बुद्धको पञ्चशील: सभ्य समाज निर्माणको आधार

मेचीकाली संवाददाता

३१ श्रावण २०८२, शुक्रबार
8 shares

कमल सिलवाल

मानिस आज चन्द्रमामा बस्ती बसाल्ने सपना र योजना बुन्दैछ । यसैले पनि प्रमाणित गर्छ हामीले भौतिक विकासमा कति धेरै फड्को मारिसकेका छौँ । फराकिला सडक, सुविधासम्पन्न यातायतका स्रोत, भव्य महलहरु, प्रस्तत सुविधाका सधन । आहा ! यी सबै हेर्दा मानिस कत्ति खुसी र सुखी छ जस्तो लाग्छ नि । हो, भौतिक रुपमा हेर्ने हो भने आज मानिससँग ती सबै सुविधाहरु उपलब्ध छन् जुन एउटा जीवनलाई खुसीका साथ बाँच्नका लागि पर्याप्त हुन्छन् ।

तर गहिरिएर हेर्ने हो भने के मान्छे साँच्चै खुसी छ त ? के सभ्यताको मापन भौतिक विकास र वैज्ञानिक आविष्कारहरुले मात्र गर्ने हो त ? के प्राविधिक उन्नति र साधनको थुप्रो मात्र हाम्रो खोज हो र ? यदि हो भने किन आज विश्व नजानिँदो पाराले युद्धको चपेटा परिरहेको छ ? किन मान्छे–मान्छेबिचमा अविश्वासको खाल्डो फराकिलो हुँदैछ ? किन पारिवारिक, समाजिक कलहहरु बढ्दै गएको पाइन्छ ?

किनभने भौतिक सम्पन्ता जीवनलाई सहज बनाउने माध्यम मात्र हुन्, सभ्यताका परिचायक होइनन्, खुसीका स्रोत होइनन् । खुसी त चेतनाको कुरा हो, अनुभवको कुरा हो, भावनको कुरा हो । खुसीको अनुभव गर्न त सम्बन्धमा सुमधुरता, समाजमा सुरक्षा र एकआपसमा करुणाको वातावरण निर्माण हुनुपर्छ । यस्तो वातावरणको सिर्जना गर्न त मानवीय मूल्य, नैतिकता, सद्भवा र अहिंसा जस्ता गुणहरुलाई अक्षरशः पालन गर्नुपर्छ । ती गुणहरुको अभावमा सभ्य समजाको परिकल्पना कोरा कल्पनामा मात्र सिमित हुन्छ । तिनै गुणहरुलाई अभ्यासरत भिक्षुदेखि गृहस्थ जीवन बाँच्ने सबैको लागि अभ्यासमा ल्याउन सकिने आचारसंहिता आजभन्दा लगभग २६०० वर्ष अघि भवान बुद्धले हामीलाई दिनुभएको थियो । ती बुद्ध शिक्षालाई पञ्चशील भनेर चिनिन्छ ।
भगवान् बुद्धको पञ्चशील सर्वकालिक र सर्वभौम छ । सभ्य समाज निर्माणको आधारशिलाको रुपमा रहेको पञ्चशीलको पालनले व्यक्ति, परिवार, समाज, देश र सिङ्गो विश्वलाई नै करुणामय, शान्त र दीर्घकालीन स्थिरतातिर डोहो¥याउँछ ।

बुद्धका कुनै पनि शिक्षाहरु विशेष जाति, वर्ग वा भूगोलमा सीमित छैनन् । मानव मात्र होइन, तमाम प्राणी मात्रको कल्याणका लागि बुद्धले बुद्धत्व प्राप्त गर्नु भएको थियो । मानवका लागि त पञ्चशीलका रुपमा यस्तो अमूल्य निधि दिनुभयो जसलाई सभ्य समाज निर्माणको आधारका रुपमा जस्ताको त्यस्तै पालना गर्न सकिन्छ र सकिएको अवस्थामा मात्र वस्तविक मानवीय मूल्य निर्वाह गरेको हुनेछ ।

के हो पञ्चशील ?
पञ्चशील भन्नाले शाब्दिक रुपमा पाँचवटा शील वा नियम भन्ने बुझिन्छ । नियम भन्नेबित्तिकै धार्मिक अनुशासन जस्तो लाग्न सक्छ तर यी नियम वा शील त यस्ता सार्वभौम नियम हुन् जसलाई हरेकले हरेक अवस्थामा पालना गर्न सकिने र गर्नु पर्ने नैतिक सिद्धान्तहरु हुन् । पञ्चशील धार्मिक निर्देशन होइन यो त मानविय मूल्य र मान्यता स्थापित गराउने निर्विकल्प सुत्र हो । पञ्चशीलको वर्णन अंगुत्तर निकायको अट्ठकादिनिपातमा रहेको दुच्चरितविपाक सुत्तमा पाइन्छ । पञ्चशीलको उद्देश्य भनेको अकुशल कर्म छोडी कुशल कर्महरुका साथ सुखपूर्वक बाँच्न सिकाउनु नै हो । यी शीलको पालना बुद्ध धर्मको प्रवेश द्वार पनि हो ।

कसरी पञ्चशील पालनाले सभ्य समाज बन्छ ?
यो प्रश्नको उत्तरको लागि पञ्चशीलाई विश्लेषित रुपमा हेर्नु आवश्यक छ । पञ्चशीलमा भएका पाँचवटै शीलहरुको विश्लेषणले स्वय जवफ प्रदान गर्नेछ ।

१.पाणातिपाता वेरमणी सिक्खापदं समादियामि
यसको अर्थ हो, ‘म प्राणी हिंसा नगर्ने शिक्षालाई ग्रहण गर्दछु ।’ यहाँ प्राणी भन्नाले किटपतङ्गदेखि मानिससम्म सबैलाई प्राणी कै रुपमा चिनिनुपर्छ । आजको हाम्रो समाजलाई नियाल्ने हो भने हत्या हिंसाका घटना र तिनका समाचारहरु सामान्य लाग्न थालेकाछन् । मानिसमा हिंसाको भावना यसरी जागेको छ कि मानौ ऊ जन्मेको नै हिंसात्मक क्रियाकलाप गर्नका लागि हो । भाइभाइका बिचमा मारामार, छिमेकी छिमेकीका बिचमा कुटाकुट । गुनासो मुक्त हुनु पर्ने मान्छे गुनासो युक्त जीवन बाँच्दैछ ।

कहीँकतै सुरक्षित महशुस गर्ने अवस्था देखिँदैन । एउटा व्यक्ति अर्कोलाई, एउटा समाज अर्कोलाई अनि एउट देश अर्कोलाई आक्रमण गर्न उद्धत छ । सहअस्तित्वको प्राकृतिक चेत शून्य प्रायः बनेको यो अवस्थामा जीवन प्रतिको अधिकारलाई स्थापित गराउन यो शीलको पालना अनिवार्य छ । यो शीलको पालनाले मानिसमा दया र करुणाको भवान जागृत गराउँन मद्दत पु¥याउँछ । इशापूर्वको तेस्रो शताब्दितिरका सम्राट अशोकले कलिङ्ग युद्ध पछि हिंसाको भयावह रुप देखेर युद्ध त्यागी बुद्ध धर्म अपनाएर पञ्चशील पालना गर्दै शान्तिपूर्वक विशाल साम्राज्य सफलताका साथ सञ्चालन गरेको इतिहास छँदैछ ।

२.अदिन्नादाना वेरमणी सिक्खापदं समादियामि
यसको अर्थ हो,‘म चोरी नगर्ने शिक्षालाई ग्रहण गर्दछु ।’ जुन आफ्नो अधिरकारमा छैन वा आफ्नो होइन त्यसलाई आफ्नो भन्नु या अनुमतिबिना लिनु, लिएर फिर्ता नगर्नु, झुक्याएर लिनु यी सबै चोरीअन्तर्गत नै पर्दछन् । सामाजिक, आर्थिक बेइमानी अहिलेको मानिसका दैनिकी हुन् । सबैजना प्रायः कुनै न कुनै रुपले वेइमानीको शिकार भएका छन् । बेइमानीको कारण श्रमप्रतिको सम्मान खस्केको मात्र होइन दृष्टकोण नै परिवर्तन हुनपुगेको छ । यो शीलको अभ्यासले इष्र्या र जलन घटाउने मात्र नभई सम्पत्ति सुरक्षाको प्रत्याभुति पनि गराउँछ । यो शीलको पालनाले भ्रष्टाचारदेखि लिएर सबै खाले आर्थिक बेइमानीलाई समाप्त पार्दछ ।

३.कामेसु मिच्छाचारा वेरमणी सिक्खापदं समादियामि
यसको अर्थ हो,‘म व्यभिचार नगर्ने शिक्षालाई ग्रहण गर्दछु ।’ सम्बन्धको मिठासमा जब अभाव हुन्छ, अविश्वासको स्पर्ष हुन्छ अनि स्वतन्त्रताको नाममा स्वेच्छाचारिताले पराकाष्ठा नाग्छ, अनि समाज हेर्दै घिनलाग्दो हुन्छ । विपरीत लिङ्गप्रति सम्मानजनक दृष्टिकोणमा कमी हुनु, स्वनियन्त्रणबाट स्खलित हुनु यौन व्यभिचारका कारणहरु हुन् । यौन हिंसा दिनदिनै बढ्दै गएको अहिलेको परिप्रेक्षमा किताबी ज्ञानभन्दा पनि व्यवहारिक दृष्टिकोण प्रदान गर्नु आवश्यक छ । घरदेखि नै विपरीत लिङ्गप्रतिको सकारात्मक मानसिकतासहितका बलालबिलका निर्माण गर्ने हो भने मात्र भोलिको सभ्य र सुरक्षित समाजको परिकल्पना गर्न सकिन्छ ।

४.मुसावादा वेरमणी सिक्खापदं समादियामि
यसको अर्थ हो,‘म असत्य नबोल्ने शिक्षालाई ग्रहण गर्दछु ।’ सम्बन्धमा चीरा पर्नुको प्रमुख कारण भने कै विश्वासको कमी हो । चाहे त्यो पारिवारिक सम्बन्ध होस् या सामाजिक सम्बन्ध । विश्वास तब भत्कन्छ जब बोलिएका कुराहरुमा सत्यता हुँदैन । असत्यले असत्यकै जन्म गराउँछ । झुटा वाचाहरुले समाजमा धेरै व्यक्तिहरुको हैसियत खस्केको हामीले देखेकै छौँ । असत्य बोलिकै कारण धेरै सम्बन्धहरु टुक्रिएका उदाहरणहरु हाम्रै वरपर प्रशस्त छन् । झन अहिलको प्रविधिको समयमा त झुटा कुरा, झुटा समाचारहरुको बाढी नै आउँछ । त्यस्ता कुराहरुले मानवताको आधार ‘विश्वास’ नै चकनाचुर भएको छ ।

५.सुरा–मेयर–मज्जा पमादट्ठाना वेरमणी सिक्खापदं समादियामि
यसको अर्थ हो,‘म मद्यपान तथा अन्य मादक पदार्थ सेवन नगर्ने शिक्षालाई ग्रहण गर्दछु ।’ मादक पदार्थ भन्नाले त्यस्तो वस्तु जसको सेवनले शारीरिक नियन्त्रण बिग्रन्छ र मानसिक उत्तेजना वद्धि हुन्छ । घरेलु हिंसाको पहिलो कारणका रुपमा मदक पदार्थको सेवनलाई लिन सकिन्छ । नशालु पदार्थको बिगबिग नियन्त्रण बाहिर रहेको यो अवस्थामा पुनस्र्थापना केन्द्रहरु धमाधम खोलिन थालेका छन् । हरेक उमेरका मानिसहरु कुलतमा फसेर जीवन नै बर्बाद पारेका घटनाहरु प्रशस्तै भेटिन्छन् । यो शीलको पालनाले दुव्र्यसनीको यो दलदलबाट समाजलाई पार लगाउन सहज हुन्छ ।

यसरी हेर्दा आजको विश्वले भौतिक उन्नयनमा अग्रगति हासिल गरे तापनि नैतिक र मूल्यका पक्षमा प्राकृतिक चेत चैँ नष्ट गर्दै गएको छ । आफूलाई सर्वश्रेष्ठ प्राणी भन्न रुचाउने मान्छे सम्बन्ध निर्वाह र व्यवहार कुशलताका पक्षमा खस्कँदै गएको देखिन्छ । पञ्चशीलाई अध्ययन गर्दा के भेटिन्छ भने यी शीललाई हरेक जीवनमा लागू गर्न सके स्वयम्का र समाजका विविध विषयहरुलाई व्यवस्थित रुपमा व्यवस्थापन गर्न सकिन्छ ।

क) प्राकतिक रुपमा स्थापित सहअस्तित्वकोको भावलाई व्यवहारमा अभ्यास गर्न सकिन्छ । ख) आर्थिक पारदर्शिता कायम गर्न सहज हुन्छ । ग) सामाजिक सद्भाव कायम गर्न मद्दत पुग्छ । घ) शान्ति र भाइचारा युक्त समाज निर्माण गर्न सकिन्छ । ङ) घरेलु तथा सामाजिक हिंसा मुक्त समाजको स्थापना गर्न सकिन्छ ।

र अन्त्यमाः बुद्धका शिक्षाहरु सीमित समुदाय र धार्मिक परिधिबाट उठेर तमात मानव जाति कै आदर्श र व्यवहारिक शिक्षाका रुपमा रहेको पाइन्छ । बुद्ध शिक्षाको प्रवेश विन्दुका रुपमा रहेको पञ्चशीलको शिक्षाको प्रयोग र आत्मस्वीकृतिले हामी आर्थिक र सामाजिक रुपमा सम्पन्न समाजको स्थापना गर्दै सभ्य समाजको परिकल्पना गर्न सक्छौँ । भवतु सब्ब मंगलम् । (लेखक लुम्बिनी बौद्ध विश्वविद्यालय स्नातकोत्तर तह प्रायोगिक बौद्ध अध्ययनतर्फका प्रथम वर्षमा अध्ययनरत विद्यार्थी हुन् ।)