संस्कृतिप्रति बेवास्ताः खोला त¥यो, लौरो बिर्सीयो !

मेचीकाली संवाददाता

८ असार २०८०, शुक्रबार
1009 shares

घनश्याम कोइराला

संसारमा कहिलेकाहीँ ठुल्ठुला विपद् आइलाग्दछन् । यस्ता विपद्हरूबाट मानिसले अनेकौँ खोज, अनुसन्धान, अध्ययन गर्दछ । कतिपय विस्मृतिमा पुगेका विषयको पुनःस्मरण पनि गर्दछ । केही समयअघि कोभिड नामको महामारीले मानवजातिलाई विपद्मा बेस्सरी हुँडल्यो । अहिले पनि त्यो पूर्णतः समाप्त भइसकेको छैन, केही बदलिएर त्यो विषाणु अहिले पनि रहेको छ । चीनमा प्रादुर्भाव भएको यो विषाणु मानिसबाट मानिसमा सर्दै विश्वाव्यापी भएको हो । चीनको भूगोल, चीनको राजनीतिक व्यवस्था, चीनको अर्थतन्त्र, चीनको संस्कृति, रीतिस्थिति, मूल्य–मान्यताका सकारात्मक वा नकारात्मक विषय यति छिटो विश्वव्यापी हुने परिकल्पनासम्म पनि गर्न सकिँदैन । तर, यो महामारी चीनका सबै विशेषता र सिमाहरूलाई नाघ्दै छोटो अवधिमा विश्वव्यापी हुनुले केही नयाँ पाठ अवश्य पढाएको छ ।

सबैलाई थाहा छ, आमरूपमा भन्नुपर्दा चीनका माथि उल्लेख गरिएका भूगोल, राजनीति, अर्थतन्त्र, संस्कृति आदि विषय शेष विश्वभन्दा फरक छन् । क्रान्तिबाट स्थापित कम्युनिष्ट शासन व्यवस्था भएको हुनाले दुनियाँका मानिसहरूले चीनलाई हेर्ने फरक दृष्टिकोण छ । चीनले आपूmलाई पनि फरक नै ठान्दछ । चीन प्रत्यक्ष रूपमा घोषणा नै गरेर नभए पनि विकासको तीव्रता र बजार विस्तारको माध्यमबाट संसारमा सर्वाधिक प्रभावशाली बनिरहेको छ ।

चीनबाट उत्पन्न भएको ‘कोभिड–१९’ लाई सुरुमा अन्यत्रका मानिसहरूले त्यति वास्ता गरेका थिएनन्, बरु त्यहाँको खानपानका कारण उत्पन्न ‘रोग’को रूपमा मात्र लिएका थिए । फरक खानपान र जीवनशैलीका कारण अन्यत्र पर्नसक्ने यसको प्रभावलाई कमै आँकिएको थियो । तर, व्यवहारमा पुष्टि भयो–मानिस, मानिसबाट कति निकट रहेछ, भिन्न भूगोल र भिन्न व्यवस्थाको बावजुद कति निकटता रहेछ ? यससँगै यो महामारीबाट मानवजातिले आपूmहरू बिचको भिन्नता होइन, अन्तर्निरता बुझ्नपर्ने वास्तविकता उजागर गरिदिएको छ । हामी बिचको भिन्नताभन्दा निकटता प्रभावकारी छ भन्ने सम्झाइदिएको छ ।
संक्रमणको विश्वव्यापी विस्तारले मानिस–मानिस बिचको निकटता पुष्टि गरेको छ । भूगोलको जुनसुकै ठाउँमा भए पनि, हामी कसैमा पनि पर्ने विपत्तिले मानव जातिलाई आक्रान्त पार्न सक्दछ । यसको अर्को पाटो हो–सकारात्मक परिघटनाहरूको लाभ पनि कुनै न कुनै प्रकारले सबैका भागमा पर्न सक्दछ । त्यसैले त हाम्रा पुर्खाहरूले भने–वसुधैव कुटुम्बकम्, अर्थात् सारा संसार, एउटै परिवार !

संसारको कुरामा त यति निकटता हुन्छ भने एउटै राष्ट्रमा यसको प्रभावको विषयमा केही भन्नै परोइन । कुनै एक जनालाई पर्ने कुनै प्रकारको असहजता–सहजता, उन्नति–अवनति, गुण–दोष आदिले सबैलाई प्रभाव पार्दछ । मानिस मानव संसारको एउटा एकाइ हो, अंश हो, एउटा अंग हो । हरेक एकाइले समग्रलाई, हरेक अंशले अंशी(विश्व)लाई, हरेक अंगले अंगीलाई प्रभाव नपारिरहने कुराको कल्पनासम्म पनि गर्न सकिँदैन । यसरी हरेक मानिस, हरेक समुदाय÷समाज, हरेक राष्ट्र एकापसमा अन्तर्सम्बन्धित छ । यति कुरा बुझ्न हामीलाई कोरोना(कोभिड)ले सघायो ।

कोभिड विषाणुको संक्रमणबाट जोगिनका लागि सरसफाइ वा शुद्धिका लागि विभिन्न उपायहरू सुझाइएको थियो । ती सुझावहरू कम्तीमा ६० प्रतिशत अल्कोहल भएको सेनिटाइजर प्रयोग गर्न पर्ने भनिएको थियो । त्यस्तै, साबुनपानीले कम्तीमा २० सेकेण्डसम्म मिचीमिची हात धुनुपर्ने भनियो । यी सुझावहरू साह्रै राम्रा छन् । प्रश्न उठ्छ, के हातशुद्धिका लागि अरु केही मौलिक उपाय प्रयोगमा थिएनन् त ? खरानी, उपयुक्त माटो, गोबर–गहुँतको मिश्रण, रिट्ठा आदि प्रयोग गर्न सकिन्थ्यो । तर हामी आधुनिक भयौँ । हामीलाई प्रकृत्ति प्रदत्त यी वस्तुको संरक्षण र प्रयोगमा भन्दा कारखानामा बनेका वस्तुहरू प्रयोगमा आनन्द आउन थाल्यो ।

शौच (शुचि) अर्थात् सरसफाइका लागि हाम्रा पूर्वजले ध्यानै नदिएकाहुन् त ? हामी हाम्रा पुख्र्यौली कारणले नै फोहरी रहेका हौँ त ? यस्तो होइन, हामीसँग पनि आधार छ, प्रयोगको अनुभव छ । तर यी सबैलाई हाम्रा पुर्खाले विषयलाई अनिवार्यसँग जोडेर दिगो बनाउन धर्मसँग जोडे । शास्त्रीय विषय बनाए । त्यतिबेला अहिले जस्तो हिन्दू, बौद्ध, इस्लाम, इसाई आदि धर्महरू थिएनन् । तर समाजमा विकास भएका अनकौँ धर्महरू र कलकारखानाहरूको विकासका कारण मानिस नयाँतर्फ आकर्षित हुँदै आइयो । नयाँको नक्कलतिर लागियो । आफ्नो र पुरानो छोड्दै आइयो । आफ्नो र पुरानो छोड्दा साह्रै मनमोहक र कर्णप्रिय ‘विज्ञान अपनाउने’ र ‘अन्धविश्वास त्याग्ने’ शब्द प्रयोग गरियो । कहाँ चुकियो भने कुनै पनि विषयको भौतिक आधार ‘अन्धविश्वास’ हुँदैन, प्रयोगका शैली वा तरिकाहरू अन्धविश्वास हुनसक्दछन् ।

शुचिका बारेमा महर्षि भृगुले भनेका छन्ः
‘द्वे लिङ्गे मृत्तिके देये गुदे पञ्च करे दश । उभयोः सप्त दातव्या विट्शौचे मृत्तिकाः स्मृताः अर्थात् शुद्ध हुन चाहने व्यक्तिले एकपटक मूत्रद्वार, तीनपटक गुदद्वार, दसपटक हात र सातपटक गोडा धुनुपर्दछ ।’ (आन्हिक सूत्रावली)
नागदेवले भनेका छन्, ‘एकैकया मृदा पादौ हस्तौ प्रक्ष्याल्य यत्नत ः ।। अर्थात् माटोले एकएक गरी राम्रोसँग हात—गोडा धुनुपर्दछ ।’(आन्हिक सूत्रावली) । स्नानाचारविहीनस्य सर्वाः स्युः निष्फलाः क्रियाः अर्थात् स्नानादि शुद्धाचारविना सबै कार्य असफल हुन्छन् । जुनसुकै काम स्नानादि शुद्धिपूर्वक गर्नुपर्दछ ।’ (वाधूलस्मृति) । ‘न आद्रम् परिदधीत–चिसो लुगा नलगाउनू ।’ (गोभिलगृह्य सूत्र) ।

‘न धारयेत् परस्यैवं स्नानवस्त्रं कदाचन अर्थात् अर्काले स्नानादिमा प्रयोग गरेको लुगा नलगाउनू वा प्रयोगमा नल्याउनू ।’ (पद्मपुराण) ‘अन्यदेव भवेद् वासः शयनीये नरोत्तम । अन्यद रथ्यास देवानाम अर्चायाम् अन्यदेव हि अर्थात्, असल मानिसले सुत्दा र बाहिर घुम्न जाँदा र पूजा गर्दा लगाउने लुगा फरक फरक हुनुपर्दछ ।’ (महाभारत) । यसको तात्पर्य हो, लुगा पनि हरेक कामका लागि फरक फरक हुनुपर्दछ ।

‘न वार्यञ्जलिना पिबेत् अञ्जुलिले पानी नपिउनू ।’ (मनुस्मृति) । ‘नाअलिपुटेनापः पिबेत् । अर्थात् अञ्जुलिले पानी नपिउनू । (सुश्रुतसंहिता) ‘हस्तपादे मुखे चैव पञ्चाद्रो भोजनं चरेत् । अर्थात् हात, गोडा र मुख धोएर मात्र भोजन गर्नुपर्दछ ।’ (पद्मपुराण) ।
‘लवणं व्यञ्जनं चैव घृतं तैलं तथैव च । लेह्यं पेयं च विविधं हस्तदत्तं न भक्षयेत् अर्थात्, नुन, अचार–तरकारी, घिउ, तेल, चटनी, पानी–मही–सर्बत आदि हातले दिएको नखानू ।’ (धर्मसिन्धु) यी वस्तुहरू दिँदा डाडु, चम्चा आदि प्रयोग गर्न भनिएको बुझिन्छ ।
व्यक्तिगत सरसफाइ गरी संक्रमणबाट जोगिन यस्ता अनेकौँ उपायहरू शास्त्रमा सुझाइएका छन् । तर, अहिलको हाम्रो शिक्षा र जानकारीका माध्यमहरूका कारण ‘६० प्रतिशत बढी अल्कोहल भसेनिटाइजर प्रयोग गर्ने या साबुनपानीले २० सेकेन्ड मिचीमिची हात धुने’ अभ्यास मात्र विज्ञान, अनि हाम्रा आफ्ना ‘मौलिक ज्ञान, वस्तु र शैली अन्धविश्वास’मा परिणत भएका छन् ।

हाम्रो पूर्वीय मान्यतामा शुद्धीकरणका विभिन्न उपायहरू छन् । अग्निस्पर्श, स्नान, सचैलस्नान (लुगैसित नुहाउनु), गहुँतको प्रयोग (खाने, छर्कने) आदि विधिहरू प्रचलनमा रहेका छन् । कर्मकाण्डमा कर्मपात्र बनाइएको हुन्छ । आँप, वर, पीपल, समी, डुम्रीका पात (पञ्चपल्लव÷पाँच प्रकारका पात) तामाको भाँडा (कलस) मा राखिएको हुन्छ र त्यसमा अनेकौँ उपचार गरी सोही जल छर्कने र शुद्धीकरण गर्ने गरिन्छ । कर्मपात्र बनाएर त्यसमा राखिएको जौ, तिल, कुश, फूल, अक्षता आदि मिसाइएको शुद्ध पानी छर्कने गरिन्छ । हरेक सानो कर्मपछि ‘….हस्त प्रक्षालनम्’ अर्थात् अब हात धोऔँ भन्ने गरिन्छ । यी सबै दैनिक जीवनका उपयोगी विषयहरू आजा–पूजा आदि कर्मकाण्डमा सीमित पारियो । अन्य अनेकौँ विधिहरू पनि छन् । तर, यी सबै अन्धविश्वास भए ।

अब अवसर आएको छ हामी एकोहोरो भएर होइन, अध्ययन–अनुसन्धान र विश्लेषण गरेर यी मौलिक सांस्कृतिक परम्परामा रहेका जीवनोपयोगी प्रावधानहरू व्यवहारमा लागू गरौँ । हाम्रा पुर्खाको खोज–अनुसन्धानमा आधारित व्यवस्था विज्ञानसम्मत छन् । जन्मेकै आधारमा कसैलाई छुत र कसैलाई अछुत बनाइएको विभेदकारी प्रावधान वैज्ञानिक छैनन् । तर सापेक्ष अस्पृश्यताको अर्थ त हामीले अहिले बुझ्दैछौँ नि ! संक्रमण भनेको लसपस (छातछुत) बाट सर्ने रहेछ । जातीय आधारमा हुने छुवाछुत होइन, छुवाछुतबाट जोगिनपर्ने अन्य विषय पनि रहेछन् नि ! यी र यस्ता विषय हामीले संसारलाई हाम्रा मौलिकता भित्रबाट खोज र व्यवस्थापन दिन सक्नुपर्दछ ।

हाम्रो संस्कृतिमा रहेको वर्णव्यवस्थाको आधार वैज्ञानिक छ । तर के स्पष्ट हुन आवश्यक छ भने जातीय विभेद र वर्णव्यवस्था फरक हुन् । जातिवाद र वर्णवादको निरपेक्षता विज्ञानसम्मत छैन, तर कामको वर्गीकरणका हिसाबले कामलाई बौद्धिक–प्राज्ञिक, बल, उत्पादन र सेवा क्षेत्रको रूपमा कायम गरिएको विषय विश्व व्यवस्थापनमा हाम्रो मौलिक विषय हो । यो विषय दार्शनिक चिन्तनका हिसाबले पनि मौलिक छ । यस प्रतिको उदासीनता र विभेदको निरन्तरताले विकृत बनाएका प्रावधान त्यहीँबाट सच्याउन सकिन्छ । जातिव्यवस्था, वर्णव्यवस्थाबाट हामीले हीनताबोध गर्नुपर्ने देखिँदैन । तर, सापेक्ष सुधार गर्न नसक्नुमा गर्व गर्न पनि हुँदैन ।

हाम्रा प्राचीन शिक्षामा किटाणुहरूबाट जोगिने, विषाणुबाट जोगिने अनेकौँ उपायहरू वर्णित छन् । संक्रमणबाट जोगिने अन्य उपायहरूका साथै एकान्तवास आदिबारे पनि धेरै विषय रहेका छन् । तर, हामी बुझेर पनि नबुझेजस्ता, भएर पनि नभएजस्ता भएका छौँ ।
‘यो ध्रुवाणि परित्यज्य अध्रुवं परिसेवते । ध्रुवाणि तस्य नश्यन्ति अध्रुवं नष्टमेव हि अर्थात्, जो आपूmसँग भएकोलाई छोडेर अनित्यलाई अँगाल्दछ, उसको नित्य त नष्ट हुन्छ, अनित्य त नष्ट नै छ ।’ (चाणक्यनीति) यो कुरा स्मरणीय र विचारणीय छ ।
हामीले हाम्रो व्यवस्था र पद्धतिहरूमा श्रमप्रति सम्मान गर्ने र सम्भव भएजति विषयमा आत्मनिर्भर हुँदै अन्तर्निर्भरतामा आफ्नो भूमिकालाई युक्तिसम्मत माथि उठाउने प्रयासहरू स्थापित गर्नुपर्दछ । नागरिकहरू र राज्यको सम्बन्धमा रहेको ‘करदायी’ र ‘करग्राही’ जस्तो अवस्थाबाट राज्यप्रति विश्वासयुक्त वातावरण विकास गर्ने उपायहरू अवलम्बन गर्नुपर्दछ । र, जनताले सहर्ष कर तिर्ने र यसप्रति गौरव गर्ने अवस्था सिर्जना गर्नुपर्दछ । वातावरणको शुद्धताको लागि सचेतनता विस्तारको गति तीव्र पार्न आवश्यक छ ।

हामीले धेरै प्रकारका औद्योगिक विकास र वैज्ञानिक खोज—अनुसन्धानमा अन्य मुलुकहरूलाई जित्न वा प्रतिस्पर्धा गर्न नसकिएला वा लामो समय लाग्ला, तर कृषि उत्पादन बढाउन यसप्रति स्वदेशी कर्मशील युवा जनशक्तिलाई संलग्न गराउन परिणाममुखी उपायहरू अवलम्बन गर्न ढिलो गर्नुहुँदैन । विश्वको कुनै भूखण्डमा सानोतिनो समस्या आउने बित्तिकै नेपालको भान्सामा प्रभाव पर्ने अवस्थाको अन्त्य गर्न हदैसम्मको प्रयास सफल पार्नुपर्दछ ।

हाम्रो शिक्षा नीति, शैक्षिक विषय र पद्धतिका विषयमा नेपालकै परिस्थिति सुहाउँदो बनाउनुपर्दछ । यहाँ बसेर अन्यत्रको नक्कल गर्ने वा अन्यत्रका लागि मात्र अनुकूल हुने शिक्षाले हाम्रो समृद्ध नेपाल र सुखी नेपालीको अभीष्ट पूरा हुन सक्दैन । सरकारी÷सार्वजनिक शैक्षिक केन्द्रहरू भौतिक पूर्वाधार सम्पन्न पार्नुपर्दछ । कोभिडजस्ता संक्रामक महामारीका बेलामा ती स्थलहरूको उपयोग गर्न सकिन्छ । सार्वजनिक खुला स्थानहरूको संरक्षण योजनाबद्ध ढंगले गर्नुपर्दछ । कुनै पनि खण्डखातिर परिआएको अवस्थामा सबैको हक लाग्ने पूर्वाधार÷सार्वजनिक स्थल हुनुले जनताको मनोबल बढाउन सकिन्छ । उच्च मनोबल भएका जनता मात्र जुनसुकै अवस्थाको सामना गर्न सक्षम हुन्छन् ।
हामीले धार्मिक मठ–मन्दिर, गुम्बा, चैत्य–बिहार, मस्जिदहरूलाई यस्तो बेलामा काम लाग्ने भौतिक संरचना र चेतना स्थलको रूपमा विकास गर्नुपर्ने आवश्यकता पनि उत्तिकै टड्कारो देखियो ।

स्वास्थ्य क्षेत्रको सेवा भरपर्दो र प्रशस्त हुन सकेको रहेनछ । सबैलाई उस्तै–एकै प्रकारको स्वास्थ्य सेवामा भरपर्न नपर्ने गरी यसका विविध आयामहरूको विस्तार गर्न आवश्यक छ । जडिबुटीहरूको विषयमा मानिसहरूलाई जानकार बनाउनु प¥यो । यसरी विश्वव्यापी महामारीबाट हामीले आपूmलाई नयाँ शिक्षा लिँदै हामी आफै बलियो गरी उभिन र संसारप्रति हाम्रो योगदान सुनिश्चित गर्न सकिने क्षेत्रको पहिचान गरी अघि बढ्नुपर्ने थियो । तर, मानिसको जातै अनौठो, ‘खोला त¥यो, लौरो बिस्र्यो ।’ अहिले मानिसहरूले कोभिडकै शिक्षा पनि बिर्सिसके । (लेखकः संस्कृति अध्येता तथा अभियन्ता हुनुहुन्छ ।)