समतामूलक राष्ट्र र बौद्ध सिद्धान्त

मेचीकाली संवाददाता

२७ श्रावण २०८२, सोमबार
190 shares

गोमा जि.सी.

न्याय भनेको कानुनी शासनको आधारशिला हो । न्यायले व्यक्तिको हक स्वतन्त्रता, समानता, मर्यादा र कर्तव्यलाई सुनिश्चित गर्दछ । यो केवल अदालतमा वा कानुनी व्यवस्थामा पाउने न्याय मात्र होइन सामाजिक, सांस्कृतिक, आर्थिक र राजनीतिक, वर्गीय, आधारमा सबै नागरिकलाई पाउने सम्मान व्यवहार पनि हो । न्यायको स्वरूप समय, समाज र विचारधाराका आधारमा फरक हुन सक्छ तर यसको मूल उद्देश्य मानवीय मूल्य मान्यता को रक्षा गर्नु हो । न्यायपूर्ण राज्यको लागि न्याय अपरिहार्य हुन्छ । न्यायपूर्ण राज्य भन्नाले यस्तो व्यवस्था हो जहाँ सबै नागरिकलाई सम्मान व्यवहार गरिन्छ । सबैको अधिकारको सुनिश्चित, कमजोर र पिछाडिएका वर्गको संरक्षण गरिन्छ । राज्यका निर्णयहरू निष्पक्ष, पारदर्शी, जवाफदेहीता र जनहितमा आधारित हुन्छन् । न्यायपूर्ण राज्यले नागरिकबीच हुने जात, धर्म वर्ग, लिङ्ग वा सामाजिक र आर्थिक अवस्था अन्त्य गरी सबैलाई शिक्षा, स्वास्थ्य, रोजगार, समानता, न्याय, स्वतन्त्रताको, सुनिश्चित गर्छ ।

समतामूलक समाज एक आदर्श समाज हो । लोक कल्याणकारी राज्यको पृष्ठभुमिमा स्थापित सस्कार एवं सभ्यतासहितको समुन्नत र विकसित समाजलाई हामी समतामूलक समाज भन्दछौँ । अवसरको न्योचित वितरण गरिएको समाज समतामूलक समाज हो । यसतो समाजमा नागरिकलाई जात, जाति, लिङ्ग, वर्ण, आर्थिक अवस्था, सामाजिक विविधता, सांस्कृतिक अवस्थाका आधारमा कुनै पनि किसिमको भेदभाव गरिँदैन । समाजमा पछि परेका वर्गलाई सामाजिक न्यायको सिद्धान्तका आधारमा राष्ट्रिय मूलधारमा समाहित गरिन्छ, समाज अहिले पनि ‘हुने खाने र हुँदा खाने’ वर्गबिच गहिरो खाडल छ । विकासको लाभ सबै नागरिकले समान रुपमा लिन सकिरहेका छैनन् धनीवर्ग झनझन धनी र गरिब वर्ग झनझन गरिब बन्दै गइरहेका छन् । यो असमानताको खाडललाई अन्त्य गरी सबैलाई सम्मानपूर्वक बाँच्ने वातावरण तयार गरी सबै जनतालाई विकासको प्रतिफल दिलाउने प्रयत्न निर्माण गर्नु समतामूलक समाजको अवधारणा हो ।

न्यायपूर्ण राष्ट्र र समतामूलक समाजप्रति हाम्रो चिन्तन प्राचीन समयदेखि नै रहिआएको हो । मानव सभ्यताको सुरुवातदेखि नै समाजमा समानता, पारदर्शिता, उत्तरदायित्व र नैतिकताको खोजी हुँदै आएको छ । तर समयको गति सँगै शक्तिकेन्द्रित राज्य प्रणाली, वर्गीय भेदभाव, जातीय शोषण र आर्थिक असमानताले न्याय र समताको अवधारणा कमजोर हुँदै गइरहेको छ । यस्तो समयमा विचार गर्नुपर्ने हुन्छ, न्यायपूर्ण राज्य र समतामूलक समाजको निर्माण कसरी सम्भव छ ?

व्यक्तिगत रूपमा म एक कानून विद्यार्थीको हैसियतले यो बुझ्न प्रयास गर्दै छु कि समाजमा विद्यमान असमानता, अन्याय, शोषण र विभेदका कारणहरूलाई कसरी हटाउन सकिन्छ । कानुन केवल लेखिएको दस्तावेज होइन, यो समाजको प्रतिविम्ब हो र यदि समाज नै विभेदकारी छ भने कानुनले मात्र न्याय सुनिश्चित गर्न सक्दैन । त्यसैले मैले यो लेखमार्फत बुद्धले देखाउनुभएको नैतिक आचरण, समानता, अहिंसात्मक, प्रकृति र समतामूलक बाटोलाई न्यायपूर्ण राज्य र समतामूलक समाज निर्माणको दिशामा कसरी उपयोग गर्न सकिन्छ भन्ने विषयमा आफ्नो विचार प्रस्तुत गरेकि छु ।

गौतम बुद्धले देखाउनुभएको मार्ग धार्मिक चेतना जागरण मात्र होइन, सामाजिक रूपान्तरणको पनि उपाय हो । बुद्धले जातीय, वर्गीय र लैङ्गिक विभेदको कट्टर विरोध गर्दै समानता, करुणा अहिंसा र समावेशितामा आधारित जीवनशैलीको मार्ग देखाउनुभएको छ । उहाँका विचारहरूले मानव अधिकार, लोकतन्त्र, सामाजिक न्याय र दिगो विकासमा आजका आधुनिक अवधारणाहरूलाई पनि टक्कर दिनसक्ने गहिरो आधार प्रदान गर्छ । न्यायपूर्ण राज्य र समतामूलक समाजको स्थापनाका लागि गहिरो नैतिक, सामाजिक र मानसिक रूपान्तरण आवश्यक छ । त्यसकारण बुद्धका शिक्षाहरू जस्तै पञ्चशील, अष्टाङ्गिक मार्ग, चार आर्यसत्य, मूल्य र आचरणहरु न्यायपुण राज्य र समतामुलक समाज निर्माणका आधार हुन् ।

अझ विशेषगरी पञ्चशील र अष्टाङ्गिक मार्गले राज्यका हरेक तह—न्यायपालिका, कार्यपालिका, विधायिका र नागरिक समाजलाई मार्गदर्शन गर्न सक्छ । उदाहरणका लागि, यदि नीति निर्माणमा अष्टाङ्गिक मार्गको, सम्यक दृष्टिकोण अर्थात सही जानकारीमा आधारित विचार अपनाइन्छ भने, त्यसले सबैको हित हुने निर्णय ल्याउन सक्छ । यदि न्यायपालिकामा सम्यक संकल्प (निष्पक्षता) अपनाइन्छ भने, न्याय निष्पक्ष र सबल हुन्छ । आज हामी जहाँ अन्याय, हिंसा, भ्रष्ट्राचार, विभेद र स्वार्थले समाजलाई गाँजेको देख्छौं, त्यहाँ बुद्धका शिक्षाहरू गहिरो आलोचना र सुधारको माध्यम बन्न सक्छन् । म दृढ रूपमा विश्वास गर्छु कि राज्य व्यवस्थामा जब विवेक, करुणा, समानता र सत्यता हुन्छ, तब मात्र त्यो राज्य साँच्चिकै न्यायपूर्ण बन्न सक्छ ।

जब हामी न्यायपूर्ण र समतामूलक समाजको कुरा गर्छौं, प्रायः सबै ध्यान नागरिक अधिकार र कर्तव्यतर्फ केन्द्रित हुन्छ । नागरिकहरू शिक्षित, सचेत, जिम्मेवार, नैतिकवान, सहिष्णु हुनुपर्छ भन्ने कुरामा हामी विश्वास गर्छौं र त्यो सही पनि हो । तर, त्यति मात्र न्यायपूर्ण र समतामूलक समाजको लागि पर्याप्त छैन । कुनै पनि समाज न्यायपूर्ण वा समतामूलक त्यतिबेला मात्र बन्छ जब शासक वर्ग स्वयं उदाहरणीय बन्न सक्छ । नागरिक अनुशासित मात्र भएर समाज सुधार हुँदैन, यदि नेतृत्व नै भ्रष्ट, विभेदकारी वा अनैतिक छ भने । त्यसैले शासक वर्ग चाहे त्यो सरकारको नेतृत्व गरिरहेका हुन्, सांसदहरू, नीति निर्माता, सुरक्षाकर्मी वा न्यायिक निकायका प्रतिनिधिहरू हुन् तिनीहरू अनुशासित, नैतिकवान्, आदर्श, उत्तरदायी, न्यायप्रेमी र संवेदनशील हुनुपर्छ ।

यसै सन्दर्भमा, गौतम बुद्धले राजाहरूलाई दिनुभएको दश राजधम्म (दशराज धर्म) अत्यन्त सान्दर्भिक र मार्गदर्शक बन्न आउँछ । दश राजधर्म बुद्ध दर्शनमा आधारित दसवटा सिद्धान्तहरू हुन्, जसलाई शासकले पालना गर्नुपर्छ भन्ने शिक्षा बुद्धले दिएका थिए । ती दश धर्महरू हुन् दान, सील, परिग, अज्जव, मद्धव, तप, अक्खोध, अविहिंसा, खन्त र अविरोध । यी धर्महरू शासकको आन्तरिक गुण र व्यवहारसँग सम्बन्धित छन्, जसले शासन व्यवस्थालाई नैतिक र जनमुखी बनाउँछ जब शासकहरू यी गुणहरू अपनाउँछन्, तब राज्य केवल कानुनको शासन हुँदैन, नैतिकताको शासन बन्छ । जसले गर्दा सबै नागरिक समान अधिकार, अवसर र सम्मानका साथ बाँच्न पाउँछन् ।

अहिलेको समय र राजनीतिक परिवेशलाई आधार मान्दा, शासकहरूमा यदि दश राजधर्मका गुणहरू भएको भए, हाम्रो समाज न्यायपूर्ण, समतामूलक र उत्तरदायी बन्ने निश्चित छ । आजका शासकहरूमा दानभन्दा लोभ, सीलभन्दा भ्रष्टाचार, परिग, भन्दा स्वार्थ, अज्जवभन्दा झूट, मद्धवभन्दा घमण्ड, तपभन्दा विलासिता, अक्खोधभन्दा आक्रोश, अहिंसाभन्दा दमन, खन्तिभन्दा अधैर्यता र अविरोधभन्दा प्रतिशोधको भावना बढी देखिन्छ । यिनै कारणले गर्दा समाजमा असमानता, गरिबी, विभेद, अशान्ति र अविश्वास गहिरिँदै गएको छ । यदि वर्तमान राजनीतिक नेतृत्वले दशराजधर्मका शिक्षाहरू आत्मसात् गर्ने हो भने, शासन प्रणालीको स्वरूप नै बदलिन सक्छ । नेताहरूलाई आफ्नो पद र शक्ति जनताको हितमा प्रयोग गर्न प्रेरित भएमा शिक्षा, स्वास्थ्य, रोजगारी जस्ता आधारभूत सेवा सबै नागरिकमा समान रूपमा पुग्थ्यो । ‘शील’ र ‘अज्जव’ ले राजनीतिमा पारदर्शिता र नैतिकता ल्याउँथ्यो, जसले भ्रष्टाचार, अनियमितता र जनतामा निराशा घटाउँथ्यो ।

यस्तै परिग ‘धर्मले दलित, महिला, अल्पसंख्यक, अपाङ्गता भएका व्यक्ति र पछाडि पारिएका समुदायहरूको हक–अधिकार सुरक्षित गर्न मद्दत गथ्र्यो, जसले समावेशी समाजको निर्माण गर्न सम्भव बनाउँथ्यो । आजको राजनीतिक वातावरणमा अहिंसा र धैर्यको ठूलो खाँचो छ । सत्ताको नाममा हिंसा, शक्ति प्रदर्शन भइरहेका बेला ‘अहिंसा’ र ‘अक्खोध’ धर्मले शासकलाई सहनशील, शान्तिपूर्ण बनाउँथ्यो ।

‘तप’ धर्मले नेताहरूलाई विलासी जीवन त्यागेर जनताको दुःखमा सामेल हुन प्रेरित गथ्र्यो । ‘अविरोध’ ले उनीहरूलाई सत्य, न्याय र समानताको पक्षमा दृढ रहन सिकाउँथ्यो, चाहे त्यो आफ्नै पार्टी वा स्वार्थविरुद्ध किन नहोस् । दशराज धर्मले राज्य सञ्चालनमा उत्तरदायित्व, समावेशिता र न्यायको भावना सुदृढ गर्छ । आजको जटिल राजनीतिक परिवेशमा, शासकहरूले यी दस धर्महरूलाई आत्मसात् गरेर शासन सञ्चालन गर्ने हो भने, समाजमा भेदभाव, अन्याय र असमानताको अन्त्य गर्दै समान अवसर र सर्वहितकारी व्यवस्था निर्माण सम्भव हुन्छ । यस्ता धर्महरूको पालना गर्ने नेतृत्वले न्यायपूर्ण र समतामूलक समाज बन्न सक्छ, जहाँ हरेक नागरिक सुरक्षित, सम्मानित र समान महसुस गर्छ । यो नै समुन्नत, स्थिर र शान्त राष्ट्रको आधारशिला हो ।

दश राजधर्म जस्ता सिद्धान्तहरूलाई राज्य सञ्चालनमा अपनाउँदा आजको सामाजिक विभेद, हिंसा, भ्रष्टाचार, असमानता र अन्याय जस्ता समस्याहरूको दीर्घकालीन समाधान खोज्न सकिन्छ । यसकारण, आजको सन्दर्भमा बुद्धको शिक्षालाई आधुनिक संविधान, नीति र सार्वजनिक प्रशासनमा आत्मसात् गर्न सकियो भने मात्र हामी साँच्चिकै न्यायपूर्ण राज्य र समतामूलक समाजको दिशामा अग्रसर हुन सक्छौं । भवतु सब्ब मंगलम् ! (लेखक लुम्बिनी बौद्ध विश्वविद्यालय स्कुल अफ ल सिटी क्याम्पसमा बिएलएलबी दोस्रो सेमेष्टरमा अध्ययनरत विद्यार्थी हुन् ।)