‘सरकारको आँखा स्वास्थ्य रणनितीलाई सफल पार्न साझेदारी’

स्थानिय तहका प्रमुख, उपप्रमुख तथा सरोकारवालाहरु बिच छलफल

मेचीकाली संवाददाता

१२ जेष्ठ २०८०, शुक्रबार
266 shares

सुनिल आचार्य

कपिलवस्तु । नेत्रज्योति संघको ‘हाम्रो कर्तव्य, हाम्रो जिम्मेवारी, आँखा सेवामा साझेदारी’ भन्ने मुल नारा सहितको उज्यालो अभियान कार्यक्रमलाई अगाडी बढाई, दृष्टिविहिनतालाई न्यूनिकरण गर्न हातेमालो गर्न आफुहरु तयार रहेको सरोकारवालाहरुले प्रतिवद्धता जनाएका छन् ।

नेपाल नेत्रज्योति संघ, आँखा स्वास्थ्य कार्यक्रम राप्ती तथा बहादुरगञ्ज अन्तर्गत सञ्चालित छन्द कालेबाबु नारायणी आँखा अस्पताल बहादुरगञ्ज कपिलबस्तुको आयोजना तथा एनएवीपी नर्वेको आर्थिक सहयोगमा कपिलबस्तुको तौलिहवामा आयोजना गरिएको छलफल कार्यक्रमका सहभागीहरुले सो कुरा बताएका हुन ।

नेपाल नेत्रज्योति संघ दाङका सभापति तथा आँखा अस्पताल व्यवस्थापन समितिका अध्यक्ष कृष्ण कुमार गिरीको अध्यक्षता तथा जिल्ला समन्वय समिति कपिलबस्तुका प्रमुख बाबुराम आचार्यको प्रमुख आतिथ्यमा सम्पन्न कार्यक्रममा सहभागीहरुले राष्ट्रिय आँखा स्वास्थ्य रणनिति २०७९/२०८६ अन्तर्गत सरकारको नेतृत्वदायी भुमिका हुनुपर्ने बताएका छन् ।

रणनिती कार्यान्वयन भए पश्चात संघ प्रदेश र स्थानीय सरकारले क्रमश लगानी वृद्धि गर्दै बहुक्षेत्रीय समन्वय, सहकार्य र साझेदारी मार्फत वित्तिय सुनिश्चत गर्ने उल्लेख भएकाले साझेदारी र साथ सहयोग आवश्यक रहेको आँखा स्वास्थ्य कार्यक्रमका प्रमुख प्रशासक सम्शेर थापाले बताउनु भयो । उहाँले कपिलबस्तुको बाणगंगा नगरपालिका, यशोधरा गाउँपालिका, मायादेवि, शुद्धोधन गाउँपालिकामा रहेको अन्धोपनको अवस्थाको बारेमा जानकारी गराउनु भएको थियो ।

थापाले नगरपालिकाले सञ्चालन गरेका साझेदारी कार्यक्रम, भावि योजना र आगामी आर्थिक बर्षमा हुने साझेदारी कार्यक्रम बारेमा जानकारी दिनु भएको थियो । छन्द कालेबाबु नारायणी आँखा अस्पतालको रणनितिक कार्ययोजना समेत प्रस्तुतिकरण गर्नु भएको थियो । त्यस्तै स्वास्थ्य आँखा, सुन्दर समाज सरकारको दिर्घकालिन सोच रहेको भन्दै सरकारको लक्ष्य गुणस्तरीय आँखा स्वास्थ्य सेवामा नागरिकको समता मुलक र सर्वसुलभ पहुँच सुनिश्चित गर्ने रहेकोले त्यस तर्फ सबै लाग्नु पर्नेमा जोड दिनु भएको थियो । सहयोगी दातृ निकाय, राष्ट्रिय स्वास्थ्य नीति २०७६ र आँखा स्वास्थ्य रणनीति २०७९/२०८६ को विषयमा सहभागीहरुलाई प्रकाश पार्नु भएको थियो ।

नेपाल नेत्रज्योति संघ दाङ शाखाले स्थापना कालदेखिनै नेपालमा अन्धोपन निवारणका लागि आन्तरिक एवं बाह्य सहयोगका माध्यमबाट आँखा स्वास्थ्यको क्षेत्रमा अहोरात्र खटी उपचारात्मक, पुनःस्थापना तथा सचेतनात्मक सेवागर्दै आइरहेको छ । नेपाल नेत्रज्योति संघ दाङले तीन वटै आँखा अस्पतालहरु र उपचार केन्द्रहरु सञ्चालन गरि लुम्बिनी प्रदेश अन्तर्गतको जिल्लाहरु साथै कर्णाली प्रदेशमा समेत उपचारात्मक र सचेतनात्म कार्यक्रम सञ्चालन गरेको छ ।

कार्यक्रममा प्रमुख अतिथि जिल्ला समन्वय समितिका प्रमुख बाबुराम आचार्यले नेपाल नेत्रज्योति संघ अन्तर्गत सञ्चालित छन्द कालेबाबु नारायणी आँखा अस्पतालले अन्धोपन न्यूनिकरणमा अहम भुमिका खेलेको बताउनु भयो । आँखा नै जिवन भएको हुँदा सम्पूर्ण स्थानियतहले योजना बनाउँदा आँखा सेवाको लागि बजेट संबोधन गर्नुपर्नेमा उहाँले जोडदिनु भयो ।

सबै पालिकाहरुको सहकार्यले मात्र अन्धोपन न्यूनिकरण गर्न सकिने भन्दै सहयोग गर्न पालिकाहरुलाई आग्रह गर्नुभयो ।’ नेपाल नेत्रज्योति संघले सञ्चालन गरेका आँखा अस्पतालमा मित्र राष्ट्र भारतका जनताले पनि सेवा लिई रहेको भन्दै यो सवै कपिलबस्तु बासीको गौरवको कुरा भएको उहाँको भनाई छ ।

त्यस्तै कपिलबस्तु नगरपालिकाका नगर प्रमुख सुदिप पौडेलले आँखा जस्तो सम्वेदनशिल क्षेत्रमा आफुहरु गम्भीर भएको बताउनु भयो । उहाँले अन्धोपन न्यूनिकरणका लागि आफ्नो पालीकाबाट हुन सक्ने सवै सहयोग हुने प्रतिवद्धता समेत जनाउनु भयो ।

यस्तै बाणगंगा नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत खिमानन्द भुसालले मानवियको महत्वपूर्ण अंग आँखा भएको हुँदा यस सम्बन्धमा बाणगंगा नगरपालिकाले स्वास्थ्य निती , दिगो बिकासका नितीलाई बोधन गर्ने बताउनु भयो । बाणगंगामा आँखाका बिरामीहरुका लागि निती कार्यक्रममा रहेर आगामी आर्थिक बर्षको बजेट बनाउँदा आँखा स्वास्थ्य सेवाका लागि सम्बोधन गर्ने प्रतिवद्धता जनाउनु भयो ।

मायाँदेवी गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत परमेश्वर प्रसाद यादवले ०८०÷०८१ को बजेट बनाउँदा आँखा सेवाका लागि सम्बोधन हुने प्रतिवद्धता जनाउनु भयो । आँखाका बिरामीहरु लागि मायाँदेवी गाउँपालिकाको पूर्ण सहयोग रहने र आँखाका बिरामीहरुलाई उज्यालो ज्योति दिलाउन गाउँपालिका प्रतिवद्ध रहेको बताउनु भयो ।

कार्यक्रममा मायाँदेवी गाउँपालिकाका स्वास्थ्य शाखा संयोजक महेन्द्र प्रसाद यादवले मायाँदेवी गाउँपालिकामा ७ सय ३८ जनाको आँखाको सल्यक्रिया गराईएको बताउनु भयो । जनप्रतिनिधिहरुको पूर्ण सहयोग नभए सम्म कार्यक्रम संचालन गर्न कठिन हुने बताउनु भयो । स्वास्थ्य क्षेत्रको बजेट मौलिक हकको अधिकारलाई संबोधन हुने खालको हुनुपर्नेमा जोड दिनु भयो ।

नेपाल नेत्रज्योति संघ कपिलवस्तुका अध्यक्ष मनोज कुमार श्रीवास्तवले अन्धोपन निवारणका लागि सबैको एक्यवद्धता हुन आवश्यक भएको बताउँदै नेत्र ज्योतिसंघको पूर्ण साथ सहयोग रहने प्रतिवद्धता जनाउनु भयो ।

कार्यक्रममा संघका सभापति गिरीले राप्ती तथा बहादुरगंजको कार्यक्रमलाई सन् २०३० (वि.स २०८७) सम्ममा आत्मनिर्भर बनाउने लक्ष्य रहेको भन्दै मेसिन औजार खरिद तथा भौतिक निर्माणका लागि साझेदारी हुदै आएको बताउनु भयो ।

उहाँले छन्द (कालेबाबु) आँखा अस्पताल बहादुरगञ्जलाई ट्रर्सरी लेबलमा स्तरोन्नति गर्ने , दृष्टिविहीन पुनस्थापना कार्यक्रमलाई सुदृढ गर्ने र आँखा अस्पतालमा ४ वटा विशिष्टीकृत सेवाहरु आँखाको पर्दा , आँखाको नानी, अकुलोप्लाष्टिक र बालआँखा रोग सम्वन्धी सम्पूर्ण उपचार सेवा प्रदान गरेको भन्दै थप सेवा विस्तार गर्ने बताउनु भयो ।

कपिलबस्तु जिल्ला र छिमेकी जिल्ला भारतका जनतालाई सेवा दिएको भन्दै सवैको साथ र सहयोग आवश्यक रहेको बताउनु भयो । छन्द कालेबाबु नारायणी आँखा अस्पताल बहादुरगञ्जका प्रशासकिय अधिकृत जसराज विश्वकर्माले हाल सम्म अस्पताले दिएका सेवा तथा साझेदारीका कार्यक्रमहरुको वारेमा जानकारी दिनु भएकोथियो ।

उक्त कार्यक्रमको संचालन सूचना अधिकारी बालाराम खड्काले गर्नु भएको थियो । जिल्लाको दश स्थानियतहमा आँखा स्वास्थ्य क्षेत्रमा सेवा पु¥याउने उद्देश्यले समन्वय बैठकको आयोजना गरिएको आयोजकले जनाएको छ ।