अर्घाखाँचीका गाउँगाउँमा ट्याक्सी सेवा

मेचीकाली संवाददाता

१२ मंसिर २०८०, मंगलवार
183 shares

अनिल नेपाली

अर्घाखाँची । पहाडी जिल्ला, जहाँ गाउँका कच्ची सडकमा ट्याक्सी चल्छन् । सहज यात्रा भएपछि सदरमुकाममा बास बस्ने संख्या घटेको छ । बजारमा काम सकेर साँझ परेपछि ट्याक्सी चढेरै गाउँको घरमा धेरै पुग्छन् । जिल्लाको ६१ वडामा टोलैपिच्छे कच्ची सडक छन् । जहाँ सबै बाटोमा ट्याक्सी गुड्छन् ।

अन्तरजिल्ला जोड्ने र केही जिल्लाभित्रका मुख्य सडक ग्राभेल र पीच भएपनि टोलमा पुग्ने सबैजसो मोटरबाटा कच्ची नै छन् । अर्घाका कमल भुसालले विदेशमा दशकको कमाइले सदरमुकाममा घर जोडे । घर फर्किएपछि उनले एउटा व्यावसाय रोजे । उनले दैनिक ट्याक्सी रिर्जवमा जिल्लाभित्र र बाहिर यात्रु बोक्छन् । ‘दैनिक खाली बस्नुपर्दैन,’ उनले भने, ‘कतै न कतै यात्रु पाइन्छन् । आम्दानी राम्रो भएको छ ।’ टोलबस्तीमा पुग्ने कच्ची सड्क पनि पिच भएमा सरर गन्तव्यमा पुग्न सजिलो हुने उनले बताए । सरकारले सिण्डिकेट तोडेको घोषणा गरेपछि गाडी थप्नेको होडबाजी नै छ । त्योभन्दा अघि अर्घाखाँची ट्याक्सी व्यावसायी प्रा.लि. दर्ता गर्न जिल्लाकै बस, माइक्रोबस र जिप व्यावसायीले अवरोध पु¥याए । सड्कमा ट्याक्सी चल्नै दिएनन् ।

सिण्डिकेट हटेपछि धमाधम ट्याक्सी थप्नेको होडबाजी नै चल्यो । ‘अहिले प्रा.लि.का १ सय १० वटा कालो प्लेटका ट्याक्सी छन्,’ अध्यक्ष महेन्द्र भुसालले भने,‘हामीले व्यावसायिक रुपमा सञ्चालन गरेका छौं । ७० भन्दा बढी ट्याक्सी रातो प्लेटका छन्, उनीहरुलाई संस्थामा आबद्ध गराउन प्रक्रिया अघि बढेको छ ।’ दैनिक यात्रु बोकेपछि व्यावसायीक हिसाबले संस्थामा आबद्ध हुनुपर्ने उनले बताए । संस्था दर्ता गर्दा धेरै अवरोधको सामान गर्नुपरेको थियो । ‘सरकारले सिण्डिकेट हटाएपछि वैदेशिक रोजगारबाट फर्किएका युवा, रेमिट्यान्सको पैसा र केही युवाले बैंकबाट धितो लिएर गाडी किनेका छन्,’ भुसालले भने, ‘चालकसहित ४ जना यात्रु अट्ने सानो गाडीमा शहर आऊजाऊ गर्नेहरुले रोजाइ परेको छ । हामीले यात्रु बोक्ने मात्रै नभएर एम्बुलेन्सको पनि काम गरेका छौं ।’ टोलबस्तीमा ट्याकसी सुविधा भएपछि बिरामी बिरामीका आफन्तले जिल्ला अस्पताल, बुटवलका अस्पतालका लैजान र निको भएर फर्किनको लागि ट्याक्सी खोज्ने गर्छन् । धेरै वैदेशिक रोजगारबाट फर्किएका र केही स्वदेशकै युवा भएको उनले उनले बताए ।

धेरै व्यावसायीले आफै चालक छन् । केहीले मात्र चालक राखेका छन् । सन्धिखर्कका चन्द्र थापाले वैदेशिक रोजगारमा जान छाडेर यही ट्याक्सी किनेर चलाएका छन् । ‘दैनिक खाली बस्नुपर्दैन,’ उनले भने, ‘धेरैजसो बिरामी बोक्छु । गाउँमा पुजापाठ, मृत्युवरण भएका घरमा आऊजाऊ गर्न धेरैले फोन गर्छन् ।’ वैदेशिक रोजगारीको कमाइ ट्याक्सीबाट भएपछि युवाहरु आकर्षित भएका छन् । महिनैपिच्छे ट्याक्सी थपिनेको संख्या बढ्दो छ । साझपख र अन्य बेला काठमाडौ, बुटवल र बाहिरबाट सदरमुकाम आएर यात्रु ओर्लने भएकाले शान्ति बगैँचामा बस, माइक्रोबसमा ट्याक्सी लाइनमा हुन्छन् । ‘चार वर्षमा कतारबाट दशैँ मान्न घरमा आएँ,’ गोखुंगामा विनबहादुर केसीले भने, ‘साझ परिसकेको थियो । होटलमा बस्नुभन्दा दुई हजार ट्याक्सी भाडा तिरेर दुई घण्टामा घरमा आएँ । परिवारसँग भेटघाट र आफ्नै घरको बेडमा सुत्न पाइयो ।’ अन्तर्जिल्ला जोड्ने र जिल्लाका मुख्य सड्कलाई प्रदेश र संघ सरकारले बजेट पारिदिएपछि स्थानीय तहले मझौला सड्क निर्माण, मर्मत गरेका छन् । जिल्लाका मुख्य र सहायक सड्कमा जिप, माइक्रोबस र बस सञ्चालन भएपछि टोलसम्मका बस्ती जोड्ने साना सड्कमा ट्याक्सी पुग्ने गरेपछि सहज भएको छ ।

कच्ची बाटोमा चालकले सहजै गन्तव्यमा पु¥याएपछि दुर्गम बस्ती पनि यातायातले शहरसँग जोडिएको छ ।गाउँबाट सदरमुकाम आउजाउ गर्ने अधिकांश यात्रुको रोजाई नै ट्याक्सी हुने थालेको छ । वैदेशिक रोजगारबाट फर्किएका युवा र केहीले बैंकबाट धितो लिएरै ट्याक्सी किनेका छन् । दैनिक सदरमुकाम–गाउँ र अन्तर्जिल्ला सहित बुटवल, नेपालगञ्ज, दाङ, पोखरा काठमाडौँसहित ठुला शहरमा रिर्जव यात्रु पाएपछि व्यावसायी उत्साहित छन् । कोरोनाको लकडाउनमा पनि ट्याक्सी रिर्जवमा चलेपछि व्यावसायी मारमा परेनन् ।