रुद्र ज्ञवाली
देश यतिबेला निर्वाचनमय छ । घरदैलो, चिया पसल, सामाजिक सञ्जाल, जहाँ गए पनि एउटै प्रश्न गुञ्जिरहेको छ,‘यसपटक भोट कसलाई ?’ निर्वाचनको मिति नजिकिँदै छ र वातावरण अत्यन्त्यै तनावपूर्ण देखिन्छ । यतिबेला राष्ट्र, राष्ट्रियता र जनजीविकाका सवालमा परिपक्व बहस र पैरवी हुनुपर्ने हो तर विडम्बना, यहाँ आरोप प्रत्यारोप र गालीगलौजले सार्वजनिक संंवादलाई प्रदूषित बनाइरहेको छ । यस्तो वातावरणमा मतदाता अलमलमा पर्नु स्वाभाविक हो । तर परिस्थितिले जति नै निराश बनाओस्, हामीले हाम्रो मतमार्फत अस्थिरता, अनिश्चितता र दिशाहीनताको भुमरीबाट देशलाई सुरक्षित अवतरण गराउनै पर्ने भएको छ । यो नै सचेत मतदाताको पहिलो सर्त हो ।
निर्वाचनः उत्सव कि जिम्मेवारी ?
निर्वाचन केवल मतपेटिकामा मतपत्र खसाल्ने औपचारिक उत्सव मात्र होइन । यो पाँच वर्षको शासन, नीतिनिर्माण, विकासको दिशा र राष्ट्रिय स्वाभिमानको उचाइ निर्धारण गर्ने ऐतिहासिक क्षण हो । हाम्रो एक मतले सरकार बनाउँछ, नीति बदल्छ र भविष्यको मार्गचित्र कोर्छ । हामीले दिएको मतका आधारमा गलत नेतृत्व चयन भयो भने त्यसको असर शिक्षा, स्वास्थ्य, रोजगारी र विकासमा मात्र सीमित रहँदैन, यसले राष्ट्रिय अस्तित्वमै सङ्कट सिर्जना गर्न सक्छ । उदाहरणको लागि युद्धले थलिएको युक्रेनलाई हेरे पुग्छ । त्यसैले निर्वाचनलाई उत्सवका रूपमा मात्र होइन, गम्भीर नागरिक जिम्मेवारीका रूपमा बुझ्न आवश्यक छ ।
नेपाल आज जटिल भूराजनीतिक परिवेशमा उभिएको छ । दुई ठुला छिमेकी बिचको रणनीतिक सन्तुलन, अन्तर्राष्ट्रिय शक्तिकेन्द्रहरूको चासो, आन्तरिक आर्थिक दवाव, वैदेशिक रोजगारीमा निर्भर युवाशक्ति, कृषि र उद्योगको सुस्त पुनरुत्थान, संघीयताको प्रभावकारी कार्यान्वयन, सुशासन र भ्रष्टाचार नियन्त्रण–यी सबै चुनौतीसँग जुध्न सक्षम, दूरदर्शी र नैतिक नेतृत्व चाहिन्छ । लोकप्रिय नाराभन्दा यथार्थवादी नीति र क्षणिक गठजोडभन्दा दीर्घकालीन राष्ट्रिय हित रोज्ने नेतृत्व आजको आवश्यकता हो ।
असल नेता र नेतृत्व चिन्ने आधार के होलान् ?
मतदानअघि प्रत्येक मतदाताले आफूलाई केही प्रश्न सोध्नुपर्छ । जस्तो कि उम्मेदवारसँग स्पष्ट र व्यवहारिक विकास दृष्टि र दृष्टिकोण छ कि छैन ? विगतको कार्यसम्पादन पारदर्शी र परिणाममुखी छ कि छैन ? संसद्मा तथ्य र तर्कका आधारमा बोल्ने बौद्धिक क्षमता छ कि छैन ? राष्ट्रहितको पक्षमा अडिग रहने नैतिक दृढता छ कि छैन ? नेतृत्व केवल भाषणको कलाबाट मात्रै प्रमाणित हुँदैन; त्यो सङ्कटको समयमा देखिएको साहस, निर्णय क्षमता र इमानदारीबाट प्रमाणित हुन्छ । मत भनेको भावनाको आवेग होइन, विवेकको निर्णय हो ।
रुपन्देही–३ को निर्वाचन सन्दर्भ
रुपन्देही भारतसङ्ग सीमाना जोडिएको सीमावर्ती जिल्ला भएकाले यहाँका मुद्दा राष्ट्रिय महत्वका हुन्छन् । व्यापार, राजस्व, उद्योग, पर्यटन र सुरक्षा–यी सबै विषय निर्वाचनसँग प्रत्यक्ष जोडिएका विषय हुन् । सीमावर्ती अर्थतन्त्रको सन्तुलित व्यवस्थापन, स्थानीय उद्योगको संरक्षण, रोजगारी सिर्जनाका ठोस कार्यक्रम, युवा र महिलाका अवसर विस्तार तथा सीमान्तकृत समुदायका आवाजलाई मुखरित गर्ने प्रतिबद्धता, यी सबै गुण अबको प्रतिनिधिमा खोजिनुपर्छ ।
रुपन्देही निर्वाचन क्षेत्र नं. ३ जस्तो आर्थिक र औद्योगिक महत्व बोकेको क्षेत्रमा छानिने प्रतिनिधि केवल सडक–पुलको योजनाकार होइन; ऊ राष्ट्रिय बजेट निर्माणको निर्णायक, कानुन निर्माणको सहभागी र अन्तर्राष्ट्रिय सन्धिको अनुमोदक पनि हो । त्यसैले यहाँको मत स्थानीय सीमाभन्दा बाहिर राष्ट्रिय भविष्यसँग जोडिएको छ । उल्लेखित बुँदा र सर्तहरूको आधारमा तुलनात्मक मूल्याङ्कन गर्दा बासुदेव घिमिरे यो निर्वाचन क्षेत्रका सबैभन्दा अब्बल उम्मेदवार देखिन्छन् ।

किन बासुदेव घिमिरे त ?
स्थानीय, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय कार्यभारका आधारमा तुलनात्मक मूल्याङ्कन गर्दा पनि बासुदेव घिमिरेको व्यक्तित्व अन्य उम्मेदवारहरूको तुलनामा वजनदार छ । तिलोत्तमा नगरपालिकाको प्रमुख रहँदा उनले देखाएको प्रशासनिक दक्षता, बहुआयामिक विकासको दृष्टि र कार्यान्वयन क्षमता पूरै देशभर चर्चित र प्रशंसित छ । योजनाको घोषणा मात्र होइन, कार्यान्वयनमा दृढता देखाउने शैलीले उनलाई राजनीतिक परीक्षामा सफल तथा सक्षम नेता प्रमाणित गरेको छ ।
नगर प्रमुखको रुपमा मात्र होइन, प्रतिनिधिसभा सदस्यका रूपमा उनले संसद्मा उठाएका विषय, राष्ट्रिय हित र जनजीविकाका पक्षमा लिएको अडानले उनको राजनीतिक परिपक्वता झल्काउँछ । अनुभव, नीतिगत स्पष्टता र स्वाभिमानप्रतिको प्रतिबद्धता–यी तीनै पक्षले उनलाई अहिलेको जटिल समयका लागि निर्विकल्प बनाउँछन् ।
मेरो अन्तिम अपिलः भावनाभन्दा विवेक तथा देशको भविष्य रोजौँ
मेरो मतमा व्यक्ति वा दलभन्दा राष्ट्र ठुलो हो । यो समय व्यक्तिगत आग्रह, जातीय–पारिवारिक निकटता वा क्षणिक प्रलोभनभन्दा माथि उठेर सोच्ने समय हो । मतपत्र समात्दा हामी केवल एउटा चिन्हमा छाप लगाइरहेका हुँदैनौँ; हामी देशको दिशा निर्धारण गरिरहेका हुन्छौँ । देशको भविष्य निर्माण गरिरहेका हुन्छौं ।
यद्यपि बासुदेव घिमिरेसङ्ग मेरो नजिकको परिचय र उठबस छैन तर पनि उनले विगतमा सम्पादन गरेका कार्य र वहन गरेका कार्यभारका आधारमा यसपटक मैले मेरो मत सूर्य चुनाव चिह्नका उम्मेदवार बासुदेव घिमिरेलाई दिने सुनिश्चित गरेको छु । यो समर्थन व्यक्तिप्रति अन्धआस्था होइन, स्थिरता, सुशासन, सन्तुलित कूटनीति र राष्ट्रिय स्वाभिमान तथा सार्वभौम नेपालको पक्षमा मेरो सचेत मनले गरेको निर्णय हो ।
रुपन्देही–३ का आदरणीय मतदाताज्यूहरू, कोही कसैप्रति कुनै प्रकारको पूर्वाग्रह वा आवेगमा होइन, प्रचारका सस्ता नारा र उत्तेजक भाषणका लहडमा होइन, भविष्यको दीर्घकालीन असर मनन गरेर मतदानको निर्णय गरौँ किनकि मतपत्र केवल मत दिने कागजको खोस्टो होइन; यो त आगामी पुस्ताका लागि वर्तमान पुस्ताले कोरी दिने भाग्यरेखा पनि हो ।
