टेकराज पन्थी
आर्थिक, सांस्कृतिक, पर्यटकीय, धार्मिक क्षेत्र तथा शैक्षिक हवका रूपमा परिचित बुटवल शहर हो । देशका प्रमुख राजमार्गहरुमध्ये पूर्वपश्चिम महेन्द्र राजमार्ग तथा सिद्धार्थ राजमार्गको संगम स्थलमा बुटवल पर्दछ । पुरानो लुम्बिनी अञ्चलको प्रशासनिक केन्द्र रहेको मुख्य व्यापारिक केन्द्र पनि हो भनेर बुटवललाई चिनिन्छ । रुपन्देही जिल्लाको तत्कालीन बुटवल खस्यौली इलाकाका क्षेत्रहरूलाई समेटेर विसं.२०१६ कार्तिक १२ गते नेपाल राज्य नगरपालिका ऐन, २००९ लाई आधार बनाएर बुटवल नगरपालिका घोषणा गरिएको थियो ।
विसं.२०१६ सालमा स्थापना भएको बुटवल नगरपालिकालाई नेपाल सरकारद्वारा विसं.२०७१ साल मङ्सिर १६ गतेको निर्णय र विसं. २०७१ पुस २८ गते नेपाल राजपत्रमा प्रकाशित सूचनाअनुसार उपमहानगरपालिको लागि चाहिने आवश्यक प्रक्रिया पूरा भएपछि यसलाई नगरपालिकाबाट उपमहानगरपालिका घोषणा गरिएको थियो । बुटवललाई उपमहानगरपालिका घोषित गर्दा यसमा तत्कालीन सेमलार तथा मोतिपुर गाउँ विकास समितिलाई समावेश गरेर उपमहानगरपालिका घोषणा गरिएको हो । यस क्षेत्रको पूर्वमा देवदह नगरपालिका, पश्चिममा सैनामैना नगरपालिका, उत्तरमा पाल्पा जिल्लाको तिनाउ गाँउपालिका रहेका छन् र दक्षिणपट्टिको सिमानाको रुपमा तिलोत्तमा नगरपालिका र सुद्धोधन गाँउपालिका रहेका छन् । तिनाउ अथवा तिलोत्तमा नदीको किनारमा अवस्थित बुटवलको उच्चतम तापमान ४४ डिग्री सेल्सियस सम्म पुग्दछ भने न्यूनतम तापमान ७ डिग्री सेल्सिअससम्म पुग्ने गरेको पाइन्छ । विक्रम् सम्वत् २०७८ सालको जनगणनाअनुसार बुटवल उपमहानगरपालिकाको कुल जनसंख्या १,९५,०५४ रहेको छ तर यहाँ बसोबास गर्नेको संख्या भने करिब तीनलाख भन्दा धेरै नै रहेको पाइन्छ ।
बुटवलको बिच भागबाट भएर बग्ने तिनाउ नदीको खासै लाभ लिन सकिएको छैन । तिलोत्तमा अर्थात् तिनाउ नदीलाई दीर्घकालीन गुरू योजना निर्माण गरी दिगो रूपमा संरक्षण र सम्वद्र्धन गर्ने हो भने धेरै लाभ लिन सकिन्छ । तिनाउ नदीको चिडिया खेलादेखि वडा नम्बर १९ सम्म नदीको दायाबाया वैज्ञानिक रूपमा करिब १५÷१५ मिटरको पक्की पर्खाल निर्माण गर्ने, नदीका बिचबिचमा सिमेन्टद्वारा स्लाभ र पक्की ढलाई गर्ने, वर्षातको समयमा पानीको वहाव धेरै हुने हुँदा पानी नियन्त्रण र निकासी द्वारहरूको निर्माण गर्ने, करिब ४ देखि ५ किमी लम्बाइ भएको एवं करिब ६ देखि ७ मिटरसम्मको गहिराइरहेको पानीको ताल (पोखरी) निर्माण गर्ने । नदीका दुवै किनारामा ७ मिटरसम्म चौड़ाइ भएका बगैँचा निर्माण र त्यसपछि २० देखि ३० फिट सम्मको चौड़ाइ भएको स्तरीय कोरिडोर सडक निर्माण गर्ने । यसरी पूर्वाधार निर्माण गर्दा व्यक्तिका घर घडेरी परेमा उचित मूल्य दिएर जग्गा अधिग्रहण गरी बस्तीलाई व्यवस्थित गर्नुपर्दछ । नदीका दुवैतर्फ पक्की पर्खाल निर्माण गरी सुन्दर पानीको ताल, दुवै किनारामा मनमोहक बगैँचा र स्तरीय फराकिलो कोरिडोर निर्माण गरी पर्यटन विकास, कृषि विकास, आर्थिक विकास, सांस्कृतिक र धार्मिक विकास, तापक्रम नियन्त्रण र सुन्दर शहरका रूपमा परिचित गराइ रोजगारी सिर्जना गराउन सकिन्छ ।
यसरी निर्माण भएको पानीको तालबाट बुटवलमा बढ्दै गएको तापक्रम घटाउन सकिन्छ । यो तालमा धेरै मात्रामा माछा उत्पादन गर्न सकिन्छ । सुख्खायाममा रूपन्देही जिल्लामा पानी वितरण गरी बेमौसमी खेती गर्न, नगदेबाली र प्रसस्त मात्रामा तरकारी उत्पादन गरी निर्यात गर्न सकिन्छ । डुंगा, स्टिमर जस्ता साधन सञ्चालन गरी पर्यटन र मनोरञ्जनका माध्यमबाट आर्थिक विकास गर्न सकिन्छ । ठाउँठाउँमा आरति केन्द्र निर्माण गरी धार्मिक पर्यटन विकास गर्न सकिन्छ । शहरमा बढ्दै गएको वातावरण प्रदूषणलाई तालका माध्यमबाट सफा र सुन्दर बनाउन सकिन्छ । बजारमा बढ्दै गएको बेरोजगारीलाई यही तालका माध्यमबाट विभिन्न कामहरूमा रोजगारी दिई बेरोजगारी कम गर्न सकिन्छ ।
बुटवलमा रहेका सामुदायिक र संस्थागत विद्यालयहरूले नेपालमा शैक्षिक हवका रूपमा परिचित गराएका छन् । बढ्दो तापक्रम नियन्त्रण गर्न सक्ने हो भने विद्यार्थी संख्यालाई थप वृद्धि गरी शैक्षिक उनन्नय गर्न मद्दत मिल्न सक्छ । विद्यार्थीलाई पनि विभिन्न मनोरञ्जन, अतिरिक्त क्रियाकलापहरू यस्ता तालमा सञ्चालित स्टिमर वा किनारामा प्रयोग गरी बौद्धिक विकास गर्न सकिन्छ । हाम्रा सबै क्रियाकलापहरू पानीका माध्यमबाट सञ्चालन हुने हँुदा मनोरञ्जनदेखि आर्थिक विकाससम्म सम्भव रहेको छ ।
तालतलैयाका माध्यमबाट गरिने मठ, मन्दिर, गुम्बा, मस्जिद र चर्चका धार्मिक क्रियाकलापरूलाई सहज गर्न, स्वदेश तथा विदेशबाट तीर्थाटनमा आउनेका लागि धार्मिक पर्यटन प्रवद्र्धन गर्न र धार्मिक पर्यटनका माध्यमबाट आर्थिक विकास गर्न पनि मद्दत पु¥याउँछ । मत्स्य पालन, स्टिमर सञ्चालन, पानीको अभावका समयमा पानी बिक्री गरेर पनि आर्थिक विकास गर्न सकिन्छ ।
यसरी पूर्वाधार निर्माण गरेपछि यहाँ धेरै जनशक्तिको आवश्यकता पर्दछ । जसले गर्दा यस क्षेत्रका धेरै व्यक्तिहरूले रोजगारी प्राप्त गर्ने हुँदा युवा जनशक्तिलाई स्वदेशमै रोजगारीका माध्यमबाट विदेशमा प्रतिभापलायन हुने अवस्था सुधार गर्न सकिन्छ । स्वदेशमा जनशक्ति अड्याउन सक्ने हो भने स्वदेशमा दक्ष जनशक्ति अभाव हुँदैन । प्रसस्त मात्रामा व्यापार व्यवसाय चलायमान हुन जान्छ । खुक्चिएर रहेका होटल व्यवसायलाई चलायमान र बृहत गराउन मद्दत मिल्दछ । लुम्बिनी आउने दर्शालु भक्तजन एवं पर्यटकहरू एकपटक बुटवल आएर मात्र जाने विकास हुन सक्छ । हाम्रो नजिकै अन्तर्राष्ट्रिय विमानस्थल रहेको र नजिकै भारतीय सीमा रहेकोले गर्मी ऋतुमा एकपटक बुटवल घुम्न स्वदेशी वा विदेशी पर्यटक अवस्य आउने हँुदा होटल व्यवसाय र अन्य व्यापार व्यवसाय चलायमान भई आर्थिक विकास हुन्छ । स्वदेशी मात्र नभएर विदेशी पर्यटकहरू व्यापक मात्रामा बृद्धि भई स्थानीय रोजगारी सिर्जना हुने हुँदा आर्थिक उन्नतिका माध्यमबाट यस क्षेत्रको विकास हुन जान्छ । जसले गर्दा नेपालको समग्र आर्थिक विकासमा इट्टा थप गर्न योगदान दिनेमा विश्वास गर्न सकिन्छ ।
बुटवलमा पाच हजारभन्दा बढी अट्ने अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र निर्माण भई सञ्चालनमा रहेको, सातसय शैयाभन्दा ठुलो प्रादेशिक अस्पताल निर्माण भई रहेको र निजी क्षेत्रका आधुनिक अस्पतालहरू सञ्चालनमा रहेका, पाँचतारे होटललगायत सानादेखि ठूला होटलहरू पनि सञ्चालनमा रहेकाले यस्ता क्षेत्रको विकासका लागि पनि तिनाउ नदीमा बृहत् ताल निर्माणबाट रोजगारीमा वृद्धि र आर्थिक विकाससमेत हुन गई समग्र बुटवलको विकास हुन सक्छ । त्यसैले संघीय सरकार, प्रदेश सरकार र स्थानीय तहले यस्ता योजनालाई विशेष ध्यान दिनुपर्दछ ।
यिनै सम्भावनाहरूलाई परिणाममुखी बनाउन स्रोतसहितको गुरूयोजना निर्माण गर्नुपर्दछ । राजनीतिक स्थिरता र सुशासनका माध्यमबाट यस्ता कार्य गर्न सम्भव छ । यसरी बुटवलको तिनाउ नदीमा बृहत् ताल निर्माणका लागि गुरूयोजनामार्फत स्थानीय तह, प्रदेश सरकार र नेपाल सरकारबाट सम्भव हुन सक्छ । यस्ता योजनामा वैदेशिक लगानी पनि आकर्षित गर्न सकिन्छ । आगामी आम निर्वाचनबाट गठन हुने सरकारले यस्ता कार्य गर्ने जनप्रतिनिधिहरूलाई हामी सबैले चयन गर्नुपर्दछ ।
अन्त्यमा सम्भावना नै संभावना भएको हाम्रो देशमा विकास र रोजगारीका माध्यमबाट प्रतिभापलायन हुनबाट रोकिने र देश आर्थिक रूपमा सबल हुन गई आत्मनिर्भर हुने धेरै संभावनाहरू रहेका छन् । त्यसैले बुटवलको तिनाउ नदीमा बृहत् जलाशय अर्थात पानीको ताल निर्माणका माध्यमबाट समग्र बुटवलको थप आर्थिक, सामाजिक, सांस्कृतिक, पर्यटकीय, धार्मिक, औद्योगिक विकास र रोजगारी सिर्जना हुनेमा विश्वास गर्न सकिन्छ । बुटवलको समग्र विकासका लागि तिनाउ नदीमा बृहत् ताल निर्माण योजनामा ध्यान दिई सबै बुटवलबासी समयमा अगाडि बढ्नु जरूरी छ ।
