घनश्याम कोइराला
सनातन संस्कृतिमा मन्त्र र आशिर्वादको ठुलो महत्व रहेको छ । ठिका लगाएर आशिर्वाद दिँदा यस्तो मन्त्र उच्चारण गरिन्छ । मन्त्रार्थाः सफलाः सन्तु पूर्णाः सन्तु मनोरथाः अर्थात् ‘मन्त्रका अर्थ सफल हुन्, मनले चिताएको पूरा होस् ।’ तर कुनै पनि मन्त्र केही नगरी सफल हुने होइन, जे गरिँदैछ, त्यसमा मात्र सफल भइने हो ।
समृद्धि अभावको पूर्ति मात्र होइन, बिग्रेको बनाउनु मात्र होइन । समृद्धिका लागि के छैन भनेर निधारमा गाँठा पारेर, मन निमोठेर विनाआधारका हवाई कल्पना गर्नु बुद्धिमानी हुँदैन । समृद्धि दार्शनिक पण्डित्याइँ छाँटेर मात्र प्राप्त हुने परिणाम पनि होइन । विगतलाई सरापेर समृद्धि प्राप्त हुँदैन र यथास्थितिको पक्षपोषणले समृद्धि प्राप्त हुने विषय नै भएन ।
यतिबेलाको हाम्रो राष्ट्रिय सङ्कल्प हो– समृद्ध नेपाल, सुखी नेपाली ! हाम्रो राष्ट्र समृद्ध हुन यहाँका सबै पक्षहरू चलायमान हुन आवश्यक हुन्छ । वास्तवमा समृद्धि भनेको बहुआयामिक सम्पन्नता हो । समृद्धिले मानवजीवनका सबै क्षेत्रमा सम्पन्नताको माग गर्दछ । राज्यका सबै अंगलाई जिम्मेवार ठान्दछ, प्रत्येक मानिसको आ–आफ्नो क्षेत्रमा जिम्मेवार र गतिशील भूमिकाको अपेक्षा गर्दछ । मनसा, कर्मणा, वाचा अर्थात् मन, कर्म र वचनले सबै सक्रिय नभएको अवस्था समृद्धि हुन सक्दैन ।
सबैभन्दा पहिले समाज र मुलुकको समृद्धि चाहने हरेकले म को हुँ, म केसम्म गर्न सक्छु, समाज र राष्ट्रबाट मैले लिएको वा प्राप्त गरेको मूल्य कसरी चुक्ता गर्न सक्छु, म कहाँ रहेर गर्न सक्छु, म कहाँ नरहँदा पनि गर्न सक्छु, मैले सोचेको समृद्धि हासिल गर्न मेरो भूमिका म आफै के निर्धारण गर्न सक्छु ? भन्ने प्रश्नका उत्तर खोज्न आवश्यक हुन्छ । समृद्धिको काम मैले, अहिले, यहाँ गर्न सक्ने काम के हुन् भनेर ठम्याउन सक्नुपर्दछ । हरेक कुरामा अर्कालाई चोरी औँला देखाएर र आपूm तर्केर समृद्धि हासिल हुँदैन ।
देवीकवचमा लेखिएको छ–यं यं चिन्तयते कामं तं तं प्राप्नोति निश्चितम्, अर्थात् ‘मानिस जे जे चिताउँछ, वा कामना गर्दछ, त्यही नै प्राप्त गर्दछ ।’ यही भएर होला मानिसहरू अनेकौँ कामना गर्दछन् र सफलता प्राप्त गर्दछन् । हामी सबैले पनि ‘समृद्ध नेपाल र सुखी नेपाली’को संकल्पलाई आफ्नै कामना र संकल्प बनाउन आवश्यक छ । यसबाट सुखी हुने त हामी सबै नेपाली नै हो । यो काम राज्यले एक्लै गर्ने काम होइन र गर्न पनि सक्दैन । यसमा मुलुकको समृद्धि तथा सुखी जीवन चाहने सबै नेपालीहरू संकल्पबद्ध हुन आवश्यक छ ।
हामी सबैले यतिबेला नयाँ राष्ट्रिय संकल्प पूरा गर्न नयाँ-नयाँ परिकल्पना, कामनाहरू अघि सार्नुपर्ने छ । सम्भावनाहरूका ढोका उघार्न पर्नेछ । अवसरहरूको पहिचान गर्नुपर्नेछ । हामीले हाम्रो मुलुकको समृद्धिको लागि मूलतः नेपालकै विशेषताहरू ठम्याउन आवश्यक छ । यहाँका आधारभूत र अन्तरसम्बन्धित श्रेणीगत आवश्यकतालाई राम्रै गरी ठम्याउनु आवश्यक छ ।
हामीलाई प्रथमतः हामीकहाँ भएका स्रोतहरूको जानकारी हुनुपर्दछ । मुलुकमा भएका सबै प्रकारका स्रोतहरूको व्यवस्थापन व्यक्ति र सामान्य संस्थाहरूबाट हुन सक्दैन । यस्ता विषयमा सरकारले दायित्व लिनुपर्छ । जस्तै: जलस्रोत, खानी आदिको क्षेत्र राज्यको दायित्वभित्र होला । ठूला बाटा, पुल आदि पनि राज्यकै दायित्व भित्रका होलान्, तर हाम्रो आफ्नो खेतबारी बाँझो नराख्ने, पशु-पन्छी पालेर आम्दानी लिने विषय त हाम्रा आफ्नै दायित्व र लाभका क्षेत्र हुन् नि ! हामीले सञ्चालन गरेका शैक्षिक, सामाजिक, आर्थिक तथा वित्तीय, धार्मिक, सांस्कृतिक आदि संघ-संस्थाहरूलाई व्यवस्थित बनाउने र घोषित लक्ष्य उद्देश्यप्रति संकल्पबद्ध हुने त सम्बन्धितहरू नै हो नि ! राज्यले नीति निर्माण गर्ने हो । आवश्यक पूर्वाधार र सहजीकरण गर्ने हो ।
राज्यले मात्रै सबै गर्न सक्ने अवस्था रहेको भए अस्तपताल, विद्यालय, विश्वविद्यालय, देवालय, गुम्बा, विहार, मदरसा, कारखाना आदि निजी क्षेत्रले किन चलाउन पथ्र्याे र ? हवाई तथा सडक यातायातका साधनहरू किन निजी क्षेत्रका हुन्थे ? निजी र सार्वजनिक क्षेत्रका आ-आफ्नै तथा साझेदारीमा कार्यहरू भइरहेका छन् । तर यसरी निजी क्षेत्रका उद्यम, कारोबार चल्नु भनेको व्यक्ति, समाज र राष्ट्रको हितकै लागि हो भन्ने कुरा सबैले बुझ्न र जिम्मेवार हुन आवश्यक छ ।
समृद्धिको विषय कुनै एउटा व्यक्ति, केही संस्थाहरू कुम्लिनु र चुलिनु मात्र होइन, समग्र क्षेत्र परिचालित हुनु र लाभमा रहनु तथा लाभको उचित वितरण हुनु हो । सबैतिरको ‘सम्’ –राम्रो/उत्कृष्ट, ‘ऋद्धि’ – बढीबढाउ = समृद्धि’ हो । उत्कृष्टता अवस्था मात्र होइन, भाव पनि हो ।
अन्य विषयका साथै हाम्रो समृद्धिको आधार हाम्रा वन-पाखाको दृश्य, पर्वत, झरना, निकुञ्ज, तालतलैया आदि हुन् । तिनीहरूमा पाइने जडीबुटी र जीवहरू हुन् । हाम्रो मौलिक संस्कृति र सामाजिक जीवनको मौलिकता पनि हाम्रो समृद्धिको आधार हो । यहाँ विकसित सभ्यता र तिनका पनि आधारहरू हाम्रा समृद्धिका सांस्कृतिक आधार हुन् । यसको अर्थ हो, हाम्रा धार्मिक-सांस्कृतिक स्थलहरू हाम्रो समृद्धिका महत्वपूर्ण आधार हुन सक्दछन् । यस्ता स्थानहरूप्रति मानिसहरूको आस्था, निष्ठा र विश्वास छ । जहाँ आस्था, निष्ठा र विश्वास छ, त्यहाँबाट अघि बढ्नु थप सहज हुनसक्दछ ।
शैव ज्योतिर्लिङ्गहरूको आदिलिङ्ग पशुपतिनाथ, महामानव गौतम बुद्धको जन्मस्थल लुम्बिनी, सीताको जन्मस्थान जनकपुरका अतिरिक्त वैष्णवहरूको मान्यता अनुसार पृथ्वीमै रहेका अष्टबैकुण्ठ मध्येको एक मानिने मुक्तिनाथ र बौद्धहरूको अतिपवित्रतम चौबिस सिद्धिस्थलहरू मध्येको एक मानिने छोमिङ्गेत्सा एउटै ठाउँ हो । यस्ता एकल र समन्वयात्मक प्रकृतिका अन्य अनेकौँ पुराणप्रसिद्ध स्थलहरू नेपालमा रहेका छन् । विभिन्न माध्यमबाट व्यवस्थापन/सञ्चालन हुँदैआएका हिन्दु तीर्थ–धामहरू छन् । बौद्ध गुम्बा र विहारहरू छन् । अनेकौँ साधना केन्द्रहरू छन् ।
नेपालमा यस्तो कुनै गाउँ छैन, जहाँ कुनै पनि धार्मिक स्थल नरहेको होस् । यहाँ ठूला संरचना र ग्रन्थवर्णित मात्र होइन, ग्वाला–गोठाला र बटुवाहरूले पाती चढाउने देउरालीका ढुंगा मात्र रहेका स्थानहरू पनि अस्थाका केन्द्र हुन् । सभ्यताको विकासमा यिनीहरूको ठूलो भूमिका छ । पहाडका धारा, कुवाका नजिक स्थापना गरिएका नागका थानहरूको पनि कम भूमिका छैन । कोट÷कोतहरू त ऐतिहासिक स्थल तथा शाक्त परम्पराका निधिका रूपमा कति छन् कति !
सुखको रमाइलोमा होस् वा निराशाको अवस्थामा होस्, अहिले पनि गाउँ–बस्तीका मानिसहरू देवी–देउराली सम्झन्छन् । यात्राका क्रममा, बिरामी हुँदा, परिक्षाका बेलामा, परिणाम प्राप्त हुँदा, लाहुरबाट फर्कंदा र यहाँसम्म कि अस्पतालमा विशेषज्ञ चिकित्सकले आफन्तको शल्यक्रिया गरिरहँदा पनि ती थान, मठ-मन्दिर र त्यहाँ कल्पित, स्थापित देव–देवीको सम्झना र भाकल गर्ने संस्कार छ । घरमा गरिने शुभकर्ममा त्यहाँका लागि धुप–धजाको प्रावधान छ । त्यहाँ दिइएका उपदेश र वचनहरू मानिसहरूले पालन गर्दछन् । यी हाम्रो सभ्यता र संस्कृतिका आधारभूत स्थलहरू हुन् । प्रारम्भिक आस्था र निष्ठाका स्थान हुन् । क्रमशः यी स्थानहरूले अहिले धार्मिक स्वरूप ग्रहण गरेका छन् । यी विषयको समाजशास्त्रीय एवं मानव समाज र सभ्यताको विकाससँग जोडेर अध्ययन गर्ने काम हुँदैजाला, तर यिनीहरूको संरक्षण र तत्काल लाभ लिने विषयबाट पछिपर्नु हुँदैन । यिनै स्थानहरू अहिले सार्वजनिक स्थानका रूपमा संरक्षित हुन सकेका छन् ।
अहिले राज्य धर्मनिरपेक्ष छ । धर्मसापेक्ष हुँदा राज्य सञ्चालनमा रहेकाहरूलाई रुचेका धार्मिक स्थानहरूको विकासको वातावरण थियो । तर सबै जाति, धर्म, आस्थाका प्रतीक स्थलहरू राज्यको/शक्तिको दृष्टिमा पर्दैन थियो । अहिले राज्य धर्मनिरपेक्ष सबै धर्मको पक्षमा, सबै आस्था र मान्यताको पक्षमा छ । यस मान्यताले जनताले नै आफ्नो धर्मको, आस्थाको जतन गर्ने अवस्थाको बाटो खोलिदिएको छ । राज्यको यो धर्मनिरपेक्षताको नीति वास्तवमा धर्मको पक्षमा देखिन्छ । उहिले महाभारतमा लेखिएको–धारणाद्धर्ममित्याहु धर्मो धारयते प्रजाः अर्थात् ‘धारण गरिने भएकोले धर्म भनिएको हो । धर्मलाई प्रजा–अहिले जनता) ले धारण गर्दछन् ।’ वास्तवमा कुनै एउटा धर्म राज्यको विषय होइन र हुनु पनि हुँदैन । धर्मका विषयमा ‘राज्यधर्म–राज्यको धर्म’ भनेको जन–जनका आस्था, निष्ठा र तिनीहरूको आजा–पूजामा बाधा पुग्न नदिनु नै हो । निर्भीकतापूर्वक मानिसहरूले आफ्ना आस्था र निष्ठा पालन गर्न र प्रकट गर्न पाउने वातावरण दिनु नै राज्यको धर्म सम्बन्धी नीति हुनु स्वाभाविक हुन्छ ।
रामायण कालका राजा दशरथ धर्मात्मा थिए । तर उनले गाउँ-गाउँमा मन्दिर बनाएका थिएनन् । कसले कसको पूजा गर्ने, कसको ध्यान वा साधना गर्ने, देव मान्ने कि देवी मान्ने, शिव मान्ने कि विष्णु मान्ने, निराकार मान्ने कि साकार मान्ने, पूजा गर्ने कि ध्यान गर्ने आदि विषयहरू उनको राज्यको कानुनमा थिएन । बरु, गृहस्थहरू र ऋषिमुनिहरू आ-आफ्ना आस्था-निष्ठाका आराध्यको आराधना गर्दथे । ईश्वरको खोजी गर्थे, ईश्वर साक्षात्कार÷मोक्ष प्राप्तिका विषयमा खोज-अनुसन्धान गर्दथे, खाद्य-अखाद्यका विषयमा, मानिसको समृद्धिका विषयमा चिन्तन गर्दथे । आ-आफ्नै प्रकारका यज्ञादि गर्दथे । यस्ता क्रियाकलापमा बाधा पु¥याउनेहरूलाई दण्डित गर्दथे र धार्मिक जनहरूको सुरक्षा गर्दथे । रामायण मात्र पढ्दा पनि यी विषयको मनग्गे ज्ञान पाइन्छ । गुरु वशिष्ठले राम, लक्ष्मणको सहयोग लिएको मूल विषय के थियो ? त्यहाँ यो कुरा स्पष्ट छ ।
राज्य धर्मनिरपेक्ष भएकोमा कतिको गुनासो पनि छ । धर्म मासिने भयो, नासिने भयो भन्ने चिन्ता पनि प्रकट हुँदैछन् । धर्मनिरपेक्ष भएयता राज्यले मन्दिर, मस्जिद, गुम्बा, विहारको थप संरक्षण गरेको छ । सबै धार्मिक स्थलहरूको विकासको लागि राज्यले आर्थिक अनुदान बढाएर नै दिएको छ, घटाएको छैन । राज्यको पनि पुनःसंरचना भएर तीन तहको सरकार बनेको छ । कुनै न कुनै तहको सरकारको आर्थिक अनुदान, सहयोग, सबै धार्मिक संस्था वा क्षेत्रले प्राप्त गरेकै छन् । राज्यले धार्मिक आस्थाका केन्द्रलाई राष्ट्रिय गौरवको सूचीमा राख्नेदेखि विकास समिति बनाएर संरक्षण गर्ने कामलाई निरन्तरता दिइरहेको छ ।
हो, पछिल्लो समयमा धार्मिक विषयहरू, पारम्परिक जात्रा-पर्वहरू आदि सीमित हुँदै आइरहेको देखिन्छ । यसको मुख्य कारण धर्मनिरपेक्षता होइन । मानिसहरूका आधारभूत आवश्यकता नै विलासी भइसके । गाउँबस्तीका सीमित साधन-स्रोतले मानिसलाई पुगेन । हिमालका मानिसहरू पहाड, पहाडका मानिसहरू तराई, गाउँका मानिसहरू सहर, सहरका मानिसहरू सदरमुकाम, सदरमुकामका मानिसहरू प्रदेश राजधानी, प्रदेश राजधानीकाहरू राष्ट्रिय राजधानी जाने क्रम बढेको छ । सामान्य तीनवर्षे वैदेशिक रोजगारीदेखि आवसीय अनुमतिसम्म लिएर विदेशमै बस्ने नेपालीहरूको संख्या दिनानुदिन बढिरहेको छ । यसले धर्म-संस्कृतिका स्वरूपमा परिवर्तन ल्याइदिन्छ र कतिपय अवस्थामा उदासीन पनि बनाइदिन्छ । त्यसको परिणाम यहाँ प्रकट भएको छ । परम्परागत संस्कारमा परिवर्तन आउने कारणमा अन्य धेरै पक्षहरू छन् । धर्मसापेक्ष राज्यले अनिवार्यता थोपरेको थिएन र धर्मनिरपेक्ष हुँदा निषेध गरेको अवस्था पनि होइन ।
कुनै पनि धार्मिक स्थानको पहिलो काम त्यहाँ नियमित रूपमा गर्न तोकिएको अनिवार्य कर्म हो । यस अन्तर्गत पूजा, आरती, भोग, भजन आदि हुन सक्दछन् । यसरी तोकिएको कामलाई नियम (विधि)संगत रूपमा सम्पदन गर्नु कुनै पनि धार्मिक स्थलको कर्तव्य हो । हाम्रो धार्मिक अनुष्ठानहरू सबैमा शान्तिको कामना गरिएको हुन्छः द्यौः शान्तिरक्षः शान्तिः पृथिवी शान्तिरापः शान्तिः रोषधयः शान्तिः । वनस्पतयः शान्तिर्विश्वेदेवाः शान्तिब्र्रम्ह शान्तिः सर्वः शान्तिः शान्तिरेव शान्तिः सा मा शान्तिरेधि । अर्थात् ‘दिशाहरू (सबैतिर) शान्त होऊन् । अन्तरिक्ष (आकाश) शान्त होस् । पूरा पृथिवी शान्त होस् । पानीमा शान्ति होस् । औषधिहरूमा शान्ति होस् । सबै वनस्पतिहरूमा शान्ति होस् । विश्वदेव (सबैतिरका उपयोगी र शक्तिहरू) शान्त होऊन् । ब्रम्ह (हामी सबैभन्दा माथि, तर हामीभित्रै जे छ, त्यसमा पनि) शान्ति होस् । सबैतिर शान्ति नै शान्ति होस् । कण–कणमा र मन–मनमा शान्ति होओस् ।’ यसरी सबैतिर शान्ति छाउनुपर्छ, अनि हुन्छ समृद्ध जीवन । हाम्रा पुर्खा, परम्परा र संस्कृतिले समृद्धिको क्षेत्र यसरी किटान गरिदिएका छन् ।
सबैमा मानिसको कल्याणको कामना गरिएको हुन्छः भद्रं कर्णेभिः शृणुयाम देवा भद्रं पश्येमाक्षभिर्यजत्राः । स्थिरैरङ्गैस्तुष्टुवांसस्तनूभिव्र्यशेम देवहितं यदायुः भावार्थः ‘हे पूजा गर्नयोग्य देवहरू ! हामी हाम्रा कानले कल्याणकारी वचन सुन्न पाऊन् । आँखाले राम्रै–राम्रो हेर्न पाऊन् । ढुक्क र पुिष्टएका अंगले तिमीहरूको स्तुतिगान÷प्रशंसा गर्दै देवद्वारा निर्धारित गरिएको उमेर प्राप्त गरौँ । साथै, देवताकै हितमा तिनको सदुपयोग गरौँ ।’ त्यसैले यो क्षेत्र शान्ति र कल्याणको क्षेत्र हो ।
ती ठाउँहरूबाट गर्न सकिने अर्को महत्वपूर्ण काम भनेको जनचेतना अभिवृद्धिको हो । सर्ने–नसर्ने रोगहरू, बालविवाह गर्न नहुने, धुम्रपान–मद्यपानको दुष्प्रभाव, पारिवारिक मेलमिलाप, वातावरणको महत्व र जलप्रदूषण रोकथाम, फोहोर व्यवस्थापन, शिक्षाको महत्व, शारीरिक तथा मानसिक सुस्वास्थ्यका लागि योग–ध्यानको आवश्यकता आदि विषय यस अन्तर्गत रहन सक्दछन् ।
यसको अर्को काम हुन सक्दछः सामाजिक दायित्व । सामाजिक दायित्वलाई सामाजिक उत्तरदायित्व पनि भन्ने गरिन्छ । हरेक व्यक्ति र संस्थाले केही न केही योगदान नगरी समाज र राष्ट्र समृद्ध हुन सक्दैन । त्यसैले धार्मिक संस्थाहरूले पनि जे र जति गर्न सकिन्छ, त्यति मात्रामा योगदान गर्ने योजना बनाइ लागु गर्नुपर्दछ । यस अन्तर्गत यस्ता स्थान/संस्थाले आफ्नो वार्षिकोत्सव वा अन्य उपयुक्त अवसरमा रक्तदान गर्ने, छात्रवृत्ति प्रदान गर्ने, आर्थिक क्षमता नभएर पढ्न नसक्ने अवस्था भएका विद्यार्थीहरूलाई निश्चित संख्यामा बसोवास र खानपानको व्यवस्था गर्ने आदि । संस्थाको क्षमता हेरी यो काम सबैले गर्नुपर्दछ ।
संस्थाले राम्रा कामहरू गर्न संस्था आर्थिक रूपले समेत सबल र सुदृढ हुन आवश्यक हुन्छ । यसका लागि संस्थाले कोष अभिवृद्धि गर्ने योजना बनाई कार्यान्वयन गर्नुपर्दछ । दान दक्षिणामा गरिने आयलाई व्यवस्थित गर्नुपर्दछ । खर्च व्यवस्था मितव्ययी, औचित्यपूर्ण र पारदर्शी हुनुपर्दछ । हरेक आयको निश्चित अंश वचत गर्ने प्रावधान हुनुपर्दछ । अन्य जायज स्रोतहरू परिचालन गर्नुपर्दछ ।
संस्थाहरू उचित उत्पादनशील काममा पनि संलग्न हुनुपर्दछ । संस्थाको कोषमा रहेको रकम उपयुक्त परिचालनको माध्यमबाट उत्पादनशील काम गर्न सकिन्छ । स्थानीय समुदायसँगको सहकार्यमा यो काम गर्न सकिन्छ । मन्दिर/स्थानलाई आवश्यक पर्ने वस्तुहरूको उत्पादन गर्न समुदायका मानिसहरूलाई उत्प्रेरित गरी लगानी सहयोग गर्न सकिन्छ । सामान्यतया हिन्दु मन्दिरहरूमा आजापूजा गर्दा चाहिने कपासको बत्ती, जौ, तिल, गाईको दुध घिउ लगायतका वस्तुहरू उत्पादनमा प्रेरित गर्ने हो भने क्रमशः यी वस्तुमा आत्मनिर्भर बन्न सकिन्छ । पूजामा प्रयोग हुने भए तापनि कपास, जौ, तिल, गाईको दुधघिउ, मह लगायतका वस्तुहरू खपत हुने क्षेत्र विशाल छ । जौ, तिल, घिउ, मह आदि बहुउपयोगी वस्तुहरू हुन् । यी वस्तुहरूको योजनाबद्ध उत्पादनले मुलुकको समृद्धिमा ठूलो टेवा पुग्न सक्छ । यसरी हाम्रा धार्मिक आस्था–निष्ठाका स्थलहरू/संस्थाहरूबाट मुलुकले बहुआयामिक लाभ लिन सक्दछ र यो क्षेत्र समृद्धिको महत्वपूर्ण क्षेत्र बन्न सक्दछ ।
सबै नेपालीहरूले कुनै धर्म संस्कृतिका विरुद्धमा कम्मर कसेर लाग्नुभन्दा आआफ्ना धर्म संस्कृतिका असल पक्षहरूको अवलम्बन गर्ने गराउनेतिर लाग्ने हो भने सद्भाव, सम्मान, सहिष्णुता र सकारात्मक सोच विकास हुन्छ । यसो गर्नु आफ्नो धर्म संस्कृति, सभ्यता र सिंगो राष्ट्रको समृद्धिका लागि महत्वपूर्ण योगदान हुनेछ । मैले थाहा पाएअनुसार सबै धर्ममा मन्त्र छन् । ती मन्त्र दुर्भावना र असहिष्णुताका लागि हुँदैनन् । अतः मन्त्रार्थाः सफला सन्तु ।