बुटवलको ३ किमी सडकखण्डः ८ वर्षमा ३५ करोड खर्च भयो तर अझै बनेन

मेचीकाली संवाददाता

२४ आश्विन २०८०, बुधबार
654 shares

अमृत गिरी

बुटवल। छिमेकी मुलुक भारतले सय घण्टामा सय किलोमिटर स्तरीय पिच सडक निर्माण गरेर विश्व कीर्तिमान कायम ग¥यो । उत्तर प्रदेशका औद्योगिक क्षेत्रहरु, कृषि क्षेत्र र शैक्षिक संस्थाहरु आदिलाई एउटै सडक सञ्जालमा जोड्नेगरी गाजियाबाद–अलिगढ एक्सप्रेस–वेको निर्माण गरेको हो ।

हामीकहाँ यस्ता कुरा एकादेशका कथा जस्ता हुन्छन् । अझ अहिले त काम सम्पन्न भएपनि राज्यले भुक्तानी दिन सकिरहेको छैन । ठेक्काअनुसारका अर्बौं बराबरका काम सम्पन्न भएको वर्षदिन बित्न लाग्दासमेत सरकारले निर्माण कम्पनीलाई पैसा नदिएको अवस्था छ । यसैले देशभरका ठूलासाना निर्माण व्यवसायीहरुले हालै काठमाण्डौमा विरोध प्रदर्शन गरेका थिए ।
मुलुकको प्रमुख व्यापारिक तथा आर्थिक केन्द्रका रुपमा रहेको बुटवलको मुख्य बजार क्षेत्रमा रहेको सवा तीन किलोमिटर सडक निर्माण सुरु भएको झण्डै एक दशक पुग्न लाग्यो तर अझै पूरा भएको छैन । ०६९ सालमा ४ लेनमा निर्माण भएको यो खण्ड पछि ६ लेनमा विस्तार सुरु भएपछि हालसम्म निर्माण पूरा नहुँदा यसक्षेत्र अस्तव्यस्त जस्तै छ ।

बुटवलको राजमार्ग चौराहादेखि गोलपार्कसम्मको ३.२५ किमी सडक विस्तारको काम सुरु भएको ८ वर्ष जति भयो र करिब ३५ करोड रुपैयाँ जति खर्च भइसक्यो तर, यहाँ आधा जति पनि काम पूरा भएको छैन । मुख्य सडकमा हाल सामान्य लेभल मिलाउने डीबीएमको काम मात्रै भएको छ । मुख्य पिचको काम त सुरु भएकै छैन । यो सडकलाई अन्तर्राष्ट्रियस्तरको अस्फाल्ट पिच गर्ने योजना हो ।

तीन वर्षमा ५७ दुर्घटना, २० जनाको मृत्यु
सडक निर्माणमा भएको ढिलाइसँगै उत्पन्न भएको जोखिम उस्तै छ । बुटवलको योगिकुटीदेखि सिद्धबाबासम्मको खण्डमा पछिल्ला पछिल्ला तीन वर्षमा ५७ वटा सवारी दुर्घटना भएका छन् । ती दुर्घटनामा २० जनाको मृत्यु भएको छ । अधिकांश दुर्घटना जोखिमपूर्ण सडकका कारण भएका हुन् । नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय बुटवलका सूचना अधिकारी डिएसपी होमबहादुर थापाका अनुसार तीन वर्षमा भएका ती दुर्घटनामा ४९ जना गम्भीर घाइते भएका छन् ।

८ वर्षमा आधा पनि काम भएन
सुरुका केही वर्ष साइट क्लियर नहुँदा र मुद्दामामिलाका झमेला हुँदा निर्माण कार्य प्रभावित भएपनि पछि यी सबै समस्या समाधान हुँदासमेत कामले गति लिएको छैन । सम्झौताअनुसार २०७६ असोज १२ गतेसम्म सक्नुपर्ने थियो । तर, काम भएन र म्याद थप भयो ।
अन्तिमपटक भन्दै थप भएको म्यादको अवधि पनि २०७९ चैत ३० गतेसम्म काम सक्नुपर्ने थियो तर, यो अवधिमा पनि पूरा नभएपछि फेरि ०८० असार मसान्तसम्मका लागि म्याद थप भयो ।

अन्तिमपटक भन्दै फेरि २०८० असार मसान्त सम्ममा काम सक्नुपर्ने गरी म्याद थपिएको अवधिमा धुलो उड्ने क्षेत्रमा टालटुल भयो, पुष्पलाल पार्क र चौराहाका गोलचक्करमा ढलान भयो तर अरु प्रगति भएन । अहिलेसम्म यो सडक खण्डमा ४८ प्रतिशत जति काम मात्र पूरा भएको सडक डिभिजन कार्यालय बुटवलको प्रतिवेदनमा छ ।

डिभिजन कार्यालय बुटवलका प्रमुख डीई विसुनदास लामाले मुख्य बजार क्षेत्रको मुख्य सडक खण्डमै निर्माण कार्य सुस्त हुँदा नकारात्मक सन्देश गइरहेको बताए । साह्रै ढिलासुस्तीमा निर्माण भइरहेको र पटक–पटक म्याद थप्दासमेत प्रगति शून्यजस्तै रहेकोलगायतका विवरणसहित माथिल्ला निकाय अर्थात् निर्देशनालयमा पत्राचार गरिएको डीई लामाले बताए ।
निर्माण कम्पनीका सञ्चालक पेम्बा लामा लामो सयमदेखि यसक्षेत्रका इन्जिनियरको समेत सम्पर्कमा नरहेको इन्जिनियरहरु बताउँछन् । कम्पनीका प्रतिनिधिसमेत लामो समयदेखि कार्यालयको सम्पर्कमा आएका छैनन् । तर, फेरि म्याद थप गरी पाऊँ भन्दै निवेदन भने कार्यालयमा पेश भएको छ ।

सहर नै कुरुप बनाउने र दुई राजमार्ग गिज्याएको सडकखण्ड
बुटवलको मुख्य बजार क्षेत्रमा जम्मा ३.२५ किलोमिटर सिद्धार्थ राजमार्गको खण्ड हो । यहीँ खण्डमा पूर्व–पश्चिम महेन्द्र राजमार्ग पनि पर्छ । दुई महत्वपूर्ण र अन्तर्राष्ट्रिय राजमार्ग क्षेत्र र बुटवलकै मुख्य बजार क्षेत्र विगत ८ वर्षदेखि कुरुप जस्तै बनेको छ ।
‘यहीँका बासिन्दा हौं, यहीँ सडकका उपभोक्ता पनि हौं, ठेकेदारलाई बिन्ती बिसाएर काम गराउनुपरिरहेको अवस्था छ तर पनि प्रगति पटक्कै भएन,’ सडकको निर्माणको साइट हेरिरहेका सडक डिभिजन कार्यालय बुटवलका इन्जिनियर अरुण खत्रीको गुनासो छ । इन्जिनियर खत्रीले सडकको स्वेतपत्र जस्तै प्रतिवेदन माथिल्ला निकायमा रायसहित पेश गरिएको बताए ।

ठेकेदारलाई पेश्कीसहित झण्डै ३५ करोड भुक्तानी
दि कञ्चनजङ्घा–बिरुवा जेभी नामको निर्माण कम्पनीले यहीँ सडक खण्डका लागि हालसम्म २७ करोड ४० लाख ६७ हजार भुक्तानी लगिसकेको छ । यसका अलबा उसले ७ करोड ४६ लाख रुपैयाँ बराबरको पेश्की लगेको छ र यसको फस्र्यौट गर्नै बाँकी छ । पेश्कीसहित ३४ करोड ८६ लाख ६७ हजार रुपैयाँ निर्माण कम्पनी दी कञ्चनजङ्घा–बिरुवा जेभीले लगिसकेको सडक डिभिजन कार्यालय बुटवलको लेखा शाखाको विवरणमा छ ।
कार्यालयका सूचना अधिकारी इन्जिनियर महेश्वर लम्सालले पटक–पटक गरेर भुक्तानी भएको, म्याद थपिएको तर, काममा प्रगति नभएपछि कार्यालयले विकल्पको खोजी गरेर प्रतिवेदन माथि पठाएको जानकारी दिए । उनले कस्तो विकल्प हो भनेर खुलाएनन् ।

अब ठेक्का तोडिन सक्छ
३.२५ किमी सडक निर्माणका लागि सडक विभागले ६५ करोड लागत स्टिमेट राखेको थियो । दि कञ्चनजङ्घा–बिरुवा जेभी नामको निर्माण कम्पनीले भ्याटसहित रु.५३ करोड ९७ लाख ९९ हजार ४६७ मा ठेक्का लिएको थियो । २०७३ चैत १७ गते ठेक्का सम्झौता भएको थियो ।

तीन पटकसम्म थपिएको म्यादसम्म पनि प्रगति नभएपछि सम्बन्धित अधिकारीहरु ठेक्का तोड्ने मनस्थितिमा पुगेको स्रोतले बताएको छ । यद्यपि सम्बन्धित कार्यालयले भने यसबारेमा आधिकारिक जानकारी दिएको छैन । सडकको अवस्था हेरिरहेका सम्बन्धित इन्जिनियरहरुले रायसहितको विस्तृत प्रतिवेदन सडक निर्देशनालय काठमाण्डौमा पठाइसकेका छन् ।
ठेक्का तोड्दा राज्यलाई अर्को ठेक्का लगाउन चाहिने करिब २६ करोड बराबरको रकमको जोहो नभएकाले यसबारेमा निर्णय हुन ढिलाई भइरहेको स्रोतले बताएको छ । ठेक्का तोडियो भने निर्माण कम्पनी स्वतः कालोसूचीीमा पर्ने, उसले लगेर फस्र्यौट गर्न बाँकी करिब ८ करोड रकमको दोब्बर जरिवाना तिर्नुपर्ने हुनसक्छ ।

काम सकिएका योजनाको समेत भएको छैन भुक्तानी
ठेक्का सम्झौता गरेर तोकिएको समयमै निर्माण पूरा भएका योजनाको समेत सरकारले अहिले भुक्तानी दिइरहेको छैन । निर्माण सकिएका आयोजना र स्रोत सुनिश्चितता भएका आयोजनाको समेत भुक्तानी नपाएपछि वर्तमान सरकारका विरुद्ध देशभरका निर्माण व्यवसायीहरुले हालै काठमाण्डौमा विरोध प्रदर्शन गरेका थिए । झण्डै दुई आव यता सरकारले यस्ता धेरै आयोजनामा भुक्तानी नदिएको निर्माण कम्पनीहरुको गुनासो छ ।