लुम्बिनी प्रादेशिक अस्पतालः डेढ वर्षदेखि थन्काइएका उपकरण अब प्रयोगमा ल्याइने

मेचीकाली संवाददाता

३० भाद्र २०८०, शनिबार
174 shares

अमृत गिरी

बुटवल । मुलुककै पुरानोमध्येको लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा नसर्ने प्रकारका जटिल रोगको समेत परीक्षण गर्नेगरी झण्डै डेढ वर्षदेखि थन्किएका करोडौं मूल्यका उपकरण अहिले बल्ल सञ्चालनमा ल्याइने भएको छ । अस्पतालमा आउनेमध्ये अधिकांश बिरामीमा नसर्ने खालका रोग पाइएको छ । तिनको परीक्षण गर्न खरिद गरिएका उपकरणलाई सञ्चालन गर्न अहिलेको अस्पताल विकास समिति तत्पर भएको छ ।

मुटु, मिर्गौला, पाचनप्रणाली, कलेजो, आन्द्रा र पेटसँग सम्बन्धित समस्या भएका बिरामीको परीक्षण गर्ने उपकरणहरुमध्ये केही त डेढ वर्षअघि नै खरिद गरेर त्यत्तिकै कोठामा ताला लगाएर राखिएको छ । उपकरणलाई त्यत्तिकै राख्दा सेवा प्रवाह पनि प्रभावित हुने र उपकरण पनि बिग्रने डर छ । आफूहरु नेतृत्वमा आएपछि यहाँको वस्तुगत अध्ययन गरेर समस्या समाधानका लागि प्राथमिकता निर्धारण गरेर योजनाबद्ध कामको थालनी गरेको अस्पताल विकास समितिका अध्यक्ष अजयमान श्रेष्ठको भनाइ छ ।

लुम्बिनी प्रादेशिक अस्पतालमा करिब ७ करोडको लागतमा ग्यास्ट्रोइन्टेरोलोजिस्टको सेवा प्रदान गर्ने उद्देश्यले डेढ वर्षअघि नै इआरसिपी मेसिन र मोटराइज्ड स्पाइलर इन्टेरोसेपी मेसिन गरिद गरेर राखिएको छ । यस्तै करिब १० करोड मूूल्यमा झण्डै एक वर्ष अघि क्याथल्याबको मेसिन खरिद गरेर कोठामा ताला लगाएर राखिएको छ । इआरसिपी मेसिन र मोटराइज्ड स्पाइलर इन्टेरोसेपी मेसिनले बिरामीको कलेजो र आन्द्राहरुमा के समस्या भएको छ भनेर रंगीन भिडियो मै हेर्न सकिन्छ । यी उपकरण प्रयोग गर्न ग्यास्ट्रोइन्टेरोलोजिस्टको खाँचो पर्छ । जुन विशेषज्ञले बुटवलमै निजीमा सेवा दिइरहेको अवस्था छ ।

युरोलोजिस्ट भन्नाले मुत्र रोग विशेषज्ञ बुझिन्छ । जसले महिला, पुरुष, बच्चा तथा वृद्धको मुत्र प्रणालीका अंगहरु (जस्तैः मिर्गौला, मुत्रबाहिनी नली, मुत्रथैली, मुत्रनली र लिङ्ग) सम्बन्धी रोगको निदान र उपचार गर्छन् । यसबाहेक प्रजनन प्रणाली र एड्रिनल ग्रन्थीसम्बन्धी अवस्थालाई पनि उपचार गर्ने गर्दछन् ।
यस्तै क्याथल्याब मेसिनले मुटुमा आइपर्ने अपझर्ट समस्यालाई तत्कालै पत्ता लगाउन मद्दत गर्छ । हृदयाघात भएका, हृदयघात भएर निको भइरहेका र लक्षण देखिएपनि अवस्था सामान्य रहेका बिरामको परीक्षण गर्नेगरी क्याथल्याबको मेसिन जडान गरि राखिएको मेसु डा.सुदर्शन थापाले बताए । उनले यसका लागि दुई जना कार्डियोलोजिस्ट र केही स्टाफ नर्सको समेत प्रबन्ध भइसकेको बताए ।

सामान्य प्रकारका बिरामीलाई उपचार गर्न मिल्नेगरी अबको तीन महिनासम्ममा क्याथल्याब सञ्चालन गर्ने गरीकाम भइरहेको छ । यसमा एन्जिओप्लास्ट र एन्जिओग्राफका सेवा विस्तार गरिने छ । हृदयाघात भएर सामान्य अवस्थामा फर्केका र हृदयाघातको सामान्य लक्षण देखिएका बिरामीको परीक्षण गर्नेगरी क्याथल्याब चलाउने तयारी भइरहेको मेसु डा.थापाको भनाइ छ ।
ग्यास्ट्रोइन्टेरोलोजिस्ट सेवाका मेसिन अर्थात् अत्याधुनिक उपकरणमार्फत पेटभित्र, ठूला आन्द्रा र कलेजोमा रहेका समस्या हेर्न तथा सुलभ रुपमा परीक्षण लागि विशेषज्ञको प्रबन्ध गरि मेसिन चलाउने तयारी भइरहेको विकास समितिका अध्यक्ष श्रेष्ठको भनाइ छ । अहिले अस्पतालमा आउने यसप्रकारको समस्या भएका विरामीलाई तत्कालै रिफर गरिन्छ भने थप परीक्षण गर्नुपर्नेलाई समेत बाहिर जानुपर्ने बाध्यता छ । यहीँ अवस्थालाई मध्यनजर गर्दै विशेषज्ञ सेवा थप गर्न लागेको समितिको भनाइ छ ।
युरोलोजिस्ट, ग्यास्ट्रोइन्टेरोलो जिस्ट तथा डाइजेस्टिभ डिजीज र क्याथल्याबका सेवा विस्तार भए यसक्षेत्रका धेरै सेवाग्राहीलाई लाभ पुग्ने उपभोक्त हीत संरक्षण मञ्च लुम्बिनी प्रदेशका अध्यक्ष तेजकुमार पाठकको भनाइ छ । समस्या भएका बिरामी दैनिक रुपमा आउने तर उपकरण भएपनि त्यसै थन्काउँदा मारमा पर्ने गरेको भन्दै मञ्चका अध्यक्ष पाठकले ढिलै भएपनि अस्पतालको अहिलेको समितिले तत्परता देखाएर उपभोक्तामैत्री कामको थालनी गरेको बताए ।

हाल अस्पतालमा आउने मध्येका अधिकांश बिरामीमा मुटु, मिर्गौला, पाचनप्रणाली, कलेजो, आन्द्रा र पेटको समस्या भएका छन् । तर, तिनीहरुको परीक्षण र उपचारको सहज प्रबन्ध प्रादेशिक अस्पतालमा नहुँदा बाहिर जानुपर्ने बाध्यता थियो । अब त्यो बाध्यता हटाउने तयारीमा अहिलेको समिति छ । सर्वसाधारणका लागि निःशुल्क ओपिडी सेवा, अति विपन्नलाई बेडमा समेत छुट र बीमाको समेत प्रबन्ध गरिएकाले अहिले लुम्बिनी प्रादेशिक अस्पतालमा सर्वसाधारणको आकर्षण बढाएको छ । अस्पताल विकास समितिले अहिले नयाँ नियमावली समेत बनाइरहेको छ ।

प्रदेश सरकारले जनशक्तिको प्रबन्ध गर्दैछः स्वास्थ्य सचिव
लुम्बिनी प्रदेश सरकारले लुम्बिनी प्रादेशिकसहितका प्रदेशका अस्पतालमा सेवा विस्तारका लागि योजना बनाइएको बताएको छ । लुम्बिनी प्रादेशिकमा आवश्यक जनशक्ति प्रबन्ध गर्ने काम भइरहेको सरकारका स्वास्थ्य सचिव डा.जनाद्र्धन पन्थीको भनाइ छ । सार्वजनिक स्वास्थ्य संस्थामा आएका बिरामीको उपचारका लागि ‘क्याथल्याब’ खरिद गरेर लामो समयसम्म पनि सञ्चालनमा आउन नसक्नुको मुख्य कारण आवश्यक जनशक्तिको अभाव रहेको प्रदेश सरकारले स्वीकार गरेको बताउँदै सचिव पन्थीले अबको केही समयमै समस्या समाधान गरिने बताए । उक्त सेवा सञ्चालनका लागि केहि जनशक्ति व्यवस्थापन भइसकेको र अपुग थप जनशक्ति पनि प्रदेश सरकारका तर्फबाट व्यवस्थापनको प्रक्रिया अघि बढिसकेके डा.पन्थीको भनाइ छ ।