देशकै अब्बल वित्तीय संस्थामा दरिएको सामूहिक विकास सहकारी

मेचीकाली संवाददाता

२७ आश्विन २०८०, शनिबार
602 shares

रमेश पराजुली

बुटवल । आपसी एकता र इमान्दारिता भयो भने सफलता चुम्न कसैले रोक्न सक्दैन भन्ने उदाहरण बनेको छ, रुपन्देहीको तिलोत्तमा नगरपालिका–३ शंकरनगरस्थित सामूहिक विकास बचत तथा ऋण सहकारी संस्था । पछिल्लो समय केही आयातित सहकारीले बुटवल क्षेत्रमा बचतकर्ताको रकम हिनामिना गरिरहेको बेला सामूहिक राम्रो मुनाफा गरी आफूलाई देशकै अब्बल सहकारीको रूपमा दर्ज गरेको छ ।

वि.सं. २०५० सालमा २६ जना मिलेर शंकरनगरमा २ हजार ६ सय शेयर पूँजी जम्मा गरेर सहकारी संस्था सुरु गरेका थिए । बचत तथा ऋणको कारोबार गर्ने गरी दर्ता भएको यो नै रूपन्देहीको पहिलो सहकारी थियो । मासिक २ सय रुपैयाँ बचत संकलनबाट सुरु भएको यो सहकारी अहिले शेयर पुँजी र कारोबारका हिसाबले लुम्बिनी प्रदेशकै सबैभन्दा ठूलो शेयर पुँजी र कारोबार हुने सहकारी बन्न पुगेको छ । सहकारीमा करिब १० हजार शेयर सदस्य पुगेका छन् । जसमा ५ हजार महिला ५ हजार पुरूष छन् । शंकरनगरमा आफ्नै सुविधासम्पन्न तीनतले भवनसहित करिब २ अर्ब रुपैयाँ बढीको सम्पत्ति पनि छ ।

सहकारीले हरेक वर्ष आफ्नो कारोबार र नाफा बढाउँदै लगेको छ । रूपन्देही जिल्लाभरि कार्यक्षेत्र रहेको यो सहकारीले अधिकांश ऋण लगानी व्यवसाय र उद्योग क्षेत्रमा लगानी गर्ने गरेको वरिष्ठ व्यवस्थापक तथा सूचना अधिकारी इश्वरी मरासिनी बताउँछन् । सहकारीले सामाजिक कार्य र शैक्षिक क्षेत्रमा बढी कर्जा लगानी हुने गरेको छ ।

सामूहिक विकास सहकारीको २९ औँ साधारणसभा शनिबार सम्पन्न भएको छ । साधारणसभामा संस्थाका अध्यक्ष सुरेन्द्रकुमार वर्माले वार्षिक कार्यक्रमसहित प्रतिवेदन प्रस्तुत गर्दै आगामी योजनाहरुबारे जानकारी गराए । संस्थालाई थप सुदृढ र व्यवस्थित बनाउनको लागि सबै शेयर सदस्यहरूको हातेमालो आवश्यक रहने उनको भनाई थियो । समाजमा छरिएर रहेको स–सानो पुँजीलाई संकलन गरी सदस्यहरुबीच विभिन्न वित्तिय पहुँच पु¥याएर स्वरोजगारको अवस्था सिर्जना गर्न विभिन्न कार्यक्रम सञ्चालन गर्ने बताउँदै शेयर सदस्यहरुलाई शुलभ, प्रविधियुक्त, सदस्यमैत्री सेवा प्रदान गर्न संस्था सधैँ लागिरहने कुरालाई उनले जोड दिए ।

कार्यक्रममा जिल्ला सहकारी संघ रुपन्देहीका अध्यक्ष भीम तुलाचनले सहकारी संस्थालाई सवल र सक्षम बनाउन सहकारीको ऐन नियमलार्ई कडाइका साथ पालना गराउनुपर्ने बताए । सहकारी ऐन र नीति–नियमअनुसार चल्न आवश्यक रहेको बताउँदै सहकारीले वास्तविक बचतकर्ताहरूलाई मद्दत गर्नुपर्नेमा उनले जोड दिए । कानुन बनेपनि कार्यान्वयन हुन नसक्दा समस्या सिर्जना भएको उनले बताए । पछिल्लो समयमा सहकारी संस्थाले मुलुकमा आर्थिक समृद्धिका लागि ठूलो टेवा पु¥याएको उनको भनाइ थियो । त्यस्तै कार्यक्रममा लुम्बिनी प्रदेशसभा सदस्य भगवती घिमिरेले सहकारीहरुले उत्पादनमूलक क्षेत्रमा लगानी गरी आर्थिक समृद्धिसँग जोडिनुपर्ने बताइन् ।

संस्थाका शेयर सदस्य प्रेमबहादुर लाङ्घाली, गीतादेवी न्यौपानेलगायतले सहकारीले पुँजी संकलन मात्र नगरी छरिएर रहेको पुँजीलाई एकत्रित गर्दै सदस्यलाई उत्पादनशील र व्यावसायिक बनाउन संस्थाले सहयोग गर्नुपर्नेमा जोड दिए । संस्थाले प्रदान गरेका विभिन्न तालिमहरुले शेयर सदस्य उद्यमी बन्न सफल भएको बताए । कार्यक्रममा लुम्बिनी प्रदेशसभा सदस्य हेमा बेलबासे, रुपन्देही बचत संघका अध्यक्ष प्रकाश भट्टराई, संस्थाका सल्लाहकार तथा पूर्वअध्यक्ष चुरामणि खरेल, सल्लाहकार अजर्सन ज्ञवाली, खमाकान्त ज्ञवाली, दामोदर भुसाल, पूर्वउपाध्यक्ष रामप्रसाद गिरी, रुद्रप्रसाद श्रेष्ठ लक्ष्मण ज्ञवालीलगायतको आतिथ्यता रहेको थियो ।

कार्यक्रममा सहकारीका उत्कृष्ट ऋणी, उत्कृष्ट बचतकर्ता, उत्कृष्ट बाल बचतकर्ता, ८० वर्ष उमेर पुगेका ज्येष्ठ नागरिक शेयर सदस्य, उद्यमी सदस्य, उत्कृष्ट कर्मचारी लगायतलाई सम्मान गरिएको थियो । साथै कक्षा १२ मा उत्कृष्ट नतिजा ल्याउन सफल शेयर सदस्यका छोराछोरीमध्येबाट ८ जनालाई पनि सम्मान गरिएको थियो ।

रुपन्देही जिल्लाभर कार्यक्षेत्र रहेको सहकारीमा हाल ९ हजार ९७७ जना शेयर सदस्य रहेका छन् । संस्थाको शेयर पुँजी ३२ करोड ९६ लाख ७२ एक सय रुपैयाँ रहेको छ भने ३ अर्ब १३ करोड ४३ लाख ५६ हजार ४५३ रुपैयाँ कर्जा लगानी गरेको छ । संस्थाले १२ करोड ३२ लाख ४५ हजार ८४३ रुपैयाँ ३४ पैसा खुद नाफा गर्न सफल भएको छ । सहकारीले तिलोत्तमा नगरपालिका–७ भलबारी र शुद्धोधन गाउँपालिका–४ फर्साटिकरमा सेवा केन्द्र सञ्चालन गरी सेवा दिँदै आएको छ । संस्थाका सञ्चालक समिति सदस्य भिमलाल सापकोटाको स्वागत तथा सचिव मिनप्रसाद पोख्रेलको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियो ।

कृषिबाटै समृद्धि हासिल गर्न सकिन्छः लिला गिरी
निवर्तमान मुख्यमन्त्री तथा यसक्षेत्रका प्रदेशसभा सदस्य, एमाले संसदीय दलका नेता लिला गिरीले कृषिबाटै आयात घटाउने, निर्यात बढाउने र त्यसैका माध्यमबाट समृद्धि हासिल गर्न सकिने सम्भावना रहेको बताएका छन् । यसक्षेत्रको अब्बल र उत्कृष्ट सामूहिक विकास बचत तथा ऋण बहुउद्देश्यीय सहकारीको साधारणसभाको उद्घाटन गर्दै नेता गिरीले तीनखम्बे अर्थनीति र उत्पादनमूलक क्षेत्रमा लगानी बढाउनुपर्नेमा जोड दिए । कैयन् सहकारी तथा वित्तीय संस्थाहरुमा अपचलन भएका, सञ्चालकहरु भागेका, कालो सूचीमा परेका र जनताको बचतको दुरुपयोग भइरहेको गुनासो सुनिएको बताउँदै नेता गिरीले सामूहिक सहकारी भने अलग पहिचानका साथ सुरक्षित र स्तरीय वित्तीय संस्थाका रुपमा स्थापित भएको उल्लेख गरे ।

‘नेपालको दिगो र प्रमुख निर्यातजन्य वस्तु कृषि उत्पादन नै हो । यस क्षेत्रमा नेपालको कुल जनसंख्याको ठूलो जनशक्ति आश्रित छ । यद्यपि, केही वर्षदेखि किसान यस क्षेत्रबाट पलायन हुँदै सेवा र औद्योगिक क्षेत्रको रोजगारीमा भौँतारिन थालेका बेलामा राज्यले नै स्पष्ट नीति बनाएर कृषिको विकासमा ध्यान दिनुपर्छ, कृषिबाटै उत्पादन बढाउने, सहकारीका माध्यमबाट बजारीकरणको प्रवद्र्धन गर्ने, रोजगारी वृद्धि गर्ने जस्ता कैयन् सफल उद्यम गर्न सकिन्छ,’ नेता गिरीको भनाइ छ । कृषि क्षेत्रको प्रभावकारी विकासका लागि हाम्रो साधन र स्रोतलाई पूर्ण रूपमा परिचालन गर्न कृषि अनुसन्धान एवं विस्तार र स्रोतहरूको प्रभावकारी प्रयोग गर्ने योजनालाई कार्यान्वयन गर्नुपर्ने नेता गिरीले बताए ।