सदाचारको पक्षमा सनातन संस्कृति !

मेचीकाली संवाददाता

२२ श्रावण २०७८, शुक्रबार
2328 shares

घनश्याम कोइराला
हामी समाजको हरेक क्षेत्रमा सुशासनको अपेक्षा र कामना गर्दछौँ । ‘सु’ भनेको राम्रो, ‘शासन’ भनेको व्यवस्था हो, शासन भनेको शिक्षा पनि हो । सुशासन भनेको राम्रो व्यवस्था वा सुव्यवस्था हो । यसलाई रामराज्य पनि भन्ने गरिन्छ । ‘राम’ भनेको रमाइलो, ‘राज्य’ भनेको शासन हो ।

शासन वा रामराज्यको परिभाषा यतिमै मात्र सीमित हुँदैन, यसका अनेकौँ आयाम र परिभाषा हुन सक्दछन् । तर, हामीहरू भ्रष्टाचार नभएको अवस्थालाई सुशासन भन्न सक्दछौँ अर्थात् भ्रष्टाचार रहित शासन व्यवस्था नै सुशासन हो । भ्रष्टाचर नभएको समाज नै सुशासन भएको समाज हो । सदाचारयुक्त शासन नै सुशासन हो । साँच्चैको सुशासन र सदाचार स्थापित गर्न नेतृत्वमा रहेकाहरू सदाचारयुक्त हुनुपर्दछ । अनेकौँ तर्क गरेर लोकापवादबाट बँच्ने प्रयास गनुभन्दा निजी जीवनलाई सद्—सम्यक् बनाउनु पर्दछ । लोकापवादबाट जोगिने विषय रामको राज्यमा थियो भन्ने कथन छ ।

‘पौरापवादः सुमहांस्तथा जनपदस्य च । वर्तते मयि बीभत्सा सा मे मर्माणि कृन्तति अर्थात् यस समय नगरवासी र जनपदका मानिसहरूका मनमा सीताको सम्बन्धमा ठूलो अपवाद फैलिएको छ । मेराप्रति पनि उनीहरूमा घृणाको भावना छ । तिनीहरूको घृणाले मेरो मर्मलाई क्षतविक्षत गरेको छ ।’ रामराज्यका केही विषय अहिले आलोच्य बनेका छन् । सीता परित्यागको विषय आलोचित देखिन्छ । (वाल्मीकि रामायण) यसरी लोकापवादबाट जोगिन राजा रामले आफ्नी प्रिय पत्नी पनि त्यागे । लोकनिन्दाबाट जोगिएको यो एउटा प्रसंग हो । त्यतिबेला यो उपयुक्त नै रहेको हुँदो हो । आपूm चोखो बन्न आफ्नी निरपराध सहधर्मिणीको परित्याग आजको समाजले जस्ताको तस्तै स्वीकार गर्न सक्दैन । नैतिकता, मूल्य–मान्यता समयसापेक्ष हुन्छ । तर, रामायणका मर्मज्ञहरू–ज्ञाताहरू यसलाई फरक ढंगले अथ्र्याउने गर्दछन् ।

जसरी सुशासनका अनेक आयाम छन्, त्यसरी नै भ्रष्टाचारका आयाम पनि धेरै नै छन् । सही र शुद्ध आचरण सदाचार भएजस्तै भ्रष्टाचार अर्थात् भ्रष्ट गर्नु नै भ्रष्टाचार हो । भ्रष्ट+आचार = भ्रष्टाचार । ‘भ्रष्ट’ भनेको बिग्रेको, ‘आचार’ भनेको आचरण वा व्यवहार । भ्रष्टाचार भनेको ओहोदामा बसेका मानिसले आर्थिक हिनामिना गर्ने या पैसा खाइदिने विषयलाई मात्र भ्रष्टाचार होइन र हुँदैन । सबै प्रकारका अनियमितता भ्रष्टाचार हो । तोकिएकोभन्दा बढी पैसा लिनु, कबोल गरे अनुसार काम नगर्नु, ढाँट्नु, छल्नु, तोकिएको काम तोकिएको नगर्नु, नियम, कानुन विपरित अरुलाई दुःख, शास्ती दिनु, सामाजिक मान–मर्यादा विपरीत आचरण गर्नु आदि भ्रष्टाचार हो । भ्रष्टाचार नयाँ विषय होइन, भ्रष्टाचारका तरिका, भ्रष्टाचारका परिभाषा, भ्रष्टाचारका क्षेत्र बढेको हो ।

अहिले कामका क्षेत्र बढेका छन् । त्यसैले भ्रष्टाचारका क्षेत्र पनि बढेका छन् । सूचना तथा सञ्चारको प्रभाव पनि विस्तार भएको छ । पहिले सितिमिति थाहा नै नपाइने भ्रष्टाचारका घटनाहरू अहिले छिटै थाहा पाइने गरेको छ । भ्रष्टाचार बढेको देखिनुमा भ्रष्टाचारका सन्दर्भमा सूचनाको पहुँच बढेको छ । मानिसहरू ‘ठूला—बडा’का कर्तूतका विरूद्धमा बोल्न सक्ने पनि भएका छन् । भ्रष्टाचारका परिभाषाको दायरा पनि फराकिलो भएको छ । अहिलेको सबैभन्दा ठूलो भ्रष्टाचार अपारदर्शिता हो । नीति, विधि, प्रक्रिया र अभ्यास (व्यवहार)लाई पारदर्शी बनाउनु नै भ्रष्टाचार उन्मूलनको उपाय हो तर यो उपाय अपनाउने उपाय के हो ? प्रश्नको फलामे खामो(खम्बा) बलियो गरी उभिएको छ ।

सदाचार बलियो हुँदा सुशासन स्वतः बढ्दछ र सुशासन बलियो हुँदा भ्रष्टाचार स्वतः घट्छ । सुशासन विषयका जानकारहरू यसका आधारहरूबारे सुझाउने गर्दछन् । सुशासन राज्यको माथिल्लो अंगको मात्र विषय होइन । यो विषय हरेक संगठित संस्थामा र सबै व्यक्तिव्यक्तिमा लागू हुने विषय हो । यो कसैलाई गालीगलोज गरेर, नाराजुलुस गरेर स्थापित हुने विषय होइन । जानकारहरूका अनुसार सुशासनका मूलतः छ वटा स्तम्भ वा खम्बा हुन्छन् । ती खम्बा हुन्—दूरदर्शिता, पारदर्शिता, सहभागिता, जवाफदेहिता, कार्यक्षमता र प्रतिबद्धता ।

दूरदर्शिता ः परसम्मको प्रभावबारे सोच्ने, पारदर्शिता ः नीति निर्माणदेखि कार्यान्वयन सम्मका विषय सबैले थाहा पाउने कुराको सुनिश्चितता गर्ने, सहभागिता ः सम्बन्धित—सरोकारवालालाई सफलताको जस र असफलताको अपजसमा समेत भागीदार हुने गरी निर्णय प्रक्रिया र कार्यान्वयनमा संलग्नताको सुनिश्चितता, जवाफदेहिता ः जिम्मेवारी पूरा गर्ने, क्षमता ः कार्यान्वयनका लागि आवश्यक ज्ञान, सीप योग्यता हुनुपर्ने प्रतिबद्धता ः गरिएका निर्णय र योजना कायान्वयनका लागि पूर्ण प्रतिबद्ध हुने । यसो भएको खण्डमा सुशासन कायम हुन्छ भन्ने मान्यता रहेको छ ।

यस्तो अवधारणा आउनुअघि हाम्रो देशमा जन्मेका महामानव गौतम बुद्धले अष्टाङ्ग वा अष्टाङ्गिक मार्ग प्रतिपादन र अभ्यास गरेर विरासतमा दिएर जानुभएको छ । अष्टाङ्गिक मार्गमा यी विषयहरू रहेका छन् ः १.सम्यक दृष्टि ः सही दृष्टि । सही दृष्टिको अर्थ जे छ, त्यसलाई त्यही बुझिने गरी देख्नु हो । २.सम्यक सङ्कल्प ः प्राप्तिप्रति दृढ सङ्कल्प हो । ३.सम्यक वाक् ः सही र उपयोगी बोली । ४.सम्यक् कर्मान्त ः सही परिणाम । ५.सम्यक् आजीविका ः अरुलाई दुःख नदिई आफ्नो जीविकाको सुनिश्चितता । ६.सम्यक् व्यायाम ः सही, उचित शारीरिक अभ्यास । ७.सम्यक् स्मृति ः एकाग्रताद्वारा प्राप्त हुने स्मरणशीलता । ८.सम्यक् समाधि ः माथि भनिएका सात विषयमा पूर्ण रूपमा अविचलित हुनु, सत्यका लागि समर्पित हुनु । यी आठ वटा बाटोको अवलम्बन–अनुसरण गर्दा सदाचार बढ्दछ र दुराचार या भ्रष्टाचार समाप्त हुन्छ । सत्(सद्) भनेको राम्रो, सम्यक् भनेको पनि राम्रो हो । गल्ती हुन सक्ने आठवटा विषयमा सकारात्मकता, सद्, सम्यक् स्थापित गरिदिएपछि कमजोरीहरू आफै कमजोर बन्दछन् र समाज सबल तथा सदाचारयुक्त बन्दछ । सदाचारको विषय सदाचारीहरूका लागि थप महत्वको र ग्रहणीय विषय हो ।

देश र दुनियाँमा यतिबेला भ्रष्टाचारका घटना र चर्चा निकै सुनिने गरेको छ । भाषण गर्दा सबैले भ्रष्टाचारकाविरूद्ध नै गर्ने गर्दछन् । व्यवहारमा के गर्छन् भन्न सकिँदन । अरुबाट सदाचारको अपेक्षा गर्नेहरू अवसर आउँदा बिटुलिने गरेको देखिएको छ । सदाचार भन्ने विषय वास्तवमा अरुलाई देखाउने क्षणिक अभिनयको विषय होइन, यसलाई त जीवनमार्ग बनाउने प्रयत्न गर्नु पर्दछ । सदाचारलाई कोरा भाषणको विषय होइन, यसलाई त संस्कृति बनाइनु पर्ने हो । तर, अहिले कानुनी तर्कका आडमा भ्रष्टाचार भइरहेको छ । तर्कले सत्य र सदाचारलाई ढाक्न प्रयत्न भइरहेको देखिन्छ । जबसम्म भ्रष्टाचार र सदाचारको विषय कानुनका पुस्तकको पाना हेरेर निधो गरिन्छ, वास्तविक अर्थमा सदाचार व्यवहारमा मौलाउन सक्दैन । कानुनले त भ्रष्टाचार गर्नेलाई कारवाही गराउन सक्दछ, मानिसका मनलाई सदाचारी बनाउन सक्दैन । डरत्रासले नगरिने भ्रष्टाचारले डराउन नपर्ने अवस्थामा पुगेपछि स्वतः टाउको उठाउँछ ।

कानुनबमोजिम, सामाजिक मूल्यमान्यता विपरीत नहुने गरी नाफा गर्ने या कमाउने विषय फरक हो, यस्तो गर्नु जायज हो । तर, अरुलाई दुःख दिएर, करकाप या परिबन्दमा पारेर आपूm लाभान्वित हुने कुरा सर्वथा भ्रष्टाचार हो । नाफाका विभिन्न वैध स्रोत हुन्छन् । तीमध्ये रकम ब्याजमा लगाउनु पनि एक हो । वर्तमानमा यस्तो काम बैंक, सहकारी संस्थाहरूबाट हुने गर्दछ । प्राचीन कालमा यस्तो लिने दिने विषयमा स्पष्ट व्यवस्था रहेको देखिन्छ । यसबारे मनुस्मृतिको यो श्लोक उल्लेखनीय देखिन्छ: ‘नातिसांवत्सरीं वृद्धिं न चादृष्टां पुनर्हरेत् । चक्रवृद्धिः कालवृद्धिः कारिता कायिका च या अर्थात् प्रत्येक महिना वा दोस्रो–तेस्रो महिनामा ब्याज लिने नियम बनाउनुपर्छ र वर्ष दिनभित्रै त्यस वर्षको ब्याज उठाउनुपर्छ । वर्ष बितेपछि बढाएर ब्याज लिनु हुँदैन । ब्याजमाथि ब्याज लगाएर चक्रवृद्धि ब्याज खानु हुँदैन, मिहिनेत मजदुरी गराएर कायिक (शारीरिक) ब्याज खानु हुँदैन र ब्याज असुल्नका लागि दुःख दिने काम गर्नु हुँदैन ।’ (मनुस्मृति)

यसरी ब्याजबाट तोकिएभन्दा बढी लाभ नलिने व्यवस्था रहेको देखिन्छ । भ्रष्टाचार नगर्न बनाइएका यस्ता नियमहरू अहिले पनि सान्दर्भिक देखिन्छन् । वेद हाम्रो संस्कृतिको आधार हो । हाम्रो संस्कृति भ्रष्टाचार विरोधी संस्कृति हो । यही संस्कृतिको बलमा हामी भ्रष्टाचारका विरूद्धमा बोल्न सक्ने भएका हौँ । यही शक्तिका कारण देशमा भ्रष्टाचार विरोधी नीति–विधिहरू निर्माण भएका हुन् । अरूका संस्कृतिमा यस्तो कुरा आउन थालेपछि यसले महत्व पायो र अन्तर्राष्ट्रिय स्तरमा यो दिवस मनाउन थालिएको हुनुपर्दछ । अहिले त भ्रष्टाचारविरुद्धको अन्तर्राष्ट्रिय दिवस नै मनाउने पनि गरिन्छ ।

सदाचार आफैमा धर्म हो । वेदोद्रखिलो धर्ममूलम् अर्थात् सबै धर्मको मूल वेद हो भनिएको छ । सबै धर्मको होला, नहोलासनातन धर्मको आधार वेद हो । वेदमा धर्म र सदाचारका पक्षमा र भ्रष्टाचारका विरुद्धमा लेखिएका अनेकौँ मन्त्र छन् । ‘प्र पतेतः पापि लक्ष्मि नश्येतः प्रामुतः पत । अयस्मयेनाङ्केन द्विषते त्वा सजामसि अर्थात्, हे अन्यायका धन तँ यहाँबाट टाढा जा । यहाँबाट भागेर हाम्रा शत्रुका नजिक गएर बस् । हामी फलामे लठ्ठीले तँलाई हाम्रा शत्रुतिर लखेट्छौँ ।’ (अथर्ववेद) यसरी आर्थिक भ्रष्टाचारका विरुद्ध हाम्रो संस्कृतिका आधार वेद स्पष्ट छ । लोकलाई यस्ता कुरा सम्झाइरहन वेदपाठ हुने गर्दथे । अहिले यस्ता विषय कर्मकाण्डमा मात्र सीमित हुन पुगेको अवस्था छ ।

‘या मा लक्ष्मीः पतयालूरजुष्टाभिचस्कन्द वन्दनेव वृक्षम् । अन्यत्रास्मत् वितस्तामितो धा हिरण्यहस्तो वसु नो रराणः अर्थात्, वन्दना नामका लहराले जसरी रुख सुकाउँछ, उसरी नै यो पापको धन माथि चढेपछि हामी पनि सुक्छौँ । हे सूर्य (ज्ञान) यस अलक्ष्मी (भ्रष्टारबाट आर्जित धन) लाई हामीदेखि टाढा राख र हामीलाई सुन (चोखो धन) देऊ ।’ (अथर्ववेद) । भ्रष्टाचारको विरूद्धमा हाम्रो संस्कृति सबैभन्दा जेठो छ । भ्रष्टाचारका विरूद्ध सांस्कृतिक पुनर्जागरण आवश्यक छ । भ्रष्टाचार विरुद्धमा देशको औपचारिक शिक्षाका पाठ्यक्रमहरूमा वेद, पुराण, बौद्धदर्शन र पछि विकास गरिएका विषयहरू समेत सुशासन प्रवद्र्धनका विषय अध्ययन, अध्यापन गर्न—गराउन आवश्यक छ । (लेखक संस्कृति अध्येता तथा अभियन्ता हुनुहुन्छ ।)