टेकराज पन्थी
नेपालको पश्चिमाञ्चल क्षेत्रमा पर्ने लुम्बिनी प्रदेशको कपिलवस्तु जिल्लाका साविकका बाणगङ्गा, हथौसा, पटना, गजेहडा, कोपवा, मोतिपुर र भलवाड गाविसलाई मिलाई नेपाल सरकारले २०७३ साल मंसिर १६ गतेको निर्णयबाट बाणगङ्गा नगरपालिका घोषणा गठन भएको नगरपालिका हो । बाणगङ्गा नगरपालिका विश्वमान चित्रमा २७ डिग्री ३५ मिनेट उत्तरी अक्षांशदेखि २७ डिग्री ४८ मिनेट उत्तरी अक्षांश र ८३ डिग्री ०३ मिनेट पूर्वी देशान्तर देखि ८३ डिग्री १४ मिनेट पूर्वी देशान्तरको बिचमा अवस्थित रहेको छ । यो नगरपालिका ऐतिहासिक, धार्मिक, पर्यटकीय र व्यापारिक दृष्टिकोणले महत्वपूर्ण रहेको छ ।
मुख्यतः बाणगङ्गा नदीको सिञ्चित क्षेत्र भएकै कारण यस नगरपालिकाको नामाकरण बाणगङ्गा नगरपालिका रहेको पाइन्छ । प्राचीन भागिरथी नदीको प्रतिक मानिएको यो बाणगङ्गा नदीको ऐतिहासिक, धार्मिक तथा पर्यटकीय महत्व रहेको छ । भगवान् रामचन्द्रले बनवासमा रहँदा पानीको समस्यादेखि बाण प्रहार गरी पानीको मूल फुटेर गंगाको रुपमा परिणत भई बाणगङ्गा नदीको नामाकरण भएको किंमदन्ती रहेको छ । बाणगङ्गा एक पवित्र भूमि जहाँ शाक्य दर्शनका प्रणेता महर्षि कपिलमुनिको तपोभूमि, श्रृङ्गीघाट, मधुवनधाम, लक्ष्मणघाट, वर्गद्धीघाट आदि पवित्र तीर्थस्थलको संगम रहेको यो नदी र यसको नामबाट पुकारिने यस नगरपालिकाको पनि ऐतिहासिक महत्व रहेको पाइन्छ ।
यस नगरपालिकाको पूर्वतर्फ सैनामैना नगरपालिकाको सीमाना कोठीनदी, सालझण्डी जंगल कञ्चन गाँउपालिका, पश्चिममा बुद्धभूमि नगरपालिकाको कोइली नदी गोरुसिङ्गेको जंगल उत्तरमा अर्घाखाँची जिल्लाको शीतगंगा नगरपालिका र दक्षिणमा कपिलवस्तु नगरपालिकाको निग्लीहवा, जहदी र मायादेवी गाँउपालिकाको पतरिया रहेको छ । बाणगङ्गा नगरपालिका कपिलवस्तु जिल्लाको सदरमुकाम तौलिहवादेखि उत्तरतर्फ १५ किमीको दूरीमा अवस्थित रहेको छ । करिब १५,८९४ भन्दा धेरै घरधुरी रहेको र कुल जनसंख्या ७५,२४२ रहेको छ । जसमा वि.सं. २०६८ को जनगणना अनुसार महिला ४०,३०९ र पुरुष ३४,९३३ जनसंख्या रहेको छ । यस नगरपालिकाभित्र बसोबास गर्ने जातजातिमा थारु, ब्राह्मण, क्षेत्री, गुरुङ्ग, मगर, दलित, यादव र मुसलवानलगायतका जातजाति रहेका छन् । मिश्रित जातजातिको बसोबास रहेको यस बाणगङ्गा नगरपालिकामा बसोबास गर्ने मानिसहरुको मुख्य पेशा कृषि, व्यापार, उद्योग, सरकारी सेवा तथा ज्याला मजदुरी आदि रहेको छ । यहाँ मुख्य गरी धान, मकै, गहुँ, तोरी, माछापालन, कुखुरा, मौरी पालन अन्य पशुपालनलगायतका कृषि तथा पशुजन्य उत्पादनहरु हुने गरेको छ ।
नगरपालिकाको कुल जनसंख्याको साक्षरता ८४.७% रहेको छ । सरकारी तथा नीजि क्षेत्रबाट संचालन भएका शैक्षिक संस्थाहरुको संख्या ६९ पुगेको छ । जसमा ४७ वटा सामुदायिक विद्यालय छन् भने संस्थागत २२ वटा विद्यालयहरु सञ्चालनमा रहेका छन् । त्यस्तै धार्मिक रुपले सञ्चालन भएको मनकामना संस्कृत विद्यापीठसँगै गुरुकुल शिक्षा तथा मदरसाहरुले समेत धार्मिक शिक्षाको रुपमा योगदान पुराएका छन् । यसको तुलनामा जिल्लामा बाणगङ्गा नगरपालिकाको साक्षरता प्रतिशत दर उच्च रहेको देखिन्छ ।
यस नगरपालिकाको मूलनारा “समृद्ध वाणगंगाको मूलआधार आर्थिक, सामाजिक रुपान्तरणसहितको पूर्वाधार” भन्ने रहेको छ । वाणगंगा नगरपालिकामा हाल ११ वटा वडा रहेका छन् । विकासको गतिसँगै जनप्रतिनिधिहरूको असल नेतृत्वदायी भूमिका र कर्मचारीहरूको सकारात्मक सोच एवं उत्तरदायित्वका कारण अहिले वाणगंगाको विकासमा नयाँ आयाम थपिदै गएका छन् । निर्वाचित जनप्रतिनिधिहरूमा प्रायः सबै वडाका वडाअध्यक्षहरू विकासमा एक ढिक्का हुनु र अन्य जनप्रतिनिधिहरू पनि वाणगंगाको विकासबाट पहिचान बनाउनु पर्दछ भन्ने एउटै धारणा रहनु, यहाँका राजनीतिक दलका व्यक्तित्वहरू तथा सामाजिक अभियन्ताबाट पनि सकारात्मक सहयोग र विकास हाम्रै लागि हो भन्ने धारणा प्रसस्त पाइनु र यहाँ सञ्चारकर्मीहरूबाट पनि विकास सम्बन्धी जनचेतना फैलाउने किसिमको समाचार, सूचना, सञ्चार सम्प्रेषण गरी सकारात्मक सहयोग हुनु विकासका लागि महत्वपूर्ण कोशेढुङ्गा बनेको छ ।
प्रत्यक्ष देख्न सकिने विकासमा बाणगङ्गाका सबै वडाहरूमा माकुरी जालो जस्तै सडकहरू निर्माण तिव्रगतिमा अगाडि बढेको छ । फोहोर प्रशोधन केन्द्रको लागि जग्गा व्यवस्थापन भएकोले केही महिनामा फोहोरको उचित व्यवस्थापन हुनेमा विश्वास गर्न सकिन्छ । उद्योगहरूको एकिकृत विकास र उद्योगको व्यवस्थापनका लागि औद्योगिक ग्रामको तीव्र रूपमा काम अगाडि बढेको छ । विद्यालयहरूको समायोजन भै गुणस्तरीय शिक्षामा जोड दिइएको र नमुना विद्यालयको रूपमा समेत छनोटमा परी कार्य अगाडि बढेको छ । विकासका लागि खेल, स्वास्थ्यका लागि खेलका लागि वडाहरूमा खेलमैदान निर्धारण भएका छन् ।
धेरै वर्षदेखि अव्यवस्थित बसोबास गरिरहेका एवं भूमिहीन सुकुम्वासी, भूमिहीन दलितहरूको लागि जग्गाधनी दर्ताप्रमाण पत्र (लालपूर्जा) पाउन नसकेकाहरूका लागि विवरण संकलन गरी जग्गा यकिन गर्ने कार्यको थालनी भएको छ । सर्वसुलभ स्वास्थ्य सेवा प्रदान गर्न सवै वडामा हेल्थ पोष्ट सञ्चालन गरिएको छ र नगरको नमूनाको रूपमा पीपरा अस्पतालबाट स्वास्थ्य सेवा प्रवाह भई रहेको छ । अत्याधुनिक बसपार्क र नगर सडक गुरुयोजना लागि विस्तृत परियोजना प्रतिवेदन डिपीआरको तीव्र रूपमा कार्य हँुदैछ । बाणगङ्गा नदी संरक्षणका लागि अनुसन्धान भइरहेको छ । कृषिका लागि बजार व्यवस्थापन गर्न कृषि संकलन केन्द्रको निर्माण भइरहेको छ । कोल्ड स्टोरको निर्माण हुँदैछ । भित्री सडकहरूको स्तरउन्नति भइरहेका छन् । पर्यटन एवं धार्मिक विकासका लागि मधुवनधाम, लक्ष्मणघाट जस्ता क्षेत्रमा पूर्वाधारहरू निर्माण भइरहेका छन् ।
बाणगङ्गाको सञ्चारका गहनाका रूपमा रहेको बुद्धआवाज टेलिभिजन, सामुदायिक रेडियो वाणगंगा, हटविट एफ, सामुदायिक रेडियो बुद्धआवाज, सामुदायिक रेडियो मायादेवी, बुद्धदर्पण दैनिक, बुद्धआवाज साप्ताहिक, लुम्बिनी दर्पण साप्ताहिक पत्रिकाहरू र प्रेसपाटी अनलाइन डटकम, वैखरी अनलाइन डटकम, लुम्बिनी दर्पण अनलाइन डटकम, यी साझाकुरा अनलाइन डटकम, लुम्बिनी हव अनलाइन डटकम आदि गहनाका रूपमा यहाँका सञ्चार माध्यमहरू रहेका छन् ।
लुम्बिनी प्रदेशको प्रतिनिधित्व गर्ने नेपाल पत्रकार महासंघको अध्यक्षलगायत कपिलवस्तु जिल्लाका नेपाल पत्रकार महासंघका पदाधिकारी र विभिन्न सञ्चार माध्यममा आबद्ध भएका करिव चार दर्जन भन्दा बढी पत्रकार एवं सञ्चारकर्मी रहेका छन् । जसले गर्दा सुशासन मैत्री नगरपालिका बनाउन ठूलो योगदान पुग्ने अपेक्षा गर्न सकिने आधार देखिन्छ । यसैगरी होटल इभरग्रीन, होटल मायादेवी रिसोर्ट, होटल माछापुछ्रे, कार्की रिसोर्ट, राजापानी रिसोर्ट, थारू भिलेज, श्रीपेज होटल, पिस हिमालय होटल, नमस्ते कपिलवस्तु होटल, खाजाघरलगायतका तीन दर्जनभन्दा धेरै होटलहरू रहेका छन् ।
करिव ५०० जना बास बस्न सक्ने क्षमता रहेको आधुनिक किसिमका थुप्रै होटलहरू पर्यटन पूर्वाधार विकासका लागि कोशेढुङ्गा बनेका छन् । सबै वडाहरूमा सडक पहुँचले गर्दा आवतजावतमा यातायातको सहजता रहेको छ । विभिन्न प्रकारका उद्योगहरू, सपिङ्मल, कम्प्लेक्सलगायत धेरै सम्भावना रहेका व्यवसायहरूबाट बाणगङ्गाको आर्थिक सामाजिक रूपमान्तरणमा कोशेढुङ्गा हुनेमा विश्वास गर्न सकिन्छ ।
यसरी साविकको बाणगङ्गा, हथौसा, पटना, गजेहडा, कोपवा, मोतिपुर र भलवाड गाविस समायोजन गरेर बाणगङ्गा नगरपालिका बनेको धेरै भएको छैन विकासको फड्को मारिरहेको छ, जसका कारण आज बाणगङ्गामा के छैन ? थप विकासका लागि सवैले हातेमालो गर्न जरूरी छ । सबै क्षेत्र र सरोकारवाला मिलेर नमुना नगरपालिका बनाउन सवैको उत्तिकै दायित्व रहेकोछ । सकारात्मक एवं रचनात्मक सुझावका लागि अपेक्षाकृत रहेको छु । (लेखक ः नेपाल सरकारका उपसचिव एवं वाणगंगा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत हुनुहुन्छ ।)