कमल पन्थी
आश्विनकृष्ण प्रतिपदादेखि औसीसम्मको अवधिलाई पितृपक्ष मानिएको छ । पितृपक्षको समापन लगत्तै महत्वपूर्ण पर्व एवं साधनाको चरण सुरु हुन्छ । बडादशैँ, शुभदिपावली, छट, श्रीपञ्चमी जस्ता महत्वपूर्ण पर्वको आगमन हुन्छ । गत भदौ र असोजका ठुलाठुला प्राकृतिक महाविपत्तिले चाडपर्वलाई उत्साहित बनाउन अवरोध सिर्जना गरेको छ । वडादशँैको दिनदेखि सुरु भएको टीका र जमरा लगाउने क्रम कोजाग्रत पूर्णिमाका दिन धनधान्यकी देवी महालक्ष्मीको पूजा आराधना गरेर समाप्त भयो ।
दशँैको लगत्तै शरदऋतुको उत्तर भागमा पर्ने तिहार पर्वमा जलवर्षण जस्तो मेघको प्रवाह हटिसकेको हुन्छ । हिन्दी शब्दको त्योहार शब्दबाट विकृत हुँदै तिहार बनेको अनुमान लगाइन्छ । तिहारको अर्थ चाडपर्व हो । सनातनदेखि चलिआएका हाम्रा चाडपर्वहरुले पारिवारिक सम्बन्ध, सामाजिक एकता,सांस्कृतिक निरन्तरता, नैतिक अनुशासन र जीवन दर्शनलाई समेत जोडेका छन् । चाडपर्वहरुले समाजमा आत्मियता र उत्साह थप्छन् । सांस्कृतिक रुपमा प्रचलित चाडपर्वमा धार्मिकभाव पनि मिश्रित या सम्मिलित रहनु हाम्रो विशेषता हो ।

यमपञ्चकका पाँचै दिनमध्ये पहिलो दिन काग–तिहार, दोस्रो दिन कुकुर–तिहार,तेस्रो दिन गाईतिहार, चौथो दिन गोरु–तिहार र पाँचौँ दिन भाइ–तिहार मनाउने प्रचलन रहेको छ । यमपञ्चक, तिहार, दिपावलीलगायतका विभिन्न शब्दावली जनजिब्रोमा स्थान विशेषअनुसार आउने गरेता पनि यस लेखमा दिदीबहिनी तथा दाजुभाइको माया प्रेमको प्रतीक तिहारको सेरोफेरोमा रहेर यमपञ्चकका पाँच दिनमा गरिने कृत्यहरुहको विषयमा धार्मिक, सांस्कृतिक, पौराणिक, प्रचलित एवं जीवनोपयोगी सन्दर्भलाई रौ चिरा त नभनौँ खोतल्ने प्रयास भने पक्कै हो भन्दा अत्युक्ति नहोला । आधुनिकताको रफ्तारमा अतिक्रमणमा पर्दै गएको हाम्रो संस्कृति र मौलिक आत्मालाई जोगाउन जानकारी गराउनु यस लेखको मुख्य उद्देश्य रहेको छ । सन्दर्भ सामग्रीको रुपमा धार्मिक चाडपर्व (चेतोनाथ शर्मा), धर्मभित्रको विज्ञान (हरिप्रसाद सोडारी), निर्णयसिन्धु लगायत गुगल खोजी रहेको छ ।
१.तिहार पर्व मनाउने परम्परासम्बन्धी प्रचलित पौराणिक, धार्मिक प्रसङ्गहरु
– बिरामी किराती राजा बलिहाङलाई दिदीले भाइपूजा गरी टीकापश्चात लगाएको तेल नसुकुन्जेल, माला नओइलाउन्जेल यमराजलाई धैर्य गर्न लगाई आफ्नो भाइको आयु लम्बाएको प्रसङ्ग ।
– भगवान् श्रीरामले सीतालाई हरण गर्ने रावणको बध गरी १४ वर्षको वनवास समाप्तीपछि अयोध्या फर्कदा नागरिकले खुसीयालीमा दिपावली गरेको र सो को निरन्तरताको प्रसङ्ग ।
– प्रकृतिपरक किसानको पर्व जहाँ खेतमा सुनौला धानका बाला झुलेका, बाली लगाउने र थन्काउने बिचको फुर्सदको समय, रंगीबिरंगी फूलहरु फुल्ने समय र चारैतरि उमंग र उत्साहको समय र प्रकृति पूजनको प्रसङ्ग ।
– पौराणिक मान्यताअनुसार देवता र असुरबिच समुन्द्र मन्थन गर्दा अमृतकलश धारण गरी भगवान् विष्णुको अंशावतारका रुपमा उत्पन्न भएका भनिएका आरोग्यताका देवता धन्वन्तरीको जयन्ती वा धनतरेसको प्रसङ्ग ।
– धनधान्यकी देवी लक्ष्मीलाई खुसी बनाउन थालिएको प्रकाश उत्सव पर्वको प्रसङ्ग ।
– बलिराजाको दानकर्मलाई जोड्दै देउसीभैलोमार्फत घरघरमा पैसा माग्दै हिड्ने सामाजिक सदभाव,छरछिमेकमा भाइचारा र भगिनी सम्वन्धको प्रसङ्ग ।
– मृत्युका देवता यमराजले आफ्नी बहिनी यमुनाका घरमा आतिथ्य ग्रहण गरेको हुनाले यी पाँच दिनलाई यमपञ्चक भनिएको र यमराजलाई दीपदान गरी यमराजलाई प्रसन्न बनाई आरोग्यता तथा मानव आयु लम्वाउने पर्वको प्रसङ्ग ।
२.एकै आँतका दाजु यमराज र बहिनी यमुनाको जन्मको पौराणिक कथनः
देवशिल्पी विश्वकर्माका ऋद्दि, सिद्दि र सन्ध्या नामका तीन छोरी थिए । ऋद्धि र सिद्धिको विवाह शिवपार्वतीका पुत्र गणेशसँग भएको थियो । कान्छी छोरी सन्ध्यासंग विवाह गर्ने मनाशाय सूर्यदेवको थियो । कन्याको हात माग्न सूर्यदेव आउँदा सन्ध्याले उनको तेजले आँखा बन्द गर्न पुग्छिन् । यसलाई सूर्यदेव आफ्नो अपमान सम्झदै झनक्क रिसाउँदै संसारका प्राणीहरूको मृत्युको जिम्मा उसले लिनुपर्ने पुत्रको जन्म हुने श्रापवाट यमराजको जन्म हुन जान्छ पछि फेरि यथार्थ बुझेपछि आशीर्वाद दिएपछि सुशील पुत्रीको रुपमा यमुनाको जन्म हुन गएको कुरा हाम्रा शास्त्रहरुमा पढ्न पाइन्छ ।
– यमराजः यमको अर्थ नियम हो । नियम भनेको धर्म हो।मृत्युको नियमको पालना गर्ने हुनाले यमराजलाई धर्मराज पनि भनिन्छ । मृत्युका देवता पनि भनिन्छ । संसारका प्राणीहरूको मृत्युको जिम्मा पाएका महिषी (भैशी) माथि सवार, श्याम वर्ण, हातमा डरलाग्दो हतियार लिएको र समस्त प्राणीहरुलाई विवेकपूर्वक, कर्मअनुसारको फल दिने जस्तो निर्मम र कठोर कार्य गर्ने पात्रको रुपमा चित्रण गरिएको छ ।
– यमुनाः यमराजकी बहिनी मात्र नभएर पवित्र यमुना नदीको रुपमा पनि चित्रण गरिएको छ । यसको उदभवस्थान यमुनोत्री हो । जहाँ एकातिरवाट शीतल हिमस्रोत बगेको छ भने अर्कोतिर तप्तकुडबाट तातोपानीको स्रोत वगेको छ । तीर्थराज प्रयागमा आएपछि भागिरथी गंगासित यमुनाको मिलन हुन्छ । यमुनाको महात्म्य अतुलनिय छ । भगवान् श्रीकृष्णका अधिकांश बाललिला यमुना नदीको किनारमा भएका शास्त्रमा पढ्न पाइन्छ । पवित्रताको दृष्टिले भागिरथी गंगापछि यमुनालाई लिने गरिन्छ ।
– भाइटीका प्रचलनको सन्दर्भः मृत्युका देवता यमराजले आफ्नी बहिनी यमुनाको आग्रहअनुसार पाँच दिन बहिनीको घरमा आतिथ्य ग्रहण गरेको र अवदेखि सधै यी दिनमा निरन्तरता दिने दाजु बहिनी विच आपसी सहमती हुन्छ । बहिनी यमुनाले पहिलो दिन काग पूजा, दोस्रो दिन कुकुर पूजा, तेस्रो दिन गाई तथा लक्ष्मी पूजा, चौथो दिन गोरु तथा गोवद्र्धन पूजा र पाँचौं दिन दाजुको पूजा गरी टीका लगाइदिन्छिन् । दाजुको दीर्घायुको कामना गर्छिन् । मानिसले पनि उनीहरूकै सिको गरी यसै गरी पाँचै दिन यमपञ्चक वा तिहार पर्व मनाउन थालेको र सो को निरन्तरता हो भन्ने भनाइ बढी प्रचलित छ ।
कागः सन्देशवाहक
निकै चतुर पन्छी कागले मानव बस्ती नजिकको फोहरमैला खाएर प्राकृतिक वातावरण स्वच्छ बनाउँछ । विद्यार्थीमा हुनु पर्ने पाँच गुणहरुमा काक चेष्टा अर्थात् काग जस्तै सधै चनाखो, जिज्ञासु र परिश्रमी हुनु भनी पहिलो गुण भनेको छ । प्राणवायु अक्सिजन दिने पिपलको वृक्ष उमार्नमा कागको ठुलो भूमिका रहन्छ पिपलको विउँ निकै कडा हुने र जमिनमा झरेपनि सिधै उम्रन कठिन हुने तर कागले खाएर बिष्टाएपछि सहजै यत्रतत्र उम्रन सक्ने बताइन्छ । त्रयोदशीका दिन काकवलि दिइन्छ ।
कुकुरः भैरवको वाहन
घरपालुवा जनावर कुकुर भैरवको बाहनको रुपमा प्रसिद्ध छ जसको सुध्ने शक्ति अति तीव्र हुन्छ । धेरै खान सक्ने भए पनि थोरैले सन्तुष्ट हुन सक्ने, निदाएको बेला पनि तुरुन्त व्यूझन सक्ने (श्वान निद्रा), सरक्क गर्दा पनि चाल पाई हाल्ने, मालिकप्रति अत्यन्तै निष्ठावान् र शुरोपना कुकुरका मुख्य चरित्र हुन् । यसले मानिसलाई सूचना,सुरक्षा र सिकारमा समेत सहयोगीको भूमिका निर्वाह गर्छ । महाभारतका अनुसार पाँच पाण्डवहरु स्वर्ग प्रस्थान गर्दा सहयोगी कुकुर पनि संगै स्वर्ग गएको भनिन्छ । नरक चतुर्दशीको दिन कुकुरको पूजा गर्नाले यमराज खुसी भई नरकको भय हटाइदिने विश्वास रहेको छ ।
गाईः लक्ष्मीको जिउँदो प्रतिक
गाईबाट लौकिक र परलौकिक दुवै लाभ हुने हुँदा ’गोस्तु मात्रा न विद्यते’ अर्थात् गाईको लाभ कति छ बयान गर्न सकिँदैन भनेर ऋग्वेदमा उल्लेख गरिएको छ । वेदमा गाई र घोडालाईमात्र पशुको स्थान दिइएको छ।पशुको अर्थ अरुलाई देख्ने, बुझ्ने वा श्रेष्ठ प्राणी भन्ने हुन्छ ।
– झट्ट सुन्दा अचम्म लाग्न सक्छ, शुद्ध लोकल गाईले अक्सिजन लिएर अक्सिजन नै छाड्छ । जसरी पिपलको वृक्षले अक्सिजन लिएर अक्सिजन नै छाड्छ ।
– वैज्ञानिकहरुले गोवर र गउँतलाई किटनाशक औषधी मान्छन् ।
– गाईको गउँत, गोबर, दुध, दही र घिउमा दुबो र जल मिलाई पूजादी कार्यका निम्ति पवित्र वस्तु पञ्चगव्य बनाइन्छ ।
– मृत्यु समीपमा आएको जानि सकेपछि सन्तानहरुले विधिपूर्वक बाच्छोसहितको गाई दान गर्नु पर्ने र जसले मृत्युपछि यमलोक जाँदा बाटामा पर्ने पिप, रगत, मासु आदिले निर्मित ठानिएको पुराणप्रसिद्ध काल्पनिक वैतरणी नदी तर्न सुगम हुन्छ भनी व्यासले बताएको कुरा निर्णयसिन्धुमा उल्लेख छ साथै जनमानसमा प्रगाढ धार्मिक विश्वास रहेको छ ।
– विद्वत् वर्गका मतअनुसार ८४ लाख योनीमा सवैभन्दा अन्तिम योनी गाईको हुन्छ भन्ने गरिन्छ । अर्थात् गाईपछि मान्छेको जुनी प्राप्त हुने हो ।
– सामान्यतया हल्का खैरो, पहेलो,खैरो वा ताम्रवर्ण भएको गाईलाई कपिला गाई भनिन्छ । यज्ञ, दान, पूजा,श्राद्ध जस्ता धार्मिक कर्ममा कपिला गाई खोज्ने गरिन्छ । हाम्रा धार्मिक ग्रन्थहरुमा धेरै ठाउँमा कपिला गाईको चर्चा र महत्व आउँछ ।
– समुन्द्र मन्थन गर्दा कामधेनु गाई उत्पन्न भएको कुरा शास्त्रमा पढ्न पाइन्छ ।
– गोसेवाबाट मानिसले स्वर्गको प्राप्ती,धन,सम्मान, दीर्घायु प्राप्त हुने धार्मिक विश्वास रहेको छ । औंसीको दिन लक्ष्मीपूजा तथा गाईतिहारको रुपमा गाईको पूजा अर्चना गरिन्छ ।
४.तिहारमा दिदीबहिनीले दाजुभाइको पूजा कसरी र किन गर्ने ?
– सकेसम्म दाजुभाइ, दिदीबहिनीको निमन्त्रणामा उनको घरमा नै जानुलाई उत्तम मानिएको छ किनभने दाजु यमराज बहिनी यमुनाको घरमा नै गएका थिए।जसको अनुकरणमा तिहार मनाउने परम्परा कायम छ ।
– भाइटीकाको दिन दिदीबहिनी बिहानै उठेर शौचस्नान गरी शुद्ध वस्त्र धारण गर्नुपर्छ ।
– शुरुमा दीप–कलश–गणेशको पूजापूर्वक कलशमाथि तामाको थालीमा सुवर्ण (सुन) को प्रतिमामा यम र यमुनाको आवाहन सहित फूल, अक्षता, चन्दनले पूजा गर्नुपर्दछ ।
– तत्पश्चात अष्टचिरन्जिवी(बलि, व्यास, हनुमान, अश्वस्थामा, विभिषण, कृप, परशुराम मार्कण्डेय) को विधिपूर्वक पूजा गर्नुपर्छ ।
– दिदीबहिनीले दाजुभाइलाई जल र तेलको धारा लगाई परिक्रमा गर्नुपर्छ ।
– दाजुभाइका शत्रु नाशको कामना गर्दै हाडे ओखर सँघारमा फोरिदिनुपर्छ ।
– दाजुभाइलाई दुवोको मुन्टोले कपालमा तेल लगाई दिनुपर्छ ।
– दिदीबहिनीले दाजुभाइलाई सप्तरङ्गी टीका (पहेँलो,नीलो, सुन्तला रङको, सेतो, हरियो, रातो र कालो) निधारमा लगाइदिँदा शुभसाईतमा लगाइदिनुपर्छ । यस वर्षको भाइटीकाको शुभसाइत बिहान ११ः०७ बजे पश्चिम मोहडा (दाजुभाइ पश्चिम फर्कने, दिदीबहिनीहरुले पूर्व फर्केर टीका लगाई दिने) नेपाल पञ्चाङ्ग निर्णायक विकास समिति काठमाडाँैले मिति २०८३/०७/१७ मा विज्ञप्ति प्रकाशन गरिसकेको छ ।
– दाजुभाइको दीर्घायुको कामना गर्दै चाँडै नओइलाउने मखमली अतिरिक्त गोदावरी, सयपत्री फूलको माला लगाइदिनु पर्छ । कटुस, ओखरजस्ता चाँडै नबिग्रने मरमसाला दिनुपर्छ ।
– दही, पान, मिठाई, नैवेद्य, फलफुललगायत खानेकुराका अनेकौँ व्यञ्जन खुवाउनुपर्छ ।
– दाजुभाइले पनि दिदीबहिनीलाई टीकामाला लगाई आफ्नो गच्छेअनुसारका दक्षिणा, वस्त्र, उपहार दिई स्नेह र आदरभाव व्यक्त गर्नुपर्छ ।
मातालाई पृथ्वी र दिदीबहिनीलाई स्नेह र दयाको मूर्तिका रुपमा हाम्रा वैदिक ग्रन्थहरुमा वर्णन गरिएको छ । तिहारमा दिदीबहिनीको हातबाट टीका र भोजन प्राप्त गर्नुलाई अतिनै महत्वको मानिन्छ । अपमृत्युबाट जोगाई दीर्घायु तथा अन्य कल्याण हुने र दिदी बहिनीलाई पनि असमयमा वैधव्य व्यथा सहन नपरी सौभाग्य प्राप्त हुने कुरा शास्त्रमा वर्णित छ । पारिवारिक, आत्मिय सम्बन्धसूत्रलाई टुट्न नदिनका लागि जसरी पानसको बत्तीलाई सदा प्रज्वलित बनाउन समय–समयमा आवश्यकताअनुसार तेल थपि रहनु पर्छ नि त्यस्तै तिहारले पनि समस्त दाजुभाइ तथा दिदिबहिनी बिचको सम्वन्धमा तेल थप्न सक्नुपर्छ ।
५.दिपावलीः जीवनदर्शन
– औशीको चकमन्न रातमा मिलिजुली चारैतिर बत्ती वाली उज्यालो हुनु ‘असतो मा सद्गमय, तमसो मा ज्योतिर्गमय, मृत्योर्मा अमृतम गमय’ दर्शनसंग मेल खान्छ । असत्यको हैन सत्यको विजय, अन्धकारलाई चिर्दै उज्यालो वा ज्ञान र प्रज्ञाको खोज र मृत्यु माथि पनि विजय प्राप्त गरी दीर्घ जीवन आर्जन गर्ने काममा उन्मुख हुन प्रेरित गर्ने चाड तिहार हो ।
– तिहारको चौथौ दिन म्ह पूजा अर्थात् आफ्नै शरिरको पूजा गर्ने नेवारी परम्पराले अलौकिक शक्तिमा नभै भौतिक जगतको वास्तविकतामा आधारित रहेको देखाउँछ । ‘अहं ब्रम्हाशी’ अर्थात् ईश्वर भनेको म हुँ भन्ने कुरालाई आत्मसात गरेको देखिन्छ । यो आत्मजागरणको बाटो लाई अत्यन्तै वैज्ञानिक मानिन्छ ।
– उदाउँदो सूर्यलाई पूजा आराधना गर्ने र अर्घ दिएर विशेष गरी तराई–मधेश प्रदेश क्षेत्र त्यसमा पनि खासगरेर मैथिल प्रदेशमा विशेष उत्साह र उमङ्गका साथ मनाईने छट पर्व पनि उज्यालो खोज्ने संस्कृति हो । तसर्थ तिहार पर्व प्रकाशको उत्सव हो ।
दाइभाइ होउन त कुम्भकर्ण जस्ता, दिदीबहिनी हुन त यमुना जस्ता भन्ने भनाइले सार्थकता पाओस् । एक अर्काप्रति सम्मान, आतमीय र घनिष्ट सम्बन्ध कायम गरोस् । तिहारले सबैलाई खुसी र मनोरन्जन प्रदान गरोस् । एकता र सामाजिक सदभाव कायम गरोस् । तिहार भड्किलो र खर्चिलो रुपमा होइन, साधारण तरिकाले अत्यन्त श्रद्धा र खुसीका साथ मनाउने पर्वका रुपमा स्थापित होस् । तिहारको सबैमा शुभकामना !

