टोपलाल अर्याल
गुल्मी । गुल्मीमा छैठौं संस्करणको रुपमा फोर्टिन स्टार युवा क्लबको आयोजनामा जिल्लाका माध्यमिक विद्यालयस्तरीय छात्र फुटबल प्रतियोगिता सुरु भएको छ ।
इस्मा गाउँपालिका–१ झरनास्थित बिपी पार्कको खेलमैदानमा सञ्चालन भएको प्रतियोगिताको रेसुङ्गा नगरपालिकाका नगरप्रमुख खिलध्वज पन्थीले उद्घाटन गरे । खेल उद्घाटन गर्दै पन्थीले खेल क्षेत्रको विकासका निम्ती फोर्टिन स्टार युवा क्लवले खेलेको भूमिकाको प्रसंसा गरे । उनले विद्यालय तहबाटै आफूलाई खेल क्षेत्रमा उत्कृष्ट बनाउन चाहानेहरुको लागि फोर्टिन स्टारका हरेक संस्करण उत्कृष्ट रहेको बताए ।

इस्मा गाउँपालिका प्रमुख भगतसिंह खड्काले जिल्लाभरका विद्यालयहरुको जिल्ला स्तरीय खेल बिपी पार्क खेल मैदानमा आयोजना गरेकोमा क्लवलाई धन्यवाद दिए । विशेष गरेर क्रिकेट खेलको विकासमा टेवा पुगोस् भन्ने हिसाबले निर्माण गरिएको खेल मैदान भएपनि प्रचार र बिकल्पको रुपमा उपयुक्त माध्यम बनेको खड्काले बताए । उनले खेल अवधिभर पालिकाको तर्फबाट सबैखाले रचनात्मक सहयोग उपलब्ध हुने बताए ।
प्रतियोगितामा जनसहयोग मावि, पालुखा मावि, आदर्श विद्या आश्रम, ब्रिलियन्ट युनाइटेड एकेडमी, अर्जुन इङ्लिस बोर्डिङ स्कुल, जनता मावि, रेसुङ्गा मावि, गण्डकी इङ्लिस बोर्डिङ स्कूल, रिडर्स पब्लिक हाइ स्कूल, उपल्लो तम्घास मावि, लिटिल स्टार पब्लिक हाई स्कूल, पृथ्वी मावि, सिद्धबाबा मावि र महेन्द्र मावि प्रतियोगितामा सहभागी थिए । मंगलबार भएको पहिलो छनौट चरणको खेलमा गत वर्षको उपाधि बिजेता जनसहयोग मावि पालुखा माविसँग पराजित भएको छ । त्यस्तै सिद्धबाबा माविसँग पृथ्वी मावि पराजित भएको छ । प्रतियोगितामा बिजेताले नगद ३५ हजार र उपबिजेताले नगद २५ हजार रुपियाँसहित ट्रफी, मेडल र प्रमाण पत्र प्राप्त गर्ने छन् । त्यसका साथै विधागत उत्कृष्ट पुरस्कार र ट्रफीहरु पनि प्रदान गरिने क्लबका अध्यक्ष नारायण आचार्यले जानकारी दिए ।
गत वर्षको प्रतियोगितामा १५ विद्यालयले सहभागिता जनाएका थिए । जसमा रेसुङ्गा नगरपालिका–५ स्थित जनसहयोग माविले उपाधि कब्जा गरेको थियो । पहिलो, दोस्रो र तेस्रो संस्करणमा महेन्द्र मावि बिजेता बनेको थियो । चौथो संस्करणमा अर्जे माविले उपाधि आफ्नो पोल्टामा पारेर फुटवलको सम्भावना गाउँमा पनि रहेको पुष्टी गरेको थियो । परिणामस्वरुप पाँचौं संस्करणको उपाधी पनि जनसहयोगले सदरमुकामबाट हुत्याइदिएको थियो । पहिलो र दोस्रो संस्करणमा रिडर्स पब्लिक हाइस्कुल, तेस्रोमा अर्जे मावि र चौथो तथा पाँचौं संस्करणमा महेन्द्र मावि उपबिजेता बनेको थियो ।
२०६७ सालमा स्थापना भएको क्लबले २०७४ बाट प्रत्येक वर्ष छात्र फुटबल प्रतियोगिताको आयोजना गर्दै आएको छ । कोभिड सङ्क्रमणको कारण दुई वर्ष प्रतियोगिता सञ्चालन हुन नसकेपनि त्यसपछिका वर्षहरुमा भने निरन्तर रुपमा प्रतियोगिता भइरहेको छ । बिद्यालय जीवनमै फुटबल खेलमा रुचि भएर अवसरको खोजीमा रहेका खेलाडीहरुको पहिचान गर्न प्रतियोगीता निकै फलदायी भएको आचार्यले बताए । विगतका पाँच वटा संस्करणहरु चिदिचौर खेलमैदानमा सञ्चालन भए पनि यो वर्ष चिदिचौर पुनर्निर्माणको काम चलिरहेकोले प्रतियोगिता बिपी पार्कमा लैजान पर्ने अवस्था आएको क्लबले जनाएको छ ।
