घनश्याम कोइराला
जीवन र जीवन व्यवस्थापनमा संवादको ठूलो महत्व हुन्छ । संस्कृतमा एउटा प्रसिद्ध भनाइ छ, ‘वादे वादे जायते तत्वबोध ।’ द्वन्दात्मक तथा भौतिकवादी मान्यताअनुसार ‘वाद, विवाद र संवाद’ नै रूपान्तरण तथा सही निष्कर्षमा पुग्ने माध्यम हो । गौतम बुद्धसँगको संवादले नै क्रूर तथा कुख्यात दस्यु ‘अंगुलीमाल’ बुद्धको अनुयायी बन्न सम्भव भएको हो । कृष्ण र अर्जुनको संवाद नै ‘गीता’ उत्पत्तिको कारण हो । सशस्त्र द्वन्द्वरत पक्ष र शान्तिपूर्ण राजनीतिक मान्यताका पक्षधर शक्तिहरू बिचको संवादले नै नेपालमा शान्ति स्थापना सम्भव भएको हो ।
के हो त संवाद ? ‘नेपाली शब्दसागर’ मा संवादलाई यसरी अथ्र्याइएको छःआपसमा विरोध वा बेमेल नखाने कुराकानी, सद्भावपूर्वक गरिने वार्ता, वार्तालाप, शिक्षण पद्धतिले मान्यता दिएको संवाद–विवाद–वादविवाद आदि बोलाइएको एक विधि, समाचार, खबर, सन्देश, चर्चा–परिचर्चा । यसरी हेर्दा संवादको क्षेत्र निकै फराकिलो छ ।
र्थक र गतिशील संवादले नै सहिष्णुता, समता र सद्भाव विस्तार सम्भव छ । संवाद सहअस्त्विको द्योतक हो । संवाद नै सहभगिता र सहकार्यको माध्यम हुन सक्छ । सामाजिक रूपान्तरणमा गतिशील संवादको भूमिका अत्यन्त महत्वपूर्ण हुन्छ । संवादको माध्यमबाट हुने परिवर्तनको परिणाम सकारात्मक तथा दूरगामी हुन्छ । संवाद समता तथा समानताको निकट हुन्छ । संवाद अर्कालाई दिइने अर्ती–उपदेश होइन, यो अधिकार मात्र वा कर्तब्य मात्र होइन, यो अधिकार र कर्तव्य दुबै हो । संवादले अरुतिर मात्र औँलो ठड्याउँदैन, यसले आफूतिर पनि औँला ठड्याउन आह्वान गर्दछ । संवाद सामाजिक रूपान्तरणको द्वन्दवादी सिद्धान्त हो ।
यसको विपरीत हिंसाले साँघुरो घेरामा शक्ति अतिकेन्द्रित गर्दछ र घेरा बाहिर फराकिलो संसारलाई प्रहारको निशाना बनाउँछ । यस्तो शक्ति संवादको विपक्षमा हुन्छ, सामाजिक रूपान्तरणको द्वन्द्ववादी सिद्धान्त तथा मान्यता विरोधी हुन्छ । हठात् र बलपूर्वक गरिने कार्यको परिणाम दूरगामी हुन सक्दैन ।
उत्पादन सम्बन्ध तथा शासनतन्त्रका हिसाबले सामन्तवादी रहँदा पनि नेपाली समाजको आमचरित्र सामन्तवादी थिएन र छैन । सामन्तवाद नेपाली समाजको एउटा कुरूप र विकृत पक्ष मात्र हो, सिङ्गो सामाजिक चरित्र होइन । तर, यहाँका शासकवर्ग र उपल्लो ओहोदामा पुगेपछि उस्तै बन्ने नेतृत्व वर्गको प्रवृत्तिका कारण नेपाली समाजमा सामन्तवादको रसायन यहाँको उत्पादन सम्बन्धभन्दा पनि ‘शक्ति संस्कृति’ का रूपमा प्रभावकारी भएर बसेको छ । सामन्तवादलाई सामन्तवादी शोषणका विरोधी भनिएका राजनीतिक शक्तिहरूले तन्काएर विस्तार गरिरहेका छन् र यसलाई निस्तेज हुन दिइरहेका छैनन् । शक्तिको उपयोग निर्माण, उत्पादन र सिर्जनामा नभई दमन, कपट र निषेधमा भइरहेको छ । आममानिस यसलाई नियतिका रूपमा स्वीकारेर बस्न विवश देखिएको छ । नेपाली समाजमा प्रचलित उखान छ ‘सुत्ने बेलामा रिन र खाने बेलामा घिन नसम्झनू ।’ तर, हाम्रा राजनीतिक तथा सामाजिक अगुवाहरू भने रिन र घिनकै खेतीमा व्यस्त देखिन्छन् र त्यही देखाएर जनतालाई दिग्भ्रमित पारिरहेका छन् । परिवर्तनका दिन पर्खेर मात्र बस्नेहरूका लागि यो अवस्था निश्चय नै निराशा र हतासाको अवस्था हो । तर, समाजप्रतिको दायित्वबोध भएका सिर्जनशील व्यक्तिहरूका लागि भने यो समाजको अग्रगतिका निम्ति केही गरेर देखाउने अवसर हो ।
के हो राजनीति ? के हो शिक्षा ? के हो अधिकार ? के हो कर्तव्य ? के हो समता वा समानता ? के हो संस्कृति ? के हुन् दर्शन, वाद, विचार र सिद्धान्त ? के हो गरिबी र समृद्धि ? यी र यस्ता अनेकौँ विषय झन्पछि झन् रहस्यमय बनिरहेका छन् । केही नकारात्मक पक्षहरूका कारण पुराना सबै तिरस्कार र निषेधका विषय हुने, कुनै गुदी नभएका नयाँ विषयहरू समाजको निर्णायक विषय बन्ने बिडम्बना देखापरिरहेको सन्दर्भमा यस्तो अवस्थालाई चिर्दै समाजका सकारात्मक तथा सबल पक्षहरूको प्रसार एवं नकारात्मक पक्षहरूको पहिचान र रूपान्तरणका लागि सशक्त, सार्थक र गतिशील संवाद अपरिहार्य रहेको छ ।
यतिबेला राजनीतिको माथिल्लो तहमा संवादजस्ता लाग्ने सत्ताकेन्द्रित अभ्यासहरू देखिए पनि साँचो संवाद त्यहाँ पनि हुन सकिरहेको छैन । राष्ट्रले अवरोधको नियति भोग्न परिरहेको यो अवस्था संवाद हीनताकै कारणले हो । सिङ्गो नेपाली समाज संवाद हीनताको शिकार बनेको छ । ‘आफ्नो गोरुको बाह्रै टक्का’ भनेर गरिने विवाद संवाद हुन सक्दैन, अरुका कुरा सुन्न र बुझ्न समेत तयार भएर गरिने बार्तालाप मात्र संवाद हुन सक्दछ ।
संवाद परिवर्तनको माध्यम हो । संवादको माध्यमबाट आफू, आफ्नो परिवार, समाज र राष्ट्रमा सकारात्मक परिवर्तन ल्याउन सकिन्छ । तर, यसको निम्ति गहकिलो सङ्कल्प भने अनिवार्य हुन्छ । संवाद हीनताले मानिस मानिसका बिचमा दूरी बढाउँछ र बढाइरहेको छ । अहिले समाजमा देखिएका असमझदारीका खाडल पुर्न र मानिस मानिसका बिचमा समझदारी र सद्भाव विस्तार गर्न संवादका शृङ्खलाहरूको ठूलो महत्व देखिँदै छ । यस्तो महत्वको काम ‘अहिले नगरे कहिले गर्ने ? मैले नगरे कसले गर्ने ? यहाँ नगरे कहाँ गर्ने ?’ हाम्रा निम्ति यी कुनै यक्ष प्रश्न होइनन्, यी त गतिशील संवादका लागि दायित्व बोधका मूल मन्त्र र प्रेरणा हुन् ।
यथास्थितिको साँघुरो दायरा, अर्काका विचार, सिद्धान्त र दृष्टिकोणहरूलाई मर्माहत तथा निषेध गर्ने, छलकपट र आदेशमा चल्ने र चलाउने आकाङ्क्षा राख्ने, आफ्नो विचार लागू गर्न पाउँदा विश्वविजेता ठान्ने, अरुको विचार मान्नुपर्दा आकास खसेसरह ठान्नु गतिशील संवाद हुन सक्दैन । अपितु, समाजमा रहेका हरेक व्यक्ति र विषयमा विद्यमान भिन्नतामा विशिष्टताको खोजी गर्नु र पहिल्याउनु, भविष्यको विषयमा दूरदृष्टि राख्नु, नयाँ नयाँ विषयको अध्ययन–अन्वेषण गर्नु, हुनुपर्ने विषयमा तथ्यपरक तथा सिर्जनशील बहस गरी सार्थक समझदारी विकसित गर्नु गतिशील संवादको मूलमर्म हो । गतिशीलता, दृढसङ्कल्प र संवादको माध्यमबाट नै केही नयाँ प्राप्त गर्न सकिन्छ ।
समाजमा दर्शन, राजनीति, धर्म, संस्कृति, साहित्य, कला, अर्थतन्त्र, वातावरण, स्वास्थ्य, शिक्षा, उद्योग, व्यापार, कृषि, सेवा आदि धेरै विषय र क्षेत्र संवादका विषय र क्षेत्रका रूपमा विद्यमान छन् । गतिशील संवादको माध्यमबाट सरोकारवालाहरूको भूमिका थाहा पाउन सकिन्छ । जनताका वास्तविक चाहनाहरूलाई सतहमा ल्याउन सकिन्छ । सेवा प्रदायकहरूको ध्यान सेवाग्राहीहरूतर्फ आकर्षित गर्न सकिन्छ । सतहमा नउभ्रेका प्रतिभाहरूको प्रतिभा उजागर गर्न सकिन्छ । कसको अधिकार कति र कसको कर्तव्य के हो भन्ने जानकारी आदान–प्रदान गर्न सकिन्छ र यसो गर्नाले लोकतन्त्रलाई संस्थागत गर्न सहयोग पु¥याउन सकिन्छ । यहाँ लोकतन्त्र भन्नाले विद्यमान राजनीतिक व्यवस्था मात्र नभई सहिष्णु र समतामुखी जीवन पद्धति बुझ्नुपर्दछ ।
जतिसुकै राम्रा सिद्धान्त, विचार र नीतिहरू पनि त्यत्तिकै लागू हुँँँदैनन् । सिद्धान्त, विचार र नीतिहरू लागू गर्न–गराउन तदनुसारको सङ्गठनात्मक सिद्धान्त, ढाँचा वा स्वरूप र प्रक्रिया आवश्यक हुन्छ । सिद्धान्त समतावादी, ढाँचा उपल्लो–तल्लो, प्रक्रिया निर्देशनात्मक भयो भने त्यसबाट प्राप्त हुने परिणाम पनि उबडखाबड नै रहनु स्वभाविकै हो । नोकरशाही र सैन्य सङ्गठनमा जस्तै उपल्लो–तल्लो, माथिको आदेश वा निर्देशनको ढाँचामा मात्र सामाजिक, जनसङ्गठनहरू सञ्चालन गर्ने परिपाटीले वास्तविक सहभागिता सुनिश्चित गर्न सक्दैन ।
सङ्गठनात्मक ढाँचामा कायम रहेको तल्लो–माथिल्लोको अवधारणा, अभिव्यक्ति र अभ्यासले सिङ्गो समाजको संरचनालाई त्यस्तै राख्न सहयोग पु¥याउँछ । हामी चाहन्छौँ: समाजमा, एउटै संस्थामा तल्लो–माथिल्लोको विभेद नहोस्, नाटक वा सिनेमामा जस्तो कुनै व्यक्ति निर्देशक र धेरै मानिसहरू निर्देशित भइरनु नपरोेस्, संस्थाभित्र सबैलाई समानुभूति महसुस गर्ने अवस्था सिर्जना, विकास र कायम राख्न सकियोस् ।
यसका लागि हाल प्रचलनमा रहेको कोही कसैको मातहत, कोही कसैको मातहत जम्माजम्मीमा कुनै कारणले ‘माथि’ भएकाहरू, कुनै कारणले ‘तल’ राखिएकाहरूलाई मातहतमा राखेर शासक र शासितजस्तै, शोषक र शोषितजस्तै कोही निर्देशक र कोही निर्देशित हुने प्रचलन हटाउँदै वा कम गर्दै जानुपर्दछ । मातहतमुखी (Vertical) सङ्गठनात्मक सिद्धान्त, ढाँचा वा स्वरूप र प्रक्रियालाई कम गर्दै समतलीय (Horizontal) अभ्यास बढाउँदै जानु पर्दछ । यस्तो काम हामीले एक्लाएक्लै गर्न सम्भव हुँदैन । पारिवारिक जीवन, सामाजिक र राजनीतिक जीवनलाई व्यवस्थित र प्रभावकारी बनाउनका लागि गतिशील एवं सार्थक संवाद आवश्यक छ । हरेक मानिसले आपूmलाई संवादशील बनाउन आवश्यक छ ।
संवादशीलताको थालनी आफैबाट, आफ्नै कर्मथलोबाट गरौँ । सर्वत्र समतलीयता र संवाद अहिले जटिल र कठिन लाग्न सक्दछ, तर यसको अभ्यास बढाउँदै जाँदा असम्भव हुँदैन । एकजना विद्वान् माइकल एञ्जेलोले भनेका छन्, ‘हाम्रो लक्ष साह«ै ठूलो भएर कत्ति खतरा हुँदैन; बरु खतरा तब हुन्छ, जब लक्ष साह«ै तुच्छ हुन्छ र त्यो साकार हुन थाल्दछ ।’ संवादशीललाई लक्ष बनाउने नभई लक्ष प्राप्तिमा संवादशीलताको महत्वका अर्थमा यसलाई लिन सकिन्छ । संवादशीलताले समतलीय समाज निर्माणमा ठूलो भूमिका निर्वाह गर्न सक्दछ । नबिर्सौँ, ‘महान् यात्राको थालनी पहिलो पाइलाबाट नै हुने गर्दछ ।’ (लेखकः कोइराला जीवन शैली अध्येता हुनुहुन्छ ।)
