आशा र भरोसाको ब्याट्री सेलाउँदै गएपछी रोकिएको मेरो भाग्यको सुई

मेचीकाली संवाददाता

२७ मंसिर २०७९, मंगलवार
535 shares

दिलप्रसाद पौडेल
मनबाट सम्झने र यो मेरो हो भन्नेहरु धेरै कम हुदारहेछन । ज्यादा त आवश्यकता र काममा मात्र सम्झने गर्दारहेछन । म जिबनबाट त्यति महङ्गो बन्न चाहन्छु कि मलाई गुमाउछु कि भन्ने डर मनमा सधै रहिरहोस । त्यो सम्बन्ध कहिल्यै कमजोर नहोस जहाँ एक अर्काको कदर इज्जत र विश्वास गर्न सकियोस । मित्रताको रुपान्तरण नै सत्रुता हो, विना मित्र त्यहाँ सत्रुको जन्म हुदोरहेनछ भन्ने बुझिदिने होस् । मैले त्यस्ता मान्छेहरुको अघि झुक्न छोडिदिएको छु अचेल जसलाई मेरो कहिल्यै कुनै कदर कसरी हुन्छ भन्ने महसुस नै भएन ।

एकमनले सोच्छु भाग्यको ढोका र विहानको निद्रा समयमै खुल्न बडो कठिन हुदोरहेछ । भाग्यमानी त्यो होइन जसलाई सधै राम्रो कुरा मात्र मिल्छ, बरु भाग्यमानी त्यो हो जसले जे पायो त्यसलाई सदैव राम्रो बनाउने कोसिस गर्छ । बरु कसैले साचो मनले घृणा गरोस सहने बानी परेको छ तर झुटो मनले माया कहिल्यै नगरोस भन्ने मेरो भनाई हो । समय र परिस्थिले मान्छेलाई परिवर्तन गराउने कुरा न हो । माया र मजाक जो सुकैसंग गरियो भने त्यसको अर्थ र औचित्य त्यति रहदैन । मैले आजभोली यहि सोचेर मौनतामा टोलाउदै केही लेख्न खोज्छु अनि हातका औला मौन रहन्छन चुपचाप कलमको कम्मरमा समातेर जवरजस्ती दबाउने प्रयास गर्छु कलमले पनि म तिरै बेजोडको बल लगाएर पछारे जस्तै आभाष हुन्छ ।

यस्तो लाग्छ पढेको मान्छेले भन्दा पनि जिन्दगीसँग लडेको मान्छेले धेरै कुरा सिकेको हुदोरहेछ अनि सिकाउदोरहेछ पनि । फेरि मनले मान्दैन नानाथरी प्रश्न गर्छ आफैसंग सायद एउटा म छु जसले आजसम्म आफैले आफुलाई बुझ्न सकेको छैन,अर्को तर्फ यो दुनिया छ जसले मलाई अनेक थरिबाट व्याख्या विश्लेषण गर्दै भौतारिईरहेको छ । आजभोली जिन्दगी जुन जस्तै लाख्छ टाढा छ तर एक्लो छ । पीडा, पिर, बेदना, रोदन, चीत्कार सबैको साथी बनेको छ । बिरानो शहरमा मस्जिदका थुम्काहरुको एउटा अपरिचित बस्तीबाट अट्टहासको हासो हांसिरहेको छ । कहिलेकाही यस्तो लाग्छ सबैभन्दा ठुलो चुनौती त यो सांसारिक रङ्गमञ्चमा बाँच्नु रहेछ , बिगतमा निस्केका आस्थाका खुर्सानी भन्दा जिबनभोगाईका पहरा फोर्ने अनुभबको पिपल महान सम्झिएको छु । अझै त्यो भन्दा महान् भएको छ मेरो जिबनकथा । यदि मेरो बाबुआमाको सहवासको समय बदलिएको भए सायद म न यो धर्तीमा रहन्थेँ, न मेरा अनुभव रहन्थे ।

आज सबैभन्दा ठुलो चुनौती मेरो जीवन भएको छ । जीवनको विशृङ्खलाबद्ध यात्रामा आफ्नै पदचाप देखाउनु सानो कष्ट रहेनछ र सामान्य रहेनछ समयको घेराबन्दी । प्रतिकूल जीवन सन्दर्भलाई धकेलेर टुसाएका समयका प्रश्नहरू सवालजवाफ गर्न मेरै चाहानाका रश्मि संग र मेरो मनले प्रकृतिसँग सोधिरहेको छ कि गुलाफको फुल मा रातो रङ भरेको छ अनि कात्रोमा सेतो र पिताम्बरमा पहेंलो रङ भरेको छ तर, थाहा पाउदैन कि पलपल भत्किएको मेरो सफलताको शिखर । म सदाबहार चेतनाको बन्दी बनेर सचेत हुने प्रयासमा हुन्छु अपसोच तगारो परिस्थिति बनिरहेको हुन्छ ।

मैले प्रकृतिसँग पटकपटक निहूँ खोज्दै भेट्न चाहेको छु जीवनको सार्थकता के हो भनेर कहिले चरी बन्ने रहरमा हुन्छु अनि कहिले चौतारी बन्ने रहरमा हुन्छु आखिर जति चिथोरेपनी समयको संघार भत्किदोरहेनछ । आस्थाको आँगन फराकिलो कहिल्यै नहुनेरहेछ । समयको पर्दा च्यातेर कैयनपटक टाल्ने प्रयास नगरेको पनि होइन भाग्यको सुई त्यही ठाउँमा रोकियो आशा र भरोसाका बेटरी सेलाउदै गए त्यही भएर त आज एक्लो न्याउली चरी जस्तै खाडीको मरुभुमीमा निशब्द छु ।

त्यसैले परिस्थिति र भोगाईका क्रममा आउने पीडादायक क्षणको सामना गर्दै जीवनसंग खेल्नु अनि मनले नचाहँदा नचाहँदै पनि आँसुलाई अँगा’ली हिंड्नु पर्दोरहेछ । तर जीवन भनेको रहस्यमय कल्पना हो । अनि चुनौती पनि सामना गर्न सिक्नुपर्नेरहेछ ।। जदौ ।।
जैमिनी, १० बागलुङ
हाल कुवेतबाट