गुणानिधि भुसाल
अर्घाखाँचीका, युग युगसम्म सम्झिन पर्ने, समकालीन माहा बिभूतिहरूमध्ये केहीको नाम यहाँ उल्लेख गरिएको छ । खासगरी विभिन्न कालखण्डमा अर्घाखाँचीमा रहेर महत्वपूर्ण योगदान गरेका विभूतिहरुमध्ये केहीलाई स्मरण गर्ने कोसिस गर्दै यो संक्षिप्त सामग्री तयार पारिएको हो । यसपटक शशिधर स्वामी, कर्णेल सनत सिंह टण्डन, हरिहर गौतम, पं.खगेश्वर भुसाल र साहु मतिकुमार श्रेष्ठका बारेमा संक्षिप्त जानकारी सहितको सामग्री तयार पारिएको छ ।
शशिधर स्वामीः
अर्घाखाँची मरासिनीहरूका पूर्वज, गुल्मी तम्घास माथिको पवित्र भूमि अर्थात् तपोभूमि रेसुङ्गामा तपस्या गर्ने, दर्शनार्थीहरूलाई धार्मिक मार्गदर्शन, नैतिक शिक्षा र उपदेश आशिर्वाद दिने महान गुरू हुनुहुन्थ्यो । उहाँका निकटतम साथी लिलाबल्भ भुसाल हुनुहुन्थ्यो । स्वामी जीले तपोभूमि रेसुङ्गामा स्थापना गर्नु भएको मन्दिर र पोखरीमा अहिले पनि छ । यहीँ पवित्र पोखरीमा अहिले पनि दर्शनार्थीहरूको घुँइचो लाग्ने गर्दछ ।
अठारौं शताब्दीका जोसमनी सम्प्रादायका प्रर्वतक शशिधर स्वामी भारतको पौडि गढवालमा गएर कंकालेश्वर महादेवको मन्दिर/गुठिको समेत स्थापना गरेको र नेपालबाट तीन जना पण्डितलाई त्यहाँ पठाएको बताइन्छ । शशिधर स्वामीले नेपालबाट तीन जना महन्तहरु मित्र शर्मा, रामबुद्ध शर्मा र हरि शर्मालाई भारतको पौडि गढवालमा पठाउनुभएको गढवालबाट शशिधरको तपस्या स्थल खोज्दै हालै गुल्मीको रेसुङ्गामा आउनुभएका नवौं सन्तमुनी अभयानन्दको भनाइ छ । शशिधर स्वामीले पठाउनुभएका तिन जना महन्तहरुले त्यहाँ रहँदा जोसमनी सम्प्रादायको साथै रेसुङ्गाको र शशिधर स्वामीको रुपमा प्रचार–प्रसार समेत गरेको अभयानन्दमुनिको भनाइ छ ।
कर्णेल सनत सिंह टण्डनः
कर्णेलबाट सेवा निवृत्त भएपछि दखिन खाँचीको सितापुर र झन्द्रेकमा बस्नु हुन्थ्यो । कर्णेलका पाटा भन्ने ठाउँ सितापुरमा छ । उहाँले काठमाण्डौबाट मिस्त्री (कामदार) हरू ल्याएर ईतिहासिक बल्कोट पौवा र शिवालय बनाउनु भएको थियो । बल्कोट पौवालाई ऐतिहासिक मानिन्छ । कर्णेल सनतसिंहलाई धेरैले बहादुरका रुपमा लिने गर्छन् । तत्कालीन राजामहाराजाहरुले उहाँलाई औधी सम्मान गर्ने गरेको बताइन्छ ।
अर्घाखाँचीमा निर्माण गरेको पौवाको संरक्षक र ब्यबस्थापन उहाँले राखेका गुठिबाट हुदै आएको छ । मथुराबेसिमा जन्मेका जंगबहादुर राणाको न्वारान यहीं बल्कोट पौवामा भएको थियो । जंगबहादुर जन्मेका मथुरा बेसिमा ईतिहासिक पाटि अहिले पनि छ । यसलाई संरक्षण गरेर पर्यटकीय स्थलका रुपमा विकास गरिएको छ ।
हरिहर गौतमः
अर्घाखाँची खिदिम पोखराथोकमा हरिहर गौतमका जिजुहरु जन्मनु भएको हो । विसु पाध्याका सन्तति अग्रज हरिहर गौतमको जन्म बि सं १९५८ मा भएको हो । राणाकालीन समयमा उहाँका पिताजी सुब्बा तारानाथ पाध्या जागिरको सिलसिलामा जलेश्वर रहनु हुँदा हरिहर गौतमको जन्म उहीँ भएको हो ।
वैदिक सनातन संस्कृतिका उपाषक उहाँ एक कर्मठ ब्यक्ति रहनु भएको थियो । पिता पुर्खादेखिकै सम्पन्न रहनु भएको उहाँ समयक्रममा नेपालकै वैभवशाली महाजनको नाममा कहलिनु भएको थियो । उहाँको कारोवार देशैभरि फैलिएको र खिदिम, बर्दिया, बाँके, कपिलवस्तु, काष्ठमण्डप, त्रिसुली तथा दाङलगायतका क्षेत्रमा हजारौं बिघा भन्दा बढि जग्गा जमिन रहेको थियो ।
उहाँले पुराना जमानामा पनि संस्कृत बिद्यालय स्थापना गरेर अर्घाखाँची बासीलाई मात्र हैन पुरै नेपाललाई शिक्षा दिनुभएको थियो । प्रथामिक अर्घाखाँचीमा, शास्त्री बनारसमा र आचार्यको पढाई काठमाण्डौमा स्थापना गर्नुभएको थियो । उहाँले तिनै ठाउँमा पढने बिद्यार्थीहरूलाई खाने बस्ने निशुल्क गर्नुभएको थियो । उहाँलाई नेपालका मदन महान मालबिय भन्दा अतियुक्ती हुँदैन ।
पं.खगेश्वर भुसालः
अर्घाखाँची कुरमा जन्मनुभएको हो । उहाँ धार्मिक शैक्षिक र सामाजिक माहापुरूष हुनुहुन्थ्यो । उहाँले दुई वटा धन्यपर्बत माहायज्ञ गर्नु भएको थियो ।
उहाँले बिद्यार्थीहरूलाई आफ्नै घरमा राखेर खान बस्न लगाउने कपडा दिएर निशुल्क संस्कृत शिक्षा दिनु हुन्थ्यो । उहाँले आफ्ना बंशजले अड्डा अदालतमा काम नगर्नु मुख्य जिम्मुवाल अमाली नहुनु, त्यो एमकराई हो भन्नु हुन्थ्यो । उहाँ हामी अर्घाखाँची भुसाल बंश र जनताका लागि युग पूरूष हुनुहुन्थ्यो ।
साहु मतिकुमार श्रेष्ठः
अर्घाखाँची चिदिका खन्नेबास निवासी मतिकुमार श्रेष्ठलाई समाजसेवीका रुपमा लिइन्थ्यो । उहाँले अर्घाखाँची देखि पाल्पा तान्सेनसम्म, पूर्व पश्चिम हुलाकी मुल बाटोमा दायाँ बायाँ दुबेतिर हरियाली प्रबद्र्धनका लागि विरुवा रोप्ने, चौपारी बनाउने काम गर्नुभएको र कतिपय रुख अहिले पनि रहेको बताइन्छ ।
लस्करै लगाएका आँप, बर र पिपलले त्यसक्षेत्रको शोभा बढाएको थियो । बाटो हिन्ने यात्रुलाई सितलता मिल्थ्यो, आँप टिपेर खान्थे । बाटाका ठाउँ ठाउँमा सार्बजनिक पौवा, गौमुखे पानीका धारा, चौपारीहरू बनाईदिनु भएको अहिले पनि छन । उहाँहरू सबै प्रत्यक्ष धर्मावलम्बी हुनुहुन्थ्यो । उहाँहरूका मानव सेवालाई अध्ययन गरेर, विस्तृत जनता समक्ष ल्याउनु हामी अर्घाखाँची बासीहरूको परम कर्तब्य हो । (क्रमशः)