रामनवमीः रामबाट लिन सकिने शिक्षा !

मेचीकाली संवाददाता

१२ चैत्र २०८२, बिहीबार
106 shares

घनश्याम कोइराला

सनातनीहरूका लागि रामनवमी महत्वपूर्ण दिन हो । यो ठुलो पर्व हो । पर्व शब्दको अर्थ जोड्नु (जोर्नी) हुन्छ । यस दृष्टिले हेर्दा यो दिनले विगतलाई वर्तमानसँग जोड्दछ । पर्वको प्रचलित अर्थ उत्सव हो । यस दिनलाई रामको जन्म दिवस (जन्मोत्सव) का रूपमा मनाउने गरिन्छ । यस दिन सनातनीहरू राम मन्दिरहरूमा जाने र रामको पूजा आराधना गर्ने गर्दछन् । जसको जन्म दिनमा उत्सव मनाइन्छ, पर्व मनाइन्छ, जसको पूजा आराधना गरिन्छ, निःसन्देह ती महत्वपूर्ण हुन्, महत्वपूर्ण हुन् भनेर बुझ्न सकिन्छ । पूजा आराधना त गर्दछौँ, तर शिक्षा लिन्छौँ कि लिँदैनौँ ? रामको जीवनीबाट हाम्रो जीवनका लागि प्राप्त हुने सन्देश के हो ? रामको जीवनी र स्वयं राम हाम्रो जीवनका लागि उपयोगी छन् कि छैनन् ? जीवनोपयोगी छैनन् भने पूजाको कुनै अर्थ छैन । यसतर्फ ध्यान दिन आवश्यक छ । यस विषयमा यहाँ संक्षिप्त विमर्श गर्ने प्रयास गरिएको छ ।

संस्कृत व्याकरणअनुसार ‘राम’ शब्दको व्युत्पत्ति गर्दा रमन्ते (रमाउने—रमाउँछन्), योगिनः(योगीहरू) अस्मिन् (जसबाट) इति (यसरी वा यस्ता) रामः (ती राम हुन्) रमन्ते योगिनः अस्मिन् राम ः अर्थात् योगीहरू यिनीबाट खुसी हुन्छन् । जोसँग योगीहरू खुसी हुन्छन् ती नै राम हुन् । राम शब्दको यस्ता अर्थ लगाइने गरेको पाइन्छ । चलनचल्तीमा राम रमाइलो आदि भन्ने पनि गरिन्छ ।

हिन्दूधर्मशास्त्र–पुराणहरूका अनुसार राम विष्णुका सातौँ अवतार हुन् । रामावतार त्रेतायुगमा भएको हो । शास्त्रीय मान्यताअनुसार सत्ययुग १७२८००० वर्षको, त्रेतायुग १२,९६,००० वर्ष, द्वापरयुग ८,६४,००० वर्षको हुन्छ । पुराणहरूका अनुसार वर्तमान युग कलियुग हो । हिमाल पञ्चाङ्गका अनुसार यो कलिको वर्ष ५१२६ औँ चलिरहेको छ, अर्थात् कलियुग सुरु भएको ५१२५ वर्ष पूरा भइसकेको छ ।
सनातन धर्मावलम्बीहरूका लागि ‘राम’ आस्था र विश्वासको केन्द्र हुन् । साहित्यिक हिसाबले हेर्दा ‘राम’ रामायण महाकाव्यका नायक हुन् । यी दुवैको विवेचना गर्दा ‘राम’ जुनसुकै देश, काल, परिस्थितिमा प्रेरणा लिन सकिने चिरप्रभाव भएका, उत्प्रेरक व्यक्तित्व हुन् । उनले आफ्नो जीवनमा आर्जित गरेका ख्यातिका कारण उनी सामान्य मानवभन्दा उच्च आदर्श व्यक्तित्व हुन् । त्यसैले उनलाई मर्यादा पुरुषोत्तम, भगवान् भनिएको हो ।

रामसँग योगीको कुरा जोडिँदा कसैकसैले फरक ढंगले बुझ्ने पनि गर्दछन् र योगी भनेको चलन चल्तीमा भनिने जोगीहरूलाई बुझ्दा रहेछन् । यी योगी वा जोगीलाई मात्र योगी भनिएको होइन । यसरी हेर्दा अर्थको अनर्थ लाग्छ । योगी भनेका ती हुन्–जसले आफ्ना काम दत्तचित्त भएर गर्दछन्, योगी ती हुन्–जसले योगदान गर्दछन्, योगी ती हुन्–जसले समाजलाई जोड्दछन् । यसरी विश्लेषण गर्दा मात्र योगीको सही अर्थ लाग्दछ ।
रामायण र अन्य ग्रन्थहरू पढ्दा राम निकै प्रभावशाली थिए भन्ने बुझिन्छ । रामकी आमा कौशल्या र बाबु दशरथ हुन् । दशरथका अन्य दुईवटी रानीहरू थिए–कैकेयी र सुमित्रा । कैकेयीका छोरा भरत हुन् । सुमित्राका दुई छोरा थिए–लक्ष्मण र सत्रुघ्न । राजा दशरथ त्यतिबेलाका प्रसिद्ध चक्रवर्ती सम्राट थिए, महाराजा थिए । अनेकौँ राज्यका राजाहरूसँग उनको मैत्री सम्बन्ध रहेको थियो । अनेकौँ राज्यहरू उनका सहयोगी रहेका थिए ।

रामको ससुराली हाम्रै नेपालको जनकपुर हो । लक्ष्मणको पनि यहीँ नै हो । रामको विवाह शिरध्वज जनककी जेठी छोरी सीतासँग र अर्की छोरी उर्मिलाको विवाह लक्ष्मणसँग भएको थियो । स्वयं सीता र उर्मिलाको माइत (राम र लक्ष्मणको ससुराली) लोकप्रिय र शक्तिशाली रहेको वर्णन पाइन्छ ।
कथाअनुसार रानी कैकेयी आफ्नो छोरा भरतलाई अयोध्याको राजा बनाउन चाहन्थिन् । उनले कुनै समय राजा दशरथलाई लगाउने विशेष गुनको बदलामा रामलाई वनवास र भरतलाई राज्यको रजाइँ मागेकी थिइन् । सोही वचनअनुसार रामलाई वनवास दिइयो र भरतलाई राजकाजको जिम्मेवारी । सीता र लक्ष्मण पनि रामसँगै वनवास गएका थिए ।

भाइ लक्ष्मण र जहान सीताको साथ र सहयोगमा रामले वनवासको दुःख खेपे । राजा दशरथका परिचित–अपरिचित वनवासीहरूसँग उनीहरूको भेटघाट भयो । कुनै कारणले एक्ल्याइएकी शबरीको खोजी गरेर उनको जुठो बयर खाएर आतिथ्य लिए । यसको तात्पर्य अछुत मानिएकी एकल महिलालाई उनले महत्व दिए, सम्मान गरे । चक्रवर्ती सम्राट दशरथका छोरा रामको यो कर्म प्रशंसनीय देखिन्छ । यतिबेलाको लागि पनि यो महत्वपूर्ण सन्देश र शिक्षा हो ।

स्वर्ग र देवताका राजा इन्द्रले चन्द्रमाको सहयोगमा झुक्याएर यौन सम्पर्क गरी ‘बिटुल्याइएकी’ ढुंगासरह मिल्काइएकी ऋषि गौतमकी पत्नी अहिल्यालाई भेटेर उनको उद्धार गरेको विषय कथामा पढ्न पाइन्छ । यसरी महिला हित तथा अधिकारको पक्षमा रामको व्यवहार सराहनीय रहेको देखिन्छ । यति मात्र होइन, उनको नाम मात्र लिनाले पनि पाप नाश हुने पवित्र पञ्चकन्यामा अहिल्याको नाम लेखाए । अन्यत्र लेखिएको छ, ‘अहिल्या द्रौपदी तारा, कुन्ति, मन्दोदरी तथा । पञ्चकन्या स्मरेन्नित्यं सर्वपातक नाशनम्’ अर्थात् अहिल्या, द्रौपदी, तारा, कुन्ती, मन्दोदरी यी पाँच कन्याको नित्य स्मरण गर्नाले सबै पापहरू नाश हुन्छन् ।
अहिल्या, तारा र मन्दोदरी रामायणमा उल्लेख गरिएका पात्र हुन् । अहिल्याबारे माथि नै चर्चा भइसकेको छ । तारा बाली र सुग्रीवकी पत्नी थिइन् भने मन्दोदरी रावणकी पत्नी हुन् । राम र रामायणका विषय स्मरण गर्दा यी विषय प्रायः ओझलमै पर्ने गर्दछन् ।

वनवासमा रहँदा लङ्का महाप्रतापी, विद्वान् र बलशाली राजा रावणले सीतालाई अपहरण गरे । रामले चाहेको भए उनले रावणसँग युद्ध गर्नका लागि पनि दशरथको प्रभाव, स्वयं अयोध्याको राज्यशक्ति, मावलीहरूको शक्ति, जनकपुरको शक्तिको सहयोग लिन सक्दथे तर रामले त्यसो गरेनन् बरु निषाद, जटायुहरूको सहयोग लिए । साथै, वनका बालि, सुग्रीव, जाम्बवान, हनुमान, अङ्गद आदिलाई सशक्तीकरण गरी लङ्का हान्ने शक्ति निर्माण गरे ।
अहिले ‘बेबी नेपोटिजम’ शब्द निकै चर्चामा रहेको छ, यस्तो सुनिन्छ । यो भनेको नेताका सन्तानहरू शक्तिशाली बाबुआमाको प्रभावबाट लाभान्वित छन् । नेता राज्य शक्तिमा हुने र उनका सन्तानले त्यसको लाभ लिने विषय समाजमा उठिरहेको छ । गत भदौको जेन–जी आन्दोलनमा यो कुरा जोडतोडका साथ उठेको थियो । त्यसअघि पनि यसबारे चर्चा हुन्थ्यो र त्यसपछि पनि यो चर्चा र आशंका बन्द भएको छैन ।

राम राजाका छोरा भएका हुनाले राजाको उत्तराधिकारी हुने प्रणालीका कारण राजा भए, राजगद्दीमा बसे र राज्य सञ्चालन गरे । तर, त्यसअघि उनले सौताने आमाको वचनप्रति बाबुलाई प्रतिबद्ध हुन सहयोग पु¥याए । तोकिएको समयसम्म वनबास बसे । शक्तिशाली राजाको सन्तान भएको दम्भ गरेनन् । बाबुको, अयोध्या राज्यको शक्ति र प्रभावको दुरुपयोग गरेनन् । वनबासी समुदायलाई सङ्गठित गरे, सशक्तिकरण गरे । आपूmसँगै हिँड्न र सहकार्य गर्न सहमत बनाए ।
रामले कुनै परम्परा र विरासतमा प्राप्त शक्तिभन्दा नयाँ शक्ति निर्माणमा ध्यान दिए । कमजोरहरूको एकतामा बल हुने शिक्षा सार्थक बनाए । सौताने आमा (कैकेयी) का कारणले भाइ भरतप्रति दूरासय राखेनन् । उनीप्रति कृतज्ञ हुँदै आफ्नो जिम्मेवारी निर्वाह गरे । तत्काल समाजले पचाउन नसकेको हुनाले सहधर्मिणी सीतालाई वनमा पठाए तर उनीबाट उतै जन्मेका लव र कुशलाई आफ्नो सन्ताका रूपमा स्वीकार गरे । आफ्नो जीवनकालमै अयोध्यालाई उत्तर र दक्षिण कौशलमा बाँडेर आफ्ना छोराहरूलाई जिम्मेवारी दिए र आपूm सत्ता र राज्यबाट नै बाहिरिए ।

रामायणमा वर्णित कतिपय विषय आजको सन्दर्भमा जस्ताको तस्तै स्वीकार्य नहुने विषय पनि होलान्, तर ती त्यतिबेलाका समयका विषय हुन्, परम्परा र प्रचलनका विषय हुन् । तर, धेरै विषय र रामका व्यवहार आजको सन्दर्भमा पनि शिक्षाप्रद छन् ।
कस्तो थियो त रामराज्य ? वाल्मीकि रामायणका यी पङ्क्ति पढौँ—

न पर्यदेवन् विधवा न च व्यालकृतं भयम् ।
न व्याधिजं भयं चासिद् रामे राज्यं प्रशासति ।।
निर्दस्युरभल्लोको नानर्थं कश्चिदस्पृशत् ।
न च स्म वृद्धा बालानां प्रेतकार्याणि कुर्वते ।।
सर्वं मुदितमेवासीत् सर्वो धर्मपरोअभवत् ।
राममेवानुपश्यन्तो नाभ्यहिंसं परस्परम् ।।

अर्थात् रामको शासन कालमा विधवाहरूको विलाप कहिल्यै सुन्नु परेन । सर्प आदि दुष्ट जीवहरूको पनि डर थिएन । अनि, रोगहरूको त शंकै थिएन । कतै पनि चोर र लुटेराहरूको नामसम्म पनि सुन्न पर्थेन । कुनै मानिस अनर्थकारी काममा लाग्दैन थिए । वृद्ध मानिसहरूले बालउमेरका मानिसहरूको अन्त्येष्टिमा सहभागी हुन पर्दैन थियो । सबै मानिस सधँै प्रसन्न रहन्थे । सबै धर्मपरायण थिए । सबैले राममाथि नै ध्यान दिन्थे । कसैले कसैलाई दुःख दिँदैन थिए ।

अब राम फर्केर आउँदैनन्, राज्य वा शासनको नाम रामराज्य नै हुने पनि होइन, तर विधवा भनिने एकल महिलाहरूको हितको विषय त त्यतिबेला पनि रहेछ, सर्पदंश, हिंस्रक पशु पशुहरूबाट जनता जोगाउने विषय प्राथमिकतामा रहेछ, स्वास्थसेवामा पहुँच र उपयोगको विषय त रहेछ । यसबाट समाजमा चोरी, लुटपाट, नकारात्मकता रहेनछ या यस विषयमा ध्यान दिइएको रहेछ भन्ने स्पष्ट हुन्छ । यिनै कारणले राम स्मरणीय छन्, पूजनीय छन् र आराध्य हुन सकेका हुन् । रामनवमीको शुभकामना । (लेखक कोइराला संस्कृति अध्येता तथा अभियन्ता हुन् ।)