बाणगंगामा लैंगिक हिंसा, कुप्रथा र बालविवाह बिषयक अन्तरक्रिया

मेचीकाली संवाददाता

१२ मंसिर २०८०, मंगलवार
200 shares

पार्वती आचार्य

कपिलवस्तु । बाणगंगा नगरपालिकामा लैंगिक हिंसा, सामाजिक कुरिती, कुप्रथा, बालविवाह बिषयक चौमासिक अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । १६ दिने लैंगिक हिंसा विरुद्धको अभियानका अवसरमा ‘लैङ्गिक हिंसा अन्त्यको सुनिश्चितताः महिला र वालवालिकामा लगानीको ऐक्यवद्धता’ भन्ने राष्ट्रिय नाराका साथ महिला सहकारी संस्था, न्यायीक समिती, महिला बालबालिका समिती, निरानी समिती, सञ्चारकर्मी र सरोकारवालाबीच उक्त कार्यक्रम गरिएको हो ।

कार्यक्रममा अभिवक्ता एवं सहकारी अभियान्ता गुणानिधि भुषालले बाणगंगाको न्यायीक समितीको काम कर्तव्य अधिकार, मेलमिलाप कार्यविधि, मेलमिलाप केन्द्रको स्थापना, काम, कर्तव्य र अधिकार, मेलमिलाप केन्द्रमा हुनुपर्ने आधारभूत सुविधाहरु, मेलमिलाप सत्र सञ्चालनका लागि गोपनिय र सुरक्षित स्थानको व्यवस्था, मेलमिलाप केन्द्रले ध्यानदिनु पर्ने बिषयहरु,मानव अधिकार संरक्षण र सामाजिक न्यायको बिषयमा संवेदनसीलता, वडा स्तरिय मेलमिलाप केन्द्रमा वडा अध्यक्षको काम, कर्तव्य र अधिकार लगाएतको बिषयमा सहजीकरण गरेका थिए ।

यस्तै नगर प्रमुख चक्रपाणी अर्यालले नगरपालिका अन्तर्गतका सहकारी संस्थाहरु र अन्य संस्थाहरुले बर्षभरिमा लैंगिक हिंसा बिरुद्धमा गरेका कार्यहरुको प्रगती विवरण प्रस्तुत गर्दा समाजमा लैंगिक हिंसाको अवस्थाबारे जानकारी हुने बताए । चौमासिक कार्यक्रम गर्दा समाजमा मानसिक सचेतना र बुझाईको अवस्था कस्तो छ र सोको आधारमा नगरपालिकाको महिला बालबालिका शाखाबाट कस्ता कार्यक्रमहरुलाई थप गर्न सकिन्छ त्यसकालागि पनि यो कार्यक्रम महत्वपूर्ण भएको बताए ।

हिंसाका रुपहरु अनेक प्रकारका हुने भएको हुँदा मेलमिलाप केन्द्रहरु र न्यायीक समितीमा कस्ता खाल्का उजुरीहरु आउँछन् सो को निरुपण कसरी गर्न सकिन्छ र प्रावधानहरु के कस्ता छन् भन्ने बिषयमा बुझन सहज होस भन्ने उद्देश्यले अधिवक्ता तथा सहकारी अभियान्ता मार्फत सहजीकरण गराईएको नगर प्रमुख अर्यालले बताए । समाजमा देखेका र भोगेका कुराहरु सहज रुपमा राख्न सके लेंगिंक हिंसाका घटनाहरु कम हुँदै जाने बिश्वास व्यक्त गरे ।

कार्यक्रममा उपप्रमुख रिता काुमारी चौधरीले बाणगंगा नगरपालिकाको न्यायीक समितीमा मात्र ०७९÷०८० मा ४० वटा उजुरी परेको बताईन् । जसमा २२ वटा उजुरी मिलापत्र गराईएको, ६ वटा अदालति प्रक्रियामा पाठाईएको र १२ वटा जिम्मेवारी सरि आएको बताईन् । आव ०८०/०८१ को साउन देखि हाल सम्म ९ वटा उजुरी परेकोमा २ वटा मिलापत्र गराईएको छ भने ७ वटा प्रक्रियामा रहेको जानकारी दिईन् । न्यायीक समितीमा धेरैजसो जग्गा विवादका उजुरीहरु आउने गर्दछन् । लनदेनको उजुरीमा र जग्गा विवादमा नापजाँच गर्नुपर्ने हुँदा न्यायीक समितीको न्याय सम्पादनमा समस्या रहेको उपप्रमुख चौधरीको भनाई छ । साथै सहकारी मार्फत महिलाहरुको शसक्तिकरण भएको छ । महिलाहरुले मात्र संचालन गरेको सहकारी छन् ती सहकारीका महिला दिदी बहिनीहरुले बिभिन्न हिंसाका घटनाहरुको सहजीकरण गर्ने भूमिका खेल्दै आउनु महत्वपूर्ण भएको बताईन् । यस नगरपालिकालाई हिंसा रहित बनाउन नगरले बिभिन्न अभियानहरु संचालन गर्दै आएको चौधरीको भनाई छ ।

नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत भक्तिराम मरासिनीले समाज रुपान्तरण गर्न सबैमा सकारात्मक सोंचको आवश्यकता हुनुपर्ने बताए । लैंगिक हिंसा र बिभिन्न हिंसात्मक घटनाहरुको न्यूनिकरण गर्न पारिवारिक वातावरणमा भरपर्ने बताउँदै जहाँ ऐन, नीती निर्माण बढी छन् त्याहाँ बढी हिंसा हुने गरेको बताए ।

महिला बालबालिका तथा जेष्ठ नगरिक शाखा प्रमुख शुसिला पन्तले लैंगिक हिंसा, सामाजिक कुरिती, कुप्रथा र समाजमा घटेका तत्कालिन घटनाहरुको बारेमा चौमासिक आन्तरक्रिया माध्ययमद्वारा समाधान गरी सभ्य , हिंसा रहित सुशुजित समाज निर्माण गर्ने मुख्य उद्देश्य भएको बताईन् ।

कार्यक्रममा बिभिन्न सहकारी, संस्थाहरुले आआफ्नो संस्थाले गरेका कार्यहरुको विवरण प्रस्तुत गरेका थिए । मिरमिरे महिला सहकारी संस्थाकी व्यवस्थापक सरस्वती राना, नवज्योति महिला सहकारी संस्था हथौसाकी प्रतिनिधि सरस्वती चौधरी, नमूना महिला सहकारी संस्थाकी व्यवस्थापक टिका लामिछाने, सहयोगि महिला बहुउद्देश्यीय सहकारीकी अध्यक्ष नूमी शर्मा, दिव्यज्योति महिला सहकारी संस्थाकी बिस्नु मायाँ भट्राई, बिहानी सामाजिक उद्यमी महिला सहकारी संस्था कोपवाकी नरमदा चुँदाली र बुद्ध दर्शन कृषि बहुउद्देश्यीय सहकारी रुकमणी पाण्डेले संस्थाले गरेका प्रगती विवरणहरु प्रस्तुत गरेका थिए ।
कार्यक्रममा महिला बालबालिका समिती सदस्य टोपकला विसी, कार्यपालिका सदस्य शान्ता पाण्डे, सिद्धार्थ सामाजिक बिकास केन्द्रका अध्यक्ष सुर्य कुमारी शाही, इन्सेक प्रतिनिधि पार्वती आचार्य लगायतले आफ्नो धारणा राखेका थिए । न्याय निरुपणका लागि मेलमिलाप केन्द्रका सदस्यहरुले तालिम पाए पनि कुनै जिम्मेवारी नपाएको गुनासो गरेका थिए ।

कार्यक्रम बाणगंगा नगरपालिकाका उपमेयर रिता कुमारी चौधरीको अध्यक्षता, महिला बालबालिका, सहायक महिला बिकास निरिक्षण भगवती आचार्य शर्माको स्वागत तथा जेष्ठ नगरिक शाखा प्रमुख शुसिला पन्थको सहजीकरणमा सम्पन्न भएको थियो ।