लिला गिरीः गाविस अध्यक्ष हुँदै मुख्यमन्त्रीसम्म

मेचीकाली संवाददाता

२८ पुष २०७९, बिहीबार
776 shares

अमृत गिरी
बुटवल । लुम्बिनी प्रदेशको मुख्यमन्त्रीमा नेकपा एमाले संसदीय दलका नेता एवं पूर्वमन्त्री लिला गिरी नियुक्त भएका छन् । उनलाई प्रदेशप्रमुख अमिक शेरचनले नेपालको संविधानको धारा १६८ को उपधारा (२) बमोजिम प्रदेश मुख्यमन्त्री पदमा नियुक्त गरेका हुन् ।

सालिन, इमानदार र अनुभवी नेता गिरी लुम्बनीको तेस्रो मुख्यमन्त्री बनेका छन् । यसअघि प्रदेशको मन्त्री भएर काम गरिसकेका र अनुभवी नेता गिरीलाई मुख्यमन्त्रीमा लुम्बिनी प्रदेशका आठ दलका सांसदहरुको समर्थन रहेको छ ।
नेकपा एमाले, माओवादी केन्द्र, राप्रपा, नागरिक उन्मुक्ति पार्टी, जनमत पार्टी, जसपा, लोसपाका संसदीय दलका नेता र दुई जना स्वतन्त्र सांसदसमेत गरी ५८ जना सांसदको समर्थनमा नेता गिरी लुम्बिनी प्रदेशको मुख्यमन्त्रीमा नियुक्त भएका हुन् । नयाँ मुख्यमन्त्रीको सपथ आज २८ गते बिहीबार प्रदेशसभा परिसर दाङ देउखुरीमा हुनेछ ।

नेकपा एमालेका २९, माओवादी केन्द्रका १०, राप्रपाका ४, नागरिक उन्मुक्ति पार्टीका ४, जसपाका ३, जनमत पार्टीका ३, लोसपाका ३ र स्वतन्त्र २ गरी ५८ जना सांसदहरु नै प्रदेश प्रमुखको कार्यालयमा पुगेर हस्ताक्षर गरी समर्थन जनाएका थिए ।

किसान, शिक्षक, गाविस अध्यक्ष हुँदै मुख्यमन्त्रीसम्म
नेकपा एमालेका पोलिटब्यूरो सदस्य, लुम्बिनी प्रदेशका सहइन्चार्ज, सालिन, इमानदार र अनुभवी नेता गिरीको राजनीतिक यात्रा निरन्तरको निष्ठा र सरलताले भरिएको छ । २०११ चैतमा गुल्मीको रुरुमा जन्मिएर २०३४ मा रुपन्देहीमा बसाइसरी आएका गिरी त्यसयता विभिन्न सामाजिक, राजनीतिक क्षेत्रमा निरन्तर क्रियाशील छन् । गुल्मीमै बाल्यकालमा त्यहाँका कम्युनिष्ट नेता सिद्दिनाथ ज्ञवालीहरुसंगै गिरी तत्कालीन व्यवस्थाका विरुद्ध आन्दोलनमा हेमिएका थिए ।

विसं.२०३१ सालमा रुपन्देहीको तिलोत्तमा नगरपालिका–१, शंकरनगरमा आएदेखि नै कम्युनिष्ट आन्दोलनमा समर्पित छन् । रुपन्देही क्षेत्र नम्बर २(१) बाट कांग्रेस नेतृत्वको गठबन्धनलाई पराजित गर्दै निर्वाचित भएका हुन् । मुख्यमन्त्रीमा पुग्नुअघि उनले पार्टीका विद्यार्थी संगठनदेखि नगर, किसान संगठन, शिक्षक संगठन, बुद्धिजीवी संगठन, युवा संगठन, क्रान्तिकारी युथ लिग हुँदै जिल्ला, अञ्चल, प्रदेश तहका विभिन्न जिम्मेवारी निर्वाह गरिसकेका छन् । बहुदलीय व्यवस्थापछिको पहिलो गाविस अध्यक्ष बनेका गिरीले हालको तिलोत्तमा नगरपालिकाको विकासको जग उतिबेलै शंकरनगर गाविस अध्यक्ष हुँदा बसालेका थिए ।
यसअघि संस्थापक मुख्यमन्त्री शंकर पोखरेलको सरकारमा मन्त्री बनेर अनुभव हासिल गरिसकेका गिरी अहिले मुख्यमन्त्री बनेका छन् । त्यसबेला नेता गिरीले उद्योग वन, पर्यटन तथा वातावरण मन्त्री, आन्तरिक मामिला तथा कानुन मन्त्री र स्वास्थ्य मन्त्रीको समेत जिम्मेवारी सम्हालेका थिए । मन्त्री पदमा रहँदा पनि उनले प्रदेशको पर्यटन क्षेत्रको विकासका लागि योगदान गरे ।

लुम्बिनी क्षेत्रमा विदेशी पर्यटकको बसाइ लम्ब्याउनेदेखि लुम्बिनी, मायादेवी, तिलौराकोट र रामग्राम पनि लुम्बिनीसँग जोडिएका धार्मिक पर्यटकीय स्थल हुन भनेर चिनाउने अभियान चलाए । त्यस्तै पाल्पा, गुल्मी, अर्घाखाँची, प्यूठानलगायतका पहाडी जिल्लामा पर्यटक प्रवर्धनका लागि हिल स्टेसन निर्माण र त्यसलाई सडक पूर्वाधारले जोड्नका लागि काम गरे । तराईका जिल्लामा पर्यटक वृद्धि, सांस्कृतिक होमस्टे र सांस्कृतिक डबलीमार्फत सांस्कृतिक पर्यटनको विकास गर्न सकिन्छ भन्ने धारणाको विकास गराए ।

प्रदेशका १२ वटै जिल्लामा पर्यटकीय पार्क निर्माणमा पनि योगदान गरे । एमाले रूपन्देहीका पुराना नेता एवं राष्ट्रियसभाका सदस्य गोपाल भट्टराईले लिला गिरीले लुम्बिनीलाई धेरै जिल्ला र धार्मिक पर्यटकीय क्षेत्रसँग जोड्ने गरी बुद्ध सर्किटको निर्माण योजना पनि बनाएको बताए । ‘लुम्बिनीलाई चितवनको सौराहा, कपिलवस्तुको तिलौराकोट, प्यूठानको स्वर्गद्वारी, अर्घाखाँचीको सुपादेउराली, गुल्मीको रेसुंगा, पाल्पाको रानीमहल र नवलपरासीको रामग्रामलाई जोडेर पर्यटन विकास गर्ने प्रयास र योजना थियो,’ उनले भने, ‘तर, राजनीतिक परिस्थितिका कारण त्यो पूरा हुन पाएको छैन, अब त्यो जिम्मेवारी पनि उनमै आएको छ ।’
लुम्बिनी प्रदेशलाई उद्योग क्षेत्रको हबका रुपमा विकास गर्ने गरी बुटवलको मोतिपुर र बाँकेको नौबस्ता क्षेत्रलाई औद्योगिक क्षेत्रको रूपमा तयार गर्ने गरी काम अघि बढाए । वन तथा वातावरणका क्षेत्रमा पनि उनले गरेका धेरै कामलाई अहिलेको सरकारले पनि निरन्तरता दिइरहेको वन तथा वातावरण मन्त्रालयका सचिव उद्धवबहादुर घिमिरेको भनाइ छ ।

सुशासन र समृद्धि प्राथमिकतामा
मुख्यमन्त्री नियुक्त भएपछि गिरीले पहिलो कार्यकालमा प्रदेशको समृद्धिको योजना र आधार तयार भैसकेकाले ती योजना कार्यान्वयन तथा मन्त्रालयको संख्या घटाई सुशासन कायम गर्नु आफ्नो प्राथमिकता हुने बताए ।
सुशासन र समृद्धि नै प्राथमिकतामा राखेर सबैको समन्वयमा प्रदेश सरकार अगाडि बढ्ने उल्लेख गर्दै मुख्यमन्त्री गिरीले साझेदार दलहरुसंगको समन्वय र सहकार्यमा योजना तय गरिने बताए ।

व्यक्तिगत विवरण
नामः लिला गिरी
जन्ममितिः २०११ चैत १४ गते
जन्मस्थानः रुरु गाउँपालिका–५, गुल्मी
ठेगानाः तिलोत्तमा नगरपालिका–१,रुपन्देही
आमाः केशवकुमारी गिरी
बुबाः स्व.बुद्धिनाथ गिरी
पत्नीको नामः इन्दिरा गिरी
सन्तति विवरणः छोरी (२) छोरा (१)
शैक्षिक योग्यताः बीए
विदेश भ्रमणः भारत, चीन, जापान, कोलम्बीया, अमेरिका

राजनीतिक जीवन
–२०३१ सालदेखि कम्युनिष्ट आन्दोलनमा सहभागी
–२०३६ सालको विद्यार्थी आन्दोलनको नेतृत्व
–२०३७ सालको मजदुर आन्दोलनको नेतृत्व
–२०३७ सालमा शिक्षक आन्दोलनको नेतृत्व
–२०३८ सालमा अखिल नेपाल किसान संगठनको अध्यक्ष
–२०३९ सालमा क्रान्तिकारी बुद्धिजीवी संघमा आबद्ध
–२०४६ सालमा नेकपा मालेको सक्रिय सदस्य (भूमिगत)
–२०४६ जनान्दोलनमा इलाकाको नेतृत्व
–२०४७ सालमा नेकपा एमालेको जिल्ला कमिटी सदस्य
–२०५६ सालमा नेकपा एमाले रुपन्देहीको उपसचिव
–२०५८ सालमा एमाले जिल्ला कमिटीको कार्यवाहक सचिव
–२०६१–०६६ र ०६६–०६९ सम्म एमाले जिल्ला सचिव र अध्यक्ष
–२०६१ मा शाही ‘कु’ विरुद्धको आन्दोलनको नेतृत्व र जेल यातना
–२०६२÷६३ मा जनआन्दोलनको जिल्ला कमाण्डर
–२०६९ सालमा एमालेको लुम्बिनी अञ्चल संगठन विभाग प्रमुख
–२०७१ सालमा नेकपा एमालेको नवौं महाधिवेशन केन्द्रीय कमिटी सदस्य
–२०७० मा नेकपा केन्द्रीय सदस्य जिल्ला इन्चार्ज
–२०७७ मा नेकपाको केन्द्रीय सदस्य, लुम्बिनी प्रदेश अध्यक्ष
–२०७८ मंसिरमा एमाले दसौं महाधिवेशनदेखि पोलिटब्यूरो सदस्य
–२०७९ पुसमा एमाले लुम्बिनी प्रदेशको संसदीय दलको नेता

राजकीय भूमिका
–२०४९ मा शंकरनगरको पहिलो गाविस अध्यक्ष
–२०७४ मा लुम्बिनी प्रदेशसभा सदस्य
–२०७४ चैत ५ गतेदेखि ०७८ वैशाख ६ गतेसम्म प्रदेशको मन्त्री
–२०७९ मा प्रदेशसभा सदस्यमा निर्वाचित
–२०७९ पुसमा प्रदेशको मुख्यमन्त्रीमा नियुक्त

सत्तापक्षमा
एमाले–२९
माओवादी–१०
राप्रपा–४
नाउपा–४
जनमत–३
जसपा–३
लोसपा–३
स्वतन्त्र–२

प्रतिपक्षमा
कांग्रेस–२७
जनमोर्चा–१
एकीकृत समाजवादी–१