ओडिआई शृंखलामा नेपाल जितविहीन

मेचीकाली संवाददाता

२० कार्तिक २०८२, बुधबार
9 shares

बुटवल। यूएइमा सम्पन्न आइसिसी क्रिकेट विश्वकप लिग–२ शृंखलाको आफ्नो अन्तिम खेलमा पनि नेपाली टोली पराजित भएको छ । आफ्नो अन्तिम खेलमा बुधबार नेपाली टोली आयोजक यूएइसँग चार विकेटले पराजित भएको हो ।
यो खेलसँगै लिग–२ प्रतियोगिताको १५ औं शृंखला पनि सकिएको छ । लिग–२ प्रतियोगिताको दोस्रो संस्करणमा नेपालका लागि भने यो पाँचौं शृंखला हो । नेपाली टोलीका लागि यूएईमा सम्पन्न पछिल्लो शृंखला बिर्सनलायक रह्यो । नेपाली टोली आफूले खेलेको चारवटै खेलमा पराजित भयो ।

लिग–२ तालिकामा कमजोर स्थितिमा रहेको नेपालले यो शृंखलाबाट एक अंक पनि बटुल्न सकेन । नेपाली टोली शृंखलाको पहिलो खेलमा अमेरिकासँग एक सय ६ रनले, दोस्रो खेलमा यूएइसँग पाँच विकेटले र तेस्रो खेलमा अमेरिकासँग चार विकेटले पराजित भएको थियो ।
यो शृंखलाबाट अमेरिकाले सबैभन्दा बढी आठ अंक जोड्यो । यही शृंखलापछि अमेरिकी टोली फेरि तालिकाको पहिलो स्थानमा उक्लन सफल भयो । आयोजक यूएइले पनि चार अंक जोड्यो । नेपाली टोली भने अंक तालिकामा थप दबाबमा प¥यो ।
बुधबार दुबइस्थित आइसिसी एकेडेमी ग्राउन्डमा टस हारेर पहिले ब्याटिङ गरेको नेपाली टोलीले निर्धारित ५० ओभरमा नौ विकेट गुमाएर दुई सय ३९ रनमात्र बनाउन सकेको थियो । यूएइले भने ४९.१ ओभरमा ६ विकेट गुमाएर दुई सय ४३ रन बनाउँदै विजयलक्ष्य पार ग¥यो ।
यो खेलमा पनि नेपाली टोलीको ब्याटिङ, बलिङ र फिल्डिङ गरी तीनवटै पक्ष कमजोर देखियो । यूएइको जीतमा मुहम्मद सहादतले ९६ रनको योगदान गरे । नेपालले दिएको २४० रनको लक्ष्य यूएइले ५ बल बाँकी छँदा ६ विकेटको क्षतिमा पूरा ग¥यो । यूएइका लागि मुहम्मद शाहदादले सर्वाधिक ९६ रन बनाए । त्यस्तै मुहम्मद वासीमले ७६ रन बनाए । शाहदाद र वासीम मिलेर चौथो विकेटका लागि १४७ रनको म्याच विनिङ साझेदारी गरेका थिए ।

नेपालका लागि करण केसीले १० ओभरमा ५८ रन दिएर ३ विकेट लिए । सन्दीप लामिछानेले १० ओभरमा ३५ रन दिएर १ विकेट लिए । ललित राजवंशीले १० ओभरमा ४८ रन दिएर १ विकेट लिए । नन्दन यादवले पनि १ विकेट लिए । त्यसअघि टस हारेर पहिले ब्याटिङको निम्तो पाएको नेपालले ५० ओभरमा ९ विकेट गुमाएर २३९ रन बनाएको थियो । नेपालका लागि भीम सार्कीले सर्वाधिक ४८ रन बनाए । कुशल मल्लले ४५ रन बनाए । दीपेन्द्रसिंह ऐरीले ३७, आसिफ शेखले ३४ तथा आरिफ शेखले ३० रन बनाए ।
यूएइका ध्रुव पराशरले १० ओभरमा २८ रन दिएर २ विकेट लिए । जुनेद सिद्दिकीले १० ओभरमा ३६ रन दिएर २ विकेट लिए । मुहम्मद जवादुल्लाहले पनि २ विकेट लिँदा जाहिद अलीले १ विकेट लिए । पहिलो खेलमा नेपालले अमेरिकासँग १०६ रनको लज्जास्पद हार बेहोरेको थियो । त्यस्तै दोस्रो खेलमा बिहीबार यूएइसँग ५ विकेटले पराजित भएको थियो भने तेस्रो खेलमा अमेरिकासँग ४ विकेटले पराजित भएको थियो ।

लिग–२ को तालिकामा हाल अमेरिका २४ खेलमा ३६ अंक जोडेर शीर्ष स्थानमा छ भने नेपाल २० खेलमा १२ अंक जोडेर सातौं स्थानमा छ । यूएई २० खेलमा १० अंक जोडेर पुछारमा छ । समग्रमा लिग–२ को दोस्रो संस्करणमै नेपाली टोलीले हालसम्म गतिलो प्रदर्शन गर्न सकेको छैन । त्यसैले आठ टोली सहभागी लिग–२ तालिकामा नेपाली टोली सातौं स्थानमा छ ।
लिग–२ प्रतियोगिताको दोस्रो संस्करणमा २० खेल खेलेको नेपालले पाँच खेलमात्र जित्न सकेको छ । १३ खेलमा पराजित भएको नेपाली टोलीको दुई खेल भने अनिर्णित रूपमा सकिएको छ । नेपालले हालसम्म १२ अंकमात्र बटुल्न सकेको छ ।
यूएई भने २० खेलबाट १० अंक जोड्दै तालिकाको आठौँ स्थानमा छ । यूएईले पाँच जीत र १५ हारको नतिजा निकालेको छ । यूएई भ्रमणमा चारवटै खेल जित्दै आठ अंक जोडेको अमेरिका तालिकाको पहिलो स्थानमा छ ।

अमेरिकाले २४ खेलबाट ३६ अंक जोडेको छ । अमेरिकाले हालसमम १८ जित र ६ हारको नतिजा निकालेको छ । २४ खेलबाट ३० अंक बटुलेको स्कटल्यान्ड दोस्रो र समान खेलबाट २८ अंक जोडेको नेदरल्यान्ड्स तेस्रो स्थानमा छन् ।
यसैगरी, २० खेलबाट २४ अंक हात पारेको ओमान चौथो, २४ खेलबाट २१ अंक बटुलेको क्यानडा पाँचौँ र २४ खेलबाट १९ अंक कमाएको नामिबिया छैटौँ स्थानमा आसिन छन् ।
सहभागी टोलीहरूका लागि आईसीसी क्रिकेट विश्व कप लिग–२ प्रतियोगिता निकै महत्वपूर्ण छ । यो प्रतियोगिता सन् २०२७ मा आयोजना हुने आईसीसी एकदिवसीय विश्वकपका लागि छनोटको आधारका रूपमा पनि रहेको छ ।

सन् २०२७ को एकदिवसीय विश्वकप दक्षिण अफ्रिका, जिम्बावे र नामिबियामा संयुक्त रूपमा आयोजना हुँदैछ । लिग–२ प्रतियोगिताको समाप्तिपछि अंक तालिकाको माथिल्लो चार स्थानमा रहने राष्ट्र सिधै उक्त एकदिवसीय विश्वकपको अन्तिम चरणको छनोटमा प्रवेश गर्नेछन् ।
लिग–२ तालिकाको अन्तिम चार स्थानमा रहने राष्ट्रले भने विश्वकप क्वालिफायरका लागि प्ले–अफ चरण खेल्नुपर्नेछ । यसका अतिरिक्त, अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आइसिसी)बाट सन् २०१८ मा प्राप्त एकदिवसीय मान्यता जोगाउन पनि यो प्रतियोगिताको महत्वपूर्ण भूमिका रहन्छ ।

हाल आइसिसीबाट अस्थायी रूपमा एकदिवसीय मान्यता पाएका नेपालसहितका एसोसिएट्स सदस्य राष्ट्रको उक्त मान्यता सन् २०२६ को विश्वकप छनोटसम्म कायम रहने छ । यो सूचीमा स्कटल्यान्ड, यूएई, नेदरल्यान्ड्स, नामिबिया, ओमान, अमेरिका र क्यानडा पनि रहेका छन् ।
लिग–२ प्रतियोगिताको दोस्रो संस्करणमा सहभागी आठवटै राष्ट्रले ३६–३६ खेल खेल्नेछन् । प्रत्येक राष्ट्रले घरेलु मैदानमा तीनवटा शृंखला खेल्नेछन् भने ६ वटा शृंखला अन्य राष्ट्रको मैदानमा खेल्नेछन् । नेपालले अर्को शृंखला सन् २०२६ को मार्चमा खेल्नेछ । उक्त शृंखलामा नेपालका अतिरिक्त ओमान र यूएईको सहभागिता रहनेछ ।