प्राकृतिक सम्पदाको संरक्षण र सदुपयोग

मेचीकाली संवाददाता

२४ श्रावण २०७८, आईतवार
2770 shares

यमलाल खरेल
पानीका प्राकृतिक स्रोतहरु सुक्ने, मासिने, नाशिने र भाँसिने समस्याले जनजीवन कष्टकर बन्दै गएको अवस्था छ । तराईमा जमिनमुनिका पानीका सतह अझ भाँसिने अर्थात् पत्तालिने र पहाडमा पानीका मुलहरु सुकेर हराउने समस्या बढ्दो छ । पहाडमा घण्टौं हिँडेर पानी बोक्नुपर्ने, एक सय रुपैयाँमा एक गाग्री पानी किन्नुपर्ने र पानीको अभावकै कारणले बस्ती नै छाड्नुपर्ने जस्ता विडम्बनाहरु जलवायु परिवर्तनले निम्त्याएका असरहरु हुन् ।

अहिले गाउँपालिका हुँदै प्रदेश सरकारसमक्ष सिंचाइ र खानेपानीका लागि प्रभावकारी कार्यक्रम ल्याउन बजेट माग गरिएको स्थानीय युवा बिरबल पुरीले बताए । उनले गाउँलेमा अहिले पानीका प्राकृतिक स्रोतहरु संरक्षण गर्नुपर्छ भन्ने भावना जागेको पनि बताए । पानीका प्राकृतिक स्रोतहरु मासिँदै र नासिदै गएकाले यस्तो विषयमा बेलैमा हेक्का राख्न जरुरी छ । प्राय गाउँहरुमा पानीको चरम समस्या छ । यस्तो समस्याले धेरै गाउँमा बस्तीहरु जोखिममा परेका छन् । बस्ती नै छाडेर हिंड्नु परेका दुखदायी पीडाका घटनाहरु छन् । यस्ता व्यथा र समस्या प्रायः गाउँमा छन् । माथि बस्ती हुने र पानीको मूल तलतिर हुने । यसो हुँदा तलको पानी माथि तान्न नसकिने । कैयन् गाउँमा खानेपानीको जोहो गर्दा गर्दै पुस्ता नै बित्ने गरेको अवस्था छ ।

प्रदेश सरकारले एक गाउँ एक पोखरी र सामुदायिक वनहरुमा पोखरी निर्माणको कार्यक्रम ल्याएको यस्तै समस्या समस्या समाधानका लागि हो । मुख्यमन्त्री शंकर पोखरेलको जोड नै पानीका प्राकृतिक स्रोतको संरक्षण र संरक्षणको काममा समुदायको सहभागितामा रहेको छ । बुटवल उपमहानगरपालिकाले पनि एक वडा एक पोखरी, एक सामुदायिक वन एक पोखरीको कार्यक्रमलाई प्राथिमकता दिंदै बजेटमा समावेश गरेको प्रमुख शिवराज सुवेदीको भनाइ छ ।

जनसहभागितामा जनचासो
प्राकृतिक स्रोत सम्पदाहरु नै पृथ्वीदेखि ब्रह्माण्डसम्मलाई अनिवार्य छ । प्रकृतिमा आउने सानो गडबडीले पृथ्वीदेखि आकाशसम्म खलबल पुग्दछ र प्रभाव देखिन थाल्दछ । त्यसैले प्राकृतिक संरक्षण अपरिहार्य छ र प्राकृतिक स्रोत साधनको सदुपयोगमा गम्भीर ध्यान दिनुपर्छ । प्राकृतिक साधन स्रोतहरुको उचित संरक्षण गर्दा नै समृद्धिको बलियो आधार बन्ने निश्चित छ ।

अहिले जसरी विश्वव्यापी रुपमा तापक्रम बढिरहेको छ र जलवायुमा परिवर्तनका असरहरु छिटो छिटो देखिन थालेका छन् । नेपाल जस्तो प्रकृतिक सम्पदा र साधान स्रोतले भरिपूर्ण मुलुकमा पनि जलवायु परिवर्तनका गम्भीर असरहरु देखिन थालेका छन् । विडम्बनापूर्ण यस्ता असरहरु वर्षेनी बढिरहेपनि त्यसबाट सजग हुनेतर्फ गम्भीर ध्यान दिइएको छैन । मुलुकको समृद्धि र सुखद् भविष्यका लागि प्राकृतिक सम्पदाको संरक्षण गर्दै सही सदुपयोग गर्नेतर्फ ध्यान दिन जरुरी छ । आथिर्क–सामाजिक विकासका लागि हाम्रा प्राकृतिक स्रोत साधानको उचित र वैज्ञानिक उपयोगको खाँचो छ । जलवायु परिवर्तनका प्रभाव कम गर्ने उपायहरुको अवलम्बन गर्दै योजनाबद्ध कामको थालनी गर्नुपर्ने छ ।

प्रकृति र प्रकृतिभित्रका सम्पदा, वातावरणीय सन्तुलन र जीवहरुको सनातन जीवनयापन दृष्टिले महत्वपूर्ण मानिन्छ । फरक वातावरण, फरक शैली र फरक अवस्थामा अस्तित्वमा आएका प्राकृतिक प्राणहीन वस्तु तथा सुक्ष्म जिवाणुु, वनस्पति र प्राणीको अन्तरसम्बन्धले नै प्राकृतिक सन्तुलन कायम राखेको हुन्छ । प्रकृति भनेको जल, जमिन, जङल र जैविक विविधता हो । भू–धरातलीय बनोट तथा छोटो दूरीमै पाइने विविध भौगोलिक संरचना, भीर, पहरा, गल्छी, उपत्यका र यसले पारेको हावापानीमा प्रभाव र यस परिस्थितिको उपजमा अस्तित्वमा आएका वनस्पति तथा जनावरको विविधता हाम्रा अमूल्य निधि हुन् ।

नेपालमा एक सय १८ किसिमका वन पर्यावरणीय प्रणाली छन् भने दुई सय ७ प्रजातिका स्तनधारी, आठ सय ७१ प्रजातिका चर, ४३ प्रजातिका उभयचर, एक सय प्रजातिका सरिसृप र एक सय ८५ प्रजातिका माछा पाइन्छन् । यसका साथै छ सय ५३ थरिका पुतली, तीन हजार नौ सय ६६ भन्दा बढी मोथ (रातिमा उड्ने पुतली), पाँच हजारभन्दा बढी किरा, दुई सय प्रजातिका माकुरा र छ हजारभन्दा बढी पूmल फुल्ने वनस्पति, चार सय ७१ प्रजातिका झ्याउ, एक हजार आठ सय २२ प्रजातिका ढुसी र तीन सय ८३ प्रजातिका उन्यूहरु पाइन्छन् ।

नेपालमा पाँच सयभन्दा बढी प्रजातिका अन्नवाली खानयोग्य छन् भने दुई सय प्रजातिको त खेती नै गरिन्छ । यद्यपि हाम्रा धेरैजसो मौलिक बिउहरु लोप भइसकेका छन् । बढ्दो जनसंख्या, गरिबी, अशिक्षा र संरक्षण चेतनाको कमी, रासायनिक किटनाशक औषधी तथा मलको बढ्दो खपत, फोहरमैला र विषादीयुक्त पदार्थहरु जथाभावी फाल्नु, वनसम्पदाको अत्यधिक उपयोग, अवैधानिक चोरीशिकार, जैविक सम्पदाको व्यापार र बदलिदो तापमानसँगै प्राकृतिक स्रोत र साधनको जथाभावी प्रयोग र ह्रास भइरहेको छ । सहरीकरण, ओद्योगिकीकरण, अम्लीय वर्षा र जलवायु परिवर्तन जस्ता विश्वव्यापी वातावरणीय चुनौतीले मात्र होइन, प्राकृतिक सम्पदाको अनुचित दोहन र अतिक्रमणमा मानिसहरु नै संलग्न हुनुले चुनौती बढाएको छ ।

आइ.यू.सी.एन.को सङ्कटापन्न प्रजातिको सूचीमा नेपालका ३२ प्रजातिका स्तनधारी, ३४ प्रजातिका चरा, नौ प्रजातिका सरिसृप, तीन प्रजातिका उभयचर र सात प्रजातिका वनस्पति परेका छन् । हाम्रा प्राकृतिक सम्पदाहरु हराउने क्रममा रहेको यस्ले संकेत गर्दछ । प्राकृतिक स्रोतको दिगो उपयोग र लाभको बाँडफाँड, आनुवंशिक स्रोतमा जनताको पहुँच र संरक्षण सचेतना जगाउन आवश्यक छ । प्रत्येक नेपालीको आथिर्क सम्पनता र सवलतासँग गाँसिएको विषय हो । अब प्रकृति र प्राकृतिक स्रोत तथा संशाधनको संरक्षण, विकास र सदुपयोगमा जनसहभागिता र जनचासो अपरिहार्य छ । साथै दीर्घकालीन संरक्षणका लागि तीनै तहका सरकार, स्थानीय समुदाय, परम्परागत जाति, संरक्षण समूह, सरकारी, गैरसरकारी र निजी क्षेत्रको समन्वयात्मक क्रियाशीलताको आवश्यकता छ । जलवायु परिवर्तनको नकारात्मक प्रभावले प्राकृतिक सम्पदा नष्ट हुनु अगावै यिनको संरक्षणमा ध्यान दिनु आवश्यक छ ।

बुटवल र पर्यापर्यटन
बुटवल मानव विकास क्रमका हिसाबले पनि ऐतिहासिक सहर मानिन्छ । रामापिथेकशको अवशेष फेला परेको, बुद्धले खेल्ने गरेको, प्राचीन रेशम मार्ग र सैनामैनासहितको बुद्धबलीको सभ्यता भएको यो ठाउँको ऐतिहासिक र पुरातात्विक महत्व छ । बुटवलमा पर्यापर्यटनको प्रशस्त सम्भावना रहेको छ । वातावरणीय लाभका अवसरहरुसमेत यहाँ विद्यमान रहेका छन् ।

बुटवलमा रहेको चुरे पहाड, वनजंगल र नदीहरु ठूला प्रमुख प्राकृतिक सम्पदाहरु हुन् । यहाँको अर्को ड्रिम प्रोजेक्ट तिनाउ–कालीगण्डकी डाइभर्सन हो । विडम्बना यसका विरुद्धमा कतिपयले कुरै नबुझी विरोध गरेको पनि सुनिएको छ । यो आयोजना सम्पन्न भएमा दाउन्नेदेखि धानखोलासम्मका तीनै जिल्लाका लागि वरदान सावित हुने छ । यहाँको सकारात्मक फाइदा अरु क्षेत्रसम्म पुग्ने छ । तिनाउ र दानो नदीमा पानीको वहाव बढ्ने र जलाशय बनाएर रुपन्देही जिल्लामा सिँचाइको व्यवस्था हुनेछ नै बुटवलमा जलपर्यटनका अवसरहरु प्राप्त हुनेछन् । साथै खानेपानीको समस्यासमेत अन्त्य हुनेछ ।

अहिले पिस पार्क, हिलपार्क, मिलनपार्क, कपरकट्टी बैठौलिया ताल, नरेश्वर धाम, मणिमुकुन्द पार्क पर्यावरणीय दृश्यावलोकनका स्थलका रुपमा विकास भइरहेका छन् । हिलपार्कमा बिगबुद्ध पार्क बन्दैछ । जितगढीको गुरुयोजना बनाएर काम भइरहेको छ । रामपिथेकशको अवशेष फेला परेको क्षेत्रलाई समेटेर हरियाली पैदलमार्ग सहितको विशेष पार्क बनाउन लागेको छ । रामापिथेकश पार्कबाट सहस्रधारा हुँदै पारी बुटवलमा फुलबारीसम्मै जोड्ने तयारी बुटवलले गरेको छ । निजी क्षेत्रले बुटवलको वारि र पारि दुईतिरबाट नुवाकोट र बसन्तपुर जानेगरी केबलकार निर्माणको काम सुरु गरेका छन् ।

बुटवललाई अंगालो मारेर बसेको सम्पूर्ण चुरे क्षेत्र नै राम्रो पर्यटकीय सम्भावनाको क्षेत्र हो । बुटवलको सम्पूर्ण चुरे क्षेत्र पर्यावरणीय अध्ययन र पदयात्राको लागि राम्रो सम्भावना भएको मानिन्छ । यहाँको वन क्षेत्रलाई जैविक पार्कको रुपमा विकसित गर्ने र चुरेमा पर्यटकीय पूर्वाधारहरु निर्माण गर्ने हो भने पर्यापर्यटनमा पर्यटकलाई आकर्षित गर्न सकिन्छ । उपमहानगरपालिकाको दीर्घकालीन योजनामा यसलाई समेटिएको छ । जुन सकारात्मक कामको थालनी हो ।

पहाडी भेगहरुमा हिल स्टेशनको विकास गर्ने र त्यहाँ पर्यटकहरु आकर्षित गरेर आम्दानी बढाउन सकिन्छ । यसरी आम्दानी बढ्दा समृद्धिको अभियानमा सहयोग पनि पुग्छ । तसर्थ खाली रहेका र उजाड बनेका डाँडा पाखाहरुलाई हरियाली बनाऔं र होम स्टे जस्ता कार्यक्रमहरुले पर्यटक तानौं । यस्का असंख्य सम्भावनाहरु रहेका छन् । समृद्धिका लागि प्राकृत्तिक स्रोतको संरक्षण र सदुपयोग गरौं ।