मिलन गाहा
बुटवल । महिलाको स्वास्थ्यलाई जीवनको केन्द्रमा राखेर निरन्तर सेवामा समर्पित नाम हो, ‘स्त्री तथा प्रसूति रोग विशेषज्ञ डा.ज्योति राना ।’ चितवन जिल्लामा जन्मिएकी डा.राना अस्पतालमै जन्मिएर आज स्वास्थ्य सेवामै जीवन समर्पण गर्ने चिकित्सकका रूपमा परिचित छिन् ।
स्वास्थ्य सेवामा करिब २५ वर्ष लामो अनुभव बोकेकी डा.रानाले आम्दा अस्पताल दमकबाट आफ्नो स्वास्थ्य सेवाको सुरुवात गरेकी थिइन् । एमडी अध्ययनपछि उनले लुम्बिनी मेडिकल कलेज, देवदह मेडिकल कलेजलगायत विभिन्न प्रतिष्ठित अस्पतालहरूमा लामो समय सेवा प्रदान गर्दै सेवामा निखारता ल्याउने काम गरिन् । हाल उनी मर्सी सिटी अस्पताल बुटवलमा स्त्री तथा प्रसूतिसम्बन्धी विशेषज्ञ सेवा दिँदै आएकी छन् । यो अस्पताल यहाँको निजीमध्येको एउटा अब्बल अस्पताल मानिन्छ ।
डा.रानाको सेवाबाट हजारौँ आमा, दिदीबहिनी सन्तुष्ट छन् । गर्भावस्थादेखि सुरक्षित सुत्केरी सेवा, जटिल स्त्रीरोग उपचार, परिवार नियोजन, जन स्वास्थ्य परामर्श तथा महिलासम्बन्धी संवेदनशील समस्यामा उनको भूमिका उल्लेखनीय छ ।
महिलामैत्री सेवा, सचेत महिलाको लक्ष्य
डा.ज्योति रानाले महिलाको स्वास्थ्यलाई प्राथमिकतामा राख्दै ‘व्यक्तिगत, मैत्रीपूर्ण र गुणस्तरीय स्वास्थ्य सेवा’ प्रदान गर्ने लक्ष्य राखेकी छन् । ‘स्वास्थ्य आफैंमा सेवा हो, व्यवसायभन्दा पनि महिलाको जीवन र स्वास्थ्य बढी महत्वपूर्ण हो,’ उनको भनाइ छ ।
देवदह मेडिकल कलेज, सिद्धार्थनगर सिटी अस्पतालजस्ता स्वास्थ्य संस्थाहरूमा पनि विशेषज्ञ सेवा सुरु गर्न भूमिका खेलेकी डा.रानाले आफ्नो क्लिनिकमार्फत नियमित ओपिडी, ल्याप्रोस्कोपिक सर्जरी, सिजेरियन सेवा, सामान्य तथा शल्यक्रियात्मक स्त्रीरोग उपचार, मासिक समस्याहरू, बाँझोपन, पाठेघर तथा स्तनसम्बन्धी परामर्श र निदान सेवा प्रदान गर्दै आएकी छन् । पाठेघरको क्यान्सर समयमै रोक्न सकिने रोग रहेको डा. राना बताउँछिन् ।
प्रमुख कारणहरू
एचपिभी भाइरस संक्रमण
असुरक्षित यौन सम्पर्क, कम उमेरमै यौन सम्पर्क सुरु गर्नु, धेरै यौन साथी हुनु, धूम्रपान र सुर्ती सेवन, चिकित्सकको सल्लाहबिना लामो समय गर्भनिरोधक चक्की प्रयोग, धेरैपटक सन्तान जन्माउनु, कमजोर प्रतिरक्षा प्रणाली (एचआइभी÷एड्स, दीर्घकालीन औषधी सेवन), नियमित जाँच नगर्नु,
बच्ने उपाय
एचपिभी भ्याक्सिन (९–१४ वर्षमा सबैभन्दा प्रभावकारी, विवाह वा यौन सम्पर्कअघि लगाउनु उत्तम), चिकित्सकको सल्लाहमा ४५ वर्षसम्म पनि खोप लगाउन सकिने, २१ वर्षपछि हरेक ३–५ वर्षमा नियमित जाँच, सुरक्षित यौन सम्पर्क, धूम्रपान नगर्ने, स्वस्थ जीवनशैली अपनाउने ।
तुरुन्त उपचार चाहिने लक्षण
यौन सम्पर्कपछि रगत बग्नु, असामान्य सेतो पानी बग्नु, महिनावारीबाहेक रगत बग्नु, पेटको तल्लो भाग दुख्नु नै तुरुन्तै उपचार चाहिने लक्षण हुन् । स्तन क्यान्सरः नियमित जाँच नै सबैभन्दा ठूलो सुरक्षा हो । डा.रानाका अनुसार स्तन क्यान्सर समयमै पत्ता लागेमा ९० प्रतिशतभन्दा बढी निको हुन्छ ।
बच्ने उपाय
२० वर्षपछि हरेक महिना आफैंले स्तन जाँच, ४० वर्षपछि म्यामोग्राफी, जोखिम बढी भए ३० वर्षपछि नै जाँच, नियमित व्यायाम, स्वस्थ खानपान, मदिरा, धूम्रपान नगर्ने, कम्तीमा ६ महिना पूर्ण स्तनपान, चिकित्सकको सल्लाहबिना हार्मोन औषधी प्रयोग नगर्न डा.रानाको सुझाव छ । स्तनमा गाँठो वा कडापन, आकार वा रूप परिवर्तन, निप्पलबाट रगत वा पानी आउनु, छाला खुम्चिनु वा रातो हुनु, लामो समयसम्म दुखाइ भएमा तुरुन्तै चिकित्सककोमा जानुपर्ने डा.रानाको भनाइ छ ।
डा.ज्योति राना भन्छिन्,‘नियमित जाँच, खोप र सचेत जीवनशैली अपनाइयो भने महिलासम्बन्धी धेरै क्यान्सरहरू पूर्ण रूपमा रोक्न सकिन्छ ।’ महिलाको स्वास्थ्यमा दीर्घकालीन समर्पण, अनुभवी हात र सेवाभावले डा.ज्योति राना आज धेरै महिलाका लागि भरोसाको नाम बनेकी छन् ।
