बुटवल, ५ मंसिर । रगत अभाव भैरहेको बेला बुटवलमा वृहत रक्तदान कार्यक्रम गरिएको छ । नव बुद्ध युवा क्लबको आयोजनामा बुटवलको ट्राफिक चोकमा रक्तदान कार्यक्रम गरिएको हो । एक कार्यक्रमका बिचमा बुटवल उपमहानगरपालिका वडा नं ६ का अध्यक्ष लोकनाथ न्यौपानेले उद्घाटन गर्दै सामाजिक क्षेत्रमा स्थानिय युवाहरुको भुमिका महत्वपूर्ण हुने बताए । रक्तदान सबै दानहरुमध्ये पुण्य दानको काम भएको भन्दै यसको महत्वबारे उनले प्रकाश पारे ।
युवाहरुलाई एकतावद्घ गरि सामाजिक कार्यमा अग्रसर गराउने उदेश्यका साथ अघि बढाईएको क्लबका सभापति सुनित क्षेत्रीले बताए । आगामी दिनमा खेलकुद विकासमा समेत कार्यक्रम ल्याउने उनले बताए । कार्यक्रममा इलाका प्रहरी कार्यालयका प्रहरी निरिक्षक नेत्र बुढा, नियमित रक्तदाता संघका केन्द्रिय वरिष्ठ उपाध्यक्ष लेखनाथ भण्डारी, नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालयका प्रहरी नायब निरीक्षक (सई) सनोज कुमार बरइ, क्लबका सचिव चन्द्रमान श्रेष्ठले रक्तादाताहरुलाई प्रमाणपत्र वितरण गरेका थिए । नेपाल रेडक्रस सोसाईटी, रक्त संचार सेवा केन्द्र बुटवलको प्राविधिक सहयोगमा भएको रक्तदान कार्यक्रममा ६० युनिट रगत संकलन भएको कार्यक्रम संयोजक गणेश बोहराले बताए ।

