के हो त प्रस्थानबिन्दु ?

मेचीकाली संवाददाता

२ आश्विन २०८२, बिहीबार
103 shares

घनश्याम कोइराला

जहाँबाट यात्रा प्रारम्भ गरिन्छ, त्यसलाई प्रस्थानबिन्दु भनिन्छ । मानिसले जीवनको लामो यात्रा गर्दछ । यस्तो यात्रा सुखद र सन्तोषप्रद होस् भन्ने चाहना सबैको हुन्छ । सुखको साधन भौतिक रूपमा प्राप्त हुन सक्दछ । धनसम्पत्ति, घर, गाडी, आदि भौतिक साधन हुन् । तर सन्तोष भने भौतिक प्राप्ति वा उपलब्धताले मात्र हुँदैन । सन्तोष मनसँग–भावनासँग सम्बन्धित विषय हो । वास्तवमा सन्तोष मनको खुसी हो, मनको खुसीबाट सन्तुष्टि प्राप्त हुन्छ ।

हामीले खोजेको सन्तोषको प्रस्थानबिन्दु के हुन सक्छ ? परिवार, धनसम्पत्ति, भौतिक साधन कि अरु केही ? हामीलाई जे चाहिएको हो, त्यसको खोजी गर्नुपर्छ अर्थात् प्रस्थानबिन्दु त्यसलाई बनाउनुपर्दछ । जहाँ पुग्नुपर्ने हो, त्यो गन्तव्यलाई ध्यानमा राखेर प्रस्थानबिन्दु पहिल्याउनु पर्दछ । भनिन्छ, ‘जे खोजिन्छ, त्यही पाइन्छ । जहाँ जानका लागि हिँडिन्छ, त्यहीँ पुगिन्छ ।’
कतिपयले परिवार, सन्तान हुनुलाई सुख होला भन्ने ठान्दछन् । तर हामीले देखेका छौँ, परिवार, सन्तान भएका मानिसहरू पनि जीवनसँग सन्तुष्ट छैनन् । कतिपय एक्ला मानिस, भौतिक सम्पन्नता नभएका मानिसहरू सन्तुष्ट देखिन्छन् । सुख अनेकौँ साधनस्रोतले सम्पन्न मानिस पनि सन्तुष्ट देखिँदैन । सुख मानिसको भावनाको विषय हो र सन्तोष पनि त्यस्तै हो । हेर्दै, बुझ्दै जाँदा भौतिक साधनस्रोत, परिवार, सन्तान सुखका माध्यम हुन सक्दछन्, स्वयं सुख हुन सक्दैनन् । आफूले रूचाएको काम गर्न पाउँदा, आपूmले अपेक्षा गरेको सफलता प्राप्त गर्दा मानिस सन्तुष्ट हुँदो रहेछ । सन्तोष भनेको आनन्दको अनुभूति रहेछ, अनुभूति भित्र भएकोलाई पछ्याउनु रहेछ ।

सामान्य अर्थमा ‘भूति’ भनेको हुनु हो भने ‘अनु’ भनेको पछ्याउनु हो । यसको पूरा अर्थ हुन्छ, ‘भएकोलाई पछ्याउनु ।’ अर्थात् आपूmसँग जे छ, त्यसलाई मान्यता दिनु, स्वीकार गर्नु । कतिपयलाई लाग्न सक्दछ, यसो गर्दा त अघि नै बढिँदैन, यसले यथास्थितिको पक्षपोषण गर्दछ आदि । तर बुझ्नैपर्ने कुरा के हो भने हुनु भनेको उही रहिरहनु होइन, जतिबेला जे छ, त्यसमा उभिनु, त्यसलाई आधार बनाउनु भनिएको हो । अर्को, सुख वा सन्तोषमा भौतिक वस्तुको, भौतिक अवस्थितिको कुनै स्थान हुँदैन भन्ने होइन । यहाँ बुझ्नैपर्ने कुरा के हो भने साधना (निरन्तर प्रयास) बाट साधन, साधनबाट समृद्धि, समृद्धिबाट सुख, सुखबाट सन्तोष हुन्छ ।

हामीलाई थाहा छ, हिमाल चढ्नु सजिलो काम होइन । तर, मानिसहरूले बूढो उमेरमा पनि सगरमाथा चढ्ने प्रयत्न गरेका छन् । कसैले कसैलाई कहिल्यै पनि सगरमाथा चढ्न बाध्य पारेको सुनिएको छैन । अझ सगरमाथा चढ्ने यात्र प्रारम्भ गर्नुअघि सरकारलाई शुल्कसमेत तिर्नु पर्दछ । शुल्क नतिरी सगरमाथा चढ्नको लागि गरिने यात्राको अनुमति नै पाइँदैन । फेरि पनि मानिसहरू हरेक वर्ष देशविदेशबाट सगरमाथा चढ्ने यात्रा गरिरहेका हुन्छन् ।

सगरमाथाको सफल यात्राले मानिसको ख्याति÷प्रसिद्धि हुन्छ, उसको मानसम्मान हुन्छ । संसारमा परिचित भइन्छ । यही पछि पाइने मानसम्मान पाउने परिकल्पना नै मानिसहरूको लागि हिमाल चढ्ने कामको पूर्वप्रेरणा हुने गर्दछ । थाहा हुँदैन, यात्रामा सफलता प्राप्त हुन्छ कि हुँदैन ? जीवित नै फर्किन्छ कि फर्किदैन ? तर, सगरमाथा आरोहण आँट्ने र थाल्नेले ‘सफलता प्राप्त हुन्छ कि हुँदैन ? जीवित नै फर्किन्छ कि फर्किँदैन ?’ भनेर होइन, ‘दुनियाँको अगाडि ख्याति÷प्रसिद्धि हुन्छ, मानसम्मान पाइन्छ, संसारमा परिचित भइन्छ’ भन्ने सोचले आँट्छ र थाल्छ । यस्तो यात्रामा सुख होइन, सफलतामा सन्तोष प्राप्त हुन्छ ।
शारीरिक–भौतिक सुखको मात्र कुरा गर्ने हो भने सगरमाथा किन चढ्नुपथ्र्यो र ? सरकारलाई रकम बुझाएर शरीरलाई सास्ती दिनुभन्दा त खाइपिई गरेर थपक्क घरमै बस्दा सुख हुन्थ्यो । तर, यस्तो सुखमा सन्तोषको मात्रा फिटिक्कै पाइँदैन । सुख मात्र खोज्ने हो भने पेसा–व्यवसाय बाहेकका काम नगरे पनि हुन्थ्यो होला । मानिसले त्यस्तो सुख मात्र रोज्दो रहेनछ । मन्दिर धाउँछ, गुम्बा–चैत्य जान्छ, उपवास बस्छ, मस्जिद जान्छ, रोजा पालन गर्छ–भोको बस्छ, दान गर्छ । यी सबै काम मानिसले सन्तोषका लागि गर्दछ ।

मानिसले जुनसुकै काम थाल्दा तत्काल सुख हेरेर मात्र थाल्यो भने त्यही काममा दुःख परिहाल्यो भने थालेको काम बिचमा नै छोडिदिन्छ । फेरि अर्को काम सुरू गर्छ र दुःख आइपरे त्यो पनि छाडिदिन्छ । तत्कालको सुख मात्र हेरेर काम थाल्नेले भविष्यमा सन्तोष पाउन सक्दैन । वास्तवमा सन्तोष नपाएपछि ठूलो सास काढ्छ र बाध्य भएर भन्न थाल्छ, ‘सन्तोषं परमं सुखम् ।’ यस्तो सुख र सन्तोष वास्तविक सन्तोष र सुख हुँदैन । केही नपाइएपछि चित्त बुझाउनका लागि भनिने सन्तोष, वास्तविक सन्तोष होइन । कहिलेकाहिँ मानिसलाई नचिताएका उपलब्धि पनि हात लाग्छन् । यस्तो हुनु संयोग मात्र हो । यस्तो संयोग पर्खेर बस्नेको भविष्य अनिश्चित नै रहन्छ ।

नेपाली भाषा साहित्यका महाकवि लक्ष्मीप्रसाद देवकोटाले लेख्नुभएको छ नि, ‘खोज्छन् सबै सुख भनी, सुख त्यो कहाँ छ ? आपूm मिटाई अरुलाई दिनु जहाँ छ ।’ यस्तो सुख नै सन्तोष हो । परोपकार यात्राका लागि यो भनाइ महामन्त्र नै हो । तर, कसैलाई केही दिन पनि आपूmसँग हुनु त पर्छ ।

मानिसहरू जीवनमा ज्ञानको ठूलो महत्व हुने बताउँछन् । हो, ज्ञान हुन आवश्यक छ । ज्ञान भनेको भनेको वास्तवमा त्यो जान्नु हो, जो सर्वाधिक ज्ञातव्य छ, जे अहिले नै नजानी नहुने छ । यस विषयमा अल्बर्ट आइन्स्टाइनको भनाइ छ, ‘ज्ञानभन्दा परिकल्पना शक्तिशाली हुन्छ– Imagination is powerful then knowledge. दुर्गाकवचमा पनि लेखिएको छ, ‘यं यं चिन्तयते कामं तं तं प्राप्नोति निश्चितम्–जे जे चिताइन्छ, कल्पना गरिन्छ, त्यही त्यही प्राप्त हुन्छ ।’ तर, यी सबै भनाइमा कल्पना मात्र गर, केही नगरी पाइन्छ भनिएको छैन । जे गर्ने हो, त्यसबारे पहिले राम्रोसँग सोच्नुपर्छ भनिएको हो । यसलाई यसरी बुझौँ, ‘जस्तो सोच, त्यस्तै विचार । जस्तो विचार, त्यस्तै व्यवहार । जस्तो व्यवहार, त्यस्तै प्रभाव । जस्तो प्रभाव, त्यस्तै परिवर्तन वा रूपान्तरण !’

आकाशका दसै दिशा खुला छन् । सबैतिरका बाटा खुला छन् । पुर्खाका अनुभव छन् । वर्तमानका उदाहरण छन् । वैज्ञानिक अध्ययन–अनुसन्धान र आविष्कार छन् । यी सबै विषयलाई ध्यानमा राखेर आफ्नो गन्तव्य छान्नु, त्यसको लागि पहिलो कदन चाल्नु नै प्रस्थानबिन्दु हो । अब जीवनका धेरै विषयलाई छुने, प्रभाव पार्ने एउटा त्यस्तो विषय छानौँ, त्यस्तो विषय सोचौँ, त्यही नै प्रस्थानबिन्दु हुनेछ । त्यसका लागि सलल्ल बग्ने योजना बनाऔँ, सहयोगका क्षेत्र र सहयोगीहरूको सूची तयार पारौँ, घोषणा गरौँ र कार्यान्वयनमा जुटौँ । (लेखकः कोइराला जीवनशैली अध्येता हुनुहुन्छ ।)