प्रहरीमा कर्मयोगी तेज र शैलेश्वरी दम्पती

मेचीकाली संवाददाता

३ पुष २०७९, आईतवार
367 shares

प्रकाश आचार्य
बुटवल । तेजबहादुर जोरा र शैलेश्वरी बोहोराबीच धेरै कुरा मिल्दा छन् । तेज पश्चिम नेपालको पहाडी जिल्ला डोटीमा हुर्किए भने शैलेश्वरी तराईको कैलालीमा । सानैदेखि राष्ट्रसेवक बन्ने हुटहुटी भएका दुवै जना पढाइमा प्रतिभाशाली थिए । अध्ययनरत रहेकै बेला दुवै जनाले प्रहरी निरीक्षक (इन्स्पेक्टर) मा भर्ना खुलेको खबर पाए ।

फाराम भरेर अध्ययनमा जुटे । २०६७ सालमा सशस्त्र प्रहरीको प्रहरी निरीक्षक (इन्स्पेक्टर) मा खुला प्रतिस्पर्धाबाट तेजले नाम निकाले भने शैलेश्वरीले पनि २०७० सालमा खुला प्रतिस्पर्धाबाटै नेपाल प्रहरीमा प्रहरी निरीक्षक (इन्स्पेक्टर) मा नाम निकालिन् । शैलेश्वरी अध्ययनका सिलसिलामा काठमाडौंमा थिइन् । दुवै जना पहिलो प्रयासमै खुला प्रतिस्पर्धाबाट राष्ट्रसेवामा आएका हुन् ।
डोटीको शिखर नगरपालिका–३ का तेज र कैलालीको लम्कीचुहा नगरपालिका–८ की शैलेश्वरी २०७२ मंसिरमा दाम्पत्य जीवनमा गाँसिए । उनीहरूको मागी विवाह भएको हो । तेज सशस्त्र प्रहरी बल चन्द्रौटा कपिलवस्तुमा कार्यरत छन् भने शैलेश्वरी जिल्ला प्रहरी कार्यालय कपिलवस्तुको महिला बालबालिको शाखा हाँकिरहेकी छन् । कर्मले जोडिएका जोरा दम्पती परिपक्क छन् । ‘हामी दुवै कर्मयोगी र इमानदार भएकाले हाम्रो सम्बन्ध प्रगाढ छ,’ तेजले भने । कपिलवस्तुमा कार्यरत इन्स्पेक्टरको जोडी अहिले अब्बल रूपमा काम गर्नेमा दरिएको छ । दुवै जना आमनिर्वाचन २०७९ मा कपिलवस्तुमा खटिए । राष्ट्रसेवामा जीवन बिताइरहेको यो जोडी अहिले प्रहरीको नयाँ पुस्तामा अब्बल राष्ट्रसेवकको रूपमा चिनिएको छ ।

तेजले विज्ञान संकायबाट स्नातक तथा समाजशास्त्र र मानवशास्त्रमा स्नातकोत्तर गरेका छन् भने शैलेश्वरीले अंग्रेजीबाट स्नातकोत्तर र कानुन संकायबाट स्नातक पूरा गरेकी छन् । ‘मास्टर्स गर्न भनेर काठमाडौं गएकी थिएँ । साथीहरूले इन्सपेक्टरमा भर्ना खुलेको छ, एप्लाई गरौं भनेपछि भरियो । पहिलो पटकमै खुला प्रतिस्पर्धामा नाम निस्किहाल्यो,’ शैलेश्वरीले भनिन् । ‘हाम्रो प्रेम विवाह होइन । संयोगवश मागी विवाहमा पनि एउटै सेवामा खटिएकाबीच संयोग जु¥यो,’ तेज भन्छन्, ‘जागिरको सिलसिलामा कहिले कहाँ त कहिले कहाँ पुग्नुपर्छ तर हाम्रो एकअर्कामा भएको विश्वासले सम्बन्धलाई बलियो बनाएको छ । हामीलाई थाहा छ, सम्बन्ध बलियो बनाउने पहिलो आधार विश्वास हो ।’

उनीहरूबाट अहिले साढे २ वर्षकी छोरी छन् । ‘८ वर्षे सहयात्रामा आज पनि नयाँ नवविवाहित जोडी जस्तो छ तेज र शैलेश्वरी दम्पती । सम्बन्ध यसरी अगाडि बढ्नुको कारण हो एकअर्कामा भएको विश्वास, माया र आपसी सम्झदारी,’ तेज भन्छन् । सेवा प्रवेशपछि तेजको पहिलो पोस्टिङ शैलेश्वर गण कैलालीमा भयो । १२ वर्षे प्रहरी सेवाबीच उनी सशस्त्र प्रहरी तालिम केन्द्र पोखरा, तालिम महाविद्यालय पोखरा, रूपन्देही, मनाङ, विपद् व्यवस्थापन प्रदेशस्तरीय टीम कमाण्ड गण्डकी प्रदेश पोखरा हुँदै अहिले चन्द्रौटा आइपुगेका छन् । शैलेश्वरी सेवा प्रवेशपछि डोटीको दिपायल, कैलाली, प्रहरी तालिम केन्द्र बुटवल, इलाका प्रहरी कार्यालय छपिया, संघीय प्रहरी कार्यालय रुपन्देही हुँदै जिल्ला प्रहरी कार्यालय कपिलवस्तुमा आइपुगेकी छन् । यसबीच उनीहरूले अहिले बल्ल एउटै जिल्लामा सेवा गर्न पाएका छन् ।

दुवै जना प्रहरी नायव उपरीक्षक (डीएसपी) मा बढुवा हुने लाइनमा छन् । तेजका लागि शैलेश्वरी माली जस्तै हुन् । तेज भन्छन्, ‘उहाँ (शैलेश्वरी) प्रतिभाशाली हुनुहुन्छ । उहाँको प्रतिभा र क्षमतालाई सधैं मलजल गर्नुपर्छ । मैले जस्तो सहयोग अरुले गर्न सक्दैन भन्ने लाग्छ ।’ त्यसो त शैलेश्वरी पनि पति तेजलाई प्रवद्र्धन गर्न पछि परेकी छैनन् । राष्ट्रसेवामै रमिरहेका तेज र शैलेश्वरी दुवै जनाले एकअर्कोलाई प्रेरित गरिरहन्छन् ।

एउटै सेवामा रहँदा दुवै जनाले छोरी र परिवारलाई समय दिन सकेका छैनन् । ‘हाम्रो काम भनेको २४ सै घण्टाको हुने,’ तेज भन्छन्, ‘बिदा पनि एउटा हुँदा अर्कोको नमिल्ने । घरपरिवार र छोरीलाई समय दिन अलि समस्या भएको छ । हामी राष्ट्रसेवाको डुंगामा निरन्तर सवार छौं ।’ अनुसन्धानमा अनुभवी दुवै जनाले जटिल प्रकृतिका अनुसन्धान पनि गरेका छन् । सरूवा हुँदा पनि एउटै जिल्लामा भए परिवार सम्हाल्न सहज भएको शैलेश्वरी बताउँछिन् । ३ सुरक्षा निकायमध्ये समुदायसँग प्रत्यक्ष जोडिने नेपाल प्रहरी रहेको शैलेश्वरीको बुझाइ छ । छोरीलाई कार्यालयका अन्य कर्मचारीलाई हेर्न लगाएर ड्युटीमा खटिनुपर्ने बाध्यता शैलेश्वरीको छ । ‘सबै पेशामा राम्रो र नराम्रो पक्ष हुन्छ,’ शैलेश्वरी भन्छिन्, ‘तर हामी राम्रो पक्षलाई लिएर अघि बढेका छौं ।’

उनले प्रहरी घेराभित्रै छोरीलाई हुर्काइन् । शैलेश्वरी भन्छिन्, ‘प्रहरीले सिक्नुपर्ने ‘बेसिक’ कुराहरू नानीले अहिले नै सिकिसकेकी छन् ।’ उनले भनिन्, ‘कहिलेकाहीँ त चौबीसै घण्टा काममा खटिइरहनुपर्छ । खाना खाने, छोरीलाई हेर्ने समयसमेत हुँदैन । त्यस्तो बेला छोरीलाई समय दिन नपाएको खिन्नतामा महसूस हुन्छ ।’ एउटै संगठन भए प्रहरी दम्पतीको सरूवा हुँदा पनि एउटै कार्यालयमा पार्ने प्रहरीको माथिल्लो निकायको नीति छ तर उनीहरूको संगठन फरक हुँदा त्यो सम्भव देखिएको छैन ।

पिलवस्तु आएपछि शैलेश्वरीले लैंगिक र घरेलु हिंसाका घटना नियन्त्रण र अनुसन्धानमा आफूलाई केन्द्रित गरिरहेकी छन् ।
‘महिला हिंसाविरुद्ध प्रभावकारी कार्यक्रम गर्ने योजना छ तर जिल्लामा सबै काम पनि हेर्नुपर्ने हुन्छ,’ उनी भन्छिन्, ‘त्यति मात्र होइन, समुदायस्तरमा सानोतिनो कुरामा पनि झैझगडा र कुटपिटमै उत्रिने घटनाले पनि प्रहरी हर क्षण समुदायमा हुनुपर्नेछ । यसमाथि आमनिर्वाचन लगायत नयाँनयाँ काम र चुनौतीलाई सिकाइको रूपमा लिँदै काम गरिरहेकी छु ।’ पतिपत्नी दुवै जनाले सँगै कपिलवस्तु निर्वाचन क्षेत्र नम्बर २ को मतगणना सुरक्षा कमाण्ड सम्हालेका थिए ।

महिलाहरू प्रहरी कार्यालयमा आएर आफू पिडामा परेकोबारे सहज तरिकाले खुल्न नचाहने गरेको शैलेश्वरीले देखेकी छन् । जिल्लामा घरेलु हिंसामा घटनाहरू धेरै रहेका उनले बताइन् । खुला सिमानाका कारण मानव बेचबिखनका घटना पनि धेरै नै आइरहेका हुन्छन् । ती सबै समस्यालाई उनले कानूनी ढंगले सहज समाधानतर्फ लैजाने गर्छिन् । आपसी समझदारी र एकअर्काको भावना बुझ्दै कदर गर्न सकियो भने जीवन सुमधुर बन्छ भन्नै दुवैको बुझाइ छ ।