‘मिसन ग्रासरूट’: नेतृत्वसँग कार्यकर्ताका जिज्ञासा

मेचीकाली संवाददाता

२५ फाल्गुन २०७९, बिहीबार
300 shares

हरि ज्ञवाली

नेकपा एमालेले फागुन ५ गतेदेखि पार्टीको शुद्धीकरण,सुदृढीकरण र विस्तारका लागि दुई महिने मिसन ग्रासरूट अभियान चलाइरहेको छ । पार्टी संगठनका तमाम विकृति र विसंगतिलाई अन्त गरी पार्टी कमिटीलाई व्यवस्थित, चुस्तदुरूस्त बनाउने र व्याप्त कमजोरीहरूलाई सुधार गर्दै एमालेको आकार र आयतन बढाउने उद्देश्यले एमालेले यो मिसन थालेको छ ।

यो मिसन विशेषगरी पार्टी कमिटीको तल्लो तहका कार्यकर्ताका बीचमा पुग्ने भएकाले आम कार्यकर्ताले एमाले नेतृत्वप्रति थुप्रै जिज्ञासा राख्ने अवस्था छ । पार्टीमा दक्षिणपन्थी अवसरवाद र दलाल पुँजीवादी प्रवृत्ति बढेको, अनुशासनहीनता र अराजकता मौलाएको, नीतिगत र वैचारिक चेतना स्तर खस्किँदै गएको र नयाँ परिस्थितिका चुनौतीहरूको सामना गर्न पार्टीपंक्ति असक्षम भएको भन्दै ‘मिसन ग्रास रूट’ अभियानमा नेतृत्वसँग तल्ला तहका कार्यकर्ताले जिज्ञासा उठाउने र प्रश्न गर्ने सम्भावना प्रबल छ ।

आन्तरिक र बाह्य समस्यामा एमाले
यतिबेला नेकपा एमाले आन्तरिक र बाह्य दुबै कारणले तमाम समस्यामा फसेको छ । पार्टीमा सांगठानिक, वैचारिक, नीतिगत र व्यावहारिकलगायतका तमाम समस्या छन् । एकातिर पार्टीभित्रै विकृति, अनुशासनहीनता र अराजकता बग्रेल्ती बढेका छन् भने अर्काेतिर चौतर्फी घेराबन्दीले झन् समस्यामा परेको छ ।

खासगरी २०७५ सालको एकीकरणपछि पार्टीमा विकृति र विसंगति बढेका हुन् । नेताहरूबीच व्यक्तिगत महात्वाकांक्षा र पदीय हानथाप बढ्दै जाँदा त्यतिबेलादेखि नै पार्टीका नियमित बैठक, कार्यक्रम र छलफल भएनन् । कम्युनिष्ट क्रान्तिकारी स्पिरिट, ऊर्जा अनि नागरिकका समस्याको चिन्तन हराउँदै गयो । कम्युनिष्ट आचरण, विचार र सिद्धान्तको आदर्श समाप्त भयो । पार्टीनेतृत्व, कार्यकर्ता र आम नागरिकबीचको आत्मीयता र अन्तरसम्बन्ध टुट्दै गयो । कार्यकर्ता लाखापाखा हुँदै गए । जसको भरणपोषण अद्यापि हुन सकेको छैन । यसपटक नेतृत्वसँग ग्रासरूटका कार्यकर्ताले यसको कारण र समाधान खोज्नेछन् ।

आज पनि नेकपा एमालेमा पार्टीमा योगदान गरेका असली कम्युनिष्ट नेता कार्यकर्ताहरु पछाडि पारिएका छन् । गुन्डा, डन, दलाल, कमिसनखोर र पुँजीपतिहरूको चङ्गुलमा पार्टी फसेको छ । तिनैको बोलबाला र स्वार्थअनुरूप पार्टीका गतिविधिहरू सञ्चालन हुन लागेका छन् । सिङ्गो पार्टी माथिदेखि तलसम्म पुँजीवादी वा बुर्जुवा पार्टीका रूपमा परिणत हुँदैछ । जनवादी आदर्श, चिन्तन र विचार भुत्ते भएको छ । हिजोका अफ्ठेरा दिनहरूमा पार्टीलाई बचाउने, संगठन गर्ने र जनताबीच स्थापित नेताकार्यकर्ताहरूले न चुनावमा टिकट पाउन सक्छन् न त जित्ने अवस्था नै छ । यस्तो प्रवृत्ति र अवस्थाको अन्त कहिले हुन्छ ? भनेर ग्रासरूटका कार्यकर्ताले एमाले नेतृत्वसँग प्रश्न गर्नेछन् ।

अझै पनि नेकपा एमालेका थुप्रै नेताहरू आफ्नो सिद्धान्त, विचार र व्यवहारबाट निरन्तर स्खलित भइरहेका छन् । तिनै नेताहरूका व्यवहार र शैलीका कारण आम कार्यकर्ता असन्तुष्ट बन्दै गएका छन् । फलतः कम्युनिष्ट नेतृत्व र आन्दोलनप्रति नै चिन्ता, निराशा र आक्रोश बढ्दै गएको छ ।

एमालेका धेरैजसो केन्द्रीय नेताहरू यतिबेला आफ्नो निर्वाचन क्षेत्रमा गएर ढुक्कले संगठन निर्माणमा गाउँ बस्ने अवस्था अझै बन्न सकेको छैन । स्थानीय कार्यकर्ता र आम नागरिकहरू तत्तत् क्षेत्रका नेताप्रति असन्तुष्ट छन् । आफ्नै नेताप्रति तमाम गुनासा र विरोध छन् । सायद यही वास्तविक परिस्थिति र सांगठानिक यथार्थलाई बुझेर पार्टीले यतिखेर नेताहरूलाई आफ्नो क्षेत्रभन्दा फरकफरक क्षेत्रमा खटाएको हुनुपर्छ ।

नेकपा एमाले कुनै बेला अत्यन्तै शक्तिशाली पार्टी थियो । संगठनात्मक र संख्यात्मक हिसाबले अहिले पनि नेकपा एमालेमा करिब ११ लाख संगठित सदस्य छन् । तर,चुनावी परिणाम भने सधैं अनपेक्षित र निराशाजनक छ । त्यत्रो विशाल सांगठानिक संरचना, लाखौँ सक्रिय कार्यकर्ता हुँदाहुँदै पनि स्थानीय र संघीय निर्वाचनमा पार्टीले अपेक्षित परिणाम हासिल गर्न सकेन । यसको पनि सूक्ष्म समीक्षा गर्न मिसन ग्रासरूट चलाइएको हुनुपर्छ ।

कतिपय आफ्नै कारण र कतिपय चौतर्फी घेराबन्दीका कारण सबैतिर प्रतिपक्षमा पुगिसक्दा पनि एमाले नेतृत्वको कार्यशैली र अभिव्यक्तिमा भने कुनै परिवर्तन देखिएको छैन । न सत्ताच्युत हुनुपरेकोमा पछुतो देखिन्छ, न त पार्टी विभाजन भएकोमा चिन्ता नै । देशभरको पार्टी संगठनमा ठूलो क्षति पुगेको भए पनि आफ्नो शक्तिप्रतिको फगत दम्भ र कार्यशैली जस्ताको त्यस्तै छ ।

मिसन ग्रासरूटमा कार्यकर्ताले यसबारेमा पक्कै आवाज उठाउने छन् । विसं.२०४६ सालदेखि हालसम्मको अवधिमा नेकपा एमालेले पटकपटक सरकारमा सहभागी हुँदै ६ पटक सरकारको नेतृत्व नै गरिसकेको छ । एमाले नेतृत्व र सहभागी सरकारहरूले देश, जनता र कार्यकर्ताको हितमा के गरे ? त्यत्रो वर्षको बलिदान, संघर्ष र निरन्तर आन्दोलनको प्रतिफल आम नागरिकलाई खोई ? यी तमाम प्रश्नहरूको उत्तर ग्रासरूट अभियानमा मागिने छ ।

यो नियति कसरी आयो ?
२०७४ सालको संघ, प्रदेश र स्थानीय निर्वाचनपछि लगभग सबै तहमा एमाले अध्यक्ष ओलीको नेतृत्वमा करिब दुई तिहाईको जनमत थियो । उक्त निर्वाचनमा स्थानीय तहमा कूल ७ सय ५३ स्थानीय तहमध्ये २ सय ९४ पालिकाको नेतृत्व जितेको थियो तर २०७९ को निर्वाचनमा नेकपा एमाले जम्मा २ सय ६ मा सीमित भयो । उक्त स्थानीय निर्वाचनमा ४० प्रतिशत स्थानीय प्रतिनिधिहरू जितेको एमाले २०७९ सालमा ३४ प्रतिशतमा खुम्चियो ।

विसं. २०७४ सालको प्रतिनिधिसभामा १ सय २१ सीट जितेर पहिलो भएको पार्टी २०७९ सालमा ७८ सीटमा मात्र सीमित भयो । उक्त निर्वाचनमा ३३ प्रतिशत लोकप्रिय मत पाएकोमा यसपटक २७ प्रतिशतमा झ¥यो ।
२०७४ सालमा समानुपातिकतर्फ ४१ सांसद सिट पाएको एमाले पार्टीले २०७९ सालमा भने ३४ मात्र पाउन सकेको छ । यस पटकको संघीय चुनावमा समानुपातिक तर्फ पहिलो पार्टी देखिए पनि एमालेले विगतभन्दा करिब साढे ३ लाख मत कम पाएको छ । एमालेले यतिबेला अन्य पार्टीहरूले भन्दा राजनीतिक रूपमा सबैभन्दा ठूलो क्षति बेहोरेको छ ।

त्यसो त अहिले पार्टीमा संस्थागत रूपमा गुटबन्दी देखिँदैन । तर स्थानीय तह र संघीय निर्वाचनमा घातअन्तर्घात पहिलेभन्दा झन् बढी भएकाले पार्टीले अपेक्षित परिणाम किन ल्याउन सकेन भन्नेबारे पनि ग्रासरुट अभियानले खुट्याउनु जरूरी छ ।

शृङ्खलाबद्ध पराजय र क्षति कहिलेसम्म ?
एमालेले विशेषगरी २०७७ सालदेखि शृङ्खलाबद्धरूपमा राजनीतिक क्षति बेहोर्दै आएको छ । प्रतिनिधिसभा विघटनपछि एमाले एक्लिने र पराजय हुने क्रम बढ्दै गएको हो । प्रतिनिधिसभाको पटकपटक विघटन ठिक थियो वा थिएन ? यसको उत्तर पनि ग्रासरूटका कार्यकर्ताले अवश्य माग्नेछन् ।

तेस्रो दलका प्रचण्डलाई प्रधानमन्त्रीमा समर्थन गरी सरकारमा गएको एमाले राष्ट्रपतिको उम्मेवारीपछि बाहिरिनुपरेको छ । टुट्न लागेको एमालेविरूद्धको मोर्चाबन्दी झन् बलियो बन्दैछ । शायद केही दिनमै एमालेले आफ्नो समर्थनमा रहेको राष्ट्रपति पद पनि गुमाउने छ । एमालेविरूद्धको मोर्चाबन्दी र घेराबन्दी यही रूपमा रहिरहे आसन्न स्ववियु निर्वाचनमा पनि एमालेको विद्यार्थी संगठनले नराम्रो हार बेहोर्नुपर्ने निश्चित देखिन्छ । यसबारे नेतृत्वको तयारी के कस्तो छ भन्ने जिज्ञासा पनि मिसन ग्रासरूटमा पक्कै उठ्नेछन् ।

पछिल्लो पाँच वर्षको अवधिमा एमालेले संवैधानिक, संस्थागत, सार्वजनिक तहका हरेक निकायमा एकपछि अर्को रूपमा आफ्नो पकड गुमाएको छ । पत्रकार महासंघमा एमाले समर्थकहरु सबै पराजय भएका थिए । बार एशोसिएसनको एमालेले नराम्रोसँग धक्का खायो । इन्जिनियर एशोसिएसन, उद्योग संघ, वाणिज्य संघ लगायतका पेसाव्यवसायका सामाजिक संघसंस्थाहरूमा एमाले समर्थकहरुले निरन्तर पराजय भोगिरहेका छन् । २०७८ सालको राष्ट्रिय सभा निर्वाचनमा ठूलो क्षति बेहो¥यो । उपनिर्वाचनमा समेत नराम्रो गरी पराजय भयो । फेरि पनि एमाले नेतृत्वका प्रदेशका सरकार खोसिन लागेका छन् । यो शृङ्खला कहिले रोकिन्छ ? ग्रासरूटका कार्यकर्ताले प्रश्न उठाउन सक्छन् ।

सघन उपचार कसरी ?
एमाले नेतृत्वले अन्य पार्टी तथा निकायसँग उचित कूटनीतिक पहल र रणनीतिक समन्वय गर्न नसक्दा एमाले चारैतरिबाट एक्लिँदै गएको छ । एमालेविरूद्धको घेराबन्दी तोड्न नेतृत्व असफल भइरहेको छ । दाउपेच र षड्यन्त्र गर्न अभ्यस्त खेलाडी पुष्पकमल दाहालको उपयोगी राजनीतिलाई एमाले नेतृत्वले बुझ्न सकेन । फलतः आफँैले एकीकरण गरेको नेकपामा अल्पमतमा पर्नुपर्ने अवस्था आयो । अदालतले नेकपा भंग नगरिदिएको भए अहिले एमालेको अवस्था र नेतृत्व के कस्तो हुन्थ्यो होला ? कार्यकर्ताले जान्न खोज्नेछन् ।

तात्कालीन एमाले नेतृत्व वर्गकोे एउटा तप्काले पार्टी विभाजन गरेपछि एमालेको शक्ति खण्डित भएको छ । एमालेमा यतिखेर पन्ध्र वर्ष पार्टी हाँकेका माधव नेपाल छैनन् । पटकपटक नेतृत्व सम्हालेका झलनाथ खनाल छैनन् । शक्तिशाली भनिएका न वामदेव गौतम छन् न त पश्चिमका कमाण्डर मानिएका भीम रावल नै । न बौद्धिक बहस गर्ने घनश्याम भुसालहरू छन् न त कुशल संगठक भनिएका मुकुन्द न्यौपाने, अशोक राई र बेदुराम भुसालहरू नै । दशौँ वर्ष एमाले पार्टीमा संगठन र नेतृत्व गरेका उनीहरू किन बाहिरिनुप¥यो ? एमालेमै किन अटाउन सकेनन् ? मिसनमार्फत यो विषय पनि अवश्य उजागर हुने नै छ ।

चारैतिरबाट घेराबन्दीमा परेर शृङ्खलाबद्ध रूपमा पराजित भइरहँदा एमाले नेतृत्वका प्रयासहरू निरन्तर असफल किन भइरहेका छन् ? एमाले पटकपटक किन घेराबन्दीमा परिरहन्छ ? नेकपा टुक्रिनु, एमाले विभाजन हुनु र तिनै तहका निर्वाचनमा एमालेले भोगेको पराजयको जिम्मेवारी एमाले नेतृत्वले लिनु पर्ने कि नपर्ने ? मिसन ग्रासरूटमा यसबारेमा पनि अब गम्भीर समीक्षा हुनेछ ।

अन्त्यमा, मिसनमा नेताका लामा भाषणभन्दा पनि कार्यकर्ताका गुनासा, असन्तुष्टि र मनोभावलाई बुझ्न कार्यकर्ताले दबाब दिनेछन् । नेकपा भंग, पार्टी विभाजन, संघीय र प्रदेश सरकारबाट बहिर्गमन हुँदै धेरैजसो स्थानीय तह गुमाएर संसदीय चुनावमा अस्तित्वको डिलमा धकेलिँदै गएको अवस्थाबारे नेतृत्वसँग कार्यकर्ताले जबाफ माग्ने छन् । एमालेको गिरेको साखलाई पुनर्जीवित गर्नका लागि सघन उपचारको केकस्तो व्यवस्था छ भनेर मिसन ग्रासरूटका कार्यकर्ताले जिज्ञासा राख्दै प्रश्न गर्नेछन् । किनकि नाम नै छ,मिसन ग्रासरूट’ । एमाले नेतृत्वपंक्ति सचेत र गम्भीर बनोेस् । (लेखकः ज्ञवाली रूपन्देहीका शैक्षिक अगुवा हुन् ।)