विभेदको बहस नभेटिने मनु र व्याससँग नगरौँ !

मेचीकाली संवाददाता

२६ चैत्र २०८२, बिहीबार
78 shares

घनश्याम कोइराला

हामी सभ्यताको कुरा गर्दछौँ,सभ्य–असभ्यको कुरा गर्दछौँ । हामीले बुझ्नैपर्ने कुरा के हो भने सभ्यताको विकास भ्यागुतो उफ्रेजसरी भएको होइन र त्यसरी हुने पनि होइन । सभ्यताको विकास त विस्तारै विस्तारै, सानोसानो सुधारबाट हुँदै आएको हो । खासमा सभ्य शब्दको अर्थ नै ‘सभामा बस्न योग्य’ हो । यसको अर्थ हो, समूहमा, समुदायमा, समाजमा बस्न योग्य हुनु, तदनुसार आचरण–व्यवहार गर्नु नै सभ्य हुनु हो । यही भाव नै सभ्यता हो । सभा भनेको पार्टी, संघ–संस्थाले आयोजना गरेका उच्चासन, मध्यमासन र नीचासनमा बस्ने गरी आयोजना गरिएको, श्रेणी विभाजित औपचारिक कार्यक्रम भनिएको होइन । सभा भनेको मानिसहरूको समूह भनिएको हो । एक्लै बस्दा मानिस जसरीसुकै बसेको होला, समूहमा बस्दा उचित पहिरन र अनुशासनमा बस्नु पर्दछ । यही कुरा बाटोमा हिँड्दा, सार्वजनिक स्थानमा जाँदा,बस्दा, सार्वजनिक वस्तु, स्थान र सेवाको प्रयोग गर्दा लागू हुन्छ । सभ्यताको विषय बहुआयामिक विषय हो । यो एकैनासको रहँदैन, परिवर्तन भइरहन्छ । यसमा एकरूपता होस् भनेर नियमहरू बनेका हुन्छन् । यी नियमहरू पनि एकनासको रहँदैनन् । यिनमा पनि परिवर्तन आइरहन्छन् । परिवर्तन भइरहने विषय नै सभ्यताको विकास हो । यसैलाई संस्कृति भनिन्छ । सामाजिक सभ्यता र संस्कृतिको सम्बन्ध यही हो ।

सभ्यताको विकास नभएको बेला मानिसहरूका खानपान, पहिरन, अनुशासन, मेलमिलाप अहिलेको जस्तो थिएन भन्ने विषय मानव सभ्यता विकासको इतिहासमा पढ्न पाइन्छ । मानव शास्त्रीहरूले, समाज शास्त्रीहरूले यसका आधारहरूको अध्ययन गरेका थिए र गरेका छन् । इतिहासकारहरूले इतिहासमा यी विषय उल्लेख गरेका छन् ।
सभ्य समाज भनेको के हो ? समाज सभ्य हुन के के चाहिन्छ ? सभ्यता भनेको कसैलाई नबिझाउने, कसैलाई नपिरोल्ने, अनाहक कसैसँग कोही डराउन नपर्ने, एक अर्कासँग बस्न, खान, जीविकोपार्जन गर्न, यात्रा गर्न सकिने, व्यवस्थित, सहयोगी, सहिष्णु, अधिकार र कर्तव्य बुझेका मानिसहरू मिलेर बसेको समाज नै सभ्य समाज हो ।

अहिले हामी जुन भूभागमा छौँ, यसलाई हिवत्खण्ड, पृथ्वीको पूर्वी भूभाग हो । यता विकास भएको सभ्यतालाई वैदिक वा पूर्वीय सभ्यता भन्ने गरिन्छ । हो, यहाँको सभ्यताको प्रारम्भिक विषयहरू पढ्न पाइने ग्रन्थ वेद (ऋग्वेद) हो । यहाँ सृष्टि कसरी भयो भन्ने अनुमानदेखि मानव–मानवबिच, मानव र प्रकृतिबिच भएका संघर्षका विषयहरूको यथेष्ट उल्लेख पाइन्छ । केही कल्पना, केही अनुमान र थुप्रै यथार्थ भोगाइका विषय जान्न ऋग्वेद पढ्दा राम्रो हुन्छ । त्यतिबेला मानव जातिले मिलेर सोचे, मिलेर गरे र जीवन अघि बढाए, तिनै विषयलाई लिपिबद्ध गरेर वेद तयार पारियो, पछि तिनै मध्येका सबै महिलाहरू र केही भिन्न प्रकारका काम गर्नेहरूलाई वेद पढ्नबाट वञ्चित गरियो । यसको ऐतिहासिक, तर राजनीतिक कारण छ । अब भने मानव जातिले गरेका अनुमान, परिकल्पना, उत्पादन, निर्माणको संघर्षका गाथाहरूको पहिलो पुस्तक सबैले पढ्न आवश्यक छ ।

वेद मानिसहरूका बिचको संघर्ष केमा थियो र मेलमिलाप कस्तो थियो ? कार्यविभाजनको प्रकृति कस्तो थियो ? देवता को थिए ? कस्ता थिए ? कसरी बन्दथे ? सभ्यता विकासका दृष्टिले त्यति बेलासम्मको अवस्था के थियो भनेर बुझ्न काम लाग्छ । अहिलेको २१ औँ शताब्दीका मानिसहरूले त्यसमा लिन सकिने र लिनैपर्ने शिक्षा पनि त्यसमा पाउन सकिन्छ ।
ऋग्वेदको केही ठाउँमा मात्र ब्राह्मण, क्षत्रि, वैश्य, शूद्र उल्लेख गरिएको छ । धेरै ठाउँमा निर्णायक हिसाबले ‘पञ्चजनः’ शब्द प्रयोग गरिएको छ । केही ठाउँमा ‘पञ्चकृष्ट’ शब्द प्रयोग भएको छ । यिनीहरूमा तल्लो–माथिल्लो भनेर श्रेणी विभाजन गरिएको छैन । ‘छुवाछुत’ बारे त कुनै एक मात्र ठाउँमा पनि लेखिएको छैन । यो त भयो ऋग्वेदको प्रसङ्ग तर वैदिक भनिने धर्मका अनुयायीहरूबाट नै छुवाछुतको विषय अघि सारिएपछि त्यसपछिका विभेदलाई नकार्न मिल्दैन । समाज छ भनेपछि जिद्दी गरेर हुँदै होइन, छँदै छैन भनेर उम्कन पाइँदैन ।

तर, म भने ऋग्वेदमा नभएको छुवाछुत, उँचनीचको विभेद अरु वेद वा अन्य स्मृतिग्रन्थहरूमा आएको विषयलाई अत्यन्त सकारात्मक रूपमा लिन्छु । किन ? किनभने पहिले नभएको विषयलाई थप गर्दै जान वेद, शास्त्रले अनुमति दिन्छ भने हटाउँदै, परिमार्जन गर्दै जान किन सकिन्न त ? व्यवस्थामा संशोधन गर्न सकिने प्रावधानको प्रमाण खोज्न हामी अन्यत्र जानै पर्दैन नि ! वेद सबैभन्दा पुरानो हो, ऋग्वेद वेदहरूमा पनि पुरानो हो । यसका प्रावधान फेरिएका छन्, भनेपछि अपरिवर्तनीय वैदिक व्यवस्थाका कुनै विषय अपरिवर्तनीय त रहेन छन् ।
हाम्रो नेपाली सामाजिक सभ्यतामा राम्रो, गतिलो गर्नेलाई स्याब्बास् भन्ने, धन्यवाद दिने गरिन्छ । महाकवि लक्ष्मीप्रसाद देवकोटाले लेख्नु भएकै छ नि– ‘कर्म नै पूज ईश्वर भन्छ, यो लक्ष्मीप्रसाद ।’ यसो भन्ने लक्ष्मीप्रसाद देवकोटालाई समाजले जातिच्युत त गरेन, बरु देशले महाकविको उपाधि दिएको छ ।

महाकविलाई हामीले जात नहेरी उहाँको योगदानलाई स्वीकार गरेका छौँ । रामलाई संस्कृत पढेकाहरूको मात्र देवता बनाउने रहस्यमय बनाइएको रामायणलाई नेपालीमा उल्था गरेका भानुभक्तको योगदान स्वीकार गरेर आदिकवि उपाधि दिइयो । कविशिरोमणि, जनकविकेसरी, जनकवि, राष्ट्रकवि आदि उपाधिहरू दिइएकोमा उहाँहरूलाई नेपाली समाजले स्वीकार गरेकै छ ।

योगी नरहरि नाथलाई ‘ब्राह्मण’ नभए पनि उच्च रूपमा स्वीकार गरिएको छ । ठुले राई (काले राई) लाई स्वामी प्रपन्नाचार्यका रूपमा सम्मान गर्दा नेपालको हिन्दू धार्मिक क्षेत्रले जात खोजेन । संस्कृतिविद्, शताब्दी पुरुष सत्यमोहन जोशी सबैबाट सम्मानित हुनुहुन्छ । हिमाल आरोहीहरू पनि सम्मानित भएको हामी देख्दछौँ । खेल, मनोरञ्जन क्षेत्रका व्यक्तित्वहरू पनि सम्मानित भएको देखिन्छ । व्यक्तिगत रूपमा सम्मानयोग्य काम गरेर, आफ्नै बौद्धिक क्षमता प्रयोग गरेर धेरै व्यक्तित्वहरू सम्मानित हुने विषय राम्रो हो ।

तर, जुन जातिसमुदायले कलकारखाना नभएको समयमा शिर छोप्ने श्रीपेच र टोपीको डिजाइन गरे र निर्माण गरे, शरीर ढाक्ने पोशाकहरू बनाए, गोडाको सुरक्षाका लागि जुत्ता बनाए, शिरदेखि पाउसम्म लगाउन मिल्ने थरिथरिका गहना बनाए । जुन जातिसमुदायले माटो, काठ, ढुंगा र धातुका मूर्तिहरू बनाएर मानिसहरूलाई ईश्वर, भगवान्, देवी, देवताहरूको साकार रूप दर्शन गराए । जुन जातिसमुदायले अनेकौँ मानिसहरूका आस्थाका स्थल फरक फरक शैलीका मन्दिर बनाए, मन्दिरमाथि गजुर ठड्याए, पूजामा आवश्यक पर्ने अनेकौँ घण्टी, अचमनी, पञ्चपात्र, अर्घौतो, दियो, कलश, जलरी आदि औजारहरू बनाए ।

खेतीपातीका लागि औजारहरू बनाए, घरायसी प्रयोगका भाँडाकुँडा र काट्ने, ताछ्ने, चिर्ने औजार बनाए । यस्तो गर्ने जातिसमुदाय सामुदायिक र जातीय हिसाबले सम्मान गर्न योग्य हुन् कि होइनन् ? व्यक्तिले पौरख गर्दा सम्मान पाउने, सिंगो जातिसमुदायले त्योभन्दा ठूलो योगदान गर्दा अपमानित हुनु राम्रो हो ? वेदले भन्यो कि मनुले भने त्यो छोडौँ, हाम्रा लागि जीवनोपयोगी योगदान गरेको जाति समुदायप्रति तपाइँको विवेकले के भन्छ ? यस्तालाई अछुत नै बनाएर राख्न भन्नुहुन्छ कि ? ऐतिहासिक योगदानका आधारमा सम्मान गर्नुपर्छ भन्ने सोच्नुहुन्छ ? के अरुलाई अछुत मान्ने गरेका जातिसमुदायका मानिसहरू अहिले पनि सर्वोत्कृष्ट नै छौँ ? आचरण, अध्ययन, साधना सबैमा अब्बल नै छौँ ? पेसा–व्यवसाय र हाम्रा निजी आचरणमा हामी प्राचीन परम्परागत मान्यता अनुसारकै व्यवहार गरिरहेका छौँ, जुन कारणले हामी अरुलाई अछुत बनाएर राख्न उद्यत छौँ ? अहिलेको संविधान, ऐन–नियम सबैलाई समान रूपमा लागू हुनु पर्दैन ? कि अहिलेका संवैधानिक तथा कानुनी व्यवस्थाप्रति असहमति छ ? असहमति छ भने अदालत गएका छौँ ? होइन भने योगदानको सम्मान गर्नुपर्ने समुदायलाई विभेद, त्यो पनि छुवाछुतजस्तो अमानवीय विभेद छोडौँ ।

मानव समाजको विकासकै कुनै समयमा शूद्र नाम दिइएका (दलित बनाइएका) हरूले पनि निकै वेदबाट निर्देशितजस्तो, मनुस्मृतिबाट निर्देशितजस्तो गरी त्यहाँ भएका असमान प्रावधानहरूलाई टपक्क टिपेर, त्यही आपूmलाई मन नपरेका, आपूmलाई कमजोर बनाएका हरफहरूको प्रचारमा किन लाग्नुपरेको होला ? विभेद चाहिएको हो भने विभेदकारी प्रावधान खोज्ने हो, समानता चाहने हो भने त समानताका प्रावधान खोज्नुपर्ने होइन र ? वेदका मन्त्रद्रष्टा र मन्त्रकर्ता ऋषिमुनिहरू कुन कुन जातका थिए ? ती ऋषिमुनिहरू, गोत्र प्रवत्र्तक ऋषिहरू कुनै फरकफरक जातका थिए ? थिए भने कुन कुन जातका थिए ? त्यहाँ त सबै काम गर्नेहरू एकै ठाउँमा, एउटै परिवार बसेको पाइन्छ त !

एउटै समाजमा बस्ने मानिसहरूका बिचमा छुत र अछुतको व्यवहार सभ्य व्यवहार होइन । कुनै कालखण्डमा कुनै खास कारणले भएको भए पनि अब त्यसको औचित्य छैन । खासमा भन्ने हो भने राजनीतिक परिवर्तनपछि आर्थिक, सामाजिक रूपान्तरणको दिशामा काम गर्नुपर्ने राजनीतिक नेतृत्वले आफूले संवैधानिक तथा कानुनी प्रावधानहरूको कार्यान्वयन गर्न नसकेको अवस्था हो । आफूले गर्न नसकेको काम वैदिक ऋषिमुनिहरू, मनु र मनुस्मृतिमाथि दोष थोपारेर उम्कने प्रयास पनि हो । शताब्दियौँदेखि विभेदमा परेका जनतालाई त्यसको कारण प्राचीन प्रबन्ध हो भनेपछि उनीहरू चुप्प । मनु खोज्न कहाँ जाने ? व्यास खोज्न कहाँ जाने ? जो भेटिँदैन, त्यता देखाएर उम्कन खोज्ने जीवित मनुहरूसँग हिसाब खोज्ने बेला भएन र ? नभेटिने मनु, व्यास खोज्न नलागौँ । भेटिने मनु, व्यासहरूसँग बसेर हिसाब किताब गर्न सकिँदैन । त्यसैले अहिले हाम्रो समर्थन र विरोधको निशाना मनुवादलाई बनाउने होइन; लोकतन्त्रवाद, संविधानवाद र संसदवादलाई जिम्मेवार बनाइनु पर्छ । जे छ, जो छ, हिसाब त्यससँग हुनुपर्छ ।

छुवाछुतको व्यवहार भएको समाज, सँगै मिलेर बस्न नसकिने समाज सभ्य हुँदैन । हामीले हाम्रो दृष्टिकोण र व्यवहारमा आपूmलाई सुधार्न सक्दा मात्र सुसभ्य र सुसंस्कृत समाज बन्न सक्दछ । (लेखक कोइराला अध्येता तथा अभियन्ता हुनुहुन्छ ।)