हरि कार्की
वि.सं २०४७ सालमा म नेपाल यातायात स्वतन्त्र मजदुर संगठनमा लुम्बिनी अञ्चल कमिटिको सदस्य मदमा मनोनित भएपछि मेरो ट्रेड युनियन आन्दोलनतर्फको यात्रा प्रारम्भ भएको थियो । २०४८ सालको सुरुवातमै भएको संगठनको अञ्चल अधिवेशनबाट म पूर्णकालीन सचिवको रुपमा निर्वाचित भएँ । मलाई संगठनमा पूर्णकालीन बनी सचिव पदको जिम्मेवारीमा बस्न त्यतिबेला नेकपा एमालेको राजनीतिमा लाग्नुभएका र जिफन्ट आबद्ध तत्कालीनमा समेत काम गर्नुभएका क.भिम सुवेदी, क.कमल गौतम, क.श्रीधर श्रेष्ठ, क.विष्णु भट्टराई र क.नारायण भट्टराईलगायतले अनुरोध गर्नुभएको थियो । त्यतिबेला म बुटवल क्याम्पसमा अध्ययनरत भई अनेरास्ववियूमा संगठित भएको थिएँ ।

स्व.कमल गौतम
जब म संगठनका जिम्मेवारी लिएर काम गर्न थालेँ– क.कमल गौतमसँग मेरो समय समयमा सम्पर्क हुन थाल्यो । उहाँसँग भेट हुँदा उहाँले संगठन र पार्टीको विषयमा मलाई सम्झाइरहनुहुन्थ्यो । २०५२/२०५३ सालतिरको कुरा हो क.कमल गौतम नेकपा एमाले बुटवल नगर कमिटिको उपसचिव हुनुहुन्थ्यो । त्योभन्दा अगाडि उहाँले भूमिगत कालदेखि अनेुरास्ववियू र पार्टीका विभिन्न जिम्मेवारी लिएर काम गरिसक्नुभएको थियो । सोहीबेला केही आन्तरिक कारणले क.कमल गौतमले नगरकमिटिको उपसचिव पदबाट बिदा दिनुभयो । एक प्रकारले उहाँ बेरोजगार जस्तै बन्नुभएको थियो । त्यसै बेलातिर जिफन्टका तत्कालीन अध्यक्ष क.मुकुन्द न्यौपाने बुटवल आउनुभएको थियो । पूर्व परिचितका हिसाबले उहाँले क.कमल गौतमलाई भेट गर्नुभयो । भेटका क्रममा क.कमल गौतमले ट्रेड युनियनमा काम गर्ने आफ्नो इच्छा रहेको बताउनु भएपछि क. मुकुन्दले उहालाई देशभरिका रिक्सा चालकहरुलाई संगठित गराई जिफन्टमा आबद्ध गराउन जिम्मेवारी दिनुभयो । उहाँ पनि खुसीसाथ उक्त जिम्मेवारी पूरा गर्न देश दौडाहामा लाग्नुभयो । फलस्वरुप केही महिनाभित्रै रिक्सा श्रमिकहरुको राष्ट्रिय भेला सम्पन्न गरी उहाँ त्यसको अध्यक्ष बन्नुभयो र नेपाल रिक्सा चालक युनियन नामाकरण गरी जिफन्टको एउटा घटक युनियनको रुपमा आबद्ध गराउनुभयो । केही वर्ष त्यो युनियनको नेतृत्व गर्नुभएपछि जिफन्टले आफ्नो संरचनालाई अञ्चल तहसम्म लैजाने उद्देश्यले लुम्बिनी अञ्चलमा जिफन्टको अञ्चल कमिटी बनाउने क्रममा विधिपूर्वक क.कमल गौतमलाई अध्यक्ष र मलाई सचिव पदको जिम्मेवारी दिइयो । म भने पहिलेदेखि नै यातायात संगठनमा सचिव पदमा कार्यारत थिएँ । जिफन्टमासमेत मेरो जिम्मेवारी थपिएपछि मेरो दोहोरो जिम्मेवारी रहनपुग्यो । क.कमल गौतमले अब जिफन्टको काममा पूरै समय दिने र मैले संगठनको काममा पूरै समय दिने सहमतिअनुसार हामी दुवै मैदानमा खट्न थाल्यौँ ।
जिफन्टको बैठक बस्नुप¥यो, कुनै अभियानहरु चलाउनुपर्दा वा कुनै विशेष कार्यक्रम गर्नुपर्दा मैले जिफन्टमा सहयोग गर्ने गर्थेँ । क.कमल गौतमले जिफन्टका कुनैपनि काम गर्नुपर्दा मसँग सल्लाह गरेर गर्नुहुन्थ्यो । एक हिसाबले भन्ने हो भने २०६५ सालसम्म उहाँ अध्यक्ष र म सचिव रहेको तत्कालीन कमिटिले गरेको कामको परिणाम नै जिफन्ट लुम्बिनी प्रदेशको जग हो भन्न सकिन्छ । जिफन्टमा आइपर्ने हरेक समस्याहरु होस् वा श्रमिकका समस्या होस् त्यसलाई समाधान गर्न मेरो कानुनी, नीतिगत र विधानबमोजिमको सल्लाह हुन्थ्यो भने त्यसलाई बोकेर फिल्डमा खट्ने काम गर्नुहुन्थ्यो । उहाँको काम गर्ने शैली तीव्रतासाथ लाग्ने विधान नीतिलाई बेवास्ता गर्ने अर्थात् विधि मिलाउँदै गरौँला अहिले यसो गरौँ भने निर्णय लिई हाल्ने अलि कानुनी पक्षमा लापरबाही हुनुहुन्थ्यो । तर, मुख्यतः मैले उहाँलाई उपयुक्त सल्लाह र सुझाव दिने र कहिलेकाहीँ आलोचना पनि गर्नुपथ्र्यो ।
२०६५ सालमा जिफन्ट लुम्बिनी–राप्ती अञ्चल कमिटीको अधिवेशन हुँदा क.कमल गौतम जिफन्टको राष्ट्रिय नेता बन्ने र अञ्चलको अध्यक्ष पदमा म बस्नुपर्ने प्रस्ताव स्वयम् कमल गौतमसहित जिफन्टका शीर्ष नेताहरुको सल्लाहबमोजिम मैले संगठनको पूर्णकालीन अध्यक्ष पदको जिम्मेवारी छोडेर जिफन्ट लुम्बिनी–राप्ती अञ्चल कमिटिको अध्यक्ष पदको जिम्मेवारी लिएँ । क.कमल गौतमले जिफन्टको भौगोलिक संरचना समन्वय कमिटिको सचिव पदको रुपमा जिम्मेवारी लिनुभयो र उहाँ देशव्यापी जिफन्टको काममा लाग्नुभयो । उहाँले जिफन्टले जिम्मेवारी दिएअनुसार स्वास्थ्य स्वयम् सेविकाहरुलाई संगठिन गर्ने, स्वास्थ्यकर्मीहरुलाई संगठित गर्ने, सौदर्यकर्मीहरुलाई संगठित गर्ने, भूमिहीन सुकुम्बासीहरुलाई संगठित गर्ने, कृषि मजदुर संघमा ल्याउने, निजी विद्यालयका शिक्षक कर्मचारीहरुलाई जिफन्टमा आबद्ध गराउनेलगायतका धेरै कामहरु गरेर जिफन्टको एउटा कुशल संगठकको रपमा परिचित हुनुभयो ।
पछि फेरि क.कमल गौतमलाई जिफन्टले लुम्बिनी प्रदेशको इन्चार्जको जिम्मेवारी दियो । जिफन्ट लुम्बिनी प्रदेशको अध्यक्ष थिएँ । उहाँ इन्चार्ज र म अध्यक्ष भएर फेरि हामीहरुको सांगठनिक सामिप्यता बढ्यो । त्यो बिचमा म कार्यकारी पदमा रहेकाले मैले उहाँले ल्याउने केन्द्रिय नीतिहरु र अन्य व्यव्हारिक कुराहरुबारे उहाँसँगको छलफल र सल्लाहाबाट प्रदेशमा कार्यान्वयन गर्न थालेँ । हामी दुई बिचमा आत्मिय सम्बन्ध नै रहिरह्यो । सामान्यतः कहिलेकाहीँ उहाँ र मेरो बिचमा केही इस्युमा कुरा मिल्दैनथ्यो तैपनि हामिबीच कहिल्यैपनि बैमनस्यता भएन । पार्टी राजनीतितिर काम गर्नुभएका केही कमरेडहरुले मसँगको भेटमा उहाँका केही कमजोरीहरु औँल्याउँदै कमल गौतम जिफन्टमा कसरी टिक्नुभएको छ भनेर प्रश्न गर्थे । मैले सहजै उत्तर दिन्थे–पहिले उहाँका केही कमजोरी भएपनि अहिले केही छैन, उहाँ मज्जाले टिक्नुहुन्छ । कमजोरी सबैका हुन्छन् । समयमै सुधार गरेर अगाडि बढ्नुपर्छ भन्ने कुरामा उहाँ सचेत हुनुहुन्थ्यो । एकपटक कहीँकतै भेट भएर परिचित भएको व्यक्तिलाई उहाँले कहिल्यै बिर्सनुहुन्थेन । वर्षौँपछि पनि चिन्ने, भेट गर्ने र उहाँहरुको घरमा आश्रय लिएर संगठनको काममा लाग्ने उहाँको स्वभाव थियो । कसैसँग नरिसाउने, झर्केर नबोल्ने बानीले उहाँमा भएका केही कमजोरी पनि सम्झना हुँदैनथ्यो । कुनैपनि व्यक्तिले जस्तोसुकै सहयोग मागेपनि सहयोग गर्ने त्यहाँसम्म कि को आर्थिक कठिनाइ परेर दुःख पाएको छ भने जसरी हुन्छ, जहाँबाट ऋण खोजेर भएपनि सहयोग गर्ने बानी थियो ।
उहाँको बारेमा एउटा सम्झना ताजै छ । केही वर्ष अगाडि उहाँ नेकपा एमालेको राजनीतिबाट केही बिचलित हुनुभएछ । श्रमिकको पक्षमा पार्टीले खासै ध्यान दिएन भन्ने गुनासो गर्नुहुन्थ्यो । काठमाडौंमा उहाँले पार्टीका केही व्यक्तिहरुसँग सल्लाह गरेर अब यो पार्टीबाट श्रमिकको हित हुँदै त्यसैले श्रमिक समाजवादी पार्टी खोल्नुपर्छ भनेर एक हिसाबले अभियान नै चलाउन थाल्नुभयो । त्यसैक्रममा मसँग पनि उहाँले छलफल गर्नुभयो तर मैले उहाँको यो कदम बिल्कुल गलत छ, त्यस्तो काम नगर्नुहोस् सफलता हात लाग्दैन बरु यही पार्टीमा बसेर श्रमिक पक्षीय कामको लागि दवाव दिनु उपयुक्त हुन्छ भनेर सम्झाएँ । उहाँले विस्वास गरेर मजस्ता अन्य साथीहरुले पनि उहाँको कदमको विरोध गरेपछि उहाँ पछि हट्नुभएको थियो । उहाँलाई नेकपा एमालेमा रहेर कुनै अवसरको आकांक्षा थिएन तर केन्द्रिय सदस्यमा निर्विरोध निर्वाचित गराउन सफल भएका थियौँ । केन्द्रिय सदस्य भएपछि पनि उहाँलाई भूमिहीन श्रमिक संगठनको जिम्मेवारी र पछि भूगोलको जिम्माका रुपमा रुपन्देहीको दक्षिणी क्षेत्र मर्चवार जहाँ पार्टीको काम गर्न धेरै गाह्रो थियो त्यस्तो ठाउँमा पनि उहाँले निसंकोच आफ्नो जिम्मेवारी निर्वाह गर्नुभएको थियो ।
पछिल्लोपटक जिफन्टको उपाध्यक्ष हुँदा उहाँ सामाजिक सुरक्ष विभागको प्रमुखको रुपमा रहनुभयो । वषौँदेखि जिफन्टले उठाउँदै आएको नीजि क्षेत्रका श्रमिकहरुको सामाजिक सुरक्षको मुद्दा क.केपी शर्मा ओली नेतृत्वको सरकारले कानुन बनाई कार्यान्वयनमा लगेपछि उहाँ असाध्यै खुसी हुनुभएको थियो । जहाँपनि श्रमिकको हितमा आएको योगदानमा आधारित सामाजिक सुरक्षा कोषको वकालत गर्ने, लबिङ गर्ने र प्रशिक्षित गर्ने काममा लागिरहनुभएको थियो ।
२०७२ सालको महाभूकम्पका बेला जिफन्टको निर्णयअनुरुप काभ्रे जिल्लामा गएर भूकम्प पीडितहरुको उद्धार,राहत, सहयोग र केही वर्षअघि जाजरकोटमा गएको भूकम्पबाट पीडित जनताहरुलाई उद्धार गर्ने काममा जिफन्टको तर्फबाट नेतृत्व गर्दै उहाँले गरेको साहसिक कामको सर्वत्र चर्चा र प्रशंसा पाएको थियो । बुटवल क्याम्पसमा अनेरास्ववियूमा लागेर नेतृत्व गर्दा मण्डलेहरुको कुटाइबाट दाँत झरेको र अहिलेसम्म पनि नक्कली दाँत राख्नुभएको थियो । २०४६ को जनआन्दोलन होस् वा त्यसपछिका सबै आन्दोलनहरुमा पनि उहाँ अग्र भागमा रहेर मोर्चा सम्हाल्ने काममा सधै अग्रसर हुनुभयो । आन्दोलन र प्रदर्शनका क्रममा धेरैपटक पुलिसको कुटाई र लाठी चार्जबाट उहाँ घाइते हुनुभएको थियो भने कैयौँ दिन हिरासतमा समेत बस्नुपरेको थियो । उहाँका थुप्रै संघर्षपूर्ण इतिहासहरु छन् । हामी भन्न सक्छौँ–क.कमल गौतम एउटा निडर, साहसिक अभियान्ता, मास लिडर र कुशल संगठक हुनुहुन्थ्यो । यस्तो एउटा योद्धा जसले आफ्नो जीवनको अन्तिम सास पनि आन्दोलनकै मैदानमा श्रमिक मजदुरहरुको न्यायको पक्षमा बोल्दाबोल्दै त्याग्नुप¥यो । क.कमल गौतमका थुप्रै अधुरा सपनाहरु पूरा गर्न अब हामी बाँचेका सहयोद्धाहरुको काँधमा जिम्मेवारी आएको छ ।
अन्त्यमाः क.कमल गौतम तपाईका ती सबै सपनाहरु पूरा गर्न हामी लाग्ने छौँ । तपाईँप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्न चाहन्छु । साथै भाउजू बिन्दु, छोराहरु निरज र सुरज, बुहारी बिनीता, नातिनातिना, बयोवृद्ध आमा, दाजुभाइहरु र बहिनीज्वाइँ एवं भान्जाभान्जी सबैप्रति शोकलाई शक्तिमा बदल्ने सामथ्र्य प्राप्त होस् भन्ने कामना गर्दै हार्दिक समवेदना व्यक्त गर्दछु । अलबिदा क.कमल गौतम हामीलाई तपाईँको अभाव सधैँ खड्की रहनेछ । तपाईँ अमर हुनुहुनेछ । (लेखकः कार्की जिफन्ट राष्ट्रिय कमिटीका सचिव हुनुहुन्छ ।)
