टेकराज पन्थी
नेपालमा मेडिकल शिक्षाको गुणस्तर राम्रो मानिन्छ । यहाँ अध्ययन गर्नका लागि विदेशबाट थुप्रै विद्यार्थीहरू आउँछन् । त्रिभुवन विश्वविद्यालयको एक आंगिक क्याम्पस र ९ वटा निजीस्तरमा चिकित्सा शिक्षा प्रदान गर्ने कलेजहरू सञ्चालनमा रहेका छन् । हाल नेपालमा काठमाडौँ विश्वविद्यालयबाट सम्बन्धन प्राप्त गरी पहिलो मेडिकल कलेजको रूपमा सन् १९९४ मा पोखरामा मणिपाल कलेज अफ मेडिकल साइन्सेजको स्थापना भएको हो । काठमाडौँ विश्वविद्यालयको आंगिक कलेजसहित ११ वटा मेडिकल कलेजहरू सञ्चालनमा रहेका छन् जसमा १० वटा मेडिकल कलेज निजीस्तरमा सञ्चालनमा रहेको देखिन्छ ।

नेपालमा हाल सरकारीसहित चिकित्सा शिक्षासम्बन्धी कार्यक्रम सञ्चालन गर्ने निकायहरूमा त्रिभुवन विश्वविद्यालयअन्तर्गतका मेडिकल कलेजहरु १० वटा रहेका छन् । आफ्नै आंगिक संकाय महाराजगन्ज क्याम्पस छ भने प्राइभेट मेडिकल कलेज सेनाको सहित ७ वटा र डेण्टल मात्र पढाउने कलेज २ वटा रहेका छन् । यसैगरी काठमाडौँ विश्वविद्यालयअन्तर्गतका मेडिकल कलेजहरु आफ्नो आंगिक सङ्काय स्कुल अफ मेडिकल साइन्सेस धुलिखेलसहित एघार वटा मेडिकल कलेजहरू रहेका छन् । जसमा आफ्नो आंगिक सङ्काय स्कुल अफ मेडिकल साइन्सेस धुलिखेल, प्राइभेट मेडिकल कलेज ९ वटा र डेण्टल मात्र पढाउने कलेज १ वटा गरी ११ वटा रहेका छन् ।
हाल पढाइ सञ्चालन भइरहेका मेडिकल कलेजहरु २१ वटा, प्रतिष्ठान ३ वटा गरी २४ वटा रहेका छन् । त्यसमध्ये सरकारी महाराजगन्ज, न्याम्स वीर अस्पताल, पाटन र धरान गरी ४ वटा छन् । न्याम्स वीर अस्पतालले एमडी मात्र अध्यापन गराउँछ तर एमबिबिएस अध्ययन गराउँदैन । यसरी प्राइभेट मेडिकल कलेज २० वटा रहेका छन् । एमबिबिएस मात्र पढाउने १७ वटा, बिडिएस मात्र पढाउने ३ वटा, एमबिबिएस र बिडिएस दुवै पढाउने १० वटा, एमबीबीएस मात्र पढाउने ९ वटा र बिडिएस मात्र पढाउने ३ वटा मेडिकल कलेजहरू रहेका छन् । काठमाडौं उपत्यकाभित्र त्रिभुवन विश्वविद्यालयअन्तर्गतका मेडिकल कलेजहरु महाराजगन्ज, किष्ट, नेपाली सेना र पिपुल्स डेन्टलसहित ४ वटा छन् । यसैगरी काठमाडौ विश्वविद्यालयअन्तर्गतका मेडिकल कलेजहरु काठमाडौँ मेडिकल कलेज सिनामंगल, नेपाल मेडिकल कलेज गोकर्णेश्वर जोरपाटी, कान्तिपुर डेन्टल कलेज, बसुन्धारा धापासी र आंगिक धुलिखेलसमेत ४ वटा तथा पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानसमेत गरी राजधानी आसपासमा ९ वटा मेडिकल कलेज हाल सञ्चालनमा रहेका छन् ।
हेल्थ असिस्टेन्ट, अनमी र अहेब कार्यक्रमहरू सञ्चालन गर्ने सबै स्कुलहरूलाई गाभेर सन् १९७२ मा चिकित्साशास्त्र अध्ययन संस्थानको स्थापना गरिएको थियो । सरकारी स्तरमा वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान सन् १९९३ मा स्थापना गरी सुरूमा एमबिबिएस कार्यक्रममा ३० जना विद्यार्थीहरूको भर्ना लिई पठनपाठन थालनी गरेको थियो । नेपालमा सरकारी क्षेत्रमा दक्ष विशेषज्ञ चिकित्सकको उत्पादन गर्ने उद्देश्यले सन् २००२ मा राष्ट्रिय चिकित्सा विज्ञान प्रतिष्ठानको स्थापना भयो । यसैगरी सन् २००८ मा पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठान स्थापना भयो । यस प्रतिष्ठानले सन् २०१० देखि एमबिबिएसमा विद्यार्थी भर्ना गरेको थियो । सन् २०१२ मा कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको स्थापना भयो । नेपाल सरकारले भौगोलिक सन्तुलन गर्न र गुणस्तरीय स्वास्थ्य सेवा उपलब्ध गराउने उद्देश्यले गण्डकी प्रदेशमा पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान र लुम्बिनी प्रदेश घोराहीमा राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानको स्थापना गरिएको छ । त्यसैगरी सुदूरपश्चिम प्रदेशमा गेटा मेडिकल कलेज स्थापना भएको छ ।
हाल मेडिकल कलेजहरूले पाएको एमबिबिएस सिट संख्या २६३५ हाराहारी रहेको छ । मेडिकल कलेजहरूले प्राप्त गर्ने सिटको १० प्रतिशत मात्र विदेशी विद्यार्थी अध्यापन गराउन पाउने प्रबन्ध रहेको छ । मेडिकल कलेजहरूलाई अधिकतम १३० सिटसम्म पढाउन पाउने गरी सीमा तोकेको पाइन्छ । चिकित्सा शिक्षा ऐनले निजी मेडिकल कलेजले कुल सिट संख्याको ५० प्रतिशतसम्म र सार्वजनिक शिक्षण संस्थाले कुल सिटको ७५ प्रतिशत सिट छात्रवृत्तिका लागि अनिवार्य छुट्याई बाँकी रहेको २५ प्रतिशत सिटलाई शतप्रतिशत मानी विदेशी विद्यार्थीका लागि एक तिहाइसम्म छुट्याउन सक्ने व्यवस्था गरेको छ । विदेशी मेडिकल विद्यार्थी अहिले अति थोरै मात्र अध्ययनरत छन् ।
मेडिकल शिक्षाको स्नातक तहको २१ विषयमा एउटै शैक्षिक सत्रमा दुई हजारभन्दा बढी विदेशी विद्यार्थी भर्ना हुन पाउँछन् । तर एमबिबिएस, बिडिएस र फार्मेसीबाहेक अधिकांश विषयमा विदेशी विद्यार्थीले प्रवेश परीक्षाको आवेदन नै दिँदैनन् । सबैभन्दा धेरै भारतका विद्यार्थी नेपाली मेडिकल कलेजमा आउँछन् । श्रीलंका, माल्दिभ्सलगायतका मुलुकबाट पनि केही विद्यार्थी आउने गरेका छन् । चिकित्सा शिक्षा ऐनले साढे ५ सयभन्दा बढी विदेशी विद्यार्थीले नेपालका मेडिकल कलेजमा एमबिबिएसमा भर्ना हुन पाउने व्यवस्था गरेको छ । धरान स्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान, त्रिभुवन विश्वविद्यालय चिकित्सा शिक्षा अध्ययन संस्थान काठमाडौं, पोखरा स्थित मणिपाल मेडिकल कलेज, भरतपुर स्थित कलेज अफ मेडिकल साइन्सेस र नेपालगन्जको जानकी मेडिकल कलेजमा भारतीय विद्यार्थीको आकर्षण रहने गरेको पाइन्छ ।
नेपालमा १० हजार मेडिकल विद्यार्थी भित्र्याउन सकेमा वार्षिक १ खर्ब रुपैयाँ राजश्व भित्र्याउन सकिन्छ । अहिलेको नेपालको मेडिकल पूर्वाधारले ५ हजार विदेशी विद्यार्थीलाई धान्न सक्ने अवस्था छ । अझ दुई चरणमा अध्ययन गराउन सकेमा राम्रो हुन्छ । हाम्रो छिमेकी मुलुक भारतमा मेडिकल कलेजको संख्या करिब ७१० वटा रहेको पाइन्छ । जसमा सरकारी ३०४ वटा र प्राइभेट ४०६ वटा रहेको छ । जसमा सरकारीतर्फ एमबिबिएसको कोटा ५० प्रतिशत भन्दा धेरै रहेको छ । भारतमा एमबिबिएसको सिट करिब एकलाख दश हजार जति छ तर त्यहाँ मेडिकल अध्ययन गर्न परीक्षा दिनेको संख्या २४ लाखभन्दा धेरै विद्यार्थीहरूले प्रवेश परीक्षाका लागि आवेदन दिएको पाइन्छ । जसले यसलाई भारतको सबैभन्दा ठुलो प्रवेश परीक्षाहरूमध्ये एक ठूलो रूपमा बनाएको छ । भारतको मेडिकल प्रवेश परीक्षाको नाम पनि NEET-Ug National Eigibliity cum Entrance Test भनेर उल्लेख गरेको पाइन्छ । मेडिकलतर्फ अध्ययन गर्न इच्छुक विद्यार्थी धेरै तर त्यहाँ मेडिकल सिट थोरै हुनु, नेपालमा दूरी नजिक, भाषा संस्कार मिल्ने र नेपालका मेडिकल कलेजहरूको स्तर राम्रो हुनुका कारणले नेपालको मेडिकल कलेजप्रति भारतीय मेडिकल विद्यार्थी आकर्षित रहेको पाइन्छ ।
नेपालमा सञ्चालित अहिलेको मेडिकल पूर्वाधारले ५ हजार विदेशी विद्यार्थीलाई धान्न सक्ने छ । अझ दुई चरणमा अध्ययन गराउन सकेमा थप विद्यार्थी ल्याउन सकिन्छ । साथै नेपाल सरकारले मेडिकल विद्यार्थीका लागि कोटा सिस्टम खोलिदिनुपर्दछ र अनलाइन आवेदनको व्यवस्था पनि गर्नुपर्दछ । संसारभर मेडिकलतर्फ डबल सेसनमा पढाइन्छ । नेपालमा पनि निजी र सरकारीतर्फ डबल सेसन गरिनुपर्छ । यसरी डबल सेसन गरेर मेडिकल विद्यार्थी १० हजार पुराउन सकियो भने प्रति वर्ष नेपालको आम्दानी करिब एक खर्ब प्राप्त हुन सक्छ । जसले गर्दा नेपाल आर्थिक र मेडिकल शिक्षाका रूपमा पनि सबल हुन मद्दत मिल्दछ । मेडिकल पर्यटनले नेपालको आर्थिक स्तर माथि उठाउन मद्दत पुग्ने विश्वास गर्न सकिन्छ ।
