पिताऔँसी र सनातन संस्कृति !

मेचीकाली संवाददाता

२८ भाद्र २०८०, बिहीबार
1786 shares

घनश्याम कोइराला

आज भदौ महिनाको अमावस्या अर्थात् औँसी तिथि हो । यस दिनलाई सनातनीहरू पिताको सम्मानका लागि खास महत्वपूर्ण दिनको रूपमा लिने गर्दछन् । यसदिन पिता जीवित भएको भए पिताको सम्मान गर्ने र पिता जीवित नरहेको भए पिताको स्मृतिमा श्रद्धापूर्वक स्मरण गर्ने, पिताका नाममा दान गर्ने आदि मान्यताको परम्परा रहिआएको छ ।

सनातन संस्कृतिले स्मरण, सम्बोधन र सम्मान गर्न नसकको कुनै विषय छैन । हरेक तिथि, नक्षत्र, बार, पक्ष सबैमा कसै न कसैको, कुनै न कुनैको सम्झना गरिएकै हुन्छ । सनातन संस्कृतिका दृष्टिले हरेक दिन स्मरणीय रहेको छ । हरेक दिनका लागि निश्चित विधिको समेत प्रावधान गरिएको छ । यिनलाई नै हामी चाडपर्व भन्दछौँ । हर्षोल्लासपूर्वक उत्सवका रूपमा मनाउने पर्वहरूका साथै आदरपूर्वक शान्त, शुद्ध र सात्विक रूपमा मनाउने पर्वहरू पनि फरक फरक छन् । खास गरी धरालीन भएका (मृत्यु भएका) हरूको सम्मान र सम्झनामा मनाइने पर्व (तिथि—दिन) शुद्ध सात्विक रूपमा मनाइने गरिन्छ भने खुसीका पर्वहरू राजसी र तामसी ढङ्गले मनाइन्छ ।

सनातन संस्कृतिमा जीवित वा मृत जस्तासुकै अवस्थाका भए पनि उनीहरूले लगाएका गुन (गुण) प्रति कृतज्ञ हुने, धन्यवाद दिने मान्यताको परम्परा छ । त्यसैले मातृदेवो भव । पितृदेवो भव । आचार्यदेवो भव । अतिथिदेवो भव आदि मान्यता स्थापित छन् । कसैका पनि बाबाआमा–पूर्वजहरूको सन्तानप्रतिको दायित्व महत्वपूर्ण रहेको देखेका छौँ । उनीहरूले निर्वाह गरेका भूमिकाका लागि कृतज्ञ हुनु, सम्मान गर्नु स्वाभाविकै हो, साथसाथै उनीहरूको मृत्युपश्चात् पनि सम्मानसाथ स्मरण गर्नु कृतज्ञताको सकारात्मक निरन्तरता हो । यस सन्दर्भमा सनातन संस्कृति अब्बल नै देखिन्छ । धरालीन (मृत्यु) भएको तिथि सम्झेर श्राद्ध, तर्पण आदि गर्नु सम्मानको निरन्तरता हो ।

पितालाई सम्मान गर्ने विषयमा अनेकौँ शास्त्रहरूमा अनेकौँ ढंगले उल्लेख गरिएको पाइन्छ । त्यस्तैमध्येको एउटा हो–पितृदेवो भव अर्थात् पिता देवता हुन् । वेदमा आमालाई पृथ्वी र पितालाई आकास मानिएको छ । पिताको महत्वका बारेमा यस्तो लेखिएको छ–भरणं पोषणञ्चैव भोजनं रससंयुतम् । कारितामेव भो तात ! पितृदेव नमोद्रस्तुते । यसको भावार्थ हो, हे पिता ! रसलिा भोजन गराएर पालन पोषण गर्नु भयो र मलाई यत्तिको बनाउनुभयो यसका लागि म नमन गर्दछु ।

यसबाट कृतज्ञताको संस्कार र कृतज्ञ रहिरहने संस्कृति विकास भएको छ । तर, कतिपय मानिसहरू आफ्ना अग्रज पूर्वजहरूलाई मरणोपरान्त सम्मान र स्मरण गर्ने विषयलाई अन्धविश्वास र पाखण्ड भन्ने ठान्दछन् र त्यस्तै भ्रामक विचार छर्ने गर्दछन् । तर, उनीहरू के देख्दैनन् भने धेरै ठुला मानिसहरूले मरणोपरान्त मान पदवी, विभूषण पाएका हुन्छन् । त्यस्ता व्यक्तित्वहरूको सम्मानमा वर्षेनी अनेकौँ कार्यक्रम हुने गर्दछन् । उनीहरूका नाममा पुरष्कार सम्मान आदि स्थापना गरेर उनीहरूकै सम्झनाका लागि बाँडिने गर्दछ ।

मानिस जीवित छँदा सधै सम्मान मात्र नहुन सक्दछ, विरोध वा आलोचना गरिने अवस्था पनि पर्न सक्दछ, ठाक्कठुक्क पर्दछ । त्यतिबेला हुने वा गरिने व्यवहार जीवन व्यवहार हो । कहिले पुग नपुग हुन सक्दछ । जब मानिसको मृत्यु हुन्छ, उसले कुनै गल्ती गर्न सक्दैन । कुनै पनि जीवितले उनका गल्तीको आलोचना वा विरोध गरेर उनलाई सच्याउन पनि सक्दैन । खालि उनका विगतका असल कर्महरू शेष रहन्छन्, त्यसैले मर्नुलाई कीर्तिशेष हुनु पनि भन्ने गरिन्छ । कीर्तिशेष भएपछि कीर्तिहरूकै सम्झना र सम्मान गर्ने हो र यसो गर्नु कुनै अन्धविश्वास होइन भनेर बुझ्न आवश्यक छ ।

यहाँ मृत्यु भइसकेकाहरूको मात्र विषय होइन; माता, पिता र गुरुका विषयमा यस्तो लेखिएको पाइन्छ ः माता गङ्गासमा तीर्थं पिता पुष्करमेव च । गुरुः केदारकं तीर्थं माता तीर्थं पुनः पुनः अर्थात् आमा गङ्गसमान तीर्थ हुन् । पिता पुष्कर तीर्थ समान हुन् । गुरु केदारनाथसरह हुन् । तर, आमा त अरु पनि अनेकौँ तीर्थै तीर्थ हुन् ।

यहाँ तीर्थ के हो, के होइन भन्ने विषय चर्चाको विषय होइन । तर, सनातन मान्यताअनुसार तीर्थ भनेको अत्यन्त पवित्र र महत्वपूर्ण स्थल हो । यहाँ उल्लेख गरिएको श्लोकले तीर्थसँग माता, पिता र गुरुको तुलना गरेको छ । सारमा गङ्गा स्नानको फल आमाको सेवाबाट प्राप्त हुन्छ । पुष्कर तीर्थको फल पिताको सेवाबाट प्राप्त हुन्छ र केदारनाथ दर्शनको फल गुरुको सान्निध्यबाट प्राप्त हुन्छ । कुनै तीर्थबाट प्राप्त हुने सबै फल माता, पिता र गुरुको सेवा र सान्निध्यबाट प्राप्त हुन्छ भन्ने आसय देखिन्छ । त्यसैले जसका माता, पिता र गुरु जीवित हुनुहुन्छ उहाँहरूप्रति कृतज्ञ हुने, सेवा सत्कार गर्ने, खाना, नाना, औषधी उपचारमा ध्यान पु¥याउने, सहज जीवनका लागि सक्दो कर्म गर्ने हो । माता, पित, गुरु जीवित नभएकाहरूले उहाँहरूप्रति कृतज्ञ हुने, उहाँहरूका नाममा शिक्षा, स्वास्थ्य, वातावरणका क्षेत्रमा खास योगदान गरेर यस्ता दिन मनाउनु पर्दछ ।

आजको दिनलाई कुसेऔँसी पनि भनिन्छ । यस दिन कुश उखेलेर घरमा ल्याउने, बाँड्ने प्रचलन रहिआएको छ । यसरी ल्याइएको कुश पितृकार्य र शुभकार्यमा उपयोग गर्ने प्रचलन रहेको छ । पुर्खाले कुशलाई खास महत्व दिनुपर्ने कारण पत्तो लगाउन आवश्यक देखिन्छ । धर्म संस्कृतिमा अनायासै कुनै कुरा आएको हुँदैन, त्यसका पछाडि केही न केही सकारात्मक कारण अवश्य हुन्छ । तर, हामी अहिलेका मानिसहरू केही खोजअनुसन्धन नै नगरी जस्ताको तस्तै मानिदिन्छौँ या अन्धविश्वास भनेर आप्mनो टाउको हलुका पारिदिन्छौँ । वास्तवमा यी दुवै प्रवृत्ति अन्धविश्वास नै हो ।

हामी हाम्रा मान्यता तथा प्रचलनहरूको वैज्ञानिकताका विषयमा अध्ययन गर्दैनौँ । प्राचीन कालदेखि चलिआएका प्रचलनहरू यति बेलाको समय सुहाउँदो नहुनु स्वाभाविक हो । उति बेलाका सोच, दृष्टिकोणमा आधारित विषयहरू समय फेरिँदै जाँदा अनुकूल रहँदैनन्, तर यसका विकल्प र विकास के हुन सक्दछ भन्ने विषयमा ध्यान दिनुपर्दछ । जोगाउन पर्नेजति जोगाउनुपर्दछ, अवलम्बन गर्नुपर्नेलाई अवलम्बन गरिरहनुपर्दछ, सुधार गर्नुपर्ने पक्ष सुधार्नु पर्दछ र कामै नलाग्ने पक्षलाई हटाउनु पर्दछ । संस्कृतिको विकास र निकासको बाटो यही नै हो ।

कसैकसैले संस्कृत र यहाँका स्थानीय भाषामा लेखिएका विषयलाई अवैज्ञानिक र सन्दर्भहीन ठान्ने, अंग्रेजी र अन्य विदेशी भाषामा लेखिएका विषयलाई वैज्ञानिक–विज्ञानसम्मत मानेर अवलम्बन गर्ने गरेको पनि देखिन्छ । फादर्स डे, मदर्स डे, टिचर्स डे आदि यसका केही उदाहरण हुन् ।

अन्यत्रको सन्दर्भ हेर्दा यस्तो लेखिएको देखिन्छ ः पितालाई समर्पित यस दिनको इतिहास धेरै नै रोचक छ । डेली अमेरिकाको रिपोर्टअनुसार, वाशिङ्टनमा बस्ने सोनोरा स्मार्ट डोड यस दिनकी जन्मदाता हुन् । १९०९मा स्पोकेनको सेन्ट्रल मेथोडिस्ट एपिस्कोपल चर्चमा उनले मदर्स डेको बारेमा सुनेपछि पिताको लागि पनि यस्तै एउटा दिन हुनुपर्छ भन्ने विचार आएको थियो । सोनोराका पिता विलियम स्मार्ट डोडले आफ्नी श्रीमतीको मृत्यु भइसकेपछि अर्को विवाह नगरी बसे र आफ्नो परिवारको हेरविचारमा पूरा समय दिए । उनकी छोरी सोनोराले यसका लागि उनीप्रति आभार व्यक्त गर्ने विचार गरेकी थिइन् । यसै प्रयासको फलस्वरूप सन् १९१० मा जुन महिनाको तेस्रो आइतबारका दिन फादर्स डे मनाइयो । यस दिन अमेरिकामा यस दिन छुट्टी दिन थालियो ।

त्यस्तै अन्य अन्य प्रसङ्गमा लेखिएको छ: १९१३ मा अमेरिकी कांग्रेसमा यस दिनलाई राष्ट्रिय पर्व रूपमा मनाउनु पर्छ भन्दै पहिलो चोटी बिल पेश गरियो । राष्ट्रपति विल्सन यसलाई अधिकारिक मान्यता दिलाउन खोज्दै थिए, तर कंग्रेसले यसको विरोध ग¥यो । १९५७ मा सिनरेट मार्गरेट स्मिथले कंग्रेसलाई लेखेको पत्रमा भने कि ४० वर्षदेखि मातालाई सम्मानित गर्दै आइएको छ, तर पितालाई किन नजरअन्दाज गरिँदैछ ? यसको निकै लामो समयपछि सन् १९६६ मा राष्ट्रपति लिण्डन जोनसनले पहिलो चोटि जुन महिनाको तेस्रो आइतबारको दिन फादर्स डे मनाउने सरकारी घोषणा गरेका हुन् । यसको छ वर्षपछि राष्ट्रपति रिचर्ड निक्सनद्वारा यस सम्बन्धमा एक कानुनमा हस्ताक्षर गरे पछि फादर्स डेले औपचारिक मान्यता पायो र यस दिन विदा दिन सुरूआत भयो । (स्रोत: विकिपिडिया)

तर, हाम्रो समाजमा विदा हुने या नहुने भन्ने विषय अर्थात् आधुनिक राष्ट्रहरूको निर्माण हुअघि अज्ञात कालदेखि पिताको श्रद्धा र सम्मानमा हरेक वर्ष भदौ अमावस्याका दिन यो दिन मनाइँदै आएको सन्दर्भ छ । आफ्ना कमजोरी सच्याऔँ, आफ्ना पुर्खाबाट प्राप्त मान्यता, परम्परा र प्रचलनप्रति गर्व गरौँ । (लेखकः संस्कृति अध्येता तथा अभियन्ता हुनुहुन्छ ।)