पुरानै भाउमा उखु बेच्न बाध्य छन् नवलपरासीका किसान

मेचीकाली संवाददाता

२४ मंसिर २०७९, शनिबार
270 shares

हरि शर्मा
परासी । सरकारले यसवर्षको समर्थन मूल्य नतोक्दा नवलपरासीका किसानले चिनी उद्योगहरुलाई पुरानै भाउमा उखु बेच्न बाध्य भएका छन् । जिल्लामा लुम्बिनी, बाग्मती र इन्दिरा चिनी उद्योग सञ्चालनमा छन् । लुम्बिनीबाहेक दुई उद्योगले मंसिरको पहिलो सातादेखि किसानसँग उखु खरिद गरेर क्रसिङ्ग सुरु गरिसकेका छन् । सरकारले यसवर्षको समर्थन मूल्य नतोकेका कारण पुरानै समर्थन मूल्यमा उखु खरिद गरेर उद्योग चलाएको बाग्मती चिनी उद्योगका प्रबन्धक टंक काफ्लेले बताए ।

गतवर्ष सरकारले अनुदानबाहेक प्रति क्विण्टल ५२० रुपैयाँ समर्थन मूल्य तोकेको थियो । किसानलाई प्रति क्विण्टल ७० रुपैयाँ अनुदान दिने गरिएको छ । ‘पुरानै रकममा किसानसँग उखु खरिद गरेर लिएका छौं । भुक्तानी अनलाईबाट गर्ने गरेका छौं ।’ काफ्लेले भने । हरेक वर्ष भुक्तानीका लागि किसानहरुले आन्दोलन गर्दै आएका छन् । लामो समयदेखिको रकमसमेत भुक्तानी नगरेपछि जिल्ला प्रशासनले केही उद्योग सञ्चालकलाई ठगी मुद्दा चलाएर किसानको रकम तिराएको थियो । उद्योगहरुले धेरैजसो रकम भुक्तानी गरेका छन् । केही उद्योगको मात्र थोरै रकम भुक्तानी गर्न बाँकी रहेको बताइएको छ ।

इन्दिरा चिनी उद्योगका सञ्चालक राकेश अग्रवालले ३० देखि ३५ लाख रुपैयाँ मात्र किसानलाई भुक्तानी गर्न बाँकी रहेको बताए । ‘बाँकी रकम पनि भुक्तानी गर्दैछौं । केही किसानको पुर्जी हराएकाले त्यसको विवरण संकलन गर्दा समय लागेको हो ।’ उनले भने । जिल्ला प्रशासन कार्यालयका अनुसार बाग्मतीको भुक्तानी बाँकी छैन । सुनवलको चार लाख २० हजार भुक्तानी बाँकी रहेको छ । अघिल्ला वर्षहरुमा भुक्तानीको पिरलोले उखु लगाउन छाडेका किसानहरुले भुक्तानी पाएपछि भने उखु खेतीलाई बढाएका छन् । गतवर्ष १० देखि १२ लाख क्विण्टल उत्पादन भएको थियो । यसवर्ष भने १२ देखि १५ लाख क्विण्टल उखु उत्पादन भएको उखु उत्पादक कृषक समितिले जनाएको छ । यो उत्पादनले भने जिल्लाका उद्योगहरुलाई थेग्न सक्दैन । उद्योग क्षमताअनुसार चल्नका लागि बढी उखु आवश्यक छ । जिल्लाका तीन चिनी उद्योगले यसवर्ष कूल २४ लाख क्विण्टल उखु क्रसिङ गर्ने लक्ष्य राखेका छन् । मागअनुसार आपूर्ति भने आधा मात्र छ । त्यसमा पनि करिब ५ देखि ६ लाख क्विण्टल उखु किसानहरुले क्रसर उद्योगमा बिक्री गर्ने अनुमान छ । तथ्यांकअनुसार उद्योगले राखेको लक्ष्यलाई मात्र पूरा गर्न करिब १२ लाख क्विण्टल उखु अझै अपुग देखिन्छ ।

दैनिक १६ हजार क्रसिङ क्षमता रहेको बाग्मतीले अहिले १२ हजार क्विण्टल प्रतिदिन क्रसिङ गर्दै आएको छ । उक्त उद्योगले यसवर्ष न्यूनतम १० लाख क्विटल उखु क्रसिङ गर्ने लक्ष्य राखेको छ । प्रयाप्त उखु नभएकाले लक्ष्यअनुसार उखु क्रसिङ गर्न नसकिने बाग्मती चिनी उद्योगका प्रबन्धक काफ्लेले बताए । दैनिक सात हजार क्रसिङ क्षमता रहेको इन्दिरा उद्योगले अहिले छ हजार क्विण्टल क्रसिङ गर्दै आएको छ । यसवर्ष आठ लाख क्रसिङ गर्ने लक्ष्य राखेपनि उखु अभावले गर्न नसकिने सञ्चालक अग्रवालको भनाई छ ।

लुम्बिनी चिनी उद्योगले यसवर्ष ६ लाख क्विण्टल उखु क्रसिङ गर्ने लक्ष्य राखेको छ । दैनिक १० हजार क्विण्टल उखु क्रसिङ गर्ने क्षमता रहेको उद्योगले अहिले करिब नौ लाख क्विण्टल क्रसिङ गर्न सक्ने जनाएको छ । तीन वर्षदेखि बन्द रहेको लुम्बिनी चिनी उद्योग गतवर्षबाट सञ्चालनमा आएको हो । अहिले भने केही काम बाँकी रहेकाले मंसिरको अन्तिम साताबाट क्रसिङ सुरु गर्ने उद्योगका प्रशासन प्रमुख कुशप्रसाद सुवेदीले बताए । किसानहरुसँग सरकारले गतवर्ष तोकेको समर्थन मूल्यमा उखु खरिद गर्ने र सरकारले बढाएपछि पुनः किसानलाई वृद्धि रकम दिइने सुवेदीले बताए ।

जिल्लामा १२ हजारबढी उखु किसान छन् । २०५८ सालमा नवलपरासीमा २५ लाख क्विटल उत्पादन भएको थियो । २०७५ सम्म आइपुग्दा १५ लाख क्विण्टलमा सिमित हुन पुगेको जिल्लाको उखु उत्पादनको अवस्था भने २०७९ सम्म आइपुग्दा १२ देखि १५ लाख क्विण्टलमा झरेको छ । मूल्यतर्फ हेर्ने हो भने २०५८ सालमा १४१ रुपैयाँ रहेकोमा अहिले अनुदानसहित ५९० रुपैयाँ प्रति क्विण्टल पुगेको छ ।