७७ वर्षमा चम्किएको मंगलको भाग्य !

‘लोकतन्त्र, विधिको शासन, न्याय र ‘गूड ‘गर्भरमेन्ट’ को लागि संसद्मा दृढताका साथ भूमिका खेल्नेछु ।’

मेचीकाली संवाददाता

२५ मंसिर २०७९, आईतवार
238 shares

प्रकाश आचार्य
बुटवल । क्रान्ति, आन्दोलन र सत्याग्रहमा होमिएको ५ दशकपछि आएर मंगलप्रसाद गुप्ताले चुनाव जितेका छन् । आफ्नो सम्पूर्ण ऊर्जावान जीवन राजनीतिमा व्यतित गरेका कपिलवस्तुका पुराना नेता गुप्ताले चुनाव लडेको ९ औं पटकमा ४० वर्षपछि आमनिर्वाचन २०७९ मा जीत निकालेर इतिहास रचे ।

२०३९ सालमा पहिलोचोटि चुनावी मैदानमा उत्रिएका गुप्ताले विजयको गरुङ्गो माला पहिरिन ४ दशक कुर्नुप¥यो । गुप्ता आफ्ना निरन्तरका परिचित प्रतिस्पर्धी कांग्रेसका अभिषेकप्रताप साहको विरासत ढालेर कपिलवस्तु–३ मा नेकपा एमालेबाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित भए । गुप्ताले २० हजार ८५२ मत ल्याउँदा उनका प्रतिस्पर्धी साहले १७ हजार ७८८ मत ल्याए । गुप्ता र साहबीचको मतान्तर ३ हजार ६५ छ । ‘मंगल चाचा’को उपनामबाट समेत परिचित गुप्तामा अहिले जीतको खुशीको सीमा छैन । यो बीचमा उनले विभिन्न राजनीतिक दल चहारे पनि अन्तिममा लोकप्रियताका आधार (समानुपातिक) मा पहिलो दल एमालेले आफूलाई जीत दिलाएको गुप्ताको ठम्याइ छ ।

कपिलवस्तु नगरपालिका–२ बहादुरगञ्जका ७७ वर्षीया गुप्ता २०३९ सालमा तत्कालीन जिल्ला पञ्चायत सभापतिबाट चुनावी मैदानमा उत्रिएका थिए । निरन्तर ३ पटक चुनाव जितेर ‘ह्याट्रिक’ गरेका कांग्रेसका नेता अभिषेकप्रताप साहलाई ‘ब्रेक’ लगाउँदै उनले बुढेसकालमा संसद् यात्रा तय गरेका छन् । उनी पराजयबाट कहिल्यै पनि विचलित भएनन् । हरेक चुनाव निरन्तर लडिरहे । जीवनको उत्तराद्र्धमा आएर चुनावी नतिजालाई बल्ल आफू अनूकूल बनाए । ‘राजनीतिमा थकान शब्दावली हुँदैन भन्ने जननेता मदन भण्डारीको भनाइबाट म प्रभावित थिएँ, त्यसैले मैले कहिल्यै चुनावबाट हिम्मत हारिनँ,’ गुप्ता भन्छन्, ‘जीवनमा लामो संघर्षपछि बल्ल संसदीय यात्रा तय गर्न सफल भएँ । अहिले मेरो दिल प्रशसन्न छ ।’ गुप्ताले मुलुकमा प्रजातन्त्र आएपछि २०४८, २०५१ र २०५६ सालमा नेपाली कांग्रेसबाट तत्कालीन निर्वाचन क्षेत्र नम्बर ४ बाट संसदीय निर्वाचन लडे तर चुनाव जित्न सकेनन् । २०६२÷०६३ को राजनीतिक परिवर्तनपछि कांग्रेस छाडेर तराई–मधेश आन्दोलनबाट जन्मिएका पार्टीमा लाग्ने सोच बनाए उनले । उनी तराई–मधेश लोकतान्त्रिक पार्टी (तमलोपा) प्रवेश गरे । २०६४ र २०७० सालमा २ वटा संविधानसभा चुनाव तमलोपाबाट लडे उनी ।

२०७४ सालमा तत्कालीन मधेशी जनअधिकार फोरमबाट चुनाव लडेका उनी सबै चुनावमा निकटतम प्रतिस्पर्धी हुने गर्थे । २०३९ सालमा गुप्ता तत्कालीन जिल्ला पञ्चायत सभापतिमा चुनाव लडेका थिए । दमाहा चुनाव चिह्न पाएका उनी पराजित भए । त्यसको ४ वर्षपछि २०४३ सालमा राष्ट्रिय पञ्चायत सदस्यमा पनि उनी पराजित भएका थिए ।
गुप्ता भन्छन्, ‘मतगणना सुरु भएपछि सुरुमा मैले अग्रता कायम गर्थें, तेस्रो दिनपछि प्रतिस्पर्धीले ‘लीड’ गर्थे । अहिले ३ दिनसम्म त मैले आफैंले अग्रता लिँदा पनि जितिन्छ भन्ने विश्वास लागेको थिएन । सुरुदेखि अन्तिम चरणसम्म नै अग्रता लिएर जितेँ ।’ ‘यसपटक मतदाताले पार्टी र व्यक्तिको मूल्यांकन गरेर मत दिए,’ गुप्ता थप्छन्,‘पटक–पटक निर्वाचन हारे पनि स्वच्छ छवि भएको जनताको मनमा मप्रति आस्था रहेकाले अभिषेकलाई हराउन सफल भए ।’ एमाले केन्द्रीय सल्लाहकार परिषद् सदस्य गुप्तालाई एमाले अध्यक्ष केपी शर्मा ओलीले गत वर्ष कपिलवस्तुको बहादुरगञ्जमा विशाल आमसभा आयोजना गरी पार्टीमा भित्र्याएका थिए ।

‘लोकतन्त्र, विधिको शासन, न्याय र सुशासनका लागि संसद्मा दृढताका साथ भूमिका खेल्नेछु,’ उनले भने । गुप्ताका राजनीति पूर्वसहकर्मीहरू भगवानदास गुप्ता, राघवेन्द्रप्रताप शाह, हरिनारायण रजौरिया र दीपकुमार उपाध्यायले जिल्लाबाट पटक–पटक चुनाव जितेर मन्त्रीसमेत भए तर गुप्तालाई भने यति लामो समयसम्म पराजयले छाडेन । विजयी भएपछि मतदातालाई धन्यवाद दिन घरदैलोमा हिँडेका गुप्ता आफूले गरेको वाचा र प्रतिबद्धताअनुसार काम गर्ने बताउँछन् ।
पञ्चायतकालदेखि तार्किक, बुद्धिजीवी र प्रभावशाली नेता गुप्तालाई धेरैले पुराना नेताको रूपमा चिन्छन् । श्रमिक वर्गको हकअधिकार दर्ज गराउन उनी आन्दोलनमा पनि हिँडेका थिए । २०२५ सालमा नवलपरासीमा धानबाली लगाएबापत दिनुपर्ने कर घटाउनुपर्ने भन्दै आन्दोलन गरिएको थियो । त्यो बेला प्रहरीबाट धरपकड र गोलीसमेत चल्यो । त्यही आन्दोलनले धनही कर घटाएको उनको सम्झनामा ताजै छ ।

२०५१ सालमा कांग्रेस आबद्ध नेपाल किसान संघको केन्द्रीय सचिव पनि भएका थिए उनी । त्यहीँ बेला कपिलवस्तुमा मोहीको हकअधिकारको स्वामित्व रहेको २५ प्रतिशतबाट बढाएर ५० प्रतिशत दिलाउन २०५६ सालमा गुप्ताले आवाज उठाएका थिए । कृष्णनगरमा उद्योगका मजदुरको आन्दोलन चलाएर पारिश्रमिक बढाएका थिए । २०५६ सालमा कपिलवस्तुको सदरमुकाम तौलिहवास्थित जिल्ला प्रशासन कार्यालयअघि ३८ बुँदे माग राखेर कृषक ६७ दिन रिले अनशन बसे । गिरिजाप्रसाद कोइराला आएर उनको अनशन तोडाएका उनी बताउँछन् । पछाडि परेको वर्गको हकअधिकार स्थापित गर्न सहयोग गर्नुलाई उनी आफ्नो मूलमन्त्र ठान्छन् । उनले आफ्नो गाउँमा विद्यालय स्थापनाका लागि ५० लाख रुपैयाँ पर्ने जग्गा विद्यालयलाई प्रदान गरेका छन् ।
उनी ३० भन्दा बढी एसिया र युरोपका विभिन्न देशमा तालिम, गोष्ठी र सम्मेलनमा पुगेका छन् । त्यहाँबाट राजनीति र विकासबारे ज्ञान पनि हाँसिल गरेका छन् । उनको निर्वाचन क्षेत्र कपिलवस्तु निर्वाचन क्षेत्र नम्बर ३ विकासको दृष्टिले धेरै पछाडि छ । कृषिका धेरै समस्या छन् । विपन्न वर्गलाई उत्थान गर्नुपर्ने आवश्यकता छ । आफ्नो क्षेत्रका समस्या र समाधानका उपायमा निरन्तर संसद्मा आवाज उठाउनेदेखि समाधानका लागि प्रभावकारी भूमिका खेल्ने मंगल बताउँछन् ।

‘देश विकास, जनताको जीवनस्तर उकास्न, भ्रष्टाचार, अन्याय, अत्याचार, शोषण र सामन्ती शैलीको अन्त्य मेरा अबका मिसन हुन्,’ प्रतिनिधिसभा सदस्य गुप्ता भन्छन्, ‘स्थानीय स्तरमा स्वास्थ्य र शिक्षालाई प्राथमिकतामा राखेर काम गर्नेछु । यहाँ सुविधासम्पन्न अस्पताल नहुँदा स्वास्थ्य उपचारका लागि भारतदेखि बुटवलसम्म जानुपर्ने अवस्था छ, यसको अन्त्य गर्नेछु ।’ कृषिमा मलखाद, बिउबिजनलगायत सिँचाइ व्यवस्थापन र सडक सञ्जालको दुर्दशालाई सुधार्नुपर्ने दायित्व पनि गुप्ताको काँधमा आएको छ । कृष्णनगर भन्सारलाई व्यवस्थित बनाएर औद्योगिक लगानी भित्र्याउने उनको योजना छ ।