रमेश पराजुली
बुटवल। नेपाल प्रिमियर लिग (एनपीएल) को दोस्रो संस्करण आज (सोमबारदेखि सुरु हुँदैछ । पहिलो संस्करण भव्यताका साथ सकिएको एनपीएल यसपटक केही फरक अनुभवसहित नेपाली समर्थकमाझ आउँदैछ । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा नेपाली खेलाडीले ‘डे–नाइट’ खेलको अनुभव लिनेछन् । पहिलोपटक एनपीएल ‘फ्लडलाइट’ मुनि हुन लागेको हो ।
त्रिवि क्रिकेट मैदानमा ६ वटै फ्लडलाइटहरू एकसाथ बालेर यसअघि नै परीक्षण गरिएको छ । ६ वटै बत्ती बाल्दा त्रिवि मैदान उज्यालो अनि थप आकर्षकसमेत देखिएको छ । यस्तै १० हजार क्षमताको प्याराफिट निर्माण सम्पन्न भइसकेको छ । नेपाल क्रिकेट संघ (क्यान) ले अघिल्लो ६ दिनको टिकट यसअघि नै बिक्री खुला गरिसकेको छ । जसमा पहिलो दिनको टिकेट ‘सोल्ड आउट’ भइसकेको छ । उद्घाटन खेल साविक विजेता जनकपुर बोल्ट्स र काठमाडौं गोर्खाजबिच सोमबार अपराह्न ४ बजेदेखि सुरु हुनेछ । एनपीएलको प्लेअफका ३ तथा फाइनल अनि लिग चरणका १९ खेलहरू फ्लडलाइटमा खेलिने छन् ।

पहिलो संस्करण भव्य भएको र दोस्रो संस्करणलाई अझै भव्य बनाउने योजनाअनुसार ‘डे नाइट म्याच’ गराइएको क्यानका सचिव पारस खड्काले बताए । सचिव खड्काले भने, ‘हामीसबै फरक पृष्ठभूमिबाट आए पनि एनपीएललाई सफलतापूर्वक सम्पन्न गर्नका लागि सबै एक छौँ, पहिलाको भन्दा योपटक एनपीएल फरक हुनेछ । योपटक फ्लड लाइटमा खेल्न नयाँ प्याराफिट बनेको छ । नेपाली क्रिकेट उद्योग बन्न सक्ने अवस्थामा पुगेको छ तर अझै धेरै गर्न बाँकी छ ।’
उनले दर्शकको सुरक्षालाई पनि ध्यान दिएर त्यहीअनुसारको व्यवस्थापन गरेको जानकारी दिए । ‘एनपीएलका लागि दर्शकको सुरक्षालाई ध्यानमा राखेका छौँ ।’ खड्काले भने । पहिलो संस्करणको एनपीएलमा नेपाली समर्थकका लागि दुईवटा गेटबाट इन्ट्री र एक्जिट गरिएको थियो । यसपटक भने पाँचवटा गेटबाट समर्थकहरू आफ्नो जोनअनुसारको टिकट लिएर सोही गेटबाट इन्ट्री र एक्जिट गर्न मिल्ने सचिव खड्काले बताए । ‘यसपटक पाँचवटा गेट खुला हुनेछन् । टिकट लिएर समर्थकले आफ्नो जोनअनुसार जान मिल्ने व्यवस्था गराइने छ ।’ उनले भने ।
एनपीएल दोस्रो संस्करणको पुरस्कार राशि पहिलो संस्करणकै कायम राखिएको सचिव खड्काले जानकारी दिए । प्रतियोगिताका विजेता टोलीलाई पुरस्कारस्वरुप रु. १ करोड १० लाख प्रदान गरिनेछ । प्रतियोगिताको उपविजेता टोलीले भने रु.५१ लाख प्राप्त गर्नेछ भने तेस्रो स्थान हासिल गर्नेले रु.२५ लाख तथा चौथो हुनेले रु.१५ लाख प्राप्त गर्नेछ ।
एनपीएलको पहिलो संस्करणमा जनकपुर बोल्ट्सले सुदूरपश्चिम रोयल्सलाई पराजित गर्दै उपाधिमाथि कब्जा जमाएको थियो । यस्तै सुदूरपश्चिम रोयल्स दास्रो, कर्णाली याक्स तेस्रो र चितवन राइनोज चौथो भएका थिए । दोस्रो संकरणको एनपीएलमा बिराटनगर किङ्स, जनकपुर बोल्ट्स, चितवन राइनोज, काठमाडौं गुर्खाज्, पोखरा एभेन्जर्स, लुम्बिनील लायन्स, कर्णाली याक्स र सुदूरपश्चिम रोयल्स गरी ८ फ्रेन्चाइज टोली सहभागी हुनेछन् । सबै टोलीले विदेशी खेलाडी अनुबन्ध गरेर अभ्यास गरिरहेका छन् । केही विदेशी खेलाडी नेपाल आइपुगेका छन् भने केही आउँदैछन् ।
क्यानले एनपीएलको दोस्रो संस्करणका लागि यसअघिनै टिकट बिक्री सुरु गरिसकेको छ । क्यानका अनुसार दर्शकहरूले पहिलो ६ दिनका खेलका लागि टिकट खरिद गर्न सक्नेछन् । टिकट बिक्री खल्तीमार्फत अनलाइन उपलब्ध हुने क्यानले जानकारी दिएको छ । क्यानका अनुसार ओपनिङ डे र शनिबारका खेलका लागि सामान्य टिकटको मूल्य पाँच सय रुपैयाँ र प्रिमियम टिकटको मूल्य एक हजार पाँच सय रुपैयाँ तोकिएको छ ।
त्यस्तै, हप्ताको साधारण दिनमा हुने खेलका लागि सामान्य टिकट पाँच सय रुपैयाँ र प्रिमियम टिकट एक हजार रुपैयाँ पर्नेछ । प्लेअफ र फाइनल खेलका लागि भने सामान्य टिकट एक हजार रुपैयाँ र प्रिमियम टिकट दुई हजार रुपैयाँ तोकिएको क्यानले जनाएको छ । पूरै प्रतियोगिता हेर्न चाहने दर्शकका लागि सिजन पासको मूल्य १५ हजार रुपैयाँ तोकिएको क्यानका प्रवक्ता छुम्बी लामाले जानकारी दिए ।
क्यानले यसपटक ४० करोड बराबर रकम उठाउने लक्ष्य लिएको छ । क्यानका कोषाध्यक्ष पदम खड्काले १५ करोड ३० करोड प्रायोजकबाट मात्रै उठ्ने अपेक्षा राखिएको बताए । ‘टिम ओनरबाट ९ करोड प्राप्त हुनेछ । यसपटक डिजिटल प्लाटफर्ट ओटीटी ल्याएका छौं’, उनले थप आयबारे जानकारी दिँदै भने, ‘डिसहोमको डिसहोम गो एपबाट ५ करोड ३० लाखमा बिड भएको छ । संसारभरबाट उठ्ने पैसामा त्यो रकम घटाएर ७१ प्रतिशत क्यानको र २९ डिस होम रहेनेछ ।’ यस्तै, ८ देखि १२ करोड टिकटबाट संकलन हुने उनको भनाइ छ ।
‘डिसहोम गो’ एपमार्फत एनपीएलका खेलको प्रत्यक्ष प्रसारण हेर्न ‘एनपीएल स्ट्रिम अन प्याक’ खरिद गर्नुपर्ने हुन्छ । जसको मूल्य नेपालभित्र ३०० रुपैयाँ, मध्यपूर्वका लागि ५०० रुपैयाँ र त्यस बाहेकका अन्य देशहरूका लागि १० अमेरिकी डलर राखिएको छ ।
यस्तैगरी लुम्बिनी लायन्सको मार्की खेलाडी तथा कप्तानमा नेपाली राष्ट्रिय टिमका कप्तान रोहितकुमार पौडेल रहेका छन् । यस्तै सुदूरपश्चिम रोएल्सको मार्की तथा कप्तान अलराउण्डर दीपेन्द्रसिंह ऐरी, चितवन राइनोजको मार्की तथा कप्तान कुशल मल्ल, जनकपुर बोल्ट्सको मार्की तथा कप्तान आसिफ शेख, विराटनगर किङ्सको मार्की तथा कप्तान सन्दीप लामिछाने, काठमान्डु गोर्खाजको मार्की तथा कप्तान करण केसी, कर्णाली याक्सको मार्की तथा कप्तान सोमपाल कामी र पोखरा एभेन्जर्सको मार्की तथा कप्तान नेपाली राष्ट्रिय टिमका ओपनर कुशल भुर्तेल रहेका छन् ।
