आफैँसँग गरिएको प्रश्नको प्रभाव: बुद्ध र न्यूटन !

मेचीकाली संवाददाता

२७ कार्तिक २०८२, बुधबार
104 shares

घनश्याम कोइराला

कतिपय मानिसहरू जीवनबारे प्रश्न गर्दछन् । केही मानिसहरू जीवनबारे ठूला कुरा सोच्ने सल्लाह पनि दिन्छन् । हरेक ठूलो कुरा राम्रो नहुन सक्दछ र हरेक राम्रो कुरा ठूलो नहुन पनि सक्दछ । सवाल के हो भने ठूलो होस् वा सानो प्रश्न अर्थपूर्ण हुनुपर्दछ अर्थात् प्रश्नको उत्तरले जीवन बनाओस् । जीवनबारे प्रश्नका बारेमा यत्ति भनौँ, प्रश्नले जीवन खेर नफालोस् ।

अधिकांश मानिसहरू ‘ठूला’ मानिसहरूका बारेमा सोच्ने गर्दछन् । यिनीहरूमध्ये केही मानिसहरू आपूm पनि ‘ठूलो’ मानिस बन्न पाए हुन्थ्यो भन्ने पनि सोच्दछन् । अनि, केही मानिस ‘ठूलो’ हुनका लागि ‘भाग्यमानी’ भएर जन्मनुपर्छ भन्ने सोचेर काम चलाउँछन् भने केही चाहिँ जन्मदा सबै उस्तै हुने तर आफैँले केही गरेर ‘भाग्यमानी’ बन्न सकिने विचार राख्दछन् । कसैकसैले चाहिँ कोही मानिस ‘ठूलो’ बन्न ‘वातावरण’ आवश्यक हुने पनि भन्दछन् ।

वास्तवमा भाग्य भनेको ‘भाग लगाउन योग्य’ भनिएको हो । जस्ता कि, पैतृक सम्पत्ति । पौरख गर्ने विषय पैतृक सम्पत्तिमा अंश पाउने जस्तो हुँदैन । ‘वातावरण’को कुरा गरौँ । के एउटै पारिवारिक र भौतिक ‘वातावरण’ मा जन्मेका सबै मानिस उत्तिकै ‘ठूला’ र ‘नाम चलेका’ छन् त ? अवश्य छैनन् । ‘ठूला’ भएका, भनिएका, मानिएका, देखिएकाहरू पनि सबैले एउटै काम गरेका छैनन् । ‘ठूला’हरूमध्ये कोही विद्वान्, नेता, दार्शनिक, वैज्ञानिक, योगी, कलाकार, खेलाडी आदि फरकफरक छन् । सबै उत्तिकै कोही छैनन् । एकै घरका, एउटै आमाबाका सन्तान पनि उस्तै र उत्तिकै ‘ठूला’ छैनन् । यस्ता अनेकौँ उदाहरणहरू हाम्रासामु छन् ।
हाम्रो समाजमा सामान्य र साना कुरा सोच्दै नसोच्ने, सामान्य र साना कुरा बोल्दै नबोल्नेहरूलाई ‘ठूलो’ मान्ने वा मान्न पर्ने प्रचलन रहेको छ । तर, वास्तविकता भने यसको ठीक विपरित छ । किन कि, विशिष्टभन्दा सामान्य नै महत्वपूर्ण हुन्छ । सामान्य सर्वत्र विद्यमान छ भने विशिष्ट कहिलेकाहीँ र कताकति मात्र देखिन्छ । के कुरा साँचो हो भने सर्वत्र विद्यमान जति महत्वपूर्ण हुन्छ, कहिलेकाहीँ र कताकति मात्र देखिने त्यति महत्वपूर्ण हुँदैन ।

विशिष्टको आधार सामान्य नै हो । वास्तवमा सामान्य नै विशिष्ट हो । जस्तो, घर बनाउन जग महत्वपूर्ण हुन्छ, शिक्षामा अक्षर महत्वपूर्ण हुन्छ, ठूलो रुख हुनको लागि बिउ महत्वपूर्ण हुन्छ, नदी बन्न पानीको थोपा महत्वपूर्ण हुन्छ, आदि आदि ।
कुनै पनि विद्वान्, नेता, दार्शनिक, वैज्ञानिक, योगी, कलाकार, खेलाडी आदि जन्मजात भएका हुँदैनन् । जन्म र वातावरणले मात्र कोही पनि ठूलो हुन सक्दैन । केही गुण जन्मदादेखि नै आएको होला, केही वातावरणले दियो होला, तर ठूलो हुनका लागि त आफैले केही गर्नै पर्ने हुन्छ ।

‘केही गर्ने’ भनेको के हो त ? ‘केही गर्नु’ अघि मानिसका मनमा प्रश्नहरू जन्मनु पर्दछ । यी प्रश्न जस्ता लाग्ने भावहरू वास्तवमा मानिसका जिज्ञासा हुन्छन् । मूलतः यही जिज्ञासाले नै मानिसको ‘केही बन्ने’ दिशा र गति निर्धारण गर्दछ । यो जिज्ञासाको दायराको अनुपातमा नै मानिसको सफलताको दायरा सुनिश्चित हुने गर्दछ । हामी सधै केही न केही गरिरहेका र सफल पनि भइरहेका हुन्छौँ । तर, हामी ठूलो मानिस बन्न सकिरहेका हुँदैनौँ । किन ? किन कि हाम्रो सोचाइको दायराले नै हाम्रो कामको दिशा, गन्तव्य र गति निर्धारण गर्दछ ।
शान्तिका अग्रदूत महामानव गौतम बुद्ध त्यतिबेलाका शाक्य वंशका लोकप्रिय राजा शुद्धोदनका छोरा हुन् । राजाको छोरा राजा हुने व्यवस्था सबै राजाका जमानाको सामान्य विषय हो । इतिहासमा वर्णित प्रसङ्गहरूमा उल्लेख भएअनुसार शुद्धोदन र उनका परिवारले शालीन र सौम्य युवराज सिद्धार्थलाई भावी राजाको रुपमा स्वीकार गरिसकेको थियो । बुढो मानिस, रोगले सिकिस्त भएको मानिस र मानिसको शव देखेर विचलित भएका सिद्धार्थको मनमा उब्जेका प्रश्नले उनलाई राजपाटबाट अलग्ग्यायो ।
उपभोक्ता समिति, पार्टीका निकायहरू, गाउँ तथा नगरका वडा समिति र टोल समितिमा समेत नेतृत्व लिन मरिमेट्ने आजको समाजका प्रतिस्पर्धी, विजयीहरूका दृष्टिमा राजपाट नै छोड्ने विषय मुख्र्याइँ नै लाग्न सक्छ । राजपाट नै छोड्ने विषय कुनै राजा–महाराजाका लागि पनि चानचुने विषय हुँदैन । घरबार र सांसारिक मोह त्यागेर योगी–सन्यासी (यहाँ जातको कुरा होइन) भएका भनिएकाहरू, शङ्कराचार्य, धार्मिक जमात तथा उपदेशकहरूमा समेत नेतृत्वको विषय उच्च महत्वको नै हुने गरेको सबैले देखेजानेकै विषय हो ।

सिद्धार्थले सबै छोडे र ‘बुद्ध’ बने । मानिसलाई लाग्न सक्छ, त्याग गरेपछि ‘बुद्ध’ होइन्छ । ‘बुद्ध’ बन्न बोध हुनुपर्छ । राजपाट नपाएका वा कुनै खण्डखातिरले सम्पत्ति नपाएका वा गुमाएकाहरू सबै ‘बुद्ध’ बनेका छैनन् । ‘बोध’ भनेको ज्ञान हो । यस्तो ज्ञान जो आपूmले आफ्नै जीवनबाट यसको प्रयोग गरियोस् । नयाँ विषयको ज्ञान जो सामान्य होस्, नयाँ होस्, कालजयी होस्, व्यवहारमा ल्याउन नसक्नेले पनि मन पराउन सकोस् । बुद्धले त्यस्तै गरे । धर्मका विषयमा, समाजका विषयमा र ज्ञानका विषयमा बुद्धले छुट्टै विशिष्ट धार विकसित गरे । जसले समाजलाई अहिले पनि अनुशासित बन्न, संगठित भई सहकार्य गर्न र हरेक व्यक्ति, घटना र विषयवस्तुबाट सिकेर ज्ञानको सदुपयोग गर्न मार्गदर्शन गरिरहेको छ । उनले कुनै धर्मको विरोध गरेनन् ।
बुद्ध अघि पनि मानिस बुढा हुन्थे, मानिसलाई रोग लाग्थ्यो, मानिसहरू मर्थे । यी सबै सामान्य घटना हुन् । यिनै सामान्य घटनाहरूले उनको ध्यान तान्यो । यति नै विषय सिद्धार्थबाट ‘बुद्ध’ बन्ने प्रस्थानबिन्दु बन्यो ।

आज जनताको हितका लागि विभिन्न ‘वाद’ र ‘विचार’लाई मार्गदर्शक मान्नेहरूले पनि अपनाउनु पर्ने चुरो कुरो सिद्धार्थले दिइसकेका छन् । तिनका सार हुन्, आपूm नफेरिई संसार फेर्न सकिँदैन । आफूले त्याग नगरी अरुलाई त्यागी बन भन्नुको अर्थ हुन्न । अरुका कमजोरीहरूमाथि टेकेर आपूm गतिलो बन्न सकिन्न । जोजस्तो छ, त्यससँग त्यस्तै व्यवहार गरेर उसलाई भित्रैदेखि फेर्न सकिन्न । ऊभन्दा भिन्न भएर नै उसलाई रुपान्तरण गरी भिन्न बनाउन सकिन्छ । संसारमा दुःख छ, दुःखको कारण छ र यसको निवारण पनि छ । दुःख निवारणको काम आपूmभित्रैबाट सुरु गर्नुपर्दछ ।

संसारमा हुँदै नभएका ठुला कुरा गरेर मात्र मानिस विशिष्ट बन्न सक्ने होइन । आफ्ना वरिपरि र आपूmभित्रैका सामान्य विषयलाई पहिचान गरेर मानिस विशिष्ठ बन्न सक्छ । राजा हुने विशिष्ट कुरालाई त्याग्न उनलाई सामान्य घटनाहरूले प्रेरित गरे ।
आज पनि मानिसमा रोग लागेकै छ, मानिस बूढो भएकै छ र मानिस मरिरहेकै छ । यसलाई रोकेर सिद्धार्थ ‘बुद्ध’ भएका होइनन् । यसबाट शिक्षा लिएर नै सिद्धार्थ ‘बुद्ध’ भएका हुन् । जन्मने, बुढो हुने, रोग लाग्ने, मर्ने विषय सबैका लागि सामान्य हो, राजा बन्ने कुरा राजकुमारका लागि सामान्य भए पनि अरुका लागि विशिष्ट हो । सिद्धार्थले अरुका नजरमा सामान्य लाग्ने विषयलाई नै आफ्नो लागि विशिष्ट ‘बोध’ गरे र उनी ‘विश्वशान्तिका अग्रदूत’, ‘महामानव’, ‘भगवान्’सम्म कहलिएका ‘बुद्ध’ बने । तर, सिद्धार्थले यस्तो हुने लालसाले राजपाट छोडेका थिएनन् ।

सामान्यको प्रेरणाले नै सिद्धार्थ ‘बुद्ध’ भएका हुन् । सामान्यबाट नै विशिष्ट बन्न सकिने यो एउटा सशक्त उदाहरण हो । हेराइको विषयले होइन, हेराइको दायराले, जिज्ञासा र प्रश्नको विषयले होइन, त्यसको दायराले नै मानिसको सफलताको, ख्यातिको दायरा सुनिश्चित गर्दछ अर्थात्, हामी के र कसका बारेमा जिज्ञासु छौँ होइन, केका लागि जिज्ञासु भएका हौँ भन्ने कुरा महत्वपूर्ण छ ।
हामीले आइज्याक न्यूटनको नाम सुनेका छौँ । इङ्गल्याण्ड (बेलायत) मा२५ डिसेम्बर, १६४२ मा जन्मेका यी व्यक्ति कहलिएका वैज्ञानिक हुन् । विश्वविद्यालय÷विद्यालयका पाठ्य पुस्तकहरूमा यिनको विषयमा पढाइन्छ । उनको बारेमा पढेर जान्नुपर्ने भित्री विषय पनि छन् । त्यो हो, मानिसको ज्ञानको आधार र स्रोत प्रश्न र जिज्ञासा नै हो, जसले मानिसलाई ठूलो मानिस बनाइदिन्छ । हामीले जस्तो जिज्ञासा राख्छौँ, आपूmलाई त्यसैको उत्कर्षमा पु¥याउन सक्छौँ । भनिन्छ, ‘सोचले खोज, खोजले व्यवहार, व्यवहारले परिणाम, परिणामले प्रभाव र प्रभावले परिवर्तन ल्याउँछ ।’

संसारले उनलाई ठूलो मान्ने र धेरैले चिन्ने केले बनायो भन्ने विषयमा एउटा सानो घटना उल्लेख गरिन्छ । उनी बगैँचामा गएका रहेकाछन् । त्यहाँ उनी स्याउको बोटमुनि बसेको बेलामा एउटा स्याउ खसेछ । उनको मनमा प्रबल जिज्ञासा उब्जेछ, ‘स्याउ भुइँमा किन खस्यो ?’ उनी यही जिज्ञासाको समाधानमा जुटे र पृथ्वीको गुरुत्वाकर्षण शक्तिका कारण कुनै पनि वस्तु तलतिरै खस्ने निष्कर्ष पत्तो लगाए । यसका साथै, उनले पृथ्वीको गुरुत्वाकर्षण मापन गर्ने सिद्धान्तसमेत प्रतिपादन गरे । यो काम उनले ई.सन् १६८७ मा सम्पन्न गरे । आइज्याक न्यूटनले यही सिद्धान्त प्रतिपादन गर्ने वैज्ञानिकका रुपमा परिचित छन् ।

उनीभन्दा पहिले पनि बगैँचा थियो । मानिस बगैँचामा जान्थे । पहिले पनि स्याउ त्यसरी नै भुइँमा नै खस्थ्यो । पाकेका सबै फल संसारका सबै बगैँचामा यसरी नै भुइँमा नै खस्थे । तर, मानिसहरूमा यसको कुनै जिज्ञासा जागेन, किनभने मानिसहरूका लागि यो सामान्य विषय थियो । अधिकांश मानिसहरू सामान्यमा कमै ध्यान दिन्छन्, जबकि सामान्य नै विशिष्टताको आधार हो । सबै विशिष्टहरू सामान्यबाट नै हुर्केका हुन्छन्, तर कुनै पनि सामान्य विशिष्टबाट जन्मदैनन् । यही सामान्य जिज्ञासाले नै आइज्याक न्यूटन (Isaac Newton) लाई सर आइज्याक न्यूटन (Sir Isaac Newton) का नाममा संसारभरि प्रसिद्ध बनायो । आफँैभित्र उब्जेको सामान्य प्रश्नले सामान्य न्यूटनलाई विशिष्ट बनायो ।

हामीले सर आइज्याक न्यूटनबाट सिक्न सक्छौँः कुनै पनि काम वा प्रश्न या जिज्ञासा महत्वहीन हुँदैनन् । सबै काम, सबै प्रश्न, सबै जिज्ञासा महत्वपूर्ण हुन्छन् । महत्व दिने या नदिने त्यो मानिसको दृष्टिकोणको विषय हो । नभएका कुरा, अर्काले गरेको ठूला कुराभन्दा आफ्नै वरिपरिका सामान्य र आपूmले गर्न सक्ने कामले नै मानिसलाई ठूलो र महत्वपूर्ण सफलता दिलाउन सक्छ, ‘ठूलो’ मानिस बनाउन सक्छ ।