

ई.नविनकिशोर गैह्रे
नेपाल अहिले कहालीलाग्दो भीरको डिलमा उभिएको छ । अकल्पनीय हुरी बतास जस्तै आएर जेन जी विद्रोहले नेपालको सामाजिक, प्रशासनिक, राजनीतिक र आर्थिक प्रणालीलाई बढारेर सून्य बनाएको छ । देशको सरकारी संरचनादेखि उत्पादन र श्रम बजारसम्म जगैदेखि हल्लिएको छ । ७० जनाभन्दा धेरै युवाहरुको सहादत, पूर्ण रुपमा ध्वस्त सरकारी संरचना र सम्पत्ति, क्षतविक्षत प्रशासनिक र राजनीतिक प्रणाली र अर्थतन्त्रको मेरुदण्ड निजी क्षेत्रमाथिको निर्मम आक्रमणले नेपालमा सन्नाटा छाएको छ ।
देशमा जतासुकै संसय र मुर्दा शान्तिको अवस्था रहेको छ । बेरोजगारी, नातावाद र भ्रष्टाचार जस्ता विकृतीले आक्रान्त युवा शक्तिभित्र गुम्सिएको निराशा विद्रोहको रुपमा भएको विस्फोटले नेपाललाई झनै असुरक्षा र अनिश्चिततामुखी बनाएको छ । यस्तो अवस्थाबाट हरेक नेपाली मिलेर देश उठाउनु छ जस्को लागि ध्वस्त भएका सँरचनाको पुननिर्माण, र विच्छेद भएको राजनीतिक र प्रशासनिक पुनःसंरचना सँगै प्राविधिक शिक्षा र व्यावसायिक तालिम (टीभीईटी) को पनि विकास र सुदृढीकरण जरुरी छ ।
सिप र प्रविधिमा आधारित जनशक्तिः नेपालको भविष्य
नेपालको शिक्षा प्रणालीले सामान्यतया २० वर्षको उमेरमा युवालाई श्रम बजारको लागि उत्पादन गर्छ । औपचारिक वा अनौपचारिक शिक्षा पूरा गरेर रोजगारीमा जान तयार यही उमेर समूहका युवा देशमा अवसरको अभावले बेरोजगार बस्नुपर्ने र योग्यताक्रम भन्दा नातावाद र कृपावाद हावी हुँदा राज्यबाट पाउनुपर्ने धेरै सेवा र सुविधाबाट वञ्चित हुनुपर्ने अवस्थाले यो विध्वंस आएको कुरामा कसैको दुईमत छैन । कतिपय घुसपैठ पनि भएको पनि हुनसक्छ र त्यसको पनि यथार्थ छानबिन होला ।
तसर्थ अब गरिने पुनर्निर्माण भौतिक सम्पत्तिसँगै मानव सम्पत्तिको पनि गरिनुपर्दछ । विश्वविद्यालय वा परम्परागत शिक्षा प्रणालीबाट प्राप्त डिग्री मात्रले युवालाई रोजगारीमा प्रवेश गराउँदैन । बरु, व्यवहारिक सिप, दक्षता र प्रविधिगत ज्ञानले उनीहरूलाई श्रम बजारमा प्रतिस्पर्धी बनाउँछ । प्राविधिक शिक्षा र व्यावसायिक तालीमले युवालाई व्यवहारिक ज्ञान दिन्छ, जसले उनीहरूलाई श्रम बजारसँग सिधा जोड्छ । प्राविधिक शिक्षा र व्यावसायिक तालिमको माध्यमबाट शिक्षा सिपसँग जोडिन्छ, सिप श्रमसँग जोडिन्छ, श्रम रोजगारीसँग जोडिन्छ, रोजगारी आयसँग जोडिन्छ, आय पूँजीसँग जोडिन्छ र पूँजी लगानीसँग जोडिन्छ । यो सिँढीमा हिँड्न सक्ने युवाशक्ति निर्माण नगरेसम्म ‘समृद्ध नेपाल’ निर्माणको सपना साकार पार्न धेरैनै कठिन हुनेछ ।
पुनर्निर्माणको मार्गः उद्योग, सिप र सुरक्षाको त्रिकोण
जेनजी विद्रोहले पु¥याएको भौतिक विनाश पुननिर्माण गर्न सजिलो छैन तर यो चुनौतीसँगै अवसर पनि हो ।
उद्योग–व्यवसाय पुनःस्थापना
विद्रोहले नष्ट भएका निजी तथा सार्वजनिक लगानीका उद्योग, कलकारखाना र व्यवसायलाई पुनःजागृत गर्नुपर्नेछ । तर केवल पुनःस्थापना मात्र होइन, नयाँ उद्योग र प्रविधीमैत्री उत्पादन संरचना खोल्न जरुरी छ ।
सिपयुक्त जनशक्ति
यस्ता उद्योगलाई चलाउने शक्ति प्रशिक्षित युवा हुन् । नेपालका धेरै युवा विदेशमा सिप बिक्री गर्दैछन् । यही सिपलाई स्वदेशमै प्रयोग गर्ने वातावरण बने मात्र पुनर्निर्माण सम्भव हुन्छ । त्यसका लागि प्राविधिक शिक्षा र व्यावसायिक तालिमलाई राष्ट्रिय प्राथमिकतामा राख्नुपर्ने हुन्छ ।
सुरक्षाको प्रत्याभूति
पुनःस्थापित उद्योग वा नयाँ लगानीलाई सुरक्षित राख्ने वातावरण बिना पुनर्निर्माण असम्भव छ । उद्योगलाई तोडफोड गर्ने संस्कृति अन्त्य नगरेसम्म लगानीकर्ता नेपालमा आउँदैनन् । सुरक्षा, स्थिरता र लगानीमैत्री वातावरण नै पुनर्निर्माणको मेरुदण्ड हो ।
जेनजी पुस्ताको लागि टिभिइटीको भूमिका
जेन जी विद्रोहमा सक्रिय रहेको युवा पुस्ता आज निराश छ, तर यिनै युवाले पुनर्निर्माणको जिम्मा पनि लिन सक्छन् । नेपालमा प्राविधिक शिक्षा र व्यावसायिक तालीमलाई अहिलेसम्म दोस्रो दर्जाको शिक्षा भनेर हेर्ने प्रवृत्ति छ । तर विश्वका विकसित मुलुकहरूमा भने यो प्रणाली नै आर्थिक विकासको मेरुदण्ड हो । जर्मनी, कोरिया, स्वीजरल्याण्ड जस्ता मुलुकहरूले टिभिटिइमार्फत आफ्नो जनशक्तिलाई उत्पादनमा जोडेर आर्थिक चमत्कार गरेका छन् । नेपालमा पनि हरेक युवालाई आधारभूत प्राविधिक सिप दिन सकियो भने उनीहरू उद्यमी, श्रमिक, आविष्कारक र लगानीकर्ता बन्न सक्छन् । जेनजी विद्रोहपछिको पुनर्निर्माणमा युवा पुस्तालाई सडकबाट प्राविधिक शिक्षालय र व्यावसायिक तालिम केन्द्रतर्फ मोड्न सकियो भने मात्र राष्ट्रको दीर्घकालीन स्थायित्व सम्भव हुन्छ ।
आर्थिक पुनरुत्थान र सिप–पूँजी चक्र
नेपालको अर्थतन्त्र लामो समयदेखि वैदेशिक रोजगारमा निर्भर रह्यो । लाखौं युवाले वैदेशिक भूमिमा पसिना बगाएर पठाएको रेमिट्यान्सले देशलाई जोगाइराखेको छ । तर विद्रोहले यस मोडलको कमजोरी प्रष्ट पारेको छ–जब युवाले स्वदेशमै भविष्य देख्दैनन् तब विद्रोह अपरिहार्य हुन्छ ।
यसको समाधानको लागि प्राविधिक शिक्षा र व्यावसायिक तालिमबाट युवालाई सिप दिने, उक्त सिपलाई श्रम र रोजगारीमा रूपान्तरण गर्ने, यो रोजगारीले उत्पन्न गरेको आयलाई पूँजीमा बदल्ने यसरी निर्माण भएको पूँजीलाई स्वदेशमै लगानी गर्ने वातावरण सिर्जना गर्ने । यो चक्र चल्न थालेपछि नेपाल आत्मनिर्भर, उत्पादनमुखी र दिगो अर्थतन्त्रतर्फ अघि बढ्छ ।
यस्तो संरचनागत पुनर्निर्माणका लागि सरकार, निजी क्षेत्र र नागरिक समाजबीच निम्न पक्षहरुमा सहकार्य जरुरी छ ।
–नीतिगत पक्षमाः प्राविधिक शिक्षा र व्यावसायिक तालिमलाई माध्यमिक तहदेखि अनिवार्य रूपमा समावेश गर्नुपर्ने हुन्छ ।
–लगानी पक्षमाः पूर्वाधार, उपकरण र तालिम केन्द्रमा पर्याप्त बजेट छुट्याउनुपर्छ ।
–कार्यान्वयन पक्षमाः सिप सिकेका युवालाई उद्योगमा काम गर्ने अवसर तुरुन्तै सुनिश्चित गर्नुपर्ने हुन्छ ।
नेपालले अब शिक्षा प्रणालीलाई कागजी डिग्री होइन, उत्पादन र रोजगारीसँग जोड्ने ढाँचामा रूपान्तरण गर्नै पर्छ । जेनजी विद्रोहले पु¥याएको विनाशलाई अवसरमा बदल्ने बाटो प्राविधिक शिक्षा र व्यावसायिक तालिममार्फतै सम्भव छ । यसले युवालाई असन्तुष्टिबाट आत्मनिर्भरतातर्फ, सडकबाट उत्पादन केन्द्रतर्फ र विनाशबाट निर्माणतर्फ डो¥याउँछ ।
तसर्थ प्रशासनिक पुनः संरचनासँगै प्राविधिक शिक्षा र व्यावसायिक तालिममा ठूलो लगानी गर्ने, युवालाई सिपयुक्त जनशक्ति बनाउने र उद्योग पुनःस्थापना र सुरक्षाको प्रत्याभूति गरी सिपयुक्त जनशक्तिलाई पर्याप्त अवसर प्रदान गर्ने कार्यलाई राष्ट्रिय अभियानकै रुपमा सञ्चालन गर्नु अपरिहार्य छ ।
नेपालको भविष्य युवामा छ । तर त्यो भविष्य डिग्रीले होइन, सिपले निर्धारण गर्नेछ । जेनजी समूहको विद्रोहपछिको पुनर्निर्माण, वास्तवमा, सिप–श्रम–रोजगारी–आय–पूँजी लगानीको चक्रलाई गतिशील बनाउन सक्ने हाम्रो क्षमतामाथि निर्भर छ । (लेखक गैह्रे बुटवल तामनगरस्थित कोरिया नेपाल बहुप्राविधिक शिक्षालयका प्रमुख हुन् ।)