सङ्घर्ष, सेवा र समर्पणका २५ वर्ष

मेचीकाली संवाददाता

८ भाद्र २०८३, सोमबार
3 shares

मीना पराजुली

२३ अगस्ट २००१ मेरो जीवनको एउटा साधारण मिति मात्र थिएन । त्यो मेरो अस्तित्व, पहिचान र भविष्यलाई नयाँ दिशातर्फ मोड्ने ऐतिहासिक क्षण थियो । स्थापित वकालत पेशाबाट बाहिरिने निर्णय सहज थिएन । तर, त्यस निर्णयभित्र समाजसँग जोडिने, मानिसहरूको जीवनमा अर्थपूर्ण योगदान गर्ने र सामाजिक रूपान्तरणको यात्रामा समर्पित हुने गहिरो चाहना थियो ।

पूर्वका झापा–मोरङका हरिया फाँटबाट सुरु भएको मेरो पेशागत यात्रा आज २५ वर्षको लामो अनुभव बोकेर यहाँसम्म आइपुगेको छ । यो केवल भौगोलिक दूरी पार गर्ने यात्रा थिएन, संघर्ष, अनुभूति र आत्मखोजको यात्रा पनि थियो । बागमतीदेखि लुम्बिनी, गण्डकी, मधेश, कोशी, कर्णाली र सुदूरपश्चिमका दुर्गम क्षेत्रसम्म पुग्दा मैले स्थान मात्र परिवर्तन गरिनँ, हरेक ठाउँ र हरेक भेटघाटले मेरो सोचलाई फराकिलो, संवेदनशीलता गहिरो र जिम्मेवारीबोध बलियो बनाउँदै लग्यो । हिमालका कठिन भूभाग, पहाडका उकाली–ओराली र तराईका विस्तृत फाँटले मलाई धैर्य, सहनशीलता र जीवनका विविध आयाम बुझ्न सिकाए ।

लुथरन वल्र्ड फेडेरेसनबाट सुरु भएको मेरो पेशागत यात्रा सेभ द चिल्ड्रेन हुँदै प्लान इन्टरनेशनल नेपालसम्म आइपुग्दा मैले संस्थाहरू मात्र परिवर्तन गरिनँ, अनुभव, सिकाइ र दृष्टिकोणको दायरा पनि विस्तार गरेँ। यी संस्थाहरू मेरा लागि केवल कार्यस्थल थिएनन्; ती सिकाइका विद्यालय र सहयात्राका परिवारजस्तै बने । सफलताले उत्साह दियो भने चुनौतीहरूले अझ परिपक्व बन्न सिकाए । कठिन समयले धैर्य र दृढताको परीक्षा लियो, उपलब्धिहरूले आत्मविश्वास बढाए ।

आज पछाडि फर्केर हेर्दा विकास क्षेत्र मेरो लागि केवल पेशा रहेन । यो मेरो जीवनदृष्टि, प्रतिबद्धता र पहिचानको अभिन्न हिस्सा बनेको छ । कामको सीमाभन्दा माथि उठेर मानिस, समाज र परिवर्तनसँग जोडिएको आत्मयात्रा बनेको छ । समुदायसँगको सहकार्यले मलाई एउटा महत्वपूर्ण कुरा सिकायो–विकास योजना, सूचकांक र प्रतिवेदनमा देखिने उपलब्धि मात्र होइन । यसको वास्तविक अर्थ मानिसहरूको जीवनमा देखिने सानासाना परिवर्तन, बढेको आत्मविश्वास र आशाका उज्याला क्षणमा भेटिन्छ । समुदायसँग बसेर उनीहरूका पीडा, संघर्ष र सम्भावनाका कथा सुन्नु केवल संवाद थिएन, जीवनका गहिरा अनुभव बुझ्ने अवसर थियो । सन् २००८ को कोशी बाढी, २०१४ मा बाँके, बर्दिया र सुर्खेतमा आएको बाढीपहिरो तथा २०१५ को विनाशकारी भूकम्पपछि नुवाकोटमा निर्वाह गरेको जिम्मेवारी मेरा लागि केवल विपद् प्रतिकार्य थिएनन् । ती धैर्य, साहस र प्रतिबद्धताको परीक्षा थिए । पराकम्प, भय र अनिश्चितताबिच संस्थाले दिएको जिम्मेवारीलाई मैले पेशागत दायित्व मात्र नभई समुदायले गरेको विश्वासका रूपमा लिएँ । कठिन परिस्थितिमा पनि उपस्थित रहनु, सुन्नु र साथ दिनु मेरो प्राथमिकता बन्यो ।

सन् २०२० मा कालिकोटको पहिरो र जुम्लाको बाढीपहिरोले फेरि त्यही पाठ सिकायो । त्यसै वर्ष फैलिएको कोभिड–१९ महामारी अर्को ठूलो चुनौती बनेर आयो । नेपालगञ्ज सीमामा भारतबाट फर्किएका थकित, त्रसित र अनिश्चित भविष्य बोकेका नागरिकसँग काम गर्दा म राहत सामग्री मात्र वितरण गरिरहेकी थिइनँ; उनीहरूको आशा र आत्मविश्वास जोगाउने प्रयास पनि गरिरहेकी थिएँ ।

यी अनुभवले मलाई एउटा गहिरो सत्य सिकाएका छन् । विकास भनेको संरचना निर्माण मात्र होइन; मानिससँग जोडिने, उनीहरूको आवाज सुन्ने र कठिन समयमा उनीहरूसँगै उभिने मानवीय प्रतिबद्धता हो । सरकार वा अन्य सरोकारवालाबाट प्राप्त प्रशंसा मेरा लागि कहिल्यै अन्तिम उपलब्धि बनेन । मेरो सबैभन्दा ठुलो सन्तुष्टि त्यतिबेला मिल्छ, जब कसैको आँखामा ‘हामी एक्ला छैनौँ’ भन्ने भरोसा देखिन्छ, पीडाले थाकेको अनुहारमा सानो मुस्कान फर्किन्छ र मानवीयताको एउटा सानो प्रयासले ठुलो दुःखलाई केही क्षण भए पनि हल्का बनाउँछ ।

विकास क्षेत्रमा काम गर्ने क्रममा सुशासन, साझेदारी, अधिकारमा आधारित विकास दृष्टिकोण, परियोजना व्यवस्थापन, लैङ्गिक समानता, समावेशिता, संरक्षण, मानव संसाधन व्यवस्थापन तथा मानवीय सहायताका विविध क्षेत्रमा काम गर्ने अवसर पाएँ । ५० भन्दा बढी नागरिक समाज संस्थासँगको सहकार्य, समुदायसँगको निरन्तर संवाद, सरकारी संयन्त्रसँगको समन्वय र विकास साझेदारसँगको सहकार्यले मलाई अर्को महत्वपूर्ण सत्य बुझायो–विकास कुनै एक व्यक्ति वा संस्थाको एकल प्रयासबाट सम्भव हुँदैन । विकास सहकार्यबाट जन्मिन्छ, विश्वासबाट बलियो बन्छ र साझा प्रतिबद्धता, उत्तरदायित्व तथा निरन्तर प्रयासबाट दिगो हुन्छ ।

त्यसताक लैङ्गिक समानता, समावेशी कार्यस्थल र कर्मचारी अधिकारका विषय आजजस्तो संस्थागत रूपमा स्थापित भइसकेका थिएनन् । त्यही समयको एउटा अनुभव आज पनि स्मरणीय छ । बुवाको निधन हुँदा मैले पाँच दिनको मात्र शोक बिदा पाएँ, जबकि पुरुष सहकर्मीहरूले १३ दिनको बिदा पाउँथे । यस असमानताले मलाई व्यक्तिगत पीडा मात्र दिएन, कार्यस्थलमा रहेको लैङ्गिक विभेदको यथार्थ पनि देखायो । मैले मौन बस्नुको सट्टा संवाद र परिवर्तनको बाटो रोजेँ । त्यसको परिणामस्वरूप पछि महिला कर्मचारीका लागि पनि समान १३ दिनको शोक बिदाको व्यवस्था लागू भयो । त्यो घटना मेरो व्यक्तिगत अधिकारको विषय मात्र थिएन, कार्यस्थलमा समानताको पक्षमा उठाइएको एउटा महत्वपूर्ण कदम थियो ।

हिमाल र पहाडका दुर्गम क्षेत्रमा काम गर्ने अनुभव पनि कम चुनौतीपूर्ण थिएनन् । कतिपय रात ढोकामा चुक्कुल नभएको कोठामा खोलाबाट ल्याएका ढुंगाले ढोका अड्याएर बिताउनुपथ्र्यो । कहिले उडुसको समस्या, कहिले कठ्याङ्ग्रिँदो चिसो र कहिले न्यूनतम सुविधाको अभाव–यी सबै जीवनका कठिन तर महत्वपूर्ण पाठ बने ।

सन् २००९ तिर कर्णालीका दुर्गम गाउँमा यातायातको सुविधा नहुँदा दिनौँसम्म पैदल हिँड्नुपथ्र्यो । उकाली–ओराली पार गर्दै, खोलानाला तर्दै र कठिन भूगोलसँग जुध्दै समुदायसम्म पुगिन्थ्यो । शरीर थाक्थ्यो, खुट्टा सुन्निन्थे र रातभर दुखाइले आँखा चिम्लनसमेत गाह्रो हुन्थ्यो । तर समुदायसम्म पुग्ने प्रतिबद्धताले हरेक कठिनाइ पार गर्ने शक्ति दिन्थ्यो । यी संघर्षले सिकाए–सेवा सहज परिस्थितिमा गरिने काम मात्र होइन; कठिन समयमा आफ्नो प्रतिबद्धता प्रमाणित गर्ने यात्रा पनि हो । आज ती दिन सम्झँदा पीडासँगै गर्व पनि महसुस हुन्छ, किनकि तिनै अनुभवले मलाई अझ बलियो, धैर्यवान् र परिपक्व बनाएका छन् ।

व्यक्तिगत जीवनका आफ्नै पीडा पनि थिए–सायद अझ गहिरा र मौन । सानै उमेरका छोराछोरीलाई घरमा छोडेर दुर्गम क्षेत्रमा काम गर्न जाँदा मनमा उठ्ने खालीपन र उनीहरूको बाल्यकालका महत्वपूर्ण क्षण छुटाउनु परेको पीडा मभित्रै बोकेर यात्रामा अघि बढिरहेँ । त्यागले मलाई कमजोर बनाएनन्, बरु अझ जिम्मेवार र संवेदनशील बनाउँदै लगे । मेरा बुवाआमा, सासुससुरा, श्रीमान् र छोराछोरीको साथ, विश्वास र सहयोग मेरो यात्राका महत्वपूर्ण आधार बने । जीवनका हरेक उतारचढावमा उहाँहरूले देखाउनुभएको धैर्य, माया, त्याग र निरन्तर साथले मलाई लक्ष्यप्रति दृढ रहन ऊर्जा दियो ।

नेपालको विविध भूगोलसँग काम गर्ने क्रममा मैले बुझें–विकासलाई एउटै ढाँचामा परिभाषित गर्न सकिँदैन । कर्णालीका दुर्गम गाउँमा विकासको अर्थ आधारभूत आवश्यकतासँग गाँसिएको देखिन्थ्यो । त्यहाँ अभावबिच पनि मानिसहरूको अदम्य सहनशीलता र संघर्ष प्रेरणादायी थियो । तराईका समुदायमा सामाजिक संरचना, सांस्कृतिक मान्यता र आर्थिक अवस्थाले फरक खालका चुनौती प्रस्तुत गर्थे । यी विविधताबिच सन्तुलन मिलाउँदै काम गर्नु प्राविधिक सीपको विषय मात्र थिएन; यो संवेदनशीलता, धैर्य र निरन्तर सिकाइको यात्रा थियो । कहिलेकाहीँ थकान यति धेरै हुन्थ्यो कि सबै कुरा छाडेर फर्किउँ जस्तो लाग्थ्यो तर त्यही बेला देखिने कुनै सानो परिवर्तन, कसैको अनुहारमा झल्किएको सन्तुष्टि वा एउटा साधारण ‘धन्यवाद’ नै ठुलो ऊर्जा बन्थ्यो ।

२५ वर्षे यात्रामा प्राप्त विभिन्न सम्मान र प्रशंसामध्ये ११ डिसेम्बर २०२१ मा नयाँ दिल्ली, भारतमा महिला, बालबालिका सशक्तिकरण, मानवअधिकार र सामाजिक न्यायका क्षेत्रमा गरेको योगदानको कदरस्वरूप प्राप्त अन्तर्राष्ट्रिय सम्मान मेरो जीवनको विशेष स्मरणीय क्षण रह्यो । यसले विगतका संघर्ष, सिकाइ र भविष्यप्रतिको जिम्मेवारीलाई अझ गहिरो बनायो । यो यात्राले मलाई समाज बुझ्न मात्र होइन, आफैंलाई चिन्न पनि सिकायो ।
म केवल विकासकर्मी होइन, एक श्रोता, सहयात्री र निरन्तर सिकिरहने विद्यार्थी पनि हुँ । मैले बुझेँ–परिवर्तन बाहिरबाट थोपरिने विषय होइन; सहभागिता, विश्वास र आत्मबलबाट जन्मिने प्रक्रिया हो । हाम्रो भूमिका सहजकर्ता र सहयात्रीको हो । मेरो व्यावसायिक यात्रामा साथ, सहयोग, मार्गदर्शन र प्रेरणा प्रदान गर्नुहुने सम्पूर्ण सुपरभाइजर, सहकर्मी तथा प्रत्यक्ष–अप्रत्यक्ष रूपमा जोडिनुभएका सबैप्रति म हार्दिक कृतज्ञता व्यक्त गर्दछु ।

सबैको नाम उल्लेख गर्न सम्भव नभए पनि तपाईंहरूको विश्वास, सहयोग र प्रेरणा मेरो यात्राको अमूल्य आधार बनेको छ । विशेष रूपमा, मेरो व्यावसायिक यात्राको प्रारम्भिक चरणमा मार्गदर्शन गर्नुहुने प्रथम सुपरभाइजर आदरणीय तुलसी शर्मा सरप्रति म गहिरो कृतज्ञता व्यक्त गर्दछु । सन् २००१ को अगस्टमा झापाको दमकस्थित लुथरन वल्र्ड फेडेरेसनबाट विकास क्षेत्रमा पाइला टेक्दा वकालत पेशाबाट नयाँ यात्रातर्फ अघि बढ्नु मेरा लागि बिल्कुलै नयाँ अनुभव थियो । त्यसबेला प्राप्त मार्गदर्शन, विश्वास र हौसलाले मेरो क्षमता विकास गर्नुका साथै विकास क्षेत्रप्रतिको दृष्टिकोणलाई फराकिलो बनायो । त्यो प्रारम्भिक साथ र प्रेरणा आज पनि मेरो यात्राको बलियो आधार बनेको छ ।

२५ वर्षको यो यात्राले मलाई एउटा विश्वास दिएको छ–परिवर्तन सधैं ठुलो योजनाबाट सुरु हुँदैन । कहिलेकाहीँ एउटा सानो सहयोग, एउटा संवेदनशील व्यवहार, कसैको आवाज सुन्ने तत्परता वा कठिन समयमा दिएको साथले पनि परिवर्तनको सुरुवात गर्न सक्छ । त्यसैले आगामी दिनमा पनि आफ्ना अनुभव र सिकाइलाई अर्थपूर्ण रूपमा साझा गर्दै मानवता, समानता, न्याय र सामाजिक रूपान्तरणका पक्षमा निरन्तर योगदान गर्ने प्रतिबद्धताका साथ अघि बढिरहेकी छु । यो यात्रा यहाँ समाप्त भएको छैन । बरु २५ वर्षको अनुभवले आगामी यात्राका लागि अझ फराकिलो दृष्टि, गहिरो जिम्मेवारी र थप बलियो प्रतिबद्धता दिएको छ । (लेखक पराजुली समाज परिवर्तनलाई जीवनको उद्देश्य बनाउँदै विगत २५ वर्षदेखि नेपालको हिमाल, पहाड र तराईका समुदायसँग काम गर्दै आएकी अनुभवी, संघर्षशील र समर्पित विकासकर्मी अधिवक्ता हुन् ।)