हरितालिका तीज नजिकिँदै गर्दा

मेचीकाली संवाददाता

३० भाद्र २०८०, शनिबार
346 shares

माया गौतम

सधैँजस्तै यो वर्ष पनि महिलाहरुको महान् चाड तीज पर्व आएको छ । तीजले यतिखेर होटल, पाटीप्यालेस र जतासुकै चहलपहल छाएको छ । विगतका केही वर्ष कोरोना कहरका कारण सुनसान रहेको तीज पर्वलाई यो वर्ष भने खुलेर रमाइलो गरेर मनाउने वातावरण बनिरहेको छ ।

यातायातका साधन उकालीओराली पसलहरुमा तीजजका गीतले तहल्का पिटेको छ । तीज पर्व महिलाका निम्ति महत्वपूर्ण चाडपर्वमा पर्दछ । परम्परा र संस्कृति जोगाउने नाममा पनि तीजलाई विशेष रुपमा हेरिने गरिएको छ । समयको मागसँगै तीज पर्वमा पनि थुप्रै फेरबदल आएका छन् । हिजोका दिनमा तीज नितान्त महिलाहरुमा सीमित थियो तर अहिले तीज सबैको बन्दै गएको छ । वास्तवमा भन्ने हो भने तीजले महिला–पुरुष कलाकारलाई रोजगारी पनि दिलाएको छ । तीज आउन छ महिना पहिलेदेखि तीजका एल्बम निस्कन थाल्छन् । हिजोका दिनमा तीजका भाकाहरु मौलिकतामा झल्किन्थे तर अहिले समय परिवर्तन भएको छ । एकल तथा दोहोरी भाकामा तयार गरिएका तीजका गीतले गाउँशहर तताएको छ ।

त्यसैअनुरुप अहिलेका महिलाहरुले यो मनाउन थालेका छन । बिबाहित छोरी चेलीहरुले पराइ घरमा भोग्न परेका पिरमर्काहरुलाई तिजका गीतमार्फत गाएर माइती र आफन्तहरुलाई सुनाउने गर्दथे । अहिले त्यो अवस्था रहेन । छोरी पनि छोरासरह कमाउने र देशविदेश जाने अनि आयआर्जनको बाटोमा लाग्ने गरेकाले बहुसंख्यक महिलाहरु पीडित भएर गीतमार्फत पिरव्यथा व्यक्त गर्ने अवस्था छैन । यसै कारण पनि हिजोको अबस्था के थियो, अहिले के छ, भोलि के हुने वाला छ आदि सबै एल्बममार्फत आउने गरेका छन् ।

तीजले टाढाटाढा रहेका दिदीबहिनी माइतीमा जाने, बालशाखाहरुसँग भेट हुने र रमाइलो गर्ने अवसर जुटाउने काम पनि गर्ने गर्दछ । यो भनिरहँदा गाउँदेखि तराई तथा शहरमा बसाइ सर्ने चलनले बालशाखाहरु पनि तितरबितर भएको अवस्था छ । पछिल्लो समय तीज हुने खानेका निम्ति महिना दिनको र हुँदा खानेको मुस्किलले एक दिनको हुन पुगेको छ । यतिखेर तीजले गाउँशहर रमाइलो भएको छ । अरु यस वर्षको नौलो कुरो सधैँ सुनौली–नौतनवाका पसलहरुमा नेपाली चेलीहरुले रातो सारी किन्न भरिने गरेकोमा हाल भन्सार विभाग र उद्योग वाणिज्य संघको सम्झौताअनुसार नाकामा कडाइ गरेका कारण नेपालका पसलहरुमा भिडभाड देखिने गरेको छ । जसले गर्दा नेपालको अर्थतन्त्रमा थोरै भएपनि प्रगति हुने आशा गर्न सकिने भएको छ ।

छोरी भएर जन्मेपछि माइती छोडी आए मै
जन्मदिने आमा जस्तो हुने रहेन्छ कोही ।
छोरीलाई आमाको आमालाई छोरीको
सबैभन्दा ठुलो माया संसारभरिको ।

जन्मदिने आमाभन्दा ठुलो सन्तानका लागि कोही हुन सक्दैन र पनि जन्म ठाउँ छोडेर पराई घर जाँदा मन दुखाएर छोरीहरुले तीजको भाकामा गीत गाउने गर्छन् । तीजले छोरी चेलीलाई जन्मठाउँ र माइतीको साह्रै याद दिलाउने गर्छ । आमाबाबु परलोक भएका छोरीलाई त झनै तीज नआए पनि हुने थियो भन्ने गराउँछ । परम्परादेखि चल्दै आएको चलन छोरी हुर्केपछि अर्काको घरमा पठाउनुपर्ने, छोरीलाई अर्काको घरमा घुलमिल हुन सुरुसुरुमा गाह्रो पर्ने, छोरीले घर गर्लीकी नगर्ली भन्ने आमा बाबुलाई ठुलो चिन्ता हुने गर्छ । यस्तैयस्तै रितले हाम्रो समाज चलेको छ ।

समयमै घरजम गर्छन् बेहोरा राम्रो पाउनेले
अमाजू तेल लगाउन सक्दिनन् र क्रिम लाउनेले
दिनैभरि नाच्नु भाछ, रैछ खुट्टा सुन्नेको ।
बुहारी तिम्रो मुखमा कति चर्को वचन झुन्नेकोे
सुहाउने धुवाउने केही होइन केलाई टिकटक बनाउँदी
अमाजूबुहारी भन्दा नक्कली छिन् सासू भनाउदी ।

अहिले मोबाइल, टिभी वा सामाजिक सञ्जालमा दोहोरी गीतमार्फत यस्ता गीतहरु रन्किने गरेका छन् । समयले उमेर ढल्किसकेका महिलाहरुलाई पनि टिकटक बनाउन मन लाग्ने, क्रिम पाउडर र लिपिस्टिक लगाएर राम्री हुनुपर्ने त्यति मात्रै हो र अर्ध नग्न लुगामा सजिनुपर्ने जस्ता क्रियाकलापले हिजोका दिनमा जस्तो मेरी सासू बुढी भइन्, हात खुट्टा दुख्छन् भनेर राती सुत्ने बेलामा बुहारीले तेल लगाउने चलन थियो त्यो हट्दै गएको छ । अब यति मात्र बाँकी छ कि बिरामी हुँदा सासू ससुरालाई हेरचाह गरेर औषधी उपचार गरे भने त्यसैलाई ठुलो कुरा मान्नुपर्ने हुन्छ ।

घुम्दै फिर्दै फर्किफर्कि फेरी आयो तीज नि
माइती सम्झी रोएँ, अस्ति रोएँ हिजो नि
मुखमुखै लाउँछ्यौ खाली कर्म खोटो मेरै छ
घरको भन्दा माइतकै चिन्ता धेरै छ ।
तीन सय पचास घरमै काटेँ माइत जम्मा तीन दिन
त्यहीँ पनि एकरातभन्दा दुई दिन बस्दिनँ ।

तीजमा माइत जान नपाएका चेलीले आफ बिलौना गीतमार्फत पोख्ने गर्छन् । भनिन्छ चेलीलाई माइती जिल्लाको कुकुरको पनि अति माया लाग्छ रे ! परदेशमा हुने चेलीलाई नेपाली भनेपछि उत्ति माया लाग्छ । यो भनिरहँदा केही वर्षदेखि प्रदेशिएका नेपाली चेलीहरु एक ठाउँमा जम्मा भएर नेपाली तीजको पोशाकमा रातो सारी र गरगहनामा सजिएर तिजका गीतहरु यु्युुबमा लगाएर नाचेर निकै रमाइलो गर्ने गर्छन् । तीज नेपालमा मात्र नभएर अन्तर्राष्ट्रिय रुपमा मनाउने देशीविदेशी सबैको हुन पुगेको छ । यर्थाथमा भन्दा आफ्नो ड्युटी मिलाएर कार्यक्रम गर्नुपर्ने भएकाले नेपालमा भन्दा पहिले नेपालदेखि कलाकार झिकाएर, पैसा उठाएर विदेशमा अरु रमाइलो गरेर तीज मनाउने चलन बढ्दै गएको सञ्चार माध्यम र युट्युबदेखि हामीले देख्नेसुन्ने गरेका छौं ।

हामीले केही वर्षदेखि तीज भड्किलो हुनुहँुदैन, सबै वर्गका मानिसले मनाउन सक्ने बन्नुपर्छ भन्दै गर्दा पनि तीज मनाउने तरतरीका अलि नमिले जस्तो बन्दै गएको पाउँछौँ । टोलदेखि पाटी, संघसस्था सबै ठाउँमा आबद्ध महिलापुरुष भएर एक महिना पहिलेदेखि यस्को शुरुवात हुने गरेको छ । यस्ले सक्ने र हुने खानेका निम्ति ठिकै भएको होला, जो हुँदा मात्रै खान्छन् र तीज सम्झेर एकछाक मिठो खान पनि ज्यालादारी गर्नुपर्छ उनीहरुका निम्ति महिनाभरि दर खानेहरु देखेर मन नै खिन्न हुन्छ ।

उनीहरुलाई आफ्नो अवस्था सम्झेर मुटुु पोल्छ भने सक्नेले एकै ठाउँ र एकै गाउँ बसेर यो सबै गर्नु राम्रो होला त ? यसैले पहिले तीज भनेर एक दिन दरखाने दिन भनेर क्यालेण्डरमै उल्लेख गरिएको छ । त्यसैदिन यो सबै गर्दा राम्रो होला कि । यो भनिरहँदा दर खाने र रमाइलो गर्ने बहानामा छरिएर रहेका दिदीबहिनीहरुको भेट भएको छ भन्ने पनि हुन सक्छ । यो सबै हुनेहरुका लागि भएको छ । निम्न वर्गका मानिसहरुले साँझ खाने रासनको जोहो नगरी चिटिक्क परेर पाटीप्यालेसमा दर खान नाच्न आउन सक्दैनन्, उनीहरुका निम्ति यस्तो खाले तीज बोझिलो बन्यो भन्नेमात्र हो । जे होस् हामी आयोजकले त सबै अटाउने तीजको कार्यक्रम राख्नेतिर सोंच्ने कि ।