बजार खोज्दै अचार उद्यमी सरकारको दैलोमा

मेचीकाली संवाददाता

२६ चैत्र २०७९, आईतवार
284 shares

टोपलाल अर्याल

गुल्मी । गुल्मीदरबार गाउँपालिका–१ जुभुंगकी ४० वर्षीया सरस्वती गौतम मंगलबार अचार बोकेर गाउँपालिका आइन् । सभाहलमा उपस्थित गाउँपालिकाका जनप्रतिनधि र कर्मचारीहरुले गौतमको अचार किनेर लगे । उनी गाउँपालिकाको अचार बनाउने उद्यमी हुन् । पालिकाकै तालिमबाट उद्यमी बनिन् । उनले अचारभन्दा पहिले मुढा बुन्ने र अगरबक्ति बनाउने तालिम पनि सिकेकी थिइन् । सीपलाई उपयोग भने गरिनन् ।

तर, अचार बनाउने तालिमले गौतम उत्साहित बनिन् । एक हप्ताको तालिमले मेथी, लसुन, मिक्स, आँप, तामा, कागती र अमलालगायतका अचार बनाउन सिकेपछि आफैँ गर्ने व्यावसायिक बन्ने सोँच आयो । गाउँमा अचार बनाएपछि अवलोकनको लागि पुगेको गाउँपालिकाले टोलीले गौतमको जोँसमा उत्साह थप्यो । जसका कारण सरस्वती र निशा पौडेल गौतम मिलेर गाउँपालिकामा दिदीबहिनी अर्गानिक अचार उद्योग दर्ता गरे । सरस्वती र निशा देउरानी र जेठानी हुन् । उनीहरुले अचारको लेवलिङ गरेका छन् ।

उत्पादित अचार बोकेर रुरु मेलादेखि स्थानीय बजारमा पुगे । तर, सोचेअनुसारको बिक्री नभएपनि निराश बने । बजारमा कलरले चिटिक्क पारिएको अचारसँग स्थानीय अचारले बजार पाउन मुस्किल छ । थुप्रैपटक अचार नविकेर फाल्नुपरेको दुखेसो गौतमले गरिन् । बट्टा, मसला र मिक्चर, कराईलगायत अचारको कच्चा पदार्थ खरिदमा थुप्रै रकम लागेपनि सोचेअनुसारको अचार बिक्री नभएपछि गाउँपालिकासँग समन्वय गरेर व्यवसायको आगामी रणनीति बनाउने सञ्चालन गौतमले बताइन् । उनले पछिल्लोपटक पनि थुप्रै अचार बनाएकी छन् । उनी रहरले पालिकामा आएकी होइनन् । उत्पादनको बजारीकरणको ध्यानाकर्षण गराउन गाउँपालिकामा आएको गौतमले बताइन् । ‘पालिका सीपसँगै बजारीकरणमा सहयोग नगरे उद्यमी विस्थापित बन्छन् । मैले पनि आगामी दिनमा व्यावसायका बारेमा सोच्नपर्ने स्थिति रह्यो,’उनले भनिन्,‘खरिद गर्नेभन्दा गाउँमा चाख्ने धेरैछन् ।’

उनका श्रीमान् दिपक गौतम मलेसियाबाट फर्किएर घरमै छन् । सानो पसल र किसानी कर्मकाबिच देउरानीसँग मिलेर अचार अगाडि बढाएकी सरस्वतीले गाउँपालिका सहयोग गरे निरन्तर व्यावसाय अगाडि बढाउने बताइन् । गाउँपालिकाले अचार बनाउने तालिमसँगै लघु उद्यम कार्यक्रममार्फत उद्यमी सृजना गर्ने काम गरिरहेको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत लक्ष्मण पाण्डेयले जानकारी दिए । लघु उद्यमअन्तर्गत तरकारी खेती उत्पादन, पशुपालन, सिलाइकटाइ, डलकुशनलगायत साना उद्यम व्यवसायमा गाउँपालिकाले काम गरिरहेको पाण्डेयले बताए । उनले गत वर्ष ९३ जना उद्यमी सृजना गरेको र यो वर्ष ४० जनालाई स्तरोन्नति तथा ८० जना नयाँ उद्यमी तयार गरिने बताए ।

पालिकाको तर्फबाट तालिम तथा उत्पादनको बजारीकरणको काम भएकाले नजिकका बजार, सहकारी र कोशेली घरहरुमा बिक्रीको सहजीकरण भइरहेको छ । पाण्डेका अनुसार केही समयमा उत्पादनको बजार ग्यारेण्टीसहित पोस्करबाट झोला र टोपी बनाउने तालिम सञ्चालन गर्ने योजना पालिकाको रहेको छ ।