मेची–महाकाली पदयात्री कँडेल बुटवलमा

मेचीकाली संवाददाता

९ मंसिर २०८०, शनिबार
274 shares

बुटवल । उमेरले ६७ वर्ष, चाउरी परेको अनुहार, दाह्री कपाल फुलेर सेताम्य, शिरमा ढाका टोपी, दौरा सुरवाल र हातमा नेपालको राष्ट्रिय झण्डा । शुक्रबार बिहान बुटवलको राजमार्ग चौराहामा भेटिएका उनी हुन् सर्लाहीको बागमती नगरपालिका–११ पुतलिचोकका नित्यानन्द (शर्मा) कँडेल । पूर्व मेचीदेखि पश्चिम महाकालीसम्म (मेची–महाकाली पदयात्रा–२०८०) मा निस्किएका कँडेल एक महिनाको यात्रापछि बिहीबार साँझ बुटवल आइपुगेका हुन् ।

कँडेल गत कार्तिक ८ गते पूर्वी नाका काँकडभिट्टाबाट महाकालीसम्मको एक हजारभन्दा बढी किलोमिटर पदयात्रामा निस्किएका हुन् । एक महिनामा उनले करिब ६५० किलोमिटर यात्रा पूरा गरेका छन् । कँडेललाई बुटवलमा रुक्मिणी (कँडेल) देवकोटालगायतका स्थानीयले सम्मान गर्दै बिदाइ गरेका थिए ।

नवलपरासी (बर्दघाट सुस्तापूर्व) को बौधीकाली गाउँपालिका–१ मचेडीमा जन्मिएका कँडेलले जीवनको ऊर्जाशील उमेर (३० वर्ष) शिक्षण पेशामा बिताएको बताए । दैनिक २०÷२५ किलोमिटर पैदल हिँड्ने अटोठका साथ यात्रामा निस्किएको उनको भनाइ छ । दुई महिनाभित्रमा महाकाली पुगेर पदयात्रा समापन गर्ने लक्ष्य लिएको उनी बताउँछन् । पूर्व–पश्चिम राजमार्गमा हिँडेर आफ्नो लक्ष्य पूरा गर्ने आत्मविश्वासमा छन् कँडेल । दिनभरि हिँडे पनि साँझ परेपछि बास बस्ने बन्दोबस्ती गर्छन् उनी ।

पदयात्री कँडेलका अनुसार पदयात्रा हिँड्दा धेरै कठिनाइ हुन्छ । पदयात्रा सुरक्षित बनाउन आफैँ होसियारी अपनाउने गरेको उनले बताए । बाटोमा ठूला जंगलसमेत पर्ने भएकोले त्यस्ता ठाउँमा सुरक्षाको बन्दोबस्ती भए सहज हुने उनी बताउँछन् । यात्राका क्रममा राजमार्ग आसपासका प्रहरीले सहयोग पु¥याएको कँडेलले बताए । यसरी नै सहयोग पाए पक्कै पनि यात्रा सहज हुने उनको आत्मविश्वास छ ।

‘बाटोमा हिँड्दै गरेको बेला स्थानीयबाट समेत उत्तिकै सहयोग, सद्भाव पाएको छु, स्थानीय र होटल व्यवसायीहरुले खानबस्न सहयोग गरिरहनुभएको छ । यस्तै सहयोग पाए आभारी हुने थिएँ ।’ कँडेल भन्छन्,‘पदयात्रा हरेक मानिसको आ–आफ्नो रहर भएपनि मेरो उद्देश्य राष्ट्रियता, राष्ट्रिय संस्कार तथा संस्कृति संरक्षण गर्ने, अन्तर्राष्ट्रिय स्तरमा प्रचारप्रसार र देशलाई आत्मनिर्भर बनाउने हो ।’

‘नेपाल कृषि प्रधान देश भएकोले कृषि उत्पादनमा पहुँच र निर्यातमा जोड दिई आत्मनिर्भर देश बनाउनुपर्ने । देशका सम्पूर्ण राष्ट्रसेवक कर्मचारी र जनप्रतिनिधिहरुले स्वदेशमै उत्पादित र निर्मित पोशाक अनिवार्य रुपमा प्रयोग गर्नु गराउनुपर्ने, राष्ट्रियता, राष्ट्रिय संस्कार तथा सांस्कृतिक संरक्षण, संवद्र्धन र प्रबर्धन गर्ने अन्तर्राष्ट्रिय स्तरमा प्रचार–प्रसार गर्नुपर्ने, विदेशी मदिरालगायत अन्य बिलासिताका वस्तुहरुको आयातमा प्रतिस्थापना गर्नुपर्ने,’ उनको सरकारसँग माग छ ।