अमृत गिरी
बुटवल । रुपन्देहीको सैनामैना नरपालिका–४, राधाकृष्ण टोल मुर्गीयामा रहेको राधाकृष्ण मन्दिरमा भजनकीर्तन चलिरहेको थियो । कृष्ण जन्माष्टमीका दिन भजनकीर्तन पनि त्यहाँ जुटेका दिदीबहिनीहरुले केहीबेर तीजका गीत पनि गाउने नाच्ने गरे ।
त्यहीँ मेसोमा एकजना ४ वर्षीया बालिका पनि नाचिन् । उनी नाचेको भिडियो बनाएर केहीले सामाजिक सञ्जालमा राखे । एकछिनमै ती बालिकाको त्यो छोटो नृत्य भाइरल भयो । एकाएक सामाजिक सञ्जालमा उनी छाइन् । टिकटक, स्टोरी, फेसबुक, युट्युब हुँदै विभिन्न सामाजिक सञ्जालमा उनकै नृत्य छाइरह्यो ।
सैनामैना–४, राधाकृष्ण टोलमा बस्ने ४ वर्षीया कृतिका पुरी (कपुरी) को श्रीकृष्ण जन्माष्टमीमा बालराधा बनेर नाचेको त्यो तीज नृत्यले धेरैलाई आकर्षित ग¥यो । टिकटकहरुमा लाखौंले हेरेर आहा ! कस्तो राम्रो नृत्य भन्दै प्रशंसा गरेका छन् । टिकटकहरुमा केही दिनदेखि उनकै नृत्यले छाएको छ । कतिपयले गीत रिमिक्स गरेर पनि सञ्जालहरुमा हालेका छन् ।
बिहादी गाउँपालिका–२ बर्राचौर पर्वत घर भई हाल राधाकृष्ण टोल, मुर्गीयामा डेरा गरी बस्ने कमल पुरी र पुनम पुरीकी दोस्रो सन्तान हुन् कृर्तिका । अति सामान्य र न्यून आय भएको परिवार हो यो । जेठी छोरी तुलसीले सैनामैनाको पर्रोहा माविमा कक्षा १० मा पढ्छिन् र कक्षामा उनी प्रथम छात्रा हुन् ।
उनका बाबु भारतको पुनेमा कुनै होटलमा काम गर्थे । होटलले बिदा नदिएपछि केही महिनाको तनखासमेत छाडेर उनी अहिले घर फर्किएका छन् । छोरीहरुलाई पढाउने र यतै केही काम पाए पनि गर्ने भन्दै बिहादीबाट उनीहरु केही वर्ष अघि तराईमा आएका थिए । यहाँ भनेजस्तो काम पाएनन् र मुम्बईतिर गए । कुकको सिपालु कमलले काम त पाए तर भनेजस्तो तलब त्यहाँ पनि पाएनन् । अब यतै काम पाए गर्ने सोेंचमा छन् कमल । उनी भन्छन्,‘केही नगरी त कसरी बाँच्न सकिन्छ र दुईवटा छोरी छन् र अब अर्को बच्चा पनि हुनेवाल छ, कोठा भाडा पनि तिर्नैप¥यो, गुजारा पनि चलाउनैप¥यो ।’
कसरी सिकिन् यस्तो नाच्न ?
टिभीमा हेरेर, मोबाइला हेरेर र त्यहीँ रहेकी उनकी फुपुकी छोरी स्मृतिले कहिलेकाहीँ कपडा लगाएर नाच नानी भन्दै नचाउँदा नचाउँदै कृतिकाले यो शिशु कालमै तीक्ष्ण प्रतिभा देखाउन सक्ने भइसकेकी रहिछन् । कहिलेकाहीँ घरमा मोबाइलमा गीत बजाउँदै नाच्न लगाउँदा लगाउँदै उनी ढिल परेर नाच्न थालिन् । वल्लो घर पल्लो घर हुँदै धेरैले नानी आऊ नाच भन्न थाले अनि उनमा नाच्ने सीप झनै निखारिँदै गयो ।
‘कतिपय बच्चामा विलक्षण प्रतिभा हुन्छ । सानैदेखि केही न केही गुण, प्रतिभा देखाउन निपूर्ण केही बालबालिका वास्तवमै राम्रा हुन्छन्,’प्रतिक्रिया लेख्दै यसक्षेत्रका वरिष्ठ नृत्य निर्देशक लोकेन्द्र शाह भन्छन्,‘कुनै तालिम, कुनै प्रशिक्षणबिना यति राम्रो नाच्न जान्ने अद्भूत क्षमता ती नानीमा देखियो ।’ उनलाई तीजका मौलिक गीतमा नचाउने छिमेकी कल्पना न्यौपानेले आफँैलाई अचम्म पार्नेगरी नाचेको बताइन् । ‘आमाहरु नाचेको जसरी नाचिन्, हामी त छक्कै प¥यौँ ।’ कल्पनाको भनाइ छ ।
प्रशवकालको त्यो पीडा र केही ग्रामको बच्चा
कतिपयले सात महिने शिशुमा पछि विकसित भएपछि अनेक भाग्य खुल्छ पनि भन्छन् । पथ्वीनारायण शाह पनि सात महिनामै जन्मिएको बताइन्छ । कृतिका नानी पनि टुपुक्क सात महिना पुग्दा जन्मिएकी थिइन् । ‘जन्मदा पुग नपुग एक किलो पनि थिइनन्, बिरालोको छाउरो जस्तो प्राण भएको खै यस्तो बच्चा के बाँच्ला र भन्दै दुई हत्केलामा लिएकी थिएँ, कृतिकाकी फुपू सीता गिरी स्मरण गर्छिन् ।
गर्भ रहेको सात महिनामा उनकी आमा पुनमलाई असह्य भयो, रक्तचाप अस्वभाविक बढ्यो र आइसीयुमै भर्ना गर्नुपर्ने भयो । त्यसबेला बुटवलको लुम्बिनी प्रादेशिक अस्पतालमा आइसीयू खाली भएन । डाक्टरहरुले आइसीयु र एनआइसीयुसहितको अस्पतालमा लैजान सुझाव दिए ।
तत्काल भैरहवा एनआइसीयुसहितको यूसीएमएसमा भर्ना गर्न पु¥याइयो । त्यहाँ भर्ना गरेको २४ घण्टामा डाक्टरहरुले करिब आठ सय ग्राम जतिको बच्चा निकाले । बच्चामा प्राण थियो र एनआइसीयुमा राखियो । पछि विस्तारै सुधार हुँदै गयो र त्यहाँबाट डिस्चार्ज गरिएको थियो ।
अहिले कृतिका हुर्कँदै गएपछि सबै कुरा टपक्क टिप्न सक्ने भएकी छन् । नजिकै रहेको प्रभात बोर्डिङमा जान थालेकी छन् । गाउँटोलमा यस्ता जमघट हुँदा होस् कि घरमा मोबाइलमा गीत बजाउँदा होस् उनी मजाले नाच्छिन् । ‘सिकाउनेभन्दा पनि प्राक्टिस गर्दा गर्दै नाच्न जान्ने भइन्,’ आमा पुनमको भनाइ छ ।