन । अविद्याले तत्वलाई बुद्धि र तर्कको घेराभित्र राखिदिन्छ र त्यहाँबाट उम्कनै दिँदैन (बुद्धवादका तीन आयाम, पृष्ठ १५) । अविद्याले कर्मसंस्कारलाई प्रभाव पारिरहेको हुन्छ ।
२. संस्कार (कर्म संस्कार)ः मानसिक इच्छाहरुमा कर्मका बिउहरु उत्पन्न हुन्छन् । ती बिउहरु कुशल, अकुशल वा उभयात्मक हुन सक्छन् । संस्कारहरुले पुनर्जन्मको प्रवृत्तिलाई निर्देशित गर्छन् । पूर्वजन्मका कर्महरु नै संस्कारका रुपमा हस्तान्तरित हुन्छन् । अविद्याका कारण भएका अकुशल वा कुशल कार्यहरु नै कर्मसंस्कारका रुपमा पूर्वजन्मबाट निःसृत भएको मानिन्छ । यही संस्कारले पुनर्जन्ममा विज्ञानको धरातल निर्माण गरिरहेको हुन्छ ।
३. विज्ञान (चेतना)ः विज्ञान चेतनाको उपज हो । पुनर्जन्ममा ग्रहण हुने विशेष प्रकारको चेतना जसको निर्माण अघिल्लो जन्मको कर्मसंस्कारले निर्माण गरेको हुन्छ । यही चेतनाले आगमी जीवनका आधारभूत ढाँचाहरु पनि निर्माण गरिरहेको हुन्छ । चेतना आमाको गर्भमा नै प्रवेश भइसकेको हुन्छ । यस्तो चेतना सीमित, सापेक्ष र सविकल्प हुन्छ । विज्ञानले नामरुपको आधारशीला तयार गर्दछ ।
४. नामरुप (मानसिक र शारीरिक गठन)ः नाम र रुप मिलेर बनेको यो शब्दले मानसिक (नाम) र शारीरिक (रुप) भन्ने अर्थ बोक्दछ । अर्थात् मन र शरीरको गठन नै नामरुप हो, जसलाई चेतनाले आकार दिइरहेको हुन्छ । शरीर रुप हो भने मनलाई वेदना, संज्ञा, संस्कार, विज्ञान आदि नामले चिनिन्छ । यी दुवै तत्वहरु एक अर्कामा आश्रित हुन्छन् । चेतनाले कर्मफल उपभोग गर्नका लागि इन्द्रिय तथा मन सहितको शरीरको अपेक्षा गरेअनुरुप भ्रुण अवस्थामा नै नामरुप विकास भइरहेको हुन्छ । नामरुपको विकासले षडायतनको विकासको धरातल निर्माण गरिरहेको हुन्छ ।

५. षडायतन (छ इन्द्रिय क्षेत्र)ः जन्मसँगै मनो भौतिक शरीरमा पाँच इन्द्रिय र एक मनोइन्द्रिय गरी छ आयतनको विकास भइसकेको हुन्छ । यी आयतनहरुले बाह्य संसार र चेतना बीच सम्पर्क माध्यमको कार्य गर्दछन् । इन्द्रिय अङ्गहरुले भौतिक रुप देख्छन् भने मनले गुण अवगुणको विश्लेषण गर्दछ । यिनै आयतनहरुले स्पर्शको आधार तयार गर्दछन् ।
६. स्पर्श (सम्पर्क)ः स्पर्श अनुभवको पहिलो चरण हो । स्पर्शको सोझो अर्थ छुनु वा सम्पर्क गर्नु हो । इन्द्रिय, अङ्ग, बाह्य वस्तु र चेतनाको संयोगबाट स्पर्श उत्पन्न हुन्छ । भर्खर जन्मेको बालकले बाह्य जगत्को अनुभव नै स्पर्शको माध्यमबाट गर्दछ । आँखाले हेरेर वा कानले सुनेर गरिने अनुभव चेष्टाहरु नै स्पर्श हुन् । यी चेष्टाहरु नैसर्गिक र स्वभाविक प्रवृत्ति हुन् । यिनै स्पर्शहरुले वेदनाको आधारभूमि तयार गर्दछन् ।
७. वेदना (अनुभुति)ः वेदना भन्नाले इन्द्रियहरुले थाहा पाउने अनुभुति हो । स्पर्शबाट तीन प्रकारका वेदना अनुभुति उत्पन्न हुन्छन्, सुख, दुःख वा उपेक्षा (न सुख न दुःख) । उपेक्षालाई उदासिन वेदना पनि भनिन्छ । स्पर्शले बाह्य जगतको ज्ञान दिन्छ भने वेदनाले अन्तर्जगतको ज्ञान प्रदान गर्दछ । यही वेदनाले तृष्णा उत्पन्न गराउँदछ ।
८. तृष्णा (लालसा)ः तृष्णा आसक्तिको मूल हो । वेदनाले सुख र दुःख छुट्याएपछि इन्द्रिय सुख उपभोग गर्ने तीव्र लालसा उत्पन्न हुनु नै तृष्णा हो । यही नै दुःखको जड पनि हो । सुखको तृष्णाले दुःखको दलदलमा धकेलिरहेको हुन्छ । तृष्णाको उत्पत्तिसँगै उपादानले जन्म लिइरहेको हुन्छ ।
९. उपादान (ग्रहण)ः चिनीमा कमिला टाँसिए झै विषय सुखमा टाँसिनु र भोग विलासमा नराम्रोसँग फस्नु नै उपादान हो (भारतीय दर्शनः आलोचन और अनुशीलन, पृष्ठ ५३) । जब “म” भन्ने तत्वको प्रभाव बढ्छ र तृष्णाको पकड बलियो बन्छ, तव विलासिता र तृष्णाको तह उच्च हुन्छ । यही विलासिताको कामना र ग्रहणशीलता नै उपादान हो जसले भवको निर्माण गर्दछ ।
१०. भव (अस्तित्व)ः भवको अर्थ फलउन्मुख कर्मको फल भोग गर्नका लागि जन्म वा पुनर्जन्म लिने संकल्प गर्नु हो (भारतीय दर्शनः आलोचन और अनुशीलन, पृष्ठ ५३)। विषयसुखमा आसक्त भएर जब मान्छे असल खराबको वास्ता नगरी विषय वासना र सुखभोगमा आसक्त भएर कर्म गर्छ तिनै कर्मले नयाँ जन्मको शृंखला निर्माण गरिरहेका हुन्छन् । भवले जातिको आधारशीला तयार गर्दछ ।

११. जाति (जन्म)ः जातिको अर्थ जन्म हो । यसलाई पुनर्जन्म पनि भन्न सकिन्छ । भवका कारण जन्म उत्पन्न हुने हुँदा भवमा गरिएका कर्मका फलहरु भोग्न, जन्म या पुनर्जन्म हुने गर्दछ । जातिले जरामरणको आधार तयार गर्दछ ।
१२. जरामरण (वृद्ध र मरण)ः जन्मसँगै बुढ्यौली, रोग, मरण आदि लिएर मान्छे आउँछ । जावनीमा भएको भर्भराउँदो शरीर बुढ्यलीसँगै चाउरिन थाल्छ र एकदिन मृत्युका मुखमा पुग्दछ । मरणभन्दा ठुलो अर्को कुनै शोक छैन । जरामरण प्रतित्य समुत्पादको अन्तिम अङ्ग भए तापनि यो चक्र यहीँ रोकिदैन । अविद्या, संस्कार हुँदै निरन्तर चलिरहन्छ । यस चक्रबाट मुक्ति पाउने उपाय भनेकै विद्या हो, जसले अविद्याको नष्ट गर्छ । अविद्या नष्ट नभइन्जेल यो चक्र चलिरहन्छ । एकले अर्कोलाई जन्माइरहन्छन् ।

माथि उल्लेखित बाह्र अङ्गहरु अनुलोम (अविद्यादेखि जरामरणसम्म) रुपमा वर्णित छन् । भारतीय लेखक तथा विद्वान् चन्द्रधर शर्माले आफ्नो पुस्तक “भारतीय दर्शनः आलोचन और अनुशीलन” मा बौद्ध दर्शनका बारेमा लेख्ने क्रममा पृष्ठ ५३ र ५४ मा प्रतित्य समुत्पादको प्रतिलोम (जरामरणदेखि अविद्या तर्फ) को निरुपण गरेका छन् । उनको निरुपणका रुपमा प्रतित्य समुत्पादका अङ्गहरुलाई जरामरणदेखि प्रतिलोमका आधारमा अध्ययन गर्दा यो सिद्धान्तलाई अझ व्यापक रुपमा बुझ्न मद्दत पुग्छ ।

प्रतिलोम निरुपणमा बाह्र अङ्गको विश्लेषण यसरी गरिएको छः
हामीलाई अप्रिय जनसँगको भेट, प्रिय जनसँगको बिछोड, व्याधि, शोक, जरामरण आदि दुःख किन हुन्छ ? किनभने हामीले जन्म लिएका छौँ । हामी जन्म अथवा पुर्जन्म किन लिन्छौँ ? किनभने हामीले पुनर्जन्म लिने कर्म गरेका छौँ र ती कर्महरु भोग गर्ने इच्छा हामीमा छ । कर्म र इच्छा किन हुन्छन् ? किनभने हमी भोगविलासमा आसक्त भएर त्यसैमा नै टाँस्सिएका छौँ । यो आशक्ति किन हुन्छ ? किनभने हामीमा भोगको तृष्णा छ । यो तृष्णा किन हुन्छ ? किनभने भोगले इन्द्रिय संवेदनाजन्य सुख प्रदान गर्दछ । यो संवेदना किन हुन्छ ? किनभने इन्द्रिय र विषयको सम्पर्क हुन्छ जसले संवेदना जन्माउँछ । यो सम्पर्क किन हुन्छ ? किनकि हामीसँग छवटा आयतन छन् जसको काम नै विषयसँग सम्पर्क गर्नु हो । यी छ इन्द्रिय (आयतन) किन हुन्छन् ? किनभने हामीसँग नामरुपात्मक मनोभौतिक शरीर छ र त्यही शरीरमा यी इन्द्रिय उत्पन्न हुन्छन् । त्यही नामरुपमा नै विज्ञान अनुप्रमाणित हुन्छ । विज्ञान यसमा किन प्रविष्ट हुन्छ ? किनभने पूर्वकर्महरुले उसलाई बाध्य बनाएको हुन्छ । यो कर्मसंस्कार किन हुन्छ ? किनकि अविद्या कर्ममा प्रवृत्त भएको हुन्छ । यसरी हेर्दा अविद्या नै सबै दुःखको मुल कारण हो । अविद्याको नाश गर्नु नै निर्वाण हो ।

प्रतित्य समुत्पाद सिद्धान्तको व्यवहारिक पक्षः
प्रतित्य समुत्पाद केवल सैद्धान्तिक विषय मात्र होइन । यो त जीवन बाँच्ने कला र दुःखबाट मुक्त हुन् व्यवहारिक विधि हो, मन्त्र हो । यो सिद्धान्तले दुःखको वास्तविक स्रोतलाई तृष्णा र अविद्याका रुपमा देखाएको छ । जब मानिस तृष्णामुक्त हुन्छ, र जो जे हो त्यसलाई त्यसै रुपमा चिन्न र ग्रहण गर्न थाल्छ, तब सुख स्वाभाविक रुपले उसलाई पछ्याउन थाल्दछ । प्रतित्य समुत्पादको सिद्धान्तले कर्म के हो, कर्मले कसरी वर्तमान र भविष्यलाई प्रभावित बनाउँछ भन्ने कुरा स्पष्ट बनाउँछ । जिम्मेवार र सचेत जीवनको महत्वलाई व्यक्त गर्दछ ।

दुःख आफ्नै मानसिक प्रतिक्रिया हो भन्ने कुरा जब मानिसले थाहा पउँछ, तब उसमा वेदनालाई तृष्णासम्म पुग्नै नदिने संकल्पको निर्माण हुन्छ । यो नै सुख प्राप्तिको आधारशीला हो । तृष्णाविहीन मानिस संसारलाई यथार्थ ढंगले हेर्न बुझ्न र सोही अनुरुप दृष्टकोण निर्माण गर्न थाल्दछ । जब दृष्टि सम्यक बन्दछ मान्छे भ्रम चिर्न सफल हुन्छ र स्थायी सुख प्राप्त गर्दछ । विपश्याना ध्यानको केन्द्रीय विषय नै प्रतित्य समुत्पाद हो । ध्यानद्वारा नै यसको प्रत्यक्ष अनुभव गर्न सकिन्छ ।

निष्कर्षः प्रतित्य समुत्पाद बौद्ध दर्शनको आधार स्तम्भ हो । यो सिद्धान्त समस्त अस्तित्वको कार्यप्रणालीको वैज्ञानिक नक्सा नै हो । यो सिद्धान्तले दुःख समुदय सत्य र त्यसको निरोध सत्यलाई अविभाज्य रुपमा जोडेर देखाउँछ, बुझाउँछ । मानव जातिकै सबैभन्दा गहिरो प्रश्न; जन्म, मृत्यु, दुःख, कर्म, पुनर्जन्म तथा मुक्ति आदिको तर्कसंगत र अनुभवजन्य जवाफ दिन्छ । प्रतित्य समुत्पादको सिद्धान्तलाई बुझेर व्यवहारमा लागू गर्ने मानिस अविद्याको अन्धकारबाट निस्केर प्रज्ञाको प्रकाशमा बाँच्न सक्छ । आत्मकेन्द्रित व्यक्तित्वबाट मुक्त बनाएर करुणा र बोधको बिस्तार गर्दै निर्वाण तर्फ अग्रसर गराउँदछ । प्रतित्य समुत्पाद चार आर्य सत्यका दोस्रो र तेस्रो आर्यसत्यसँग सम्बन्धित छन् । (लेखक लुम्बिनी बौद्ध विश्वविद्यालय स्नातकोत्तर तह प्रायोगिक बौद्ध अध्ययनतर्फका प्रथम वर्षमा अध्ययनरत विद्यार्थी हुन् ।)