ओम बानियाँ
आरोग्यता मानिसको स्वाभाविक जीवन हो तर केवल शरीरको आरोग्यता पूर्ण स्वास्थ्य होइन, शरीर र मन दुवैको स्वस्थता नै पूर्ण आरोग्यता हो । वास्तवमा आरोग्य अर्थात् स्वास्थ्य शब्दले शारीरिक तथा मानसिक स्वास्थ्यलाई इंगित गर्छ । त्यो किनभने मनुष्यको मन र शरीर दुबै एक अर्काेसँग अन्र्तसम्बन्धित छन् । त्यसैले शारीरिक स्वास्थ्य र मानसिक स्वास्थ्य एक अर्काेमा निर्भर हुनेगर्छ ।
मानसिक स्वास्थ्यको लागि स्वस्थ मन आवश्यक हुन्छ र मनुष्यको मन सन्तुलित तथा प्रभावकारी स्नायुप्रणालीमा आधारित हुन्छ । स्नायु प्रणालीको प्रभावकारी सुसञ्चालनका लागि शारीरिक स्वास्थ्य आवश्यक पर्छ । त्यसैले आरोग्य जीवनकालागि शारीरिक तथा मानसिक दुवै स्वास्थ्यप्रति गम्भीर हुँदै स्वास्थ्य रक्षाका उपाय अपनाउनु सुखमय जीवनका लागि अति नै आवश्यक छ ।
आयुर्वेदले शरीर रक्षा र यसका लागि उचित विधिविधानहरू पालना गर्नुपर्ने कुरामा विशेष जोड दिएको छ । चरकसंहितामा भनिएको छः अन्य सबै सांसारिक कामहरू छोडेर भएपनि शरीरको पालनपोषण गर्नुपर्छ । शरीरको अभाव (शरीर खतम) भयो भने अन्य सम्पूर्ण वस्तुहरूको अभाव हुन्छ । हुन पनि हो शरीर नै रहेन भने जीवनयापनको सान्दर्भिकता नै भएन । हैन र ? त्यसैले प्रत्येक मानिसले सुखपूर्वक जीवनयापनका लागि, सफलता र समृृद्धिका लागि स्वास्थ्यप्रति सचेत हुनैपर्छ । उचित आहारबिहार तथा आचारविचारबाट नै पूर्ण स्वास्थ्य प्राप्त गर्न सकिन्छ ।
स्वास्थ्य रक्षा तथा शारीरिक शक्ति वृद्धिका लागि उचित दिनचर्या तथा शुभ आचरणको पालना गर्नु अत्यावश्यक हुन्छ । त्यो किनभने दिनचर्या नियमित भएन भने शरीर चुस्तदुरूस्त तथा सशक्त हुँदैन । खाए पिएको पच्दैन । र, आहारबाट शरीरले जुन पौष्टिकता प्राप्त गर्नुपर्ने हो–त्यो प्राप्त गर्न सक्दैन । जसले गर्दा शरीर रोगी तथा कमजोर हुन्छ । एउटा कमजोर शरीर भएको रोगी व्यक्तिले जीवनमा के नै गर्न सक्छ र ? यो गहन प्रश्नप्रति सचेत हुनै पर्छ । त्यसैले जीवनमा सफलता र समृद्धिका लागि आजै यसैबेला जुनबेला आँखा खुल्यो त्यहीबेला सहीलाई मनन् गर्दै उचित दिनचर्या तथा शुभ आचर–विचारको पालना आरम्भ गरी आरोग्य जीवन जीउन आवश्यक छ ।
ब्रह्मा–मुहूर्तमा जागरणः
दिनचर्याको शुभारम्भ बिहान उठेपछि हुन्छ । बिहान ब्रह्मा मुहूर्तमा अर्थात् ४ः३० वा ५ः०० बजेतिर उठ्नुपर्छ । ऋग्वेदमा भनिएको छ–प्रातः काल सूर्याेदयभन्दा पहिला (ब्रह्मा मुहूर्तमा) उठ्ने व्यक्तिलाई उत्तम स्वास्थ्य प्राप्ति हुन्छ । त्यसैले वुद्धिमान्ले त्यो समयलाई व्यर्थ खेर फाल्दैनन् । प्रातः छिटो उठ्ने व्यक्ति हृष्ट–पुष्ट, स्वस्थ, बलवान, सुखी, दीर्घायु तथा वीर हुन्छन् ।
विछ्यौनाबाट उठेपछि मुखभरी पानी भारेर दुवै आँखा बन्द गरी १०–१५ पटक आँखामा पानीको छिटा हान्ने । र, अनुहार धुने । त्यसपछि कागासनमा बसेर राती तामाको भाँडामा राखेको ४ गिलास जति पानी घुटघुट पिउने । सुरुका दिनमा २ गिलास अनि बढाएर ४ गिलास पु¥याउने । तामाको भाँडाको पानीको सट्टामा मनतातो पानी पिए पनि हुन्छ । पानी पिए पछि केहीबेर यताउति हिँड्डुल गर्ने । भ¥याङको तलमाथि गरे पनि हुन्छ । वासरुम जाने ।
तेलाङ्ग र स्नानः
स्नान गर्नुपूर्व सम्पूर्ण शरीरमा तेल मालिस गर्नु निकै उत्तम हुन्छ । सकिन्छ भने दिनहँु नभए सप्ताहमा एकपटक तेल मालिस गर्ने । जैतुनको तेल मालिसको लागि श्रेष्ठ हुन्छ । त्यसपछि स्नान गर्ने । स्नान गर्दा हतार गर्नु हुँदैन । होशपूर्वक, ध्यानपूर्वक आरामसँग स्नान गर्नुपर्छ । स्नान गरे पछि कुञ्जल गरेर पेट सफा गर्ने । जलनेति गरेर नाक, मुख तथा गलो इत्यादि सफा गर्नु पर्छ । कुञ्जल क्रियाले पेट सफा गरी पेटका बिरामीहरु ठीक पार्छ जबकि जलनेतिले नाक, मुख तथा गलोका रोगहरुबाट बचाउनुको साथै आँखा तथा मस्तिष्क शक्ति वृद्धि गर्न सहयोग गर्छ । कुञ्जल क्रिया सप्ताहमा एक पटक गरे पनि हुन्छ । तर जलनेति दिनहुँ गर्नु उत्तम हुन्छ ।
प्राणायाम, ध्यान तथा योगासनः
स्नान निवृत्त भएपछि खुकुलो लुगा लगाएर एकान्त ठाउँमा बसेर प्राणायाम, ध्यान तथा योगासनहरु गरेपछि २–४ किलोमिटर हिँडेर वायु सेवन गर्नु अति नै श्रेष्ठ हुन्छ । वायु सेवन गरेर फर्केपछि बिहानको नास्ताको रुपमा राति भिजाएर राखेको एक मु¬ठी चना, सकिन्छ भने राति नै भिजाएर राखेको १०–१५ दाना किशमिश तथा २–४ वटा जति छोहोडा खुबसँग चपाएर खाने । स्वादको लागि चनामा अलिकति पिसेको सिधे नून, मरिचको धुलो तथा कागतीको रस मिसाउन सकिन्छ । अझ अंकुरित गेडागुडीको भोजन–अमृत भोजन, नास्ताको रुपमा सेवन गर्नु सर्वोत्तम हुन्छ । अमृत भोजनमा निम्नलिखित अंकुरित गेडागुडीलाई लिन सकिन्छ ।
चनाः १५ ग्राम
गहुँ: १५ ग्राम
मुंगफुलीः १० ग्राम
मेथीः १० ग्राम
तिलः ५ ग्राम
माथि अंकुरित गेडागुडीमा प्याज, टमाटर, पालकको पत्ता, हरियो धनियाँ, पत्तागोपी, गाजर इत्यादिका स–साना टुका्रहरु काटेर मिसाउन सकिन्छ । स्वादको लागि चनामा अलिकति पिसेको सिधे नून, अदुवा, मरिचको धुलो तथा कागतीको रस मिसाउने र यो अमृत भोजनलाई खुव राम्रोसँग चपाएर खाने । त्यसपछि चिया पिउने । यदि चियाको सट्टामा दूध पिउने हो भने चना वा अमृत भोजनमा कागति मिसाएर खानुहुँदैन ।
तर चिया र दुधको ठाउँमा एक गिलास अमला पानी पिउनु सर्वोत्तम हुन्छ । राती ४–५ वटा अमलाको गुठली निकालेर एक गिलास पानीमा भिजाएर राख्ने । बिहान त्यो पानीलाई छानेर अमलालाई अमृत भोजनमा मिसाएर खाने । छानेको अमला पानीमा अलिकति पिसेको अदुवा र भेली घोलेर तताउने र कागती निचोरेर पिउनु उत्तम हुन्छ । यो पानीसँग एक चम्चा मेथी दाना फाँकेर खानु सर्वाेत्तम हुन्छ । यदि अमृत भोजनको नास्ता गर्ने हो भने पुनः मेथी दाना खानुपर्दैन ।
हेल्थ फस्र्ट

सधैंझैं आज पनि राति ८ बजे खाना खाइवरी पढ्न बसेको पढ्दापढ्दै साढे १० बज्यो । अनि बिछ्यौनामा पल्टिएँ, बिहान साढे तीन बजे उठ्ने हिसाबमा । बिना आलाराम बिहान साढे तीन बजे नै आँखा खुल्यो । उठेँ, बाथरुप गएँ अनि ३ः५० मा घरबाट निक्लेँ, बिहानी हिँडाइ र दौडाइका लागि । करीब साढे ७ किलोमिटर हिँडेर घर फर्किँदा ५ बजेको थियो, शरीर पसिनाले निर्थुक्क भएको थियो । बाहिरी हावामा केहीक्षण आराम गरेपछि कोठामा गएँ र शवासनमा पल्टिएँ, १५ मिनेट । अनि कुटो र हसियाँ लिएर वारितिर गएँ । चप्पल खेतको आलीमा राखेर नांगो खुट्टाले दुवोसहितको खेतमा टेकेँ, आहा ! सम्पूर्ण शरीरमा गजवको अनुभव भयो । त्यो अनुभवको मजाले मजा लिएँ । अनि बोटविरुवा गोडमेल गर्न थालेँ । रुखबाट चराहरु चिरबिर चिरबिर कराएको आवाज । घाँसपातबाट गुन्जिएको किराफट्यांग्राको संगीत । ढकमक्क फुलेका फलपूmलहरु । ती फलपूmलहरुको हर्र बास्ना । फलहरुको रसिलो स्वाद । आहा ! शब्दमा वर्णन गर्न नसकिने अनुभव । करिब एक घण्टा खेतमा काम गर्दा मजाले ब्रेनको व्यायाम भयो । आम के आम गुठली के दाम । अनि नुहाइधुवाइ गरेपछि हल्का नास्ता । एक घण्टा पढाइपछि आफ्नो पेशागत काम ।
यसरी बिहानको नित्यकर्म सकिएपछि आफ्नो दैनिक कार्यमा लाग्ने । प्रत्येक कार्य होशपूर्वक गर्ने । तर होशपूर्वक आचरण अधिकांश मानिसहरूले गर्न सक्दैनन् । उनीहरूको यान्त्रिक मनोवृत्ति नै यसको वाधक हो । कतिपय मान्छेहरू यस्ता हुन्छन्, जो हतार–हतारमा यन्त्रवत कार्य सम्पादन गर्छन् । हातमा घडी हुन्छ, पलंग, दराज, वाथरूम, जहाँतहीँ घडी खोज्दै झन्किँदै हिँड्छन् । मोजा खुट्टामा नै हुन्छ, तर मोजा कहाँ छ भनेर कराइरहेका हुन्छन् । एकदिन अघि आफैँले राखेको समान कहाँ छ भन्ने बिर्सिन्छन् । मन, वुद्धि र मस्तिष्क भएको प्राणीले एउटा निर्जीव यन्त्रले झै बेहोश भएर कार्य गरेपछि यो सब त हुने नै भयो नि ! यदि होशपूर्वक कार्य गरेको भए वा आवश्यक सामग्रीहरू राखेको भए यस्तो हुने थियो र ? निश्चय पनि हुने थिएन । त्यो किनभने होशपूर्वक गरेका प्रत्येक कार्यहरू मनमस्तिष्कमा राम्रोसँग सुदृढ भएर अंकन हुन्छन् ।
मन मस्तिष्कमा राम्रोसँग अंकन भएका कार्यहरूको सुदृढ संस्कार बन्न पुग्छ । जसले गर्दा गर्नुपर्ने कार्यहरू बिर्सिंदैन र ती कार्यहरू गर्दा त्रुटिहरू हुने सम्भावना पनि न्यून हुन्छ । मानिसहरूले गल्ती किन गर्छन् ? त्रुटिहरू किन गर्छन् ? यसको प्रमुख कारण हो–सचेत भएर होशपूर्वक कार्य नगर्नु । प्रायः मानिहरूको दिनचर्या यस्तो हुनेगर्छः बिहान ढिलो गरी उठ्यो । वाथरूम गयो । छिटोछिटो बु्रस ग¥यो, हातमुख धोयो । अनि फास्टफुड खायो–त्योपनि एकदमै फास्ट । अनि काममा हिँड्यो । के गरेँ ? के गर्दैछु भन्ने उसलाई होश नै छैन । अबचेतनको सहारामा काम गर्दैजान्छ । होश कहाँ छ–कता छ ? उसलाई मतलब छैन । यो यन्त्रबत कार्यशैली नै मनुष्यको आरोग्य र प्रगतिको वाधक हो ।
बिहान–साँझको भोजनः
बिहान १०–१२ बजेभित्र र साँझ ७ बजे पूर्व नै भोजन गर्नु राम्रो हुन्छ । भोजन सधँै निश्चित समयमा गर्नुपर्छ । भोजनको उद्देश्य शरीरलाई पोषण दिनु हो । वास्तवमा भोजन शरीरको इन्धन हो । त्यसैले नै सन्तुलित भोजन ग्रहण गर्नु अत्यावश्यक छ । सन्तुलित भोजन त्यो हो, जसमा प्रोटिन, भिटामिन, कार्बाेहाइडे«ट तथा खनिज पदार्थहरू उपलब्ध हुन्छन् । भोजनमा वनस्पतिजन्य पदार्थ बढी सेवन गर्नुपर्छ ।
अधिकांश व्यक्तिहरूले भोजन गर्दा लापरबाही गर्ने गर्छन् । हतार–हतारमा भोजन ग¥यो, हिँड्यो । यो बानीलाई तुरून्तै हटाउनुपर्दछ । आरामसँग प्रसन्न चित्तकासाथ होशपूर्वक प्रत्येक गाँसलाई खुबसँग चपाएर भोजनको पर्याप्त स्वाद लिईलिई भोजन गर्नुपर्छ । यसरी भोजन गर्ने हो भने एकातिर शरीरले पर्याप्त पौष्टिकता पाउँछ भने अर्कातिर पेटको महारोग कब्जियत हुने सम्भावना पनि हुँदैन । भोजको साथ पानी पिउनुहुँदैन । पिउनै प¥यो भने एक वा दुई घुट्की पिउनुपर्छ । तर भोजन गरेको एक घण्टापछि पानी पिउन सकिन्छ । दिनभरिमा ३–४ लिटर पानी पिउनु उत्तम हुन्छ । भोजन गरेपछि १०० मिटर जति हिँड्ने अनि उत्तानो सुत्ने, ८ पटक लामो–गहिरो सास लिने । अनि दायाँ कोल्टो पर्ने र १६ पटक लामो–गहिरो सास लिने । त्यसपछि बाँया कोल्टो परेर ३२ पटक लामो–गहिरो सास लिने । अनि उठेर पाँच मिनेट बज्रासनमा बस्ने । त्यसपछि दैनिक कार्यमा लाग्ने ।
साँझको कार्यक्रम र सुत्ने समयः
समान्यतया साँझ नास्ताको आवश्यकता पर्दैन । यदि नास्ता गर्ने नै हो भने हर्वल चिया तथा फलफूलको हल्का नास्ता लिए हुन्छ । मौसमी फलफूलहरुको नास्ता उत्तम हुन्छ ।
राती १० बजेभित्र सुत्नुपर्छ । सुत्नुपूर्व बाथरुम जाने र पिसाप–शौच गरेपछि हात, खुट्टा, मुख राम्रोसँग धुने र सफा टावेलले पुछेर खुट्टाको पैतला र कपालमा नरिवलको तेलले मालिस गर्र्ने । गर्मी याममा खुट्टाको तेललाई कागजले पुछ्ने, जाडोयाममा चाहिँ मोजा लगाएर सुत्ने । सुत्नुपूर्व सकिन्छ भने एक गिलास हल्का तातो दुधमा १ चम्चा शुद्ध घ्यू घोलेर पिउनु राम्रो हुन्छ । अझ त्यो दुधमा बिहान भिजाएर रोखको दुईवटा बदाम दानाको लेप मिलाएर खानु शारीरिक तथा मानसिक स्वास्थ्यको दृष्टिले उत्तम हुन्छ । बदामको लेपको ठाउँमा आधा चम्चा बदाम तेलको प्रयोग गर्न सकिन्छ । त्यसपछि मुख कुल्ला गरेर सफा गर्नुपर्छ । अनि सुत्न बिछ्यौनातिर जानुपर्छ । निश्चित्त भई ६ घण्टा गहिरो निद्रा सत्नुपर्छ । (मेचीकाली अर्काइभ)
