भीम गुरुङ
तमू गुरुङहरुले मनाउँदै आएको ल्होसार हरेक वर्षको पुष १५ मा पर्छ । ल्होसारलाई कतै ‘ल्होसार’ कतै ‘ल्होछार’ त कतै ‘ल्हो त्वोबा’ पनि भन्ने गरिन्छ । तमू गुरुङ भाषामा ‘ल्हो’ भनेको वर्ग र ‘सार’ भनेको फुल्नु र तिब्बती भाषामा सार भनेको नयाँ भन्ने पनि हुन्छ । त्यस्तै ‘छार’ भनेको तमू भाषा र तिब्बती भाषामा नयाँ भन्ने अर्थ लाग्छ । त्यसैगरी ल्हो त्वोवाको अर्थ वर्ग फर्कनु हो ।
तमुहरु प्रकृतीवादी भएकाले ल्होसार अथवा फुलेर आउने वर्ग को रुपमा लिने गर्दछ भने हरेक वर्षमा नयाँ ल्हो आउने भएको हुनाले ल्होछार हो भन्ने तर्क पनि छ तर दुवै शब्दले नयाँ वर्ग नयाँ वर्ष भन्ने अर्थ जसरी पनि आउने भएकोले शब्द को पछि यो वा त्यो भन्नेतर्फ लाग्न आवश्यक छ जस्तो लाग्दैन । तमूहरुबाहेक ल्होसारलाई नयाँ वर्षको रुपमा अन्य जातिय समुदायहरु शेर्पा, तामाङ, ह्योलमो, ल्होवा, बाह्रगाउँले र तोप्कोगोलालगायतका जातिले पनि मान्ने गर्दछन् । यी जातिहरुका अलावा नेपालको हिमाली क्षेत्रमा बसोबास गर्ने अन्य आदिवासी जनजातिहरुले पनि ल्होसार मनाउँछन् । ल्होसार मनाउने तिथि मितिमा भने एकरुपता भएको पाइँदैन ।

ल्होसार मान्ने विभिन्न समुुदायका मानिसले ङिमाल्होके ल्होसार (सूर्य फर्केको नयाँ वर्ष), तोला ल्होसार, सोनम ल्होसार र ग्याल्वो ल्होसार आदि ल्होसार फरकफरक समय र नामबाट मनाइने गरेको पाइन्छ । ग्याल्वो भनेको तिब्बती भाषामा राजा हो त्यसैले ग्याल्वो ल्होसारलाई राजाको ल्होसार भन्ने गरिन्छ । तोला ल्होसार जनताको ल्होसार भएको मानिन्छ तोला ल्होसार पुष शुक्ला प्रतिपदाको दिनमा पर्दछ । विशेषगरी नेपालका तामाङ समुदायले यो ल्होसार मान्ने गर्दछन् । ग्याल्वो ल्होसार फागुन शुक्ला प्रतिपदामा पर्छ । यो ल्होसार ल्हासा र पूर्वी तिब्बतका मानिसहरुले मनाउँछन् । तमू गुरुङहरुले मान्ने तमू ल्होसारमा रहेको ल्होकोर ल्होचक्रमा बाह्र वटा ल्हो (वर्ग) हुन्छन् । विभिन्न बाह्र वटा पशु पंक्षीहरुको नामबाट बाह्रवटा ल्हो वर्गको नाम रहेको छ जुन निम्नानुसार रहेका छन् । १) च्यु (मुसा) २) ल्वों (गाई) ३) तो (बाघ) ४) ह्यी (बिरालो) ५) मुप्री (गरुड) ६) सप्री (सर्प) ७) त (घोडा) ८) ल्हु (भेंडा) ९) प्र (बाँदर) १०) च्यह (चरा) ११) खि (कुकुर) १२) फो (मृग) रहेका छन् । अहिले सप्री ल्हो सर्पवर्गलाई विदाई गरी त ल्हो घोडा वर्गलाई स्वागत गरिँदै छ ।
तमू ल्होसार मनाउने तरिका
ल्होसार मान्ने आआफ्नै तरिकाहरु हुन्छन् । माथि उल्लेख गरिएझै तमूहरु तमू ल्होसार पुष १५ लाई वर्ग फेरिने दिन अर्थात् ल्हो त्वोवा दिन नयाँ वर्षको रुपमा अत्यन्तै हर्ष र उल्लासपूर्वक मनाउने गर्छन् । गाउँ घरको परिवेशमा, टोल, छिमेकी तथा साथीसंगीहरुसंग बसी स्यो कैं (भोज) खाने नाचगान गर्ने प्रचलन रहेको पाइन्छ । स्यो कै शब्द तमू भाषाको दुईभिन्दा भिन्दै शब्दको संयोजनबाट बनेको छ । स्योबा भनेको उठाउने वा संकलन भन्ने अर्थ लाग्छ र कैं भनेको खाना हो । यस अर्थमा स्यो कै भनेको उठाएर खाने खाना वा भोज भन्ने जनाउछ । गाउँघरमा आफ्ना छर छिमेकी तथा दौतरी महिला तथा पुरुष आ आफ्नो घरमा भएको अन्न तथा अन्य विविध खाघपदार्थ उठाएर भोज खाने गर्थे । त्यसैले यसलाई स्योकै वा उठाएर खाने खाना भनिएको हो ।
गुरुङ समुदायमा अझै पनि यसरी स्यो कै खाने प्रचलन अझै रहि आएको छ । गाउँ घरमा स्योकै खानाले सह आउने (शुभ हुने) विश्वास गर्ने गरेको बताइन्छ । उहिले ल्होसारको बेलामा वन जङगलबाट तरुल खनेर खाने, पिडालु उसिनेर खाने, फापरको रोटी र गहतको झोल आदि खाने गरेको बुढापाकाहरुको अनुभव छ । वन भोजका अतिरिक्त सो दिन मानिसहरु आ आफ्ना मान्यजनहरुलाई मान मर्यादा गरेर ढोग गर्ने गर्छन् । मान्यजनहरुले पुरुषहरुलाई बेसारमा मोलेको नौ सरा नौ गाँठो धागोको र महिलाहरुलाई सात सरा सात गाँठोको धागो, रुपा लगाइ दिएर स्याई स्याई भनेर शुभ आशिक दिने गर्छन् । आजभोलि सबैले एकापासमा आशीर्वाद अथवा हार्दिक शुभकामना आदनप्रदान गर्ने, कतै खदा लगाई दिएर ल्होसार मान्ने पनि गर्न थालेको पाइन्छ । ल्होसारमा आजभोलि चेलबेटी छोरीज्वाइँ खुवाउने परम्परा बढी रहेको छ । आजभोलि त झन मंसिरको अन्तिमदेखि माघको पहिलो हप्ता सम्ममा पनि ल्होसार भोज खुवाउँदै गरेको पाइएको छ । दाजुभाइहरुले आफ्नो भाइखलकको सम्पूर्ण दिदीबहिनीहरुलाई सामूहिक रुपमा बोलाई सामूहिक रुपमा भोज खुवाउने प्रचलन बढी रहेको छ । संस्थागत हिसाबले त झन अहिले ल्होसार मनाउन स्वदेशमा मात्र होइन विश्वको जुन सुकै कुनामा बसेको किन नहोस् पुस १५ कै दिनमा नमिले पनि केहीदिन एता उता पारेर भने पनि मनाउन थालेका छन् । ल्होसार कार्यक्रममा सामुहिक सहभागिता पनि बढ्दै गएको पाइन्छ ।
सामाजिक महत्व
परम्परागत रुपमा ल्होसारको समयमा गाउँ, टोल, छिमेकी, साथीसंँगीहरु मिलेर स्यो कै (वन भोज) खाने गरेको, ल्होसारको अवसरमा ठुलाले सानालाई आशिरवाद दिने तथा सानाले ठुलासँग आशिरवाद लिई आदर–सत्कार गर्ने र सबै सँग शुभकामना (आशिमाला)आदन–प्रदान गर्ने परम्पराले गर्दा यस चाडले एक–आपासमा भ्रातृत्व भावना र असल छिमेकी पनको भावना विकास गर्ने हुनाले ल्होसारको ठूलो सामाजिक महत्व रहेको छ । आजभोलि शहरी इलाकामा भोज भतेर तथा विभिन्न कार्यक्रमहरु आयोजना गरी मनाउने परम्पराको बढ्दो क्रम भएको छ । कुनै समय पुर्खाहरु एकै थलोमा बसोबास गर्ने तमुहरु नेपाल भित्र र बाहिर छरिएर बसेको तमू गुरुङहरुलाई पुनर्मिलन गर्ने अवसर शहर–बजारमा आयोजना गरिने तमू ल्होसारले प्रदान गरेको छ । विभिन्न खेलकुद तथा अन्य क्रियाकलापहरुको आयोजना गरि सामूहिक मनोरञ्जन पनि गर्ने गरिन्छ ।
धार्मिक महत्व
तमू गुरुङ समाज र संस्कृतिको विकासमा पुरोहितहरुको प्राचिनकालदेखि नै कार्य विभाजन भएको देखिन्छ । सोअनुसार सये ल्ह्ये (मौलोको मालिक अथवा दण्ड विधानको अधिकारी), म्हीग्रे चोगी (ठुलोे, भद्र भलाद्मी ), दिनये ल्ह्ेय (दिनको मालिक अथवा शुभ–अशुभ मुहुर्त विचार गर्ने पैंडी अथवा ज्योतिषी ) र ह्योंए दोये ल्ह्ेय (यजमानका मालिक अथवा पुरोहित) ले प्रमुख दायित्व बहन गरी आएका छन् । वर्तमान परिप्रेक्ष्यमा सये ल्हे, दिनये ल्हे्, म्हीग्रे च्वोंगे र ह्योंए दोये ल्हे भनेका विभिन्न सामाजिक संघ संस्थाका पदाधिकारीहरु हुन् । पुस १४ को रात नयाँ ल्होलाई स्वागत गर्ने, आगो बालेर नाचगान गर्ने, धनुषवाण बनाई तारो हानी रमाइलो गर्ने, अशान्त ग्रह शान्त गरी भोलिपल्ट १५ गते बिहान धार्मिक आस्थाका केन्द्रहरु क्होइबो, गुम्बामा गई पूजाआजा गर्ने, धर्मगुरुहरु पच्यु, क्ल्हेप्री र लामाबाट ल्होसारका दिनमा आशीर्वाद लिने गर्ने गर्छन् । तीन खेगी पुरोहितहरु द्वारा तदनुरुपको कर्म गराएर ल्होसारको दिनमा सबैले आआफ्नो ग्रह शान्त र कुशल–मंगल प्राप्तीका लागि कामना गर्दछन् ।
आर्थिक महत्व
हरेक समाजमा आर्थिक कारोवार गर्ने तौरतरिका तथा तिथिमिति तोकिएको हुन्छ । तमू समाजमा पनि रिण लिने र दिने तथा चुक्ता गर्ने दिनको रुपमा पुस १५ लाई भाकाको रुपमा लिइने गरेको प्रचलन पनि छ । तमूहरुमा आथिक कारोबारका लगि कसै कसैले श्रीपञ्चमीलाई भाका बनाएका हुन्छन् भने धेरैले पौष १५ ल्होसार लाई भाका राखेको पाइन्छ । त्यति मात्र नभई विभिन्न लेन देनमा पनि ल्हो वर्ग हेरेर मात्र पैसाको लेनदेन गर्ने गरकोले ल्होसारको आर्थिक महत्व उत्तिकै रहेको छ ।
सांस्कृतिक महत्व
जन्मदेखि मृत्यु पर्यान्तसम्म तमू गुरुङ समाजको शुभ अशुभ कार्यहरुमा पूर्ण रुपमा ल्हो वर्गअनुसार हेरेर कार्य गर्ने परम्परा छ । माथि उल्लेख गरिएको जस्तै गरी विहेवारी गर्दा ल्हो वर्ग जुराएर मिल्ने नमिल्ने हेर्ने गरिन्छ । विहे गर्दा ल्हो मिल्ने नमिल्ने समेत हेर्ने गरिन्छ कुन ल्होसँग कुन ल्हो मिल्छ त्यो नहेरीकन विहे नै हँुदैन । खेगी पुरोहित र पैडी तमू ज्योतिषहरुले कुनै वर्गहरु बिचमा विवाह गर्दा अशुभ हुन्छ भनेर सो वर्गहरु बिचमा विवाह गर्ने स्वीकृति दिँदैनन् । पय (अर्घुं) मा पनि ल्हो हेरेर सो अनुरुप नै कार्य सुरु गर्ने गरिन्छ । तमूहरुको जन्मदेखि मृत्यु पर्यान्त सबै किसिमका शुभअशुभ कार्यहरु सम्पन्न गर्नका लागि हेर्ने मूल आधार नै ल्हो वर्ग भएको हुनाले ल्हो तथा ल्होसारको तमू गुरुङको संस्कृतिमा अत्यन्त महत्वपूर्ण स्थान रहेको छ ।
