मलाई नेपाल आमाको निर्देशन छ– अब विदेश जाऊ !

मेचीकाली संवाददाता

१ भाद्र २०७८, मंगलवार
149 shares

आस्था लोहनी
मैले आमाको निस्वार्थ मायाको महत्व नबुझ्दै मलाई देशको माया, राजनीतिको दुर्दशा सबै सिकाउँदैँ,‘तिमी र म मिलेर केही गर्नुपर्छ नानी’ भन्ने दादा विदेशिनु भयो । घरमा हर्षको माहोल थियो तर म मलिन थिए । म पढेर आइहाल्छु नि, भनेको दादाले अहिले कुरा गर्दा नेपालमा त बसोबास हुँँदैन होला भन्नुभयो । सबैसँग आशा हुँदैन तर देशभक्ति, क्रान्ति ल्याउने चहाना भएको व्यत्तिको मुखबाट यस्तो सुन्दा, देख्दा पिडा पनि हुन्थ्यो र रिस पनि उठ्थ्यो ।

तर, अहिलेको अवस्थामा म यहाँ नेपालमा बस्ने आफ्नो निर्णयले गर्दा पिडामा छु । आफ्नो जन्मभूमिमा बस्न पाउनु, बस्ने निर्णय गर्नु त गर्वको कुरा हुनुपर्ने तर पिडा कस्तो ? विदेशमा सोचेजस्तो सुख कहाँ छ र ? हजुरहरुलाई यस्तो लाग्यो होला । यो मेरो पनि बिडम्बना हो कि म आफूले गरेको नेपाल बस्ने निर्णयमा दुखी छु । तर प्रश्न यो हो कि किन ?

म अहिले ब्याचलर गर्दै गरेको विद्यार्थी हुँ । मबाट यो राष्ट्रले एक सचेत नागरिक, समाजले एउटा सामाजिक व्यक्तित्व र परिवारले एक जिम्मेवार सदस्यको आशा गर्छ । तर म आफ्नै जिम्मेवारी लिन सक्षम छु भन्ने कुरामा शंक्का लाग्छ । आजको अवस्थामा मलाई आफू मानसिक रोगी भएको महसुस गर्दैछु । अहिलेको परिवेशमा मैले आफ्नो भविष्य दिया मुनिको अध्यारो जस्तो भएको महसुस गर्दै छु । मेरो अवस्था अहिले तनावग्रस्त र मानसिक चिन्ताले भरिएको छ । यसको कारण के भन्दा देशको अस्थिर राजनिति, शिक्षा प्रणाली, लामो समयसम्म भएको लकडाउन जस्ता विभिन्न कारण थिए तर समाधानको उपाय केवल एक, जुन धेरै युवाको बाध्यता र धेरैको सपना हुन्छ–विदेश ।

टेक्नोलोजीले यति विकास गरिसकेको २१ औँ शताब्दीमा पनि परीक्षा दिनको लागि परीक्षाकेन्द्रमा पुग्नुपर्नेजस्ता बाध्यकारी नीतिले सबैमा त्रास छ । खुला विश्वविद्यालयबाट पनि उत्तीर्ण भैरहेको यो अवस्थामा यहाँको विश्वविद्यालयले परिपक्कताका रुपमा अनलाइन परीक्षा लिने हिम्मत र आँट पनि गर्दैन । प्रशासनका व्यक्तिले अनलाइन परिक्षाले शिक्षाको गुणस्तरमा सम्झैता हुन्छ भन्ने परिकल्पना गर्छन् तर अनलाइन कक्षा सञ्चालन आफँैमा शिक्षाको गुणस्तरमा चुनौती भएको कुरा हामी नकार्न सक्दैनौँ ।

विद्यार्थीहरु भन्छन्,‘७ लाखको हारहारीमा संक्रमित भैरहेको र करिब १० हजारको मृत्यु भैरहेको अवस्थामा सार्वजानिक यातायात चढेर परीक्षा दिन जानु पर्ने यथार्थ हो । कति परीक्षा हुन बाँकी छ, कति परिणाम आउनै छ, कति सेमेस्टर यसै अघि बढिरहेको छ, यो सबै हेर्दा शिक्षा र हामीहरु सर्कसको जोकर भएको महसुस हामी गर्दै छौँ । ४ वर्षको पाठ्यक्रम विस्तार भएर ५ वर्ष हुन लाग्यो भने ५ वर्षको पाठ्यक्रम ६ वर्ष । हामीहरुलाई वास्तवमा शिक्षाको महत्व र आवश्यकताको कमीसँगै हाम्रो भविष्यको पनि औचित्य नरहेको आभास हुँदै छ ।’ त्यसमा पनि त्रि.वि. क्षेत्रको विद्यार्थीको गुनासो धेरै सुनिएको छ । यो स्थितिले त देशको राजनीतिभन्दा दयानिय अवस्था देशका विद्यार्थीको हुन्छ जस्तो छ । त्यसैले लाग्छ सायद अब नेपाल आमाको निर्देशन छ–अब विदेश जाऊ !

कोही परीक्षापत्र बोकेर परीक्षाकेन्द्र गएका विद्यार्थी पुलिसको लौरी खाँदै प्रहरी चौकीमा छन् । लाखौँ तिरेर निजी कलेजमा भर्ना भएका विद्यार्थीको माग नसुनेर कति विद्रोह गर्दै छन् भने कोही मानसिक तनाबले ग्रहसित छन् । कति विद्यार्थीहरु ‘आवाजहरु नसुक्ने छन् न दब्ने छन्, बलेको आगो निभ्ने छैन’ भन्दै २४ घण्टा रिले अनसनमा छन् । तर प्रशासन भने मौन छ । राज्यको कुनै उत्तरदायित्व देखिँदैन । तरबार भन्दा कलममा बढी शक्ति हुन्छ भन्दै विवाद गरेका मेरा शब्द म आफँैलाई गलत लाग्दै छन् । यो अवस्थामा मेरी आमाको र सायद नेपाल आमाको पनि निर्देशन यही छ–अब विदेश जाऊ !

एउटा जिम्मेवार पूर्ण स्थानमा बसेर निर्देशन गर्न योग्य ठहरिएको व्यक्तिको कुरा सुन्दापनि अचम्म लाग्छ । अनलाइन परीक्षा गराउन प¥योभन्दा विद्यार्थीको घुमघाम र लापरबाहीलाई आफ्नो हतियार बनाएर ती शब्दहरुलाई उचित सिद्ध गर्न खोज्नु कति निन्दापूर्ण छ । एउटा विद्यार्थीले यातायातको समस्यादेखि बाटो, बाढी, पहिरो सबै समस्या भोग्नु परेको यथार्थलाई किन नबुझेको होला ? सायद त्यो उत्तरदायी स्थानमा भएको व्यक्तिले तिमीहरुको स्वास्थ्य सुरक्षाको जिम्मेवारी हाम्रो हो, तिमीहरुको परिक्षा दिन आओ, भ्याक्सिनको व्यवस्था हामी मिलाउँछौँ भनेर आश्वासन पनि दिन नसक्ने यस्तो प्रशासन र सरकारमा कसरी विस्वास गर्ने ? वास्तवमा विद्यार्थीको अवस्था घर न घाटको भएको छ । भ्रष्टाचारमा लप्त भएर भौतिक परीक्षा गर्दा करोड रुपैँया खाएर विद्यार्थीलाइ बेच्न पनि पछि नपर्ने प्रशासनप्रतिको आरोपबाट विध्यार्थीमा जागेको अविस्वासको भाव चरमसिमा पुगेको कुरा स्पष्ट हुन्छ । #saynotophysicalexam भन्नेजस्ता ट्वीट प्रचलनमा छ तर शिक्षा मन्त्रालयदेखि सबैजना मौन छन् । यो अवस्थाले विद्यार्थीलाइ एउटा मात्र बाटो खुल्ला हुन्छ त्यो हो विदेश पलायन हुने ।

मेरो मनसाय यो होइन कि नेपालमा भौतिक परीक्षा हुनु नै हुँदैन । हामी विद्यार्थीको भलो हुने सबै निर्णय हामीलाई स्वीकार छ । तर सबै कुरा आफ्नो समयमा भएको उचित हुन्छ । विश्वसँग प्रतिस्पर्धा गर्नुपर्ने समयमा हामी मात्र पछाडि पर्नु भनेको देशको लागि पनि लाजमर्दो विषय हो । यसको लागि सरकार, प्रशासन, विद्यार्थी सबै एकजुट भएर आफ्नो जिम्मेवारी पूरा गरेर यो अहिलेको परिस्थितिसँग लड्नुपर्छ ।

यहाँ भनिएको समस्या एउटा विद्यार्थीको मात्र नभएर बाह्रदेखि मास्टरसम्म नेपालमा रहेका हरेक अध्यायनरत युवाको हो । पहिलाबाट नै समाजमा आँखाको तारा बनेको विदेश अब भर्खरै १२ पास गरेका भाइबहिनीको लागि नहिँडी नहुने गन्तव्य बन्दै छ । पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले भनेका थिए,‘युवा बाध्यतावश विदेश जानु पर्दैन ।’ तर के हाम्रो समाजिक परिवेशले यो बताउँछ त ? यो अवस्थामा आफुले देख्ने बाटो, परिवारले देखाउने गन्तव्य भनेको नै विदेश रहेछ । सायद बोल्न सक्थिन् भने यो नेपाल आमाको आफ्ना सन्तानलाई निर्देशन यही हुन्थ्यो–अब विदेश जाऊ !